ad
x
कपल टक

कीर्तिमानी दीपक र आयशाको ‘सिक्रेट अफेयर’ : गलामा गोल्ड मेडल भिरेर विवाहको सम्झौता

डेटिङ स्पट नै रङ्गशाला

person explore access_timeसाउन १२, २०७९ chat_bubble_outline0

ब्रिटिस नाटककार विलियम कंग्रीभको भनाइ छ, ‘हामी हतारमा विवाह गर्छौं अनि फुर्सदमा पछुताउँछौं,’ ‘उनीहरू’को प्रेम कथा सुन्नेहरूका लागि, बुझ्नेहरूका लागि भने विलियमको भनाइ सतप्रतिशत फेल खान्छ । विवाह एउटा सुन्दर बगैचा हो । जसरी बगैचामा फुल्ने रङ्गीचङ्गी फूलजस्तै जीवन हराभरा छ, बाह्रमास हरियाली छ । 


उनीहरू अर्थात् नेपाली खेल क्षेत्रका जानेमानेको प्रेमिल जोडी दीपक विष्ट र आयशा शाक्य । संघर्षशील दौडानको दोभानमा भेटिए, एउटै लक्ष्य र उद्देश्य बोकेका उनीहरू । २०६८ फागुनदेखि एउटा सग्लो नदी बनेर एकसाथ बगिरहेका छन् । दुःख र संघर्षको आँधीबेहेरी होस् या लक्ष्य प्राप्तीमा आएका अनेकन पहाड चिर्दै उनीहरू उसै गरी बगिरहेका छन् ।



‘राम्रो खेल्ने भएर मात्र हो । नत्र काठमाडौंमा हाम्रो अस्तित्व नै कहाँ रहन्थ्यो र ! गाउँको मान्छे, राम्रो बोल्न, ढंगले खान पनि नजान्ने । कतिले पाखे नै भन्ने,’ कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टको मानसपटलमा घुमिरहने एउटा प्रसंग हो यो । 

ढुंगाको कापबाट पनि पिपल उम्रन्छ, त्यही जरा हालेर आफ्नो अस्तित्व जगाउँछ । उसै गरी सुदूरपश्चिमबाट काठमाडौंको भीडमा आफ्नै पहिचान बनाएका दीपक विष्टले राष्ट्रिय तेक्वान्दोमा ४ स्वर्णसहित थुप्रै उपलब्धि हात पारेका छन् । खेल जगत्मा नेपालीको शीर उचो पार्ने काममा उनको निकै ठूलो देन छ ।

यस्तै कीर्तिमानी तेक्वान्दो खेलाडी हुन् आयशा शाक्य । जो आजकै दिन (साउन १२) जन्म दिन मनाइरहेकी छिन् । काठमाडौंमै हुर्किएकी आयशा जसले तेक्वान्दोमै नेपालका लागि ३ स्वर्णसहित थुप्रै उपाधि नेपालको पोल्टामा पारेकी छिन् । यही जोडी, जसलाई नेपाली खेल क्षेत्रले राम्रो सँग चिनेको छ । तर, उनीहरू बीचको सुन्दर प्रेम कहानी कमैलाई थाहा होला !

००० 

त्यो पहिलो भेट

तेक्वान्दो खेलकै सन्दर्भमा एकापसमा देखादेख भएको थियो दीपक र आयशाको । ‘थुप्रै अन्तर्राष्ट्रिय खेलमा सहभागी भइसकेको थिएँ । विभिन्न पदक पनि ल्याइसकेको अवस्था थियो । त्यसैले विभिन्न डोजाङमा, क्लबहरूमा सम्मान हुन्थ्यो । 

हाम्रो परिचय बढ्दै थियो’, पुराना दिन सम्झन्छन् दीपक, ‘त्यही क्रममा पाटन स्कुल÷पाटन डोजाङमा आइ पुग्यौं । पाटन डोजाङ राम्रो खेलाडीहरू भएको ठाउँ थियो । त्यही हाम्रो पहिलो देखादेख भयो ।’ 

खेल क्षेत्रले त्यो समय दीपकलाई राम्रो र संभावना बोकेको खेलाडीका रुपमा हेथ्र्यो । ‘धेरैले मलाई नेपालकै नम्बर वान खेलाडी पनि भन्थे, धेरैको ध्यान ममाथि थियो । र, पाटन डोजाङमा पनि मेरो उपस्थिति धेरैका लागि महत्वपूर्ण थियो ।’ आयशासँगको पहिलो भेट अनि आयशालाई देखेपछिको कुरा सम्झन्छन् उनी, ‘कोरियन केटी जस्तो, कपाल छोडेकी, हेडब्याण्ड लगाएकी गोरी केटी । जो कसैले पनि उनलाई नेपाली केटी हो भन्न सुहाउँदैनथ्यो ।’ 

आयशाको अनुहारतिर हेर्दै दीपक थप्छन्, ‘आदरणीय ईश्वरमान गुरु जसले आयशा मेहनती र राम्रो खेलाडी, उत्कृष्ट किक हान्न सक्ने खेलाडीका रूपमा पनि परिचित गराउनु भयो । थाहा पाएँ उनी नेपाली नै रहिछिन् ।’ केही लजालु भावमा थप्छन्,‘ त्यो देखाइ, हेराइ पछिको हाम्रो सम्बन्ध यहाँ सम्म पुग्ला भन्ने थिएन । तर, राम्रो खेलाडी, राम्री मान्छे, कोरियन फेसको तेक्वान्दो खेलाडी आफैमा लोभलाग्दो मान्छेसँगै आज सँगै छौं ।’

दीपकको कुरा नसक्किँदै आयशा सम्झन्छिन्, ‘उहाँ हाम्रो लागि आइडल नै हुनुहुन्थ्यो । त्यो समय गुरुहरूसँग भेट हुन्छ भन्ने नै हुँदैनथ्यो । हाम्रा लागि उहाँहरू सेलेब्रिटी हुनुहुन्थ्यो । त्यसैले डोजाङमा उहाँको उपस्थिति उत्साहजनक थियो । देशका लागि खेल्ने, देशको नाम राख्ने मान्छे आउँदै हुनुहुन्छ है भन्दा पनि उत्साह हुन्थ्यो । त्यसैले पनि त्यो पहिलो भेट अविस्मरणीय छ ।’

 


 

०००

अनायसै अंकुराएको प्रेम यात्रा

‘हाम्रो प्रेम कहाँबाट सुरु भयो भनेर धेरैले सोध्नु हुन्छ । खै हामीले उत्तर दिन अझै सकेका छैनौं । एक अर्कामा मुखामुख गर्दै दीपक कुरा उप्काउँछन्,‘ठ्याक्कै यो दिन यहाँ डेटिङ गएर कुरा सुरु भयौँ भन्ने पनि छैन । न कुनै मितिमा मन पराएको, प्रपोजल पेश नै गरेका याद छ । त्यसैले यो प्रश्न अनुत्तरित छ’, दुवै जना मुस्कुराउँछन् । 

‘यो अजिवको कथा जस्तो, फिल्मी कहानी जस्तो छ’, दीपक पे्रमिल यात्राको सविस्तार लगाउँछन्,‘खेल यात्राका क्रममा नयाँ राष्ट्रिय टिममा आयशाको पनि प्रवेश भयो । पुनः रङ्शालामा हाम्रो भेट भयो । म अलि सिनियर नै भइसकेको थिएँ । ईश्वरमान गुरुले आयशालाई प्रोत्साहित गरेर अघि बढाउनु है भनेर निर्देशन नै दिनुभएको थियो ।’ 

‘हुन त आयशा मात्र नभएर सबै खेलाडीलाई हामी समान रूपमा व्यवहार गथ्र्यौ । तथापि, आयशामा धेरै नै जिज्ञासा भरिएको हुन्थ्यो । जसले बढी प्रश्न गर्छ, जो खेलमा बढी चिन्तित र उत्साहित हुन्छ, उसलाई पक्कै बढी सहयोग हुन्छ पनि । हो, त्यही रंगशालाबाट हामी बीचमा आत्मीयता बढ्दै गयो । हामी बीचमा दूरी नजिकिँदै गयो,’ दीपकको कुराले स्मृतिमा झुलिरहेकी आयशा मधुर मुस्कानका साथ ‘हो मा हो’ मिलाउँछिन् ।

सुदूरपश्मिबाट प्रतिनिधित्व गर्ने दीपक अनि काठमाडौंमै हुर्किएकी आयशा बीचको दूरी कसरी एक भयो ? प्रेममा भूगोलको के अर्थ ! आयशा भन्छिन्, ‘मायामा मान्छेको ठाउँ, परिवेश वा उसको जातले अर्थ राख्दैन रहेछ । उसको व्यवहार प्राथमिकता हुनेरहेछ । उहाँ गाउँबाट काठमाडौंमा आउनु मात्र भएन । यहाँको वातावरणसँग ‘एडप्ट’ भएर आफू भित्रको निखारतालाई प्रस्तुत गर्न सक्षम पनि त हुनु भयो । सबैको प्यारो भएर बस्न सक्नु, मेहनत गर्न सक्नु, दुःख गर्न सक्नु र उपलब्धि हासिल गर्नु उहाँको खुबी हो ।’ 

‘केयरिङ, अन्डरस्ट्याण्डिङ’ स्वभाव, एक अर्का बीचको सम्मान पनि ठूलो कुरा रहेछ’, दीपकसँगको प्रेममा बाँच्नुका कारण खुलाउँछिन् आयशा, ‘आ–आफ्नो व्यक्तित्व हुन्छ, ‘एटिच्युड’ हुन्छ, तथापि एक अर्का बीचमा मिलेर, सबैको प्यारो बनेर बस्न सक्नु नै ठूलो कुरा हो र मैले खोज्ने पनि यही नै थियो होला ।’

‘उनका कुरामा म थप्न चाहन्छु’, उत्साहित भावमा दीपक विगतलाई अझै कोट्याउन चाहन्छन्, ‘३० वर्षअघि म गाउँमै थिएँ, पढ्नलाई टुकी बत्ती बाल्नु पथ्र्यो, तर अहिले त धनगढी पनि एउटा सहर ठूलो भइसक्यो । बुबा हेडमास्टर हुनुहुन्थ्यो । अंकल इन्जिनियर जग्गा जमिन प्रसस्त भएको परिवार हामीलाई कुनै लाउन खानको समस्या थिएन । संस्कार र अनुशासनमा हुर्किएको मान्छे हुनाले मलाई काठमाडौंमा बाँच्न गाह्रो थिएन । तर, संघर्षले प्रतिभाव फुलाउनु थियो ।’

उदासी भावमा प्रियसीका आँखामा आँखा जुधाउँदै दीपक बोलिरहन्छन्, ‘गाउँको, दूर दराजको मान्छे चाँहि खराव नराम्रो र सहरको मान्छे चाँहि ठूलो, असल भन्ने हुँदैन । सबैको आ–आफ्नो विशेषता हुन्छ र त्यही विशेषता एकापसमा मिल्यो भने यात्रा एक साथ अघि बढ्दो रहेछ । लाग्छ हामीमा पनि ती विशेष मिले होलान्, अनि त हामी सँगै छौं’, दुवैजना मज्जासँग हाँस्छन् ।

०००

सेक्रेट अफेयर

दीपक र आयशा बीचको प्रेम यात्रा निकै रोचक छ । उनीहरूको प्रेमका बारेमा कोही कसैलाई सुइँको पनि थिएन । ‘हामी सँगै ट्रेनिङ गथ्र्यौ, कोरियामा ९ महिना एकसाथ अभ्यासमा सहभागी पनि भयौं । राष्ट्रिय अन्तरराष्ट्रिय प्रतिस्पर्धामा धेरै ठाउँमा सँगै सहभागी भयौं । तर, हाम्रो सम्बन्धमा कसैलाई थाहै थिएन,’ दीपक आफ्नो सेक्रेट अफेयर सम्झन्छन्, ‘बंगलादेशमा मैले चौथो स्वर्ण पदक जित्दा, आयशाले पहिलो स्वर्ण जितेकी थिइन् । जतिबेला हामी सँगै थियौं । श्रीलंकामा आयशा स्वर्ण नजिक पुग्दै गर्दा उनी कांस्यमा सीमित हुनु प¥यो, मैले भने स्वर्णमा ह्याट्रिक गरेको त्यो क्षण पनि हामी सँगसँगै थियौं ।’ 

पुलकित भावमा दीवक सुनाउँछन्, ‘आयशा र म बीचमा गहिरो सेक्रेट अफेयर थियो, अनि यसको जानकार पनि हामी दुई मात्र थियौं ।’

उनीहरू बीचको सेक्रेट अफेयर खुव रमाइलो थियो । आयशा भन्छिन्, ‘हामी दुवै जनाको तेक्वान्दो नै करियर हो । त्यसैले कहिल्यै पनि अभ्यास छुटाएनौं । कहीँ डेटिङ नजाने तर, ट्रेनिङ चाँहि छुटाएनौं । त्यसैले हाम्रो डेटिङ स्पोट नै रङ्गशाला थियो । हरेक दिनको विहान बेलुका हामी त्यही भेट्थ्यौं । त्यही देखभेट हुन्थ्यो । त्यहीँ अन्जान पारामा गफगाफ पनि हुन्थ्यो ।’ 

आयशा सम्झन्छिन्, ‘मलाई हरेक राष्ट्रिय अन्तरराष्ट्रिय टुरहरू अविस्मरणीय लाग्थे । सम्झन्छु, ती हरेक बसाइँ र यात्रा सुमधुर र सम्झन योग्य छन् । एक प्रेम जोडी सँगसँगै गफिदै यात्रा गर्न पाउनु धेरै खुसीको कुरा हुन्थ्यो’, त्यस बेलाका बाध्यता पनि सम्झिन्छिन् आयशा, ‘हाम्रो डेटिङ भनेको नै त्यस्तै टुरहरू हुन्थे । होटल, पार्क वा डाँडाकाँडा नभएर तेक्वान्डोका लागि तय भएको यात्रा नै हाम्रो बेस्ट डेटिङ स्पट हुन्थ्यो ।  लक्ष र कर्म एउटै भएकाले होला हरेक क्षणहरू रमाइलो हुन्थे ।’

भनिन्छ प्रेममा झगडा पनि उत्तिकै आवश्यक छ, जसले प्रेमको तगारो मजबुत बनाउँदै लान्छ । दीपक र आयशा बीचमा झगडा परिरहन्थ्यो । एउटै भावमा सुनाउँछन्, ‘सम्बन्ध सेक्रेट थियो तर झगडा परिरहन्थ्यो । खास विषय हुँदैनथ्यो, ठाकठुक चाँहि परिरहन्थ्यो ।

‘म क्याप्टेन थिएँ, सबैलाई अनुशासनमा राख्न, गाली गर्नुपर्ने, अलि अलि लात्ती नै हान्नुपर्ने’, प्रेम यात्राको एउटा मीठो किस्सा सम्झन्छन् दीपक, ‘ सबैलाई अनुशासनमा राख्न प्रेमिका भनेर उनलाई मात्र गाली नगर्ने, नकुट्ने गर्नु त भएन । बरु उनैलाई बढी गाली गर्थेँ । कहिलेकाँही त लात्ती नै हान्थेँ । त्यो रिस होटल र घरमा पुगेपछि पोखिन्थ्यो ।’

तर, त्यो झगडा परालको आगोझै हुन्थ्यो । ‘आयशालाई आइसक्रिम, चकलेट खुवायो भने कुरा मिलिहाल्थ्यो’, दुवैजना मज्जासँग हाँस्छन् । ‘उहाँ त माफी पनि माग्नु हुन्नथ्यो । म पनि ठिकै छ नि त भनेर मिली हाल्थेँ’, आयशा बाध्यात्मक परिस्थितिसँग परिचित थिइन् । कारण, दीपक र आयशाको सेक्रेट सम्बन्धमा ती सानातिना तुष गौण थिए । 

०००

गलामा गोल्ड मेडल भिरेर विवाहको सम्झौता

सन् २०१० । ढाकामा आयोजना भएको ११ औं दक्षिण एसियाली खेलकुद । दीपक र आयशा दुवैले देशका लागि स्वर्ण जितेको वर्ष । आफ्नो करियरको चौथो स्वर्ण चुमेको त्यो क्षण सम्झन्छन् दीपक, ‘हामी दुवैजना लक्ष्यमा पुगेको दिन थियो, ठूलो संघर्षका साथ स्वर्ण उचालेको थिएँ । उसै गरी आयशाले पनि देशका लागि स्वर्ण चुमेकी थिइन् ।’ बीचमा आयशा थप्छिन्, ‘हातमा गोल्ड मेडलसहित भेट भयौं, जितको उत्सव चलिरहेको थियो । त्यही बीचमा खुसुक्क कुरा भयो, अब चाँहि विवाह गर्नु पर्छ है ! दुवै जनाले खुसीसाथ सहमतिको टाउको हल्लायौं ।’ 

‘२००८ मा उहाँले ओलम्पिक खेल्नु भयो । देशले ठूलो आशा राखेको थियो तर चुक्नु भयो’, आयशाको भाव केही मलिन सुनिन्थ्यो, ‘ओलम्पिकमा देशलाई स्वर्ण दिलाउन नसकेकोमा धेरै दुःखी हुनुहुन्थ्यो । त्यही बेला भन्नु भएको थियो, “अब म अन्तिम पटक साफमा सहभागी हुन्छु र हामी विवाह गर्नु पर्छ है ।” 

हो, त्यही दिनदेखि आयशामा करियरप्रति डर पसेको थियो । साफपछि विवाह गर्ने तर खेल यात्रा चाँहि कता जाने हो ! उनी आफै सशंकित थिइन् । ‘साफमा हामी दुवै जनाले स्वर्ण जित्यौं । गलामा स्वर्ण भिरेर विवाहको निश्कर्ष पुग्यौं ।’ 

त्यही खुसीको क्षणसँग गाँसिएको अलि तीतो अनुभव पनि छ उनीहरूसँग । दीपक सम्झन्छन्, ‘मेरो खुट्टाको चोट र दुखाई निकै कठिन अवस्थामा थियो । ओलम्पिकको निराशालाई साफमार्फत फर्काउनु थियो । अपरेसन गर्नुपर्ने अवस्थामा डाक्टरले समेत नखेल्न सुझाएका थिए । तर, बरु रिङमै ढल्छु, देशका लागि खेलेरै ढल्छु भनेर हिम्मत बोकेर प्रतिस्पर्धामा उत्रिएको थिएँ । ओलम्पिकमा नआएको मेडल साफमा आउने छ । चौथो स्वर्ण देशले उचाल्ने छ भन्नेमा पूर्ण विश्वस्त थिएँ । सँगै आयशाका साथ र हौसला पनि मेरा लागि उत्तिकै महत्वपूर्ण थियो ।’ 

यस बीचमा दीपकको घरमा धेरै पटक विवाहको कुरा नचलेको होइन । घरको जेठो छोरो विवाहको दवावका बीचमा बेला बेला आयशासँग दीपक अर्कैसँग विवाह गरौं कि क्या हो ! भनेर जिस्किरहन्थे । तर, आयशा पनि उसै गरी ‘गरे गर्नु न त’ भनेर धम्क्याइ दिन्थिन् । तर मनले रोजेको जोडा कहाँ छुट्छ र ? भविष्यका अनेकन योजना बुन्दै उनीहरू एक हुने निर्णयमा जो पुगेका थिए । 

०००

अन्तर्जातीय विवाहको सकस

बंगलादेशको भूमिमा दुवैजनाले गोल्ड मेडल बोकेर विवाहको सम्झौता गरेपनि पारिवारिक माहोल उति सहज थिएन । शाक्य र विष्ट बीचको वैवाहिक सम्बन्धका लागि दुवै परिवार राजी हुने कुरै थिएन । 

पारिवारिक साथ नहुँदा दुवै जना विवाहका सन्दर्भमा बहादुर बन्नु प¥यो । जसोतसो दीपकले परिवारलाई मनाए तर, आयशाको परिवारले दीपकलाई स्वीकारेन । जातीय प्रश्न त थियो नै । साथै, दीपक र आयशाको उमेर अन्तर पनि थियो । यद्यपि उमेरको ग्याप उनीहरूका लागि ठूलो मुद्दा थिएन ।

आयशा भन्छिन्,‘मन मिल्यो भने, १०÷११ वर्षको उमेर अन्तरले कुनै अर्थ राख्दैन । उमेर एउटै भएकाहरू बीचमा बेमेल होला, आ–आफ्नो जित खोज्लान् । तर, हाम्रोजस्तो जोडीमा उहाँ ठूलो मान्छे हो, परिपक्व हुनुहन्छ भन्ने विश्वास राख्थेँ,’ विश्वासका साथ थप्छिन्,‘खेलका कुरामा अघि हुनुहुन्छ, उमेरमा अघि हुनुहुन्छ । यी सबै कुराले उहाँसँग केही सिकिरहेकी छु जस्तो लाग्छ ।’

कथित जातीय भावले उत्पन्न विवाद भने आयशाले सल्टाउन सकिनन् । त्यो संघर्षपूर्ण दिन सम्झँदा आयशाका आँखा आज पनि रसाउँछन् । विवाहको निर्णय आफैमा हरेकका लागि चुनौतीपूर्ण हुन्छ । परिवारको साथ नपाएका दीपक र आयशालाई त्यो झनै चुनौतीपूर्ण थियो ।

कारुणिक भावमा आयशा सम्झन्छिन्, ‘जुन दिन मैले दीपकजीसँग विवाहको निर्णय गरेर घरको जस्केलो नाँघे, त्यो दिन सम्झनै मन लाग्दैन । एउटा कठिन क्षण थियो त्यो । एउटी छोरीका लागि आफैमा घर छोडेर जान सहज हुँदै होइन ।’ 

श्रीमानको अनुहारमा हेर्दै केही सम्हालिँदै सुनाउँछिन्, ‘सम्झदाँ दुःख त लाग्छ, तर अबको जीवन उहाँसँगै विताउने हो । फेरि एक न एक दिन परिवारलाई छाडेर जानैपर्छ । त्यसैले रोजेकै मान्छेसँग जान पछि परिन । तर, त्यो समय सम्झना मनै लाग्दैन । सम्झ्यो कि, जिउ सिरिङ्ग हुन्छ, भारी हुन्छ । आफैलाई विश्वास गर्न गाह्रो हुन्छ कि, म कसरी त्यो निर्णयमा पुगेँ होला !’

आयशा परिवारकी एक्ली छोरी, संस्कार र संस्कृतिले पनि भिन्न, बुबा आमाले सिकाएको अनुशासनलाई चिरेर एक्कासी घर छोडेकी उनको बेचैनी छुट्टै थियो । ‘एक हिसाबले सोच्छु, मन दुखेर आउँछ । ११ वर्ष वितिसक्यो फेरि त्यही विषयमा नफर्किउँ, पुनः वर्तमानमा आइपुग्छु । ठिकै त गरेछुँ नि !’ दीपकको मुखमा हेरेर मुस्कुराउँछिन् आयाशा । 

‘त्यो दिन आयशाले माइती छोड्ने निर्णय गर्न नसकेको भए सायद हामी सँगै हुन्नथ्यौं होला,’ आयशाको कुरामा जोड्दै हतार हतार दीपक थप्छन्, ‘हामीले एक अर्कालाई प्राप्त गर्न गरेको संघर्ष जीवन भोगाइको सानो अंश मात्र हो । यो गौण विषय हो । तथापि फरक कम्युनिटी, फरक कल्चरको मान्छेसँगको मिलन नेपालको सन्दर्भमा सजिलो हुँदै होइन । तर यस्तो बेमेल संस्कृति बीचको विवाह नौलो विषय पनि होइन । त्यसैले हामीले पछि आएर यसलाई सामान्य रुपमै लियौं ।’

एउटा सेक्रेट प्रेम यात्रालाई २०६८ साल फागुनमा उनीहरूले औपचारिकता दिए । तर, उनीहरु धेरै पहिले नै एक अर्कामा समर्पित थिए । प्रसंग उप्काउँदै दीपक भन्छन्, ‘हामीले परम्परा, संस्कार र संस्कृतिको निरन्तरताका लागि विवाह गरेका हौं । तर, धेरै अघि एकापसमा समर्पित थियौं, दुई धड्कन एक थियौं ।’ 

‘हामीले हाम्रो भविष्यका बारेमा योजना तय गरिसकेका थियौं, कहिलेसम्म खेल्ने । कहिले दीपक विष्टले सन्न्यास लिने अनि आयशाले खेल्ने जस्ता विषयमा पनि हामी पूर्व तयारीमा थियौं,’ एउटा सफल दाम्पत्य जीवन विताइरहेका दीपक गर्वका साथ भन्छन्, ‘हामी योजनासहित अघि बढेकैले सफल छौं, सन्तुष्ट छौं । दुई जना बीचको बुझाइ र भविष्यका योजना अनुसार अघि नबढेको भए, हामी असफल हुन सक्थ्यौँ !’

०००

संघर्ष र भोगाइ

संघर्षको सुरुवाती दिन सम्झन्छन् दीपक, ‘जीवन संघर्षमय रहेछ । जे उद्देश्य लिएर काठमाडौं आएको थिएँ, त्यो यात्रा अझै निरन्तर छ । संघर्षका दौडानमा धेरै राम्रा, नराम्रा, खुसी र दुःखका दिन आए’, भोगाइ र सिकाइको सन्दर्भ जोड्छन् उनी, ‘एक्लै थिएँ, पढ्दै थिएँ । त्यो एउटा संघर्ष थियो । आयशालाई भेटेर अफेयरमा रहेर सम्बन्ध र करियर अघि बढाउँदै गयौं अर्को सिकाई थियो अनि, खुट्टा भाँचिएकै समय पनि गोल्ड मेडल जितियो, विवाह गरियो, छोराछोरी भए, घर बनाइयो, संघर्ष आ–आफ्नै पाटा छन् ।’ 

आयशाको अनुहारमा हेर्दै दीपक कुरामा किक हान्छन्, ‘अहिले खेलाडीबाट दुवै जना कोच भएका छौं । दुई जना एकै ठाउँमा गएर कोच गर्दाको अनुभवले पनि सन्टुष्ट बनाउँछ । त्यसैले भोगाइ धेरै छन्, सिकाइ अनेकौं छन् । जीवन रमाइलोसँग चलिरहेको छ ।’

केही सयम कठिन रहेपनि दीपक र आयशाको आजको जीवन खुसी र उल्लासमय चलिरहेको छ । दुई परिवारको निकटता नङ र मासु झैं छ । उनीहरूलाई दुई ‘अन्तरजातीय विवाहको एउटा उत्कृष्ट उदाहरणयोग्य परिवार अहिले आफ्नै पो हो कि झैं लाग्छ’, सन्दर्भ जोड्दै आयशा भन्छिन्, ‘माया बस्दा कहाँ, के हो, कस्तो हो, केही पनि सोचिन्न । स्वाभाव के छ, एकअर्का प्रतिको बुझाइ के हो भन्नेमा मात्र ध्यान जाने रहेछ । यस अर्थमा जीवन रमाइलोसँग चलिरहेको छ । संघर्ष जसले पनि गर्नैैपर्छ । सधैँ सुख मात्र भयो भने पनि मान्छेले हार र दुःख बुझ्दैन । सुख पाउनुअघि दुःख बुझ्नैपर्छ । अझ अर्को सुखद पक्ष त दुबै रोजेको पेशामा छौं । हामीले बुझेको कुरा अरुलाई बुझाउन सकिरहेका छौं ।’

थप्दै दीपक भन्छन्, ‘हाम्रो जीवन, दुःख सुखका कथा अनि संघर्षको पाटो सम्झदा एउटा फिल्मझैं लाग्छ । कुनै दिन बन्ला नि,’, झिनो आशा राख्दै दीपक केही विदेशी खेलाडीको जीवनकथामा आधारित चलचित्रको नाम लिँदै भन्छन्, ‘फिल्म त बूढो भएपछि न बन्ने हो ।’

०००

दुई सन्तानकी आमाको दुई स्वर्ण यात्रा

महिलाको खेल जीवनमा विवाह र सन्तानको योजना निकै कठिन विषय हुन् । तर, नेपाली समाजमा विवाहपछि परिवारले नै सन्तानको माग गरिरहेको हुन्छ । आयशासँग पनि यस्तै कठिन अनुभव छन् । उनले पहिलो सन्तानका लागि खेल जीवनमा १८ महिनाको अल्पविराम लाग्यो । पुनः श्रीमानको आग्रहमा अभ्यासमा फर्किइन् र सन् २०१६ को साफ गेममा राष्ट्रको प्रतिनिधित्व गरिन् । सम्झन्छिन्,‘उक्त गेममा हातमा परिसकेको गोल्ड मेडलबाट चुकेँ, कास्यमा सीमित हुनुुप¥यो ।’ 

पुनः उनी एसियन गेममा पनि सहभागी भइन् तर, त्यहाँ पनि स्वर्णबाट उनी चुकिन् । त्यहीँबाट उनलाई लाग्यो कि, साँच्चै अब चाँहि मेरो करियर सकिएछ क्यारे । उनलाई लाग्यो ‘अब म खेल्दिँन, तेक्वान्दो करियर नै इन्ड गर्छु ।’ साँच्चै उनले ट्रेनिङसमेत बन्द गरिन् । दिनचर्याको आधार नहुँदा दीपक र आयशाले  दोस्रो सन्तानको योजना बनाए । उतिबेलै काठमाडौंको शंखमुलमा घर पनि ठडियो । 

तर, फेरि यस्तो सुनौलो दिन आयो, जसले आयशालाई खेल जीवनमा फर्कायो । श्रीमान दीपकले नै आयशालाई सम्झाइ बुझाइ गरेर अभ्यासमा फर्काएका थिए । आयशा भन्छिन्, ‘मलाई पनि पुनः रहर जागेको थियो । पहिलेको फ्रस्टेसन हराइसकेको थियो । नयाँ उर्जा र आशा थियो । सँगै पुम्से विधा मलाई निकै मन पर्ने कारणले पनि म पुनः गेममा फर्किएँ ।’ 

नभन्दै १३ औं एसियाली खेलकुद सागमा आयशाले २९ वर्ष माथिको पुम्से विधामा एकल र जोडीमा दुई स्वर्ण जितिन् । छोराहरू आदिस र आधारको जन्मपछि पनि आयशाले देशका लागि दुई स्वर्ण हात पारिन् । नयाँ कीर्तिमान रचिन् ।

दीपक र आयशाको जोडी धेरैका लागि उदाहरणीय जोडी हो, जसले विवाह पछि पनि आफ्नो खेल यात्रा निरन्तर अघि बढाइरहेका छन् । यस प्रसंंगमा दीपक भन्छन्, ‘मनभित्र देश, समाज अनि आमाबुबा राखेर लक्ष्यका साथ अघि बढ्ने हो भने, मान्छेले आफ्नो करियरमा हरेस खानु पर्दैन । बाटोमा धेरै कुराहरू जीवनसँग ठोक्किए । विदेश जाने अफरहरू प्रसस्तै आए । तर उताको लोभ गरिएन ।’

दीपकसँग अल्लारे भएर रेष्टुरेन्ट जाने, मादक पदार्थदेखि सुर्तीजन्य अनेकौ प्रकारका कुरा खाने विषयपनि नजोडिएका होइनन् । यी सबै कुरालाई आफैले नियन्त्रणमा राखेर अघि बढ्नु उनलाई एउटा च्यालेन्ज थियो । यी सबै कुरालाई एकातर्फ राखेर खेल जीवनले यी जोडीलाई अनुशासनमा राखेर अघि बढ्न प्रेरित गरिरह्यो । खेल जीवनले डेडिकेसन, डिसिप्लिन, डिटरमिनेसन दिलाइरह्यो । 

सफलताको कथासँग जोडिएको भोगाइ साट्दै दीपक भन्छन्, ‘दुवैजनाले एक अर्कालाई बुझेका छौं । करियरका लागि कुनै सम्झौता नगरी निर्णय गरेर अघि बढेकाले नै हामी आज यो सफलतामा छौं ।’

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।