शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘भारतको १०० किलोमिटर भित्रसम्म पुगेर सिमेन्ट बेच्ने योजना छ’

नेपालमा लागतभन्दा सस्तो मूल्यमा सिमेन्ट बेचिरहेका छौँ : ध्रुव थापा
आइतबार, ०८ साउन २०७९, ०९ : ४४
आइतबार, ०८ साउन २०७९

नेपाल सरकारले चालू आर्थिक वर्षदेखि भारततर्फ सिमेन्ट निर्यात गर्ने उद्योगलाई ८ प्रतिशतसम्म अनुदान दिने व्यवस्था गरेको छ । सरकारले बजेटमार्फत सिमेन्ट उद्योगलाई औपचारिक रूपमै निर्यात गर्न सहजीकरण गरेको छ । यससँगै नेपालबाट सिमेन्ट निर्यात सुरु समेत भएको छ ।

यतिबेला देशको कूल माग र खपतको तुलनामा सिमेन्टको उत्पादन बढी छ । आवश्यकताभन्दा बढी सिमेन्ट उत्पादन भइरहँदा र सोअनुसारको बजार नहुँदा उत्पादन लागतको तुलनामा न्यून मूल्यमा उद्योगहरूले सिमेन्ट बेचिरहेका छन् । यस्तो अवस्थामा भारततर्फ सिमेन्ट निर्यातको सम्भावना र नेपाली सिमेन्ट बजारको स्थितिबारे रातोपाटीका निकेश खत्रीले सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापासँग गरेको कुराकानीको सम्पादित अंश :

भारततर्फको सिमेन्ट निकासी सुरु भएको छ । लामो समयदेखिको तयारीले अब मूर्तरूप लिने भयो नि हैन ?

लामो समयदेखिको प्रयासबाट यो सफल बनेको छ । यसले निरन्तरता पायो भने देशको अर्थतन्त्रले फड्को मार्नसक्छ । सिमेन्ट उत्पादनको क्षेत्रमा निजी क्षेत्रको प्रवेश भएको २० वर्ष हाराहारी भएको छ । अन्य क्षेत्रको तुलनामा सिमेन्ट क्षेत्रले ठूलो फड्को मारेको हो । केही वर्षअघिसम्म मात्रै पनि नेपालमा सिमेन्ट आयात हुने गर्थ्यो ।

२ वर्षअघिको बजेटमा सिमेन्टलाई निर्यातयोग्य वस्तुको सूचीमा समेट्न सफल भएका थियौँ । नीति तथा कार्यक्रममा पनि सिमेन्टलाई निर्यातयोग्य वस्तुको सूचीमा राखिएको थियो । त्यसयताको २ वर्षको अवधिमा सरकारले हाम्रो मागलाई सम्बोधन गरेको छ । सम्भावनाअनुसार सिमेन्ट निर्यात गर्न सकेमा देशको अर्थतन्त्रलाई नै माथि उकास्न सकिन्छ ।

नेपालमा सिमेन्ट उद्योगहरू यसरी फस्टाउनुको मुख्य कारण के हुन् ?

सुरुमा साना–साना ग्रान्डर प्लान्ट स्थापना भएका थिए । यी प्लान्टमा भारतबाट क्लिंकर ल्याएर सिमेन्ट उत्पादन गरिन्थ्यो । त्यसयता निरन्तर निजी लगानीका उद्योगले आफूलाई अघि लग्दै गए । र, विगत १० वर्षयता नेपाली उद्योगले आफ्नै चुनढुङ्गामा आधारित प्लान्ट सञ्चालन गर्न थाले । यस्तै, ७२ सालको भूकम्प र संविधान निर्माण भई आम निर्वाचनमा करिब दुई/तिहाइ बहुमतको सरकार बनेपछि सिमेन्टमा लगानी ह्वात्तै बढ्यो ।

भूकम्पले भत्किएका संरचना पुनर्निर्माण गर्न, संविधान र निर्वाचनको परिमाणले अब देशको सम्पूर्ण ध्यान आर्थिक विकासमा हुन्छ भन्ने थियो । जसले गर्दा सिमेन्ट र डन्डीको क्षेत्रमा स्वदेशी र विदेशी लगानी ह्वात्तै बढ्यो । यस्तै, पहिलादेखिका उद्योगले पनि आफ्नो क्षमता बढाए । तर, अपेक्षाअनुसारको आर्थिक वृद्धि हासिल गर्न पनि सकेनौँ र पूर्वाधार निर्माण पनि हुन सकेन । यी कारणले गर्दा नेपालको सिमेन्ट उद्योगले बजार पाउन सकेन र निर्यातको सम्भावना खोजी गर्न थालियो । यसको अर्थ नेपाली उद्योगको उत्पादन क्षमता र आन्तरिक बजारको खपत क्षमताबीच ठूलो खाडल छ ?

हो । नेपालमा रहेका उद्योगहरूको अहिलेको उत्पादन क्षमता २ करोड ५० लाख टन प्रतिवर्ष छ । र, नेपाली आन्तरिक बजारको उत्पादन क्षमता १ करोड टन मात्रै छ । यसले नेपालमा भइरहेको उत्पादनको तुलनामा खपत क्षमता अढाई गुणाले कम छ । यो समस्या समाधान गर्नका लागि आन्तरिक खपत बढाउन सक्नुपर्छ ।

अर्को पाटो छिमेकी मुलुकमा रहेको अथाह निर्यातको सम्भावनालाई सदुपयोग गर्नुपर्छ । यसलाई सन्तुलनमा ल्याउनका लागि नेपालका उच्च हिमाली र पहाडी क्षेत्रका सडक कङ्क्रिटको बनाउनुपर्छ ।

सडक कालोपत्रे गर्दा नेपालको भौगोलिक अवस्थाका कारणले धेरै टिकाउ हुँदैनन् । अहिलेसम्म बनाइएका सबै सडकको स्थिति हेर्दा विकास निर्माणलाई नै बदनामी दिएको छ । त्यसैले सडकलाई कालोपत्रे गर्नुको साटो कङ्क्रिटको बनाउनुपर्छ । एकपटक कङ्क्रिटको सडक बनाएपछि २०औँ वर्षसम्म टिक्छ । त्यस्तै परे ५० वर्षसम्म पनि टिक्छ । यसो गर्न सकेमा नेपालको अलकत्रा आयात र कालोपत्रे गर्न चाहिने वस्तुको आयात पनि घट्ने भएकाले व्यापार घाटा पनि घट्छ । यसैगरी, वर्षेपिच्छे सडक मर्मत गरिराख्नुपर्ने बाध्यता पनि अन्त्य हुन्छ । 

पछिल्लो एक दशमा सिमेन्टको उत्पादनमा ह्वात्तै वृद्धि आएको देखिन्छ । यसबीचमा नेपालमा कतिवटा सिमेन्ट उद्योग थपिए ?

यसबीचमा अनुमानित १५/२० वटा सिमेन्ट उद्योग थपिएका छन् । २०७० सालतिरै ४५ वटाजति सिमेन्ट उद्योग थिए । पहिलादेखि सञ्चालनमा रहेका उद्योगले प्लान्ट विस्तार गर्ने र क्षमता विस्तार गर्ने क्रम पनि बढाए । यस्तै, पछिल्लो दशकमा खुलेका सिमेन्ट उद्योगहरू ठूलो क्षमतासहित सञ्चालनमा आए । फेरि केही नयाँ उद्योग आउने सुनिएको छ । यसपछि फेरी उत्पादन क्षमता बढ्दै जान्छ । यद्यपि, नेपालको माग पनि बढ्ला भन्ने आस गर्न सकिन्छ ।

अब उत्पादनअनुसारको सिमेन्ट खपत गराउने विकल्प के–के हुन सक्लान् ?

नेपालले अब आन्तरिक खपत बढाउनेदेखि निर्यात वृद्धि गर्नेसम्मको योजनामा अघि बढ्नुपर्छ । पूर्वाधार निर्माणको कामलाई अघि बढाएर आन्तरिक बजार वृद्धि गर्नुको विकल्पै छैन । तर, निर्यातलाई पनि सँगसँगै अघि लग्न सकियो भने नेपालमा उत्पादित सिमेन्टले पर्याप्त मात्रामा बजार पाउँछ । अहिले प्रथम चरणमा सिमावर्ती क्षेत्रमा रहेका भारतीय बजारमा निर्यातको योजना बनाएका छौँ । नेपालसँग सिमा जोडिएका विहार र उत्तरप्रदेश राज्यमा सिमेन्ट उद्योग छैनन् । त्यसकारण उनीहरूले लामो दूरी पार गरेर अन्य राज्यबाट सिमेन्ट ल्याउनुपर्छ ।

त्यो बजार समेट्न सक्यौँ भने भारतमा प्रतिवर्ष १ खर्ब ५० अर्ब रुपैयाँसम्मको सिमेन्ट निर्यातको सम्भावना छ । यसै गरी, मूल्यमा प्रतिस्पर्धा गर्न सक्यौँ भने बङ्गलादेशी बजार र चीनको तिब्बत क्षेत्रमा पनि सिमेन्ट निर्यातको सम्भावना छ । तर, त्यसका लागि नेपालको उत्पादनले मूल्यसँग प्रतिस्पर्धा गर्न सक्नुपर्छ । नेपालको कूल मागभन्दा बिहार र उत्तर प्रदेशको माग बढी छ । नेपालको सिमानाबाट भारतको १०० किलोमिटर भित्रसम्म पुगेर सिमेन्ट बेच्ने योजना नेपाली उद्योगीहरूले बनाएका छौँ ।

भारतमा उत्पादित सिमेन्टसँग प्रतिस्पर्धा गर्न सरकारले चालू वर्षदेखि दिने भनेको ८ प्रतिशत नगद अनुदानले पुग्दैन । यसलाई १० प्रतिशत बनाउनुपर्छ । यसै गरी, बिजुलीमा समेत ठूलो छुट दिनुपर्छ । अन्यथा भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न सकिँदैन । यस्तै, सिमेन्ट निर्यातमा दिने भनिएको ८ प्रतिशत अनुदान दिने कार्यविधि समेत छिटो बन्नु जरुरी छ ।

भारततर्फ कति सिमेन्ट निर्यातको सम्भावना छ ?

भारततर्फ निर्यातको सम्भावना अपार छ । तर, भारतमा पनि नेपालमा जस्तै बजार मागको तुलनामा उत्पादन बढी छ । भारतमा बजारको माग तुलनामा ०.५ प्रतिशत बढी उत्पादन भइरहेको छ । यस्तै, उनीहरूको चाहना भारतीय बजारमा नेपाली सिमेन्ट नआओस् भन्ने हुन सक्छ । उनीहरूको पनि नेपालतर्फ निर्यात गर्ने चाहना हुनसक्छ । यसै गरी, नेपालको उत्पादन लागत भारतीय सिमेन्टको तुलनामा बढी छ । तर, गुणस्तरीय वा वातावरणीय हिसाबमा हामी भारतीय सिमेन्टसँग प्रतिस्पर्धा गर्न तम्तयार छौँ ।

अब अलिकति स्वदेशी बजारतर्फ फर्किऔँ । नेपाली सिमेन्ट उद्योग अहिले कस्तो स्थितिमा छ ?

अहिले नेपालका सिमेन्ट उद्योगहरूले उत्पादन लागतभन्दा सस्तो मूल्यमा सिमेन्ट बेचिरहेका छन् । अहिले उद्योगीलाई सिमेन्टको मूल्यमा प्रतिबोरा ४० रुपैयाँसम्म घाटा छ । सोहीकारण, यस वर्ष सबै उद्योगको ब्यालेन्स सिट ऋणात्मक आउँछ । अहिले सबै उद्योगले आफ्नो लागतभन्दा सस्तो मूल्यमा सिमेन्ट बेचिरहेका छन् । अहिले विश्वव्यापी बढेको महँगीका कारण र कोरोना महामारीका कारणले सिमेन्ट उद्योग घाटामा रहेका हुन् ।

विश्वभर बढेको महँगीका कारणले कोइलाको मूल्य बढेको छ । जसले गर्दा उत्पादन लागत बढेको छ । अब, यही गतिमा सिमेन्ट बजार रहेमा ८/१० वटा उद्योगहरू बन्द हुन सक्ने सम्भावना छ । यसका लागि खपत बढ्नुपर्छ र नाफामा सिमेन्ट बेच्न पाएमा ती उद्योग बाच्न सक्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप