बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘फोर लेन’ सडक विस्तारको आयोजना अलपत्र

‘म्याद सकियो, काम सकिएन’
बिहीबार, १२ साउन २०७९, १७ : ४०
बिहीबार, १२ साउन २०७९

लमही–घोराही–तुुलसीपुर ‘फोर लेन’ सडक विस्तारको आयोजना अलपत्र परेको छ । ठेक्का सम्झौतामा उल्लेखित समयमा निर्माण सम्पन्न हुनु त परै जावस्, अहिलेसम्म १७ प्रतिशतमात्र भौतिक प्रगतिको अवस्थामा अल्झिएको छ ।आयोजना विस्तारका नाममा सडक पूरै भत्काइएको छ । सम्झौतामा उल्लेखित समय सीमासम्म निर्माण कार्यमा आलटाल गरेको ठेकेदार कम्पनी अहिले म्याद थप्नका लागि भने दौडधुप गरिरहेको छ ।

२०७५ पुुस १३ गतेदेखि निर्माण सुरु भएको सडकको अहिलेसम्म १७ प्रतिशतमात्रै भौतिक प्रगति भएको अवस्था छ । ०७८ असोज मसान्तसम्म सडक निर्माण सम्पन्न गर्ने गरी भारतीय निर्माण कम्पनी तथ्य इन्जिनिरिङ एण्ड इन्फ्रा प्रोजेक्टले १ करोड २१ लाख ८२ हजार डलरमा ठेक्का सम्झौता गरेको थियो । तर सम्झौता अनुुरुप निर्माण कम्पनीले सडक निर्माणको काम गर्न सकेन । सम्झौतामा तोकिएको म्यादभित्र भौतिक प्रगति नभएपछि निर्माण कम्पनीले म्याद थपका लागि दौडधुप बढाएको छ ।

तुुलसीपुर उपमहानगरपालिका–१७ का दिपेश डाँगीले भने, ‘फोरलेन सडक कहिले बन्ला ? बनाउनका लागि भत्काए, भत्काएपछि सडक बनाउँदैनन् । घोराही तुुलसीपुर आउजाउ गर्न निकै मुुस्किल परेको छ ।’

न काम, न कारबाही

३० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीले सडक विस्तारको जिम्मा लिए पनि तोकिएको समयसीमाभित्र काम अघि बढ्न सकेन । निर्माण कम्पनीले काममा निकै ढिलासुस्ती गरे पनि सरोकारवाला निकायले न अनुगमन गरेको छ, न ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई ताकेता वा कारबाही नै गर्न सकेको छ ।

‘निर्माण कम्पनीले लापरबाही गरेको छ, त्यसको दुुःख दाङवासीले खेप्नुु परेको छ,’ घोराही निवासी सुन्दर थापाले भने, ‘ठेकेदारले न काम गर्छ, न कारबाहीमा पर्छ ।’

सरकारभन्दा ठेकेदार बलियो

फोर लेन सडक विस्तार आयोजना निर्माणको जिम्मा भारतीय निर्माण कम्पनीले तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा पोजेक्ट नयाँदिल्लीले लिए पनि रेखदेखको जिम्मा भालुुवाङ–बाग्दुला, भिमगिठे, चन्द्रौटा– कृष्णनगर, लमही–घोराही–तुलसीपुर फोरलेन सडक विस्तार आयोजनाले लिएको छ । तर आयोजनाले ठेकेदार कम्पनीलाई न काम लगाउन सक्छ, न कारबाही गर्न सक्छ ।

आयोजना कार्यालय प्रमुुख अर्जुन बलमे भने, ‘ठेकेदार कम्पनीलाई हामीले केही गर्न सक्ने अवस्था छैन, भारतीय ठेकेदार कम्पनी भएकाले उसले हाम्रो कुरालाई वास्तै गर्दैन ।’

ठेकेदारले निर्माणको काम गर्न नसक्दा बिनियोजित बजेट नै फ्रिज भएको उनको भनाइ छ । उनले भने, ‘ठेकेदारले काम गरेको भए न बजेट फ्रिज हुन्थ्यो, न योजना निर्र्माण नै अलपत्र पर्ने थियो ।’

एक अर्ब ३४ करोड फ्रिज

लमही–तुुलसीपुर फोर लेन सडक विस्तार आयोजनाका लागि आर्थिक वर्ष २०७८÷०७९ मा छुट्याइएको एक अर्ब ३४ करोड २३ लाख रुपैयाँ फ्रिज भएको छ । आयोजना निर्माणको काम हुुन नसक्दा बिनियोजित बजेटको करिव ७० प्रतिशत रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङले जनाएको छ ।

कार्यालयका कोष नियन्त्रक उदयराज भण्डारीका अनुसार जिल्लाकै गौरवको आयोजनाका रुपमा रहेको फोरलेन सडक विस्तारमा भइरहेको लापरवाहीले बजेट फ्रिज भएको हो । सो वर्ष फोर लेन सडक विस्तारका लागि विनियोजित १ अर्ब ३८ करोड ६० लाख ८ हजार मध्ये ४५ करोड ८४ लाख १८ रुपैयाँमात्रै खर्च भएको उनले बताए ।

म्याद थप्न दौडधुुप  

३० महिनाको अवधिमा निर्माण सम्पन्न गर्न नसकेको कम्पनीले थप ६ महिना गुजारिसकेको छ । अहिले फोरलेन सडक विस्तारको काम ठप्प छ । म्याद हुुँदासम्म काममा बेवास्ता गरेको ठेकेदार कम्पनीले म्याद सकिएपछि भने म्याद थप्न दौडधुप बढाएको हो । कम्पनीले एक पटक म्याद थप भए सडक निर्माणको काम सक्ने भन्दै सिडिओ कार्यालयदेखि मन्त्रालयसम्म लबिङ गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गिरिराज नेपाली
गिरिराज नेपाली
लेखकबाट थप