शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कल सेन्टरबारे अनुसन्धानका लागि सीआईबीको टोली  बुटवल आउँदै

सोमबार, ०९ साउन २०७९, १५ : ४५
सोमबार, ०९ साउन २०७९

रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित जानकीनगरमा सञ्चालित कल सेन्टरमा प्रहरीले आइतबार छापा मारेसँगै थप अनुसन्धानका लागि सीआईबीको टोली बुटवल आउँदै छ । प्रहरीले पक्राउ परेकाहरूसँग सोधपुछका क्रममा रुपन्देहीमा सहायक कार्यालयमात्रै भएको तथ्य प्रकाशमा आएकाले मुख्य कार्यालय खोजीका लागि सो कार्यालयबाट नियन्त्रणका लिएका कम्प्युटर र मोबाइलहरू खोलेर विस्तृत अनुसन्धान गर्ने भएको हाे ।

यसका लागि सीआईबीको टोलीले थप अनुसन्धान गर्ने भएको प्रहरीको भनाइ छ । अहिले पक्राउ परेकाहरूले मौखिक जवाफ दिएकाले उनीहरुले भनेका कुराको प्रमाण पुष्टि गर्न कम्प्युटर र मोबाइलमा भएका तथ्य सही छन् कि गलत भन्ने बुझ्न केन्द्रीय अनुसन्धान टोली बुटवलमा बोलाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख एवं डीएसपी ठग बहादुर केसीले बताए ।

‘हामीलाई उनीहरूले बताएका कुरा कति सही, कति गलत भन्ने जान्न त्यहाँ रहेका कम्प्युटर र मोबाइल खोल्नु पर्छ । त्यसका लागि विशेषज्ञ टोली आउँदा सजिलो हुने भएकाले बोलाइएको हो,’ उनले भने । आइतबार पक्राउ परेकामध्ये मुख्य नाइके भारतीय नागरिक  निरञ्जन कुमार हुन् । उनीसहित पक्राउ परेका अन्य ८ जना नेपालीलाई पनि जिल्ला अदालत रुपन्देहीमा पेस गरेर अनुसन्धानका लागि म्याद थप गर्ने प्रक्रिया सुरु गरिएको केसीले बताए ।

निरञ्जन कुमारले मुख्य कार्यालय चीनमा रहेको बताएको प्रहरीको भनाइ छ । रुपन्देहीमा खोलिएको उक्त कल सेन्टरबाट भारतीय नागरिकलाई ठगी गरेको पाइए पनि त्यस्तो ठगीबाट कति रकम संकलन भयो र उक्त रकम कसले लिएको छ भन्ने पत्ता लगाउन निकै सकस भइरहेको प्रहरीले जनाएको छ । सो कल सेन्टरमा २ सयभन्दा धेरै कर्मचारी रहे पनि उनीहरूको तलब बापतको रकम बाहेक अन्य कति रकम दैनिक उठ्यो भन्नेसमेत पत्ता लाग्न सकेको छैन । पक्राउ परेकाहरुले प्रहरीलाई चिनियाँको लगानीमा आफूहरुले काम गरेको बताए पनि उक्त कल सेन्टरको मुखिया को हो भन्ने पत्ता लाग्न सकेको छैन ।​

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप