बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेस शीर्ष नेताको क्षेत्रमा मतको हिसाब–किताब :  को–को छन् ‘रेडजोन’मा ?

शुक्रबार, १३ साउन २०७९, २० : १६
शुक्रबार, १३ साउन २०७९

प्रमुख राजनीतिक दलहरुभित्र आसन्न आम निर्वाचनको सम्भावित परिणामबारे हिसाब–किताब भइरहेको छ । स्थानीय तह निर्वाचन २०७९ मा प्राप्त मतलाई आधार मानेर दलहरुले आगामी निर्वाचन परिणामको हिसाब–किताब हुन थालेको छ । स्थानीय निर्वाचनमा मत र पदमा पहिलो भएको काँग्रेस पार्टीगत नाफा–घाटा हेरेर रणनीति तय गर्न लागिपरेको छ ।

काँग्रेसले एकल बहुमत ल्याउने उद्देश्यका साथ गठबन्धनको नीति अख्तियार गरेको छ । सत्ता साझेदार दल माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चालाई आसन्न निर्वाचनमा पनि सहयात्रीका रुपमा लिएर जाने काँग्रेसको रणनीति छ ।

गठबन्धनका साथ जाँदा आफूहरु पनि सुरक्षित हुने काँग्रेसका शीर्ष नेताहरुको स्वार्थ लुकेको छैन । स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतलाई आधार मान्दा काँग्रेसका अधिकांश शीर्ष नेता ‘ग्रीनजोन’मा छन् । तर नेकपा एमाले र माओवादीबीच गठबन्धन हुँदा काँग्रेसका सबैजसो शीर्ष नेता नै ‘रेडजोन’मा पुग्ने स्थानीय निर्वाचनको मत परिणामले देखाउँछ ।

यता काँग्रेस महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, प्रवक्ता प्रकाशशरण महत, पूर्वउपसभापति विजयकुमार गच्छदार, पूर्व सहमहामन्त्री सुनिल थापा, परराष्ट्रमन्त्री नारायण खड्का एक्लाएक्लै लड्दा ‘रेडजोन’मा छन् ।

गृह जिल्ला डडेल्धुराबाट चुनाव लड्दै आएका प्रधानमन्त्री तथा काँग्रेसका सभापति शेरबहादुर देउवा स्थानीय निर्वाचनको मतका आधारमा ८ हजार मतले अगाडि छन् ।

काँग्रेसका शीर्ष नेता को कति सुरक्षित ?

डडेल्धुुरामा गत स्थानीय निर्वाचनमा काँग्रेसले २१ हजार ७३५, माओवादीले १२ हजार ८७८, एमालेले १० हजार ४४९, एकीकृत समाजवादीले ५ हजार ४१, राप्रपाले ७ सय १४ र जसपाले १५६ मत पाएका थिए ।

०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा देउवा ६ हजार ९२९ मतान्तरले विजयी भएका थिए । देउवाले २८ हजार ४४ मत प्राप्त गर्दा तत्कालीन वाम गठबन्धनबाट माओवादीका खगराज भट्टले २१ हजार ११५ मत पाएका थिए ।

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका लागि स्थानीय निर्वाचन परिणामले आसन्न आम निर्वाचन केही सहज हुने देखाएको छ । तनहुँ–१ बाट चुनाव लड्दै आएका पौडेललाई स्थानीय निर्वाचनको मत परिणामले राहत दिएको छ ।

तनहुँ–१ मा काँग्रेसको ३३ हजार १०६, एमालेको २२ हजार २१०, माओवादीको ८ हजार ४७४, राप्रपाको १ हजार ७७५, एकीकृत समाजवादीको ८९२ र जसपाको ५४ मत छ । ०७४ मा वाम गठबन्धनबाट एमालेका उम्मेदवार किसान श्रेष्ठसँग ६ हजार ८१४ मतान्तरले पौडेल पराजित भएका थिए ।

स्थानीय निर्वाचनमा उपसभापति पूर्णबहादुर खड्काको निर्वाचन क्षेत्र सुर्खेत–१ मा काँग्रेस पहिलो छ । काँग्रेसको ३६ हजार ९२८, एमालेको ३४ हजार ८४३, माओवादीको ५ हजार ७५, राप्रपाको ६६४ र एकीकृत समाजवादीको ६३४ मत छ ।

