शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘बालेनका कारण र्‍यापरको इमेज राम्रो बन्यो’

शुक्रबार, १३ साउन २०७९, ११ : ४४
शुक्रबार, १३ साउन २०७९

र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ का विजेता हुन् साइमन विष्ट उर्फ भाइबर साइमन । अन्य प्रतिस्पर्धीलाई उछिन्दै विष्टले उपाधि जितेका हुन् । उपाधिसँगै उनको ‘नेपहपको श्रीपेच’ को पहिलो विजेताको परिचय बनेको छ ।
विजेता भएपछि आयोजकले उनलाई उपाधिका रुपमा जुन मुकुट लगाइदिएका थिए, त्यो मुकुट विवादमा समेत पर्यो । विवादपछि आयोजकले पुरानो मुकुट फिर्ता गरेर नयाँ लगाइदिएका थिए । आफूले ठुलो संघर्ष गरेर पहिलो पटक हात परेको मुकुट (उपाधि) विवादमा पर्दा नमिठो लागेको विष्ट बताउँछन् । प्रस्तुत छ, ‘नेपहपको श्रीपेच’ को विजेता बन्दाको खुसी र आगामी दिनको योजनाको बिषयमा रातोपाटीले उनीसँग गरेको कुराकानीको सम्पादित अंशः

‘नेपहपको श्रीपेच’ को विजेता घोषित हुँदा कस्तो अनुभूति भइरहेको छ ?
– सबैको मायाले यो सफलता हात परेको हो । खुसीको सीमा छैन । देश तथा विदेशबाट राम्रो प्रतिक्रिया आइरहेको छ । नेपाली र्‍यापको पहिलो रियालटी शोको पहिलो विजेताको रुपमा मेरो रेकर्ड बन्यो । यो एउटा ठूलो  उपलब्धि हो । उपाधि जित्नकै लागि मैले फाइनलमा ‘मै जित्छु’ भन्ने टाइपको गीत समेत बनाएको थिएँ ।

विजेता बन्न कत्तिको मेहनेत थियो ?
– ६ बर्ष भयो म र्‍यापमा लागेको । र्‍यापका विभिन्न पक्षमा मेहनेत गरिरहेको थिएँ । ६÷७ महिना अगाडि सुरु भएको शोमा धेरै मेहनेत गरेको थिए । पहिले देखिकै मेहनेतले गर्दा उपाधि हासिल गर्न सफल भए जस्तो लाग्छ । मेहनेत गरे सफलता हात पर्छ भन्ने पनि बुझे ।
 
आफैले मूल्याङ्कन गर्दा के कुराले विजेता बनायो जस्तो लाग्छ ?
– र्‍यापमा मेहनेत र प्राक्टिक्स दुबै चाहिन्छ । ममा शो जित्छु भन्ने विश्वास र आँट पनि थियो । शोमा देशभरका सहभागी थिए । उनीहरुसँग प्रतिस्पर्धा गर्दा म झन् निखारिदै गएँ । आफूलाई सबैभन्दा अलग र अब्बल बनाउने कोसिस गरिरहे । त्यही कुराले उपाधि दिलायो ।

आगामी दिनमा के–कस्ता चुनौती देख्नु भएको छ ?
– यो त सुरुवात हो । आगामी दिनका चुनौती धेरै देखेको छु । पहिले म जुन ठाउँमा थिए, त्यहाँबाट यहाँ आएर र्‍याप शोमा भाग लिनु भनेको एउटा नयाँ यात्राको सुरुवात गर्नु हो । अहिलेसम्म नेपालमा र्‍याप संगीतका लागि ठूलो स्थान बनिसकेका छैन । त्यसैले अवको दिनमा चुनौती धेरै देख्छु ।

उपाधि जित्ने आश थियो त ?
– विगत ६ बर्षदेखि म र्‍यापमा भए पनि बिचमा २ बर्ष जति ग्याप भएको थियो । जव यो शोको बारेमा सुनेँ उपाधि जितेपनि नजितेपनि प्राक्टिक्स हुन्छ, र्‍यापमा कमब्याक हुन्छ भनेर आएको थिएँ । 
प्रतिभा देखाउँदै जाँदा टप टेनसम्म पुग्छु कि भन्ने आस थियो । उपाधि नै जित्छु भन्ने कल्पना समेत नगरेको बिषय हो । र्‍यापमा धेरै दुःख मिसाएर म्युजिकमा खेल्न सकियो भने सबैको मन छुन सकिन्छ, सफलता हात पर्छ भन्ने मैले बुझेको थिएँ । शोमा मैले त्यही गरे । 

गाउने रहर कहिलेदेखि थियो ?
– सानैदेखि कविताहरु लेख्थें । जव ‘प्लस टु’ साइन्स लिएर पढ्न थाले । त्यो समय करिव ६ महिना अध्ययनबाट फुर्सद मिल्यो । फुर्सदको समय संगीतमा दिनुपर्यो भनेर लागे । त्यसका लागि आफू पनि युवा भएकोले अहिले युवापुस्ताले रुचाउने बिषय र्‍याप रोजे ।

र्‍याप गीत संगीतले देशमा कतिको प्राथमिकता पाउने गरेको छ त ?
–र्‍याप गीत संगीत धेरै प्राथमिकतामा त पर्ने गरेको छैन ।  विश्वमा यसको चर्चा भने दिन प्रतिदिन बढ्दो छ । नेपालमा पनि राम्रो दिन सकियो भने भविष्य छ भन्ने मेरो बुझाई हो । केहीले राम्रो पनि गरेका छन् ।

र्‍याप संगीतमा ब्यङ्ग्य चाँहि किन नि ?
– मैले बुझेअनुसार धेरै पहिले काला जातिले गोराहरुसँग बोल्न, आवाज उठाउन पाउँदैन थिए रे । काला जातिले अप्रत्यक्ष रुपमा आफ्नो आवाज सुनाउन एउट संगीतको माध्यम अपनाए । त्यो यही र्‍याप थियो । र्‍यापको विकास त्यसरी भएको देखिन्छ । 
समाजका विकृति, बिसंगतिदेखि राजनीतिलगायत हरेक खराव पक्षको विरोध र्‍याप गीतमा समेट्न सकिन्छ । अरुको संस्कृति र्‍याप हामीले फलो गरेका हौँ । नेपालमा पनि जहाँ जुन बिषयमा आवाज पुगेको हुँदैन । त्यस बिषयमा र्‍याप बनाउन सकिन्छ । र्‍याप मार्फत बोलेको युवा पुस्ताले सुन्ने भएकोले यो प्राथमिकतामा पर्दै जान थालेको हो ।

‘नेपहपको श्रीपेच’ को मुकुट विवादमा पर्यो नि ?
– हो, आयोजकले मलाई पहिले लगाइदिएको मुकुट विवादमा पर्यो । त्यो मुकुट बौद्धको एक पसलमा बेच्न राखिएको रहेछ । आयोजकले राम्रो देखेर किनेर ल्याउनु  भएछ । त्यससँग जोडिएको बिषय थाहा थिएन । त्यो मुकुटको बिषयमा जव बौद्ध धर्म गुरुहरुबाट विवाद भयो, हामीले फिर्ता गर्यौ । मुकुटमा अन्य गहन बिषय पनि  जोडिएको रहेछ । नेपाली समाजमा बसेपछि सबैको साथ र सहयोग आवश्यक पर्छ । विवादमा पर्नु हुँदैन भनेर फिर्ता गरिएको हो ।
मुकुट विवादमा पर्दा कस्तो लाग्यो ?
– जीवनमा पहिलो पटक त्यो पनि धेरै मेहनेतका साथ हासिल गरेको उपाधि प्राप्त मुकुट विवादमा पर्दा मनमा चस्स बिझ्दो रहेछ । मुकुट विवादले ट्रोल तथा सामाजिक सञ्जालको निशानीमा समेत परे । त्यो नकारात्मक कुरा आउँदा दुःख लाग्यो ।
कस्ता गीत संगीत मनपर्छ ?
– र्‍याप मनपर्ने नै भयो । त्यसको अलावा नारायण गोपाललगायत पुराना गायक गायिकाको गीत सुन्छु, मनपर्छ । देश विदेशका केही र्‍यापरहरुलाई समेत नियमित फलो गर्छु । 

भविष्यको योजना ?
– म इन्जिनियर हुँ । यही फिल्डमा नियमित काम गर्छु । अहिले सोसल बिषयमा पनि ब्याचलर गर्दैछु । सामाजिक काममा समेत आफूलाई सक्रिय गर्छु । र्‍याप गीत संगीतलाई पनि निरन्तरता दिन्छु ।

यस अगाडि पनि यस्ता शोमा भाग लिनु भएको थियो कि ?
– र्‍याप गाएर स्टेज कार्यक्रम धेरै गरेको थिएँ । पूर्वमा आयोजना हुने र्‍यापमा ब्याटल शोहरुमा सहभागी भएर थुप्रै अनुभव हासिल गरेको थिएँ । राष्ट्रिय स्तरको शोमा सहभागी भएको ‘नेपहपको श्रीपेच’ पहिलो हो । 

‘नेपहपको श्रीपेच’ को मञ्चलाई कसरी हेर्नु भएको छ ?
– नेपालमा र्‍याप संगीतका लागि प्लेटफर्म छैन भन्ने गरिन्छ । त्यो प्लेटफर्म यो शोले दिएको छ । आफूमा क्षमता छ, र्‍यापमा करियर बनाउने सोच छ भने प्रतिभा देखाउन एउटा राम्रो प्लेटफर्म, मञ्च ‘नेपहपको श्रीपेच’ हो । राम्रो गर्न सक्नेले यसबाट भविष्य सजिलै बनाउन सक्छ ।

यस अगाडि रियालटी शो जितेका धेरै विजेता त्यसै हराएका छन् नि ?
– सबैको प्रतिभा अलग अलग हुन्छ । आउनु, हराउनु समयको खेल हो । र्‍यापकै कुरा गर्ने हो भने पनि यो धेरै प्रकारको छ । मेरो विचारमा एउटा प्रतियोगिता जितेपछि अवसरका ढोका धेरै खुल्छ । त्यसलाई कसरी आफूले क्याच गर्ने भन्ने ब्यक्तिमा भर पर्छ । शोले मानिसलाई अवसर दिने र चिनाउने हो । अगाडि बढ्ने, उपलब्धि हासिल गर्ने भनेको आफैले हो । आफैले राम्रो गरे कहिलै हराइँदैन । 

‘नेपहपको श्रीपेच’ मा आउन चाहनेका लागि के सुझाव दिनुहुन्छ ?
– यो एउटा राम्रो राम्रो प्लेटफर्म हो । जे कुरामा पनि मेहनेत धेरै चाहिन्छ नै । त्यो भन्दा बढी यसमा आवश्यक पर्छ । शोका लागि र्‍याप आफैले बनाउनुपर्छ । सबैथोक आफैले गर्नुपर्छ । मेहनेत, संघर्ष गर्न सक्नुहुन्छ भने योबाट भविष्य बन्छ, आउनुस् भन्छु ।

शोका जज बालेन शाह (बालेन्द्र) अहिले काठमाडौँ महानगरको मेयर भएका छन् । उहाँलाई कसरी हेर्नु हुन्छ ?
– नेपाली समाजको विकृति विसंगति, सबै क्षेत्रको खराब पक्ष लगायतको र्‍याप मार्फत बोल्ने गायक यमबुद्ध हुनुहुन्थ्यो । उहाँको निधनपछि नेपाली र्‍याप र हिपपपको स्तर खस्किएको थियो । त्यो र्‍यापलाई माथि उठाउने काम बालेन दाइले गर्नुभयो । 
र्‍यापरमा शिक्षा पनि भयो भने राम्रो हुन्छ । बालेन दाई एक इन्जिनियर हुनुहुन्छ । त्यसैले पनि सफल हुनु भएको हो । उहाँ महानगरको मेयर हुनु भनेको र्‍यापरहरुका लागि एउटा राम्रो इमेज बन्नु हो । उहाँले र्‍यापरका लागि राम्रो इमेज बनाइदिनु भयो । अर्काे र्‍यापरले देशमा केही चेन्ज गर्न सक्छ भन्ने उदाहरण पनि बालेन हुनुहुन्छ ।

तर र्‍यापरलाई समाजले हेर्ने दृष्टिकोण राम्रो छैन भनिन्छ नि ?
–र्‍यापर नशामा हुन्छन्, अश्लील गीत बनाउँछन् भन्ने समाजमा एक प्रकारको छाप छ । त्यो गलत हो । केही त्यस्ता होलान् । सबै त्यस्ता हँुदैनन् । म छैन । अश्लील कुरा कुनै मानिसले जन्मिदै लिएर आएको कुरा होइन । उसले समाजबाट सिकेको कुरो हो । उसले समाजमा जे सिक्यो, त्यही बोल्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप