शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

घोराहीस्थित बाल अस्पताल बेवारिसे

मङ्गलबार, १० साउन २०७९, १५ : ५०
मङ्गलबार, १० साउन २०७९

घोराही उपमहानगरपालिका–१६ सर्रा चोक छेउमा रङ खुइलिएको पुुरानोजस्तो दुुई तले पहेँलो भवन छ । आँगनभरि झार पलाएको छ भने वर्षाैंदेखि भवनको मुल प्रवेशद्वार बन्द छ । भवन अलपत्र देखिन्छ । यो भवन भारत सरकारको सहयोगमा निर्माण भएको १० बेडको बाल अस्पताल हो ।

जिल्लामै एकमात्र बाल अस्पताल २०६६ सालमा भारतीय दूतावासको सहयोगमा राप्ती सेवा समाजको पहलमा ६६ लाखको लागतमा निर्माण भएको हो । जसको नाम उमाशंकर नाथ बाल अस्पताल हो । अस्पतालको संरचना निर्माण त भयो तर सेवा सुरु भएन । घोराही उपहानगरपालिका–१६ का देउमन दमाईले भने, ‘बाल अस्पताल गाउँमै बन्दा खुसी थियौं । बालबच्चाको स्वास्थ्य उपचारको सेवा गाउँमै आयो भन्ने लागेको थियो । अस्पताल भवन बन्यो, उपकरण पनि आयो तर सेवा दिन सकेन ।’ अस्पतालमा रहेका स्वास्थ्य उपकरण वर्षाैँदेखि थन्किएका छन् । अस्पताल अहिलेसम्म नाममा मात्रै सीमित बन्न पुुगेको छ ।

सहयोग खेर गयो

भारतीय दूतावासले भवन निर्माणमा सहयोग ग¥यो भने जग्गा दाताले जग्गा सहयोग गरे । अस्पताल निर्माणका लागि गाउँलेले समेत आर्थिक सहयोग गरेको स्थानीयवासी मोतिलाल केसीले बताए । ‘भवन बनाउन दूतावासको सहयोग, उपकरण किन्न सरकार र सञ्चालन गर्न गाउँलेले चन्दा उठाउँदै अस्पताल बनायौं तर अस्पताल चल्न सकेन,’ उनले भने, ‘सबैले गरेको धेरथोर सहयोग खेर गयो ।’

घोराही निवासी प्रदिप योगीले अस्पताल निर्माणका लागि चार कठ्ठा जग्गा दिए । उनले बाबुको नाम राखेर अस्पतालका लागि जग्गा दिएका थिए । गाउँलेले उनैलाई अस्पताल सञ्चालक समितिको अध्यक्ष बनाए ।‘अस्पताल बनाउँदा सबैको सहयोग भयो तर अस्पतालको सेवा विस्तारमा कसैको सहयोग भएन,’ योगीले भने, ‘जसका कारण सेवा सञ्चालनमा निकै अप्ठ्यारो भयो ।’

न उपकरण आयो, न पैसा रह्यो

संविधानसभा निर्वाचनपछि नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले अस्पतालको सेवा विस्तार तथा स्तरीय स्वास्थ्य सेवाका लागि १५ लाख रुपैयाँ बजेटको व्यवस्था गरिदिए । तर अस्पतालमा न उपकरण आयो, न पैसाको हिसाब किताब रह्यो । ‘बजेट आएको हामीलाई थाहा छ । उपकरण आएको थाहा छैन । थोरधेर केही उपकरण थिए, त्यो पनि अहिले खिया लागेका छन्,’ संचालक समितिका संस्थापक सदस्य जगत श्रेष्ठले भने, ‘अस्पताल आफै घायल छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गिरिराज नेपाली
गिरिराज नेपाली
लेखकबाट थप