सोमबार, १७ मङ्सिर २०८१
ताजा लोकप्रिय

‘एन्फामा गौरवको आगमनले फिफाले कारवाही गर्छ भन्ने भ्रम नपारिदिनुस्’

बुधबार, ११ साउन २०७९, ११ : ५६
बुधबार, ११ साउन २०७९

अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व विदेश विभाग प्रमुख गौरव आफ्नो आगमनसँगै एन्फालाई फिफाले कारवाही गर्छ भन्ने भ्रममा नपारिदिन अनुरोध गरेका छन् । पछिल्लो समय मिडिया र एन्फाका पदाधिकारीहरूबाट आफूले नियुक्तिका लागि दबाब दिएको भन्ने चर्चा चलाउन गलत भएको बताएका छन् ।

एन्फामा विदेश विभाग प्रमुख भएर काम गरिसकेको गौरवलाई पछिल्लो समय एन्फाको उप–महासचिवमा नियुक्त गर्ने एन्फाको योजना थियो । गौरवलाई नियुक्ति गर्ने र विदेश विभाग प्रमुख नविन पाँडेलाई बर्खास्त गर्ने विषयलाई लिएर अहिले एन्फा कार्यसमिति बैठक अन्योलमा छ ।

‘पछिल्ला दिनहरुमा यदि मलाई एन्फामा नियुक्त गरिएमा फिफा र एएफसीले अस्वीकार गर्छ भन्ने जस्ता नकारात्मक, भ्रामक र प्रायोजित खबरहरु नियमित रुपमा प्रवाह गरिइरहेकोमा मेरो ध्यानाकर्षण भएको छ । यो सफेद झुठ र प्रायोजित रुपमा चलाइएको प्रोपोगान्डा मात्र हो,’ थापाले लेखेका छन्, ‘वर्तमान अध्यक्ष र महासचिवले गत महिना फिफा र एएफसीमा पटक पटक सम्पर्क गरेर यो विषयमा स्पष्टता खोजेको मेरो जानकारीमा छ । उहाँहरु सबैलाई मेरो नियुक्तिमा फिफा र एएफसीलाई कुनै समस्या नरहेको प्रष्ट पारिइसकेको छ ।’

थापाले आफूले सन् २०१३ देखि २०१८ को बीचमा पटक–पटक एन्फामा काम गरेको र पछिल्लो पटक सन् २०१७ मा नरेन्द्र श्रेष्ठ अध्यक्ष हुँदा अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखको रुपमा काम गरेको बताए । उनले फिफा र एएफसीको म्याच कमिस्नरको काम पनि गरेको बताउँदै उनले आफूसँग क्षमता भएकै कारण एन्फाका अध्यक्ष र महासचिवले पदमा आउन आग्रह गरेको तर, अहिले बिभिन्न भ्रामक सूचना प्रवाह गर्न थालेकोले दुःख लागेको बताए ।

‘फिफा र एएफसीलाई अमान्य हुने गरि मैले एन्फामा कुनै पनि भूमिका चाहेको छैन । मैले कहिल्यै पनि एन्फामा कुनै पदका लागि कसैलाई अनुरोध वा दबाब दिएको छैन । बरु वर्तमान अध्यक्ष र महासचिवले नै उहाँहरुलाई सहयोग गर्न भनेर मेरो नाम प्रस्ताव गर्नुभएको हो,’ थापाले विज्ञप्तिमा लेखेका छन्, ‘वर्तमान अध्यक्ष, महासचिव र कार्यसमितिका पदाधिकारी र सदस्यहरुसँग मेरो यस विषयमा छलफल भएको छ । उहाँहरुले प्रत्येक पटक बजारमा प्रचार गरिएजस्तो कुनै समस्या नरहेको बताउँदै आउनुभएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप