बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बालेनलाई असफल हुन छुट छैन

आइतबार, १५ साउन २०७९, १२ : २४
आइतबार, १५ साउन २०७९

दलतन्त्रको शासनबाट आजित भएका काठमाडौँका मतदाताले  महानगर प्रमुखमा बालेन शाहलाई अत्यधिक मतले विजय गराए । उनलाई नेपाली जनताले निष्पट्ट अँध्यारोको सानो झिल्काका रूपमा लिएका छन् । राजनीतिक विश्लेषक सीके लालले उनलाई जुनकिरीको संज्ञा दिएका छन् । उनीलगायत धरान, धनगढीका स्वतन्त्र उम्मेदवारले हासिल गरेका नतिजाले धेरै सार्वभौम र स्वतन्त्र चेत राख्ने ठूलो विशेषगरी युवा पङ्क्तिले उनलाई प्रेरणाको स्रोत मानेका छन् । उनको उदाहरणबाट धेरै उत्प्रेरित भएका छन् । 

सबैलाई थाहै छ, उनले निर्वाचनमा काठमाडौँको फोहोर सफा गर्ने उद्घोषसहित मत मागेका थिए । फोहोर व्यवस्थापनको चुनौती  पनि उनले सामना गर्दैछन् । बालेनले यहाँका बाटाका फोहोर मात्रै होइन, राजनीति र प्रशासनका फोहोर पनि सफा गरून् भन्ने नागरिकले अपेक्षा गरेका छन् । 

बालेन यतिबेला आफैँले प्रस्तावित गरेर नागरिकले स्वीकृत गरेको परीक्षामा छ । उनको परीक्षाको घडी सुरु हुँदैछ । थाहा छैन, उनी आफैँले प्रस्ताव गरेको परीक्षामा सफल हुन्छ कि असफल ? अहिले नै भन्न हतारो हुन्छ । परीक्षाको पूरा अवधि प्रतीक्षा गर्नै पर्छ । 

बालेन शाहको जिम्मेवारी धेरै कारणले चुनौतीपूर्ण रहेको उनले यतिबेला महसुस गरिसके होलान् । उनी महानगर प्रमुखका नाताले विभिन्न दलका वडाध्यक्षहरूले नगरभित्र गरेका राम्रा नराम्रा कामका जसअपजस दुवै लिनुपर्ने दायित्वमा छन् । काठमाडौँ महानगरभित्र गरिने सबै खालका गतिविधिको उनले दायित्व लिनैपर्ने छ । त्यसबाट उम्किने अवसर बालेनलाई छैन । मैतीदेवीमा ढल बनाउने भनेर गत माघमा र यो असारमा खन्ने काम भयो । तर खनेर त्यतिकै छाडेको कारणले ढल मर्मतको नाममा भएकै ढल निकासी भताभुङ्ग गरी राख्दा अहिले दुर्गन्ध फैलाउने काम भएको छ । यो त चिकित्सकले बिरामीको उपचार गर्ने भनेर चिरेर त्यतिकै राखेको जस्तो भयो । त्यसैले यस्ता विकासको नाममा गरिने विकास–विरोधी गतिविधिको पनि बालेनले बेलैमा चासो राखेर