०७४ मा खड्का वाम गठबन्धनबाट एमालेका उम्मेदवार ध्रुव शाहीसँग ३ हजार ४८२ मतले पछि परेका थिए । शाहीले ३६ हजार ८५९ मत पाउँदा खड्का ३३ हजार ३७७ मतमा सीमित भएका थिए ।काँग्रेसका अर्का उपसभापति धनराज गुरुङ पनि यस पटक प्रत्यक्ष रुपमा चुनावी मैदानमा आउने तयारीमा छन् । गुरुङले ताकेको स्याङ्जा–१ मा ०७४ मा पूर्व उपसभापति गोपालमान श्रेष्ठले चुनाव लडेका थिए ।

उनी वाम गठबन्धनबाट एमालेका उम्मेदवार पद्मा अर्यालसँग ३ हजार ७०६ मतान्तरले पराजित भएका थिए । अर्यालले ३५ हजार १४२ मत प्राप्त गर्दा श्रेष्ठले ३१ हजार ४३६ मत पाएका थिए । स्याङ्जा १ मा गत वैशाखमा भएको निर्वाचनमा काँग्रेसले ३७ हजार ५१०, एमालेले ३६ हजार ८४५, माओवादीले १ हजार ९८४ र राप्रपाले १ हजार २ मत पाएका थिए । स्याङ्जा–२ मा पनि काँग्रेस नै पहिलो स्थानमा छ ।

गुरुङ र श्रेष्ठमध्ये एक जना २ नम्बरबाट चुनाव लड्नुपर्ने अवस्था छ । स्थानीय तहको मत परिणाम अनुसार स्याङ्जा–२ मा काँग्रेसको ३६ हजार ८०६, एमालेको ३४ हजार ८०९, माओवादीको १२ हजार ४३, राप्रपाको ५११ र एकीकृत समाजवादीको २३३ मत छ । स्याङ्जा–२ मा ०७४ मा एमाले विजयी भएको थियो ।

स्थानीय निर्वाचनको गणितमा काँग्रेस पहिलो भएका बेला काठमाडौं–४ को परिणाम भने फरक छ । काँग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र काठमाडौं–४ मा एमाले पहिलो स्थानमा छ । काठमाडौं–४ मा एमालेको १६ हजार ५०७, काँग्रेस १५ हजार ७६३, एकीकृत समाजवादीको २ हजार ४१४, राप्रपाको २ हजार २९३, माओवादीको ८४४ र जसपाको ३१७ मत छ । तर ०७४ मा थापाले एमाले–माओवादी गठबन्धनलाई पराजित गरेका थिए ।

थापाले वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार डा. राजन भट्टराईलाई ३ हजारभन्दा बढी मतान्तरले हराएका थिए । थापाले २१ हजार ५५८ मत ल्याउँदा भट्टराईले १८ हजार १४० मतमात्र पाएका थिए ।

यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माको निर्वाचन क्षेत्र झापा–१ मा पनि स्थानीय निर्वाचन परिणामले एमालेकै पल्ला भारी देखाउँछ । झापा–१ मा एमाले ३१ हजार २३२ मतसहित पहिलो छ भने काँग्रेसको २४ हजार ५९ मत छ । यस्तै राप्रपाले ५ हजार ९२२, माओवादीले ३ हजार ९०५, एकीकृत समाजवादीले १ हजार २५२ र लोसपाले १६२ मत प्राप्त गरेको अवस्था छ ।

०७४ मा शर्मा वाम गठबन्धनबाट माओवादीका उम्मेदवार राम कार्कीसँग पराजित भएका थिए । कार्कीले ३६ हजार १७३ मत ल्याउँदा शर्माले ३३ हजार ३१० मत ल्याएका थिए । तर पाँच दलीय गठबन्धन भएको अवस्थामा भने महामन्त्रीद्वय थापा र शर्मा गणितीय रुपमा अगाडि हुने छन् ।

काँग्रेसका नेता प्रकाशमान सिंहको क्षेत्रमा स्थानीय निर्वाचनको परिणाममा काँग्रेस एमालेभन्दा ३५४ मतले अगाडि छ । काठमाडौं–१ मा काँग्रेसको ९ हजार ८९५, एमालेको ९ हजार ५४१, राप्रपाको १ हजार ३७६, माओवादीको १ हजार १५९ मत छ ।

२०७४ को निर्वाचनमा सिंहले काठमाडौं–१ मा विवेकशील साझाका अध्यक्ष रविन्द्र मिश्रलाई ८१८ मतान्तरले हराएका थिए । सिंहको १० हजार ९३६ र मिश्रको १० हजार ११८ मत आएको थियो । काठमाडौं–१ मा विवेकशील साझा गत स्थानीय निर्वाचनमा प्रतिस्पर्धामै आउन सकेन ।

धनुषा–३ मा ०७४ मा तत्कालीन समाजवादी फोरम र राजपा गठबन्धनसँग काँग्रेस पराजित भएको थियो । ०७४ मा काँग्रेस नेता विमलेन्द्र निधि तत्कालीन राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोसँग करिब ३ हजार मतान्तरले पराजित भएका थिए । महतोले ३० हजार ७४२ मत पाउँदा निधिको २७ हजार ८२८ मत आएको थियो ।

गत स्थानीय निर्वाचनबाट भने काँग्रेस धनुषा–३ मा ‘कमब्याक’ भएको छ । काँग्रेसका नेता विमलेन्द्र निधिको निर्वाचन क्षेत्र रहेको धनुषा ३ मा काँग्रेस २२ हजार ४२८ ल्याएर पहिलो छ । यहाँ मधेसवादी दल जसपा र लोसपाको मत जोड्दा पनि काँग्रेस ५ हजार ४२२ मतले अगाडि छ ।

धनुषा–२ मा एमालेको १७ हजार ०९६, लोसपाको ८ हजार ७६३, जसपा ८ हजार २४३, एकीकृत समाजवादीको ३ हजार ७२५, जनमत पार्टीको २ हजार ४९१, माओवादीको ६६५ र राप्रपा ५०१ मत छ ।

काँग्रेसका नेता विजय गच्छदारको निर्वाचन क्षेत्र सुनसरी–३ मा स्थानीय निर्वाचनको परिणाम एमालेको पक्षमा देखिन्छ । यहाँ एमालेको ३५ हजार ५३, काँग्रेसको ३३ हजार ५७१, जसपा ५ हजार ५१६, माओवादीको ३ हजार ८ सय, राप्रपाको ३ हजार ३३१ र एकीकृत समाजवादीको ६२६ मत छ ।

०७४ को निर्वाचनमा गच्छदारले गठबन्धनबाट एमालेकी उम्मेदवार भगवती चौधरीलाई झिनो मतान्तरले पराजित गरेका थिए । गच्छदारले ३८ हजार ९७२ मत ल्याउँदा चौधरीले ३८ हजार ६५१ मत ल्‍याएकी थिइन् ।

यस्तै नेता कृष्णप्रसाद सिटौलाको निर्वाचन क्षेत्र झापा–३ मा काँग्रेसले स्थानीय निर्वाचनमा पहिलो मत पाएको छ । काँग्रेसले २५ हजार ९४९ प्राप्त गर्दा २१ हजार १५९ प्राप्त गरी राप्रपा दोस्रो स्थानमा छ ।

यस्तै, एमालेले २१ हजार ८५, माओवादीले ६ हजार ६८८, जसपाले ५३७ र लोसपा २०८ मत पाएका छन् । ०७४ मा वाम गठबन्धनको साथमा उम्मेदवार बनेका राप्रपाका राजेन्द्र लिङ्देनले १३ हजार ४५५ मतान्तरले सिटौलालाई हराएका थिए । लिङ्देनले ४४ हजार ६१४ मत ल्याउँदा सिटौलाले ३१ हजार १५९ मतमात्र पाएका थिए ।

स्थानीय निर्वाचन परिणाम अनुसार शशांक कोइराला पनि प्रतिनिधिसभा निर्वाचनमा सुरक्षित देखिन्छन् । उनको निर्वाचन क्षेत्र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ मा स्थानीय तह निर्वाचनमा काँग्रेस ४० हजार ५११ मत ल्याएर पहिलो स्थानमा छ । यहाँ एमाले ३९ हजार ९५१ ल्याएर दोस्रो स्थानमा रहँदा राप्रपाको २ हजार ३७३, माओवादीको १ हजार ९२१ र जसपाको १८८ मत मात्र छ ।

०७४ को निर्वाचनमा कोइरालाले वाम गठबन्धनका उम्मेदवारलाई सहजै हराएका थिए ।

काठमाडौं–५ मा स्थानीय निर्वाचन परिणाम एमालेको पक्षमा छ । यहाँ पाँच दलीय गठबन्धनका वडाध्यक्षले पाएको मतभन्दा एमाले एक्लैले पाएको मत बढी छ । काठमाडौं–५ मा एमालेको १९ हजार ७०३ काँग्रेसको १४ हजार ८५३, राप्रपाकोे २ हजार ८२२, एकीकृत समाजवादीको १ हजार ८२७, माओवादीले १ हजार १६८ र जसपाको ५८ मत छ । यो ०७४ मा काँग्रेस नेता (वर्तमान प्रवक्ता) डा. प्रकाशशरण महतले चुनाव लडेको क्षेत्र हो । महत वाम गठबन्धनबाट एमालेका उम्मेदवार ईश्वर पोखरेलसँग ९ हजार ८ सय ६० मतान्तरले पराजित भएका थिए । पोखरेलले २३ हजार २९ मत पाउँदा महतले १३ हजार १६९ मत ल्याएका थिए ।

आसन्न निर्वाचनमा महत नुवाकोट–२ बाट चुनाव लड्ने तयारीमा छन् । नुवाकोट–२ मा स्थानीय निर्वाचनको गणित भने काँग्रेसको पक्षमा छ । त्यहाँ काँग्रेसको २९ हजार ८६१, एमालेको २६ हजार ३७७, माओवादी १६ हजार ६७, राप्रपा २ हजार २११, एकीकृत समाजवादीको ९६१ मत छ ।

यस्तै नेता सुनिल थापाको निर्वाचन क्षेत्र धनकुटामा लोकप्रिय मतमा एमाले पहिलो छ । स्थानीय निर्वाचनमा एमालेले ३६ हजार ३३६ मत पाउँदा काँग्रेसले २८ हजार १८२ मतमात्र पायो ।

यहाँ माओवादीको ५ हजार ४५८, जसपाको २ हजार २९३, एकीकृत समाजवादीको १ हजार ७२८ र राप्रपाको ३०४ मत छ । ०७४ मा राजेन्द्र राईसँग थापा पराजित भएका थिए । राईले ३७ हजार ३३३ मत पाउँदा थापाले २६ हजार ८७४ मत ल्याएका थिए ।

यस्तै नेता शेखर कोइरालाको निर्वाचन क्षेत्र मोरङ–६ मा काँग्रेस पहिलो छ । स्थानीय तह निर्वाचनमा काँग्रेसले २७ हजार ८६, एमाले २४ हजार ५५६, माओवादी ४ हजार ९९६, जसपा ३ हजार ९३९, राप्रपा ३ हजार ११५, एकीकृत समाजवादीको २ हजार ३५५ र लोसपाको ८९५ मत छ । स्थानीय निर्वाचनताका मोरङमा पाँच दलीय गठबन्धन नभए पनि कोइरालाको निर्वाचन क्षेत्रमा काँग्रेसले आफ्नो वर्चश्व कायमै राखेको छ । कोइराला अहिले काँग्रेसभित्रको विपक्षी खेमाको नेतृत्वका रुपमा स्थापित छन् ।

०७४ को निर्वाचनमा भने कोइराला वाम गठबन्धनबाट एमालेका उम्मेदवार लालबाबु पण्डितसँग ६७५ मतान्तरले पराजित भएका थिए । पण्डितले ३३ हजार ९४१ मत प्राप्त गर्दा कोइरालाले ३३ हजार २६६ मत पाएका थिए ।

यस्तै काँग्रेसका नेता बलबहादुर केसीलाई पनि स्थानीय निर्वाचनको मत परिणामले राहत दिने देखिन्छ । सोलुखुम्बुबाट चुनाव लड्दै आएका केसीको पार्टी काँग्रेसले स्थानीय निर्वाचनमा १९ हजार ६८ मत ल्याएको छ । यस्तै एमाले १६ हजार ५९७ मत ल्याएर दोस्रो हुँदा माओवादीले १२ हजार ४२५ मत ल्याएर तेस्रो स्थान बनायो । यता एकीकृत समाजवादीले १६३, र जसपाले १४२ मत पाएका थिए ।

०७४ मा भने केसी वाम गठबन्धनबाट माओवादी केन्द्रका हेमकुमार रार्ईसँग पराजित भएका थिए । राईले २० हजार ९१२ मत पाउँदा केसीले १७ हजार ७४५ मतमात्र पाएका थिए ।

यस्तै गृहमन्त्री तथा काँग्रेस नेता बालकृष्ण खाणको गृहजिल्ला रुपन्देहीमा स्थानीय निर्वाचनमा काँग्रेसले आफ्नो वर्चश्व कायम राखेको छ । खाणले निर्वाचन लड्दै आएको रूपन्देही–३ मा स्थानीय तहको निर्वाचन परिणाम हेर्ने हो भने काँग्रेस पहिलो छ ।

उक्त निर्वाचन क्षेत्रमा काँग्रेसले ३४ हजार १५३, एमालेले २९ हजार ०४८, राप्रपाले १३ हजार ३९७, जसपाले ६ हजार १८३, माओवादीले २ हजार ८८१, लोसपाले २ हजार १७४, एकीकृत समाजवादीले ९७७ मत ल्याएका छन् । तर गृहमन्त्री खाणले रूपन्देही–१ बाट चुनाव लड्ने तयारी थालेको चर्चा छ । त्यहाँ पनि काँग्रेस ३२ हजार ९९९ मत सहित पहिलो स्थानमा छ  । एमालेको ३० हजार ३९४, राप्रपाको १४ हजार ५५२, जसपाको ६ हजार ६९५, माओवादीको ४ हजार २०२, एकीकृत समाजवादीको १ हजार २४३, लोसपाको ३२५ मत छ । ०७४ को निर्वाचनमा खाण समानुपातितर्फबाट सांसद बनेका थिए ।

सञ्चारमन्त्री तथा काँग्रेसका नेता ज्ञानेन्द्र कार्कीको निर्वाचन क्षेत्र सुनसरी–४ मा काँग्रेसले स्थानीय निर्वाचनमा राम्रो मत प्राप्त गरेको छ । त्यहाँ काँग्रेसको २८ हजार ७५६, एमालेको २३ हजार ६१३, जसपाको ९ हजार ८६३, एकीकृत समाजवादीको ३ हजार ७००, माओवादीको ३ हजार ६४६, राप्रपाको ३ हजार ४५७ र लोसपा १ हजार ५०४ मत छ ।

०७४ को निर्वाचनमा कार्कीले गठबन्धनका उम्मेदवार रमेश श्रेष्‍ठलाई ६ हजार ५ सय ९७ मतान्तरले हराएका थिए । कार्कीले ३२ हजार ३४७ मत ल्याउँदा श्रेष्‍ठले २५ हजार ७५० मतमात्र पाएका थिए ।

काँग्रेस नेता एनपी साउदको निर्वाचन क्षेत्र कञ्चनपुर–२ मा पनि काँग्रेस २२ हजार ३७९ मत सहित पहिलो छ । स्थानीय निर्वाचनमा एमालेभन्दा साढे ३ हजार मतले काँग्रेस अगाडि छ ।

यहाँ एमालेले १८ हजार ८२८, माओवादीले १२ हजार ५७२, एकीकृत समाजवादीले ४ हजार १६१ र राप्रपा ३ हजार ९५३ मत ल्याएका छन् । ०७४ मा बाम गठबन्धनबाट एमालेका उम्मेदवार नरबहादुर धामीले साउदलाई पराजित गरेका थिए । धामीले ३३ हजार २२० मत ल्याउँदा साउदले २४ हजार ८९३ मत पाएका थिए ।

यस्तै परराष्ट्रमन्त्री डा. नारायण खड्काको निर्वाचन क्षेत्र उदयपुर–१ मा एमालेले स्थानीय निर्वाचनमा २१ हजार ६५२ मत ल्याएर पहिलो स्थान ओगट्न सफल भएको छ । यहाँ काँग्रेसले २० हजार ७५७, माओवादीले ८ हजार १७९, जसपाले २ हजार ४२९, एकीकृत समाजवादीले १ हजार ९९४ र राप्रपा १ हजार ६३३ मत ल्याएका छन् ।

०७४ मा खड्काले वाम गठबन्धनबाट एमाले उम्मेदवार मञ्जुकुमारी चौधरीलाई हराएका थिए । खड्काले ३३ हजार १४२ मत पाउँदा चौधरीले ३२ हजार ५९४ मत पाएकी थिइन् ।

काँग्रेस नेतृ आरजु राणा देउवाको निर्वाचन क्षेत्र कैलाली–५ मा स्थानीय निर्वाचनको गणित काँग्रेसको पक्षमा छ । यहाँ काँग्रेसको २२ हजार ७७९, एमालेको १७ हजार ४२०, माओवादीको ८ हजार १७५, एकीकृत समाजवादीको २ हजार ९, राप्रपाको १ हजार ७९७, नागरिक उन्मुक्ति पार्टीको ६५९, लोसपाको ३०२ र जसपाको १५० मत छ ।

आरजु ०७४ मा वाम गठबन्धनबाट एमालेका उम्मेदवार नारदमुनि रानासँग पराजित भएकी थिइन् । रानाले ४ हजार ८ सय ८० मतान्तरले उनलाई पराजित गरेका थिए । रानाले २७ हजार २०२ मत ल्याउँदा आरजुले २२ हजार ३२२ मतमात्र प्राप्त गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप