विहीबार, २६ माघ २०७९
ताजा लोकप्रिय

एसईईपछि सीपमूलक शिक्षातर्फ किन नलाग्ने ?

विहीबार, १२ साउन २०७९, १२ : १४
विहीबार, १२ साउन २०७९

हिजो र आज दुइ दिन अति नै धेरै लाइक र कमेन्टमा समय बिताइयो । कारण धेरै साथी, आफन्तका छोराछोरीहरुले एसईई अथवा हाम्रो पालाको एसएलसी पास गरेछन् । ए प्लसभन्दा कम ल्याउनेको त खासै पोस्ट आएन, शायद भोलि पर्सि आउला ।

एसईईको कुरा गर्दा यो लेख एउटा पुरानै कथाबाट सुरु गर्न चाहन्छु । साथीको बाबु मरेपछि सम्झाउनै पर्यो, सम्झाएछ अर्को साथीले । बाबु नै मरेको पीरमा साथीले सम्झाए पनि आँसु त रोकिएन । पछि रहँदै बस्दै जाँदा त्यही सम्झाउनेको बाबु मरेछ । कोकोहोलो गरेर रुँदो भो । अनि अघिल्लो साल बाबु मर्नेले साथीलाई सोधेछ, हैन पोहोर हाम्रा बा मर्दा त खुब पण्डित बनेर सम्झाउँथिस् त, अहिले किन यत्रो बबाल नि ? शोकमा डुबेकाले पनि रिसले चूर भएर जवाफ दियो, तेरो जस्तो झारे हो त मेरो बाबु ।

एसईई हामीलाई उसैको झारे बाबुजस्तो लाग्छ, सायद आफ्नोमा कोही नभएर होला । भए पनि अहिले उति मतलब गरिँदैन । कारण उ बेलाको जस्तो चार्म पनि छैन । हामी ४० को दशकमा एसएलसी पास गर्ने त गाउँमा निकै नाक फुलाएर हिँड्थ्यौं भने २० र ३० को दशकमा पास गर्नेको रवाफ कति थियो होला ? २०१७ सालमा एमए पास गर्ने एकजना विद्वानको सर्टिफिकेट हेरेको त राजा महेन्द्रकै सही पो रहेछ । उ बेला विश्व विद्यालयका कुलपतिले नै सर्टिफिकेटमा सही गर्ने प्रचलन रहेछ । हो, त्यस्ता सर्टिफिकेट घरमा हुनेको रवाफको त कुरै छोडौं ।

एसएलसीको कुरा गर्दा कहिल्यै नबिर्सिने एउटा घटना छ । एकजना साथीकी बहिनीले काठमाडौंको त्यतिबेलाको नाम चलेकै स्कुलबाट एसएलसीमा टपटेन भइन् ।​ टपटेन भएपछि धुमधाम पार्टी भयो । हामी पनि गयौं । विश्व विद्यालयको विद्यार्थी भएकाले गच्छेअनुसारको चिज लिएर गयौं तर गच्छे बिर्सेर खाइयो । खानपानकै क्रममा मैंले बधाइ दिँदै भने, ‘बहिनी यो त सामान्य गेट मात्रै हो, अब बहिनीको खास सामथ्र्य देखिने डिग्री आईएस्सी हो, त्यसमा पनि यस्तै मार्क आयो भने जीवन सफल मान्नुपर्छ । ’

अंकल आन्टी दुवै रिसाए । त्यहाँ त बोलेनन् तर आफू फुस्रो आर्टस् पढ्छ, कति न हाम्री छोरी डाह गर्छ भन्थे रे । त्यसपछि मैले कहिल्यै त्यो घरमा पाइलो टेकिनँ । पछि एक कान दुई कान हुँदै सुनियो, फस्र्ट इयरमा बहिनीको ब्याक लागेछ । पढाउने त हाम्रै साथी जो हुन्थे । अंकल आन्टीलाई साह्रो पीर पर्यो । आईएस्सी सकिनासाथ हतार हतार बंगलादेश पढ्न पठाए । फेरि हल्ला फिँजाए, छोरीले आईएस्सीको पनि बोर्ड हानी । बंगलादेशमा प्लान पाई ।

अलि अघिल्लो पुस्तामा कोलम्बो प्लानअन्तर्गत पढ्ने हुनाले उ बेला छात्रवृत्तिलाई प्लान भनिन्थ्यो । एक दुई दिनमै अंकल आन्टी डेरा सरेपछि पो थाहा भयो, अंकलले घरै बेचेर बहिनी पढाएका रहेछन् । केको बोर्डमा आउनु ? अर्को ब्याक लागेर बेङ्लोरबाट जाँच दिलाएर ढाका पठाएका रहेछन् ।

अहिलेको ए प्लस पनि हाम्रै बहिनीको बोर्डभन्दा गुणस्तरीय  छैन । तर यसो भनेर एसईई पास गर्नेको ईष्र्या गरेको भन्ने नसम्झनुहोला । मैले पढाइको गुणस्तरको कुरा मात्र गरेको हो ।

मेरोजस्तो गनगन हरेक पुस्ताका बुढापाकाले गर्छन् । अझ सासुले बुहारीको उछित्तो काड्न पाए त सारी खुस्केकै थाहा पाउँदैनन् । तर जे भए पनि सासुले पेटभरि नखाइ आधा रातसम्म काम गरेको भने सत्य हो, भलै अहिलेका बुहारीले त्यसो गर्नुपर्दैन । आवश्यक नै छैन । उही कुरो मात्र ।

ए प्लसले पनि हाम्रो पालामा झैं घाँसको भारी बिसाएर हतार हतार गाँस टिपेर कुद्नु पर्दैन । अहिलेका ए प्लसहरु त नुहाएर कट्टु बाथरुममै छोडेर निस्कन्छन् । आमाले धोइसिन्छ भन्छन् । आफन्तलाई चिन्दैनन्, वास्तै गर्दैनन् । बोर्डिङ भनिने सबै निजी स्कुलका विद्यार्थीको हालत एउटै छ, चाहे गाउँमा होस् या सहरमा ।

अहिले खाजाका लागि सय नलिने त कलेज के जालान् र ? हुनेका लागि त समस्या होला नहोला, नहुनेकाले पनि त्यसै गरेपछि बाबुआमाको कत्रो हुर्मत ।

बाबुलाई स्ुकल पुर्याएर आको, नानीलाई स्कुल पुर्याएर आको नभन्नेहरु कम भेटिन्छन् कार्य क्षेत्रमा । ती नानीबाबुहरु सबै बालबालिकामात्र होइनन्, प्लुस टु का विद्यार्थी पनि छन् ।  बाटो काट्नै जान्दैन समेत भनेको सुनिन्छ ।

यस्ता किशोर किशोरीबाट के आशा गर्ने ? हामी कस्ता सन्तान उत्पादन गर्दैछौं ? कस्तो पढाइ सिकाउदैछौं ?

अझ आमाबाबुलाई पनि उही हाम्रा अंकलले झैं डाक्टरै पढाउनु छ । नभए इन्जिनियर बनाउनु छ । त्यतिले भएन भने विदेश पठाउनु छ । राम्रो शिक्षा त दिनै पर्यो ।

बाबुको हाकिमको छोरो विदेशबाट फर्किदा एयरपोर्ट भन्सारमा जागिरे खरिदारले ठग्नुसम्म ठग्छ । विचरा बाबुको कमाइ राम्रो नभएकाले आफ्नै बाबुको अफिसको हाकिमको छोरा विदेश जाँदा आफू कुच्चिएर लोकसेवा पढ्न वाध्य भएको सम्झिन्छ । इष्र्याले आगो भएर बेसरी कर लिन्छ, सके जफत नै गर्छ । उसलाई थाहा छ, यतिबेला बाबुको हाकिमले केही गर्न सक्दैन ।

त्यसैले अब ए प्लसवालाहरुलाई पढाउँदा ध्यान दिने बेला आयो । उसको चाहना, रुचि र क्षमताका आधारमा कलेज पठाउने वा प्राविधिक शिक्षातर्फ लैजाने भन्ने निर्णय गर्नुपर्दछ । नभए फेरि उही हाम्रै अंकलको जस्तो हालत हुन्छ ।

अहिले सबैभन्दा बढी कमाउने भनेको प्लम्बरले हो । पढेका प्लम्बरले अमेरिकाको पनि ग्रीनकार्ड पाउँछन्, अस्ट्रेलियाको पीआर पनि पाउँछन् । यतै एउटा अपार्टमेन्टको ठेक्का लिए भने दुई चारवटा घर जोड्छन् । उसँगै ए प्लस ल्याएको साथी डाक्टरै भए पनि १२÷१५ वर्ष बिना घरजग्गा जोड्न सक्दैन । अरु सामान्य विषयको पढाइले त नसोचे पनि हुन्छ । तिनै डाक्टरको घरमा पाइप जोड्न जाने प्लम्बरले डाक्टरको भन्दा कति हो कति बढी कमाउँछ । अझ उसले पाँच सात महिना सिकेर काम सुरु गर्दा डाक्टर हुने भर्खर प्लस टुमा हुन्छ । उसले एमबीबीएसको इन्ट्रान्स दिउञ्जेलमा प्लम्बरले कमाउनै थाल्छ ।

भारतले नेपालबाट वर्षेनी चार खर्ब रुपैयाँ लैजान्छ भनिन्छ । टोल टोलमा खोलिएका सैलुनमा दाह्री र कपाल काट्नेहरुले तिरेको पैसा हो त्यो । बरु यही सिप सिके छिटै धनी होइन्छ । कपाल काटेको डेढ सय नाघ्यो क्यारे अहिले । दिनमा कसो २० जनाको नकाटिएला ?

त्यस्तै टोल टोलमा फलाम, टिन, प्लास्टिक, पुरानो कापी किताब भन्दै आउनेमार्फत कति कमाउँदो हुन्, भारतीय मजदुरले । एउटा सामान्य कबाडीवालाको परिवारले महिनामा एक गाडी समान बेच्दा लाखौं कमाउँदो रहेछ, बिना लगानी, अथवा अति कम लगानीमा । यस्ता कबाडीवाला त काठमाडौं उपत्यकामा कम्तिमा पनि पाँच सय हाराहारीमा होलान् । मात्र काठमाडौंबाट हामी वर्षको करिब ६ अर्ब रुपैयाँ कबाडीवाला मार्फत भारत पठाउँछौं ।

हाम्रा एमए पासलाई कबाडीवाला काममा लाग्न प्रेरित गर्न हामीलाई केले रोक्यो ? खै मेरो विदेशको प्रोफेसर त आधा दिन हेभी ट्रक चलाउँथे । विश्व विद्यालयको कमाइ भन्दा दुई गुणा हुन्छ भन्थे ।

मेरा एकजना मित्रले बताएअनुसार हामीले घरबाट फ्याँक्ने फोहोर उठाउनेलाई महिनाको साढे ३ सय तिर्छौं नि, त्यसमा दुई सय बराबरको त कबाडी समान नै हुन्छ रे । उनी घर घरबाट फोहोर संकलन गरेर कम्पोस्ट मल बनाउने हुनाले उनको हिसाब ठिकै होला भन्ने लाग्छ । काठमाडौं उपत्यकाका ६ लाख ८४ हजार घर परिवारबाट मात्र महिनाको तीन सय पचासका दरले उठाउँदा पनि करिव २५ करोड त महिनामा उठ्छ । यसमध्ये दुई सयको कबाडी हुन्छ भने १३ करोड ६८ लाख  भयो । यो सबै भारत नै जान्छ । वर्षमा एक अर्ब ६४ करोड त फोहोरमार्फत भारत पुग्यो ।

कबाडीबाट कमाएको पैसा गनाउने त होइन । हामीले यता किन नहेर्ने ? त्यसैले अबका ए प्लसहरुलाई यतातिर लगाऔं । सबैले विदेशै जानुपर्छ भन्ने छैन । यसै त हामी बढीमा दुई सन्तान जन्माउँछौं । छोरीको बिहे गरेर पठाउँछौं । छोरो विदेश भासिन्छ । होला कसै कसैलाई छोराले लैजाला तर सबैको ग्यारेन्टी हुँदैन । बुहारी कस्ती आउली । फेरि बुढेसकालमा एक्लै । त्यसैले अब सीपमूलक शिक्षामा ध्यान दिऔं ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

डा. बद्रीप्रकाश ओझा
डा. बद्रीप्रकाश ओझा
लेखकबाट थप