शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

२७ वर्षका यी युवकले जागिर पाएनन्

बिहीबार, १२ साउन २०७९, १७ : ०३
बिहीबार, १२ साउन २०७९

२७ वर्षका एक युवकले जति गरेपनि जागिर नपाएपछि एउटा भिडियो पोस्ट गरेका छन् । चीनको डोङगुआनका यी युवक लगभग ३० वर्ष पुग्नै लागिसकेका छन् तर उनी भने बच्चा जस्तै देखिन्छन् ।

माओ सेङ आफू २७ वर्ष पुगिसकेको दाबी गर्छन् तर उनी १० वर्षको बालक जस्तो देखिन्छन् । आफ्नो उमेरभन्दा पनि कम देखिनु त राम्रो कुरा हो नि भनेर कतिले भनिरहेका छन् तर माओ यसलाई अभिशाप भन्छन् । किनभने जवान भइसक्दा पनि जागिर नपाउँदा धेरै नै सास्ती खोप्नु परेको बताएका छन् । उनले आफू जति उमेरका बताउँछन् कम्पनीले त्यसलाई मरेकाटे पनि विश्वास गरेनन् । कसैले विश्वास गरेर जागिरमा लगाइहाले पनि हेर्ने मान्छेहरुले उनलाई देखेपछि बाल श्रम गराएको भन्दै आरोप लगाउने डरले पनि उनलाई जागिर दिन अप्ठेरो माने ।

माओ सेङ गत हप्ता चीनमा रातारात भाइरल भए जब उनको एउटा भिडियो दोउयिन (टिकटक) मा पोस्ट भयो । उक्त भिडियोमा ती युवकले आफ्नो उमेर बताउँदै आफूले जागिर नपाएको गुनासो पोखेका थिए । उनले हालै हृदयघात भएका पिताको उपचारमा खर्च गर्न नपाएको दुखेसो पनि उक्त भिडियोमा पोखेका थिए ।

सेङको भिडियोमा धेरैले प्रतिक्रिया पनि दिएका छन् । कतिले उनलाई जागिर नदिएको भन्दै कम्पनीहरुलाई गालीसमेत गरेका छन् । तर जब उनी अनलाइनमा चर्चित भए थुप्र्रै व्यवसायीले उनलाई जागिरको प्रस्ताव राखे ।

उनले पोस्ट गरेको अर्को भिडियोमा सेङले एउटा कम्पनीको प्रस्ताव स्वीकार गरेको र बुवाको उपचारमा अब आफूले सहयोग गर्नसक्ने बताए । बुवा निको भएपछि उनले एकजना प्रेमिका खोजेर आफ्नो परिवार बसाउने इच्छा पनि व्यक्त गरे ।

माओबारे थुप्रै चिनियाँ मिडियाले समाचार बनाएपनि कुनै पनि मिडियाले २७ वर्षका उनी किन बच्चाजस्तै देखिएका हुन् भन्ने जानकारी भने दिएका छैनन् । कतिले उनको पिट्युटरी ग्रन्थीमा समस्या देखिएका कारण उनको शारीरिक विकासमा रुकावट आएको हो कि भन्ने आशंका गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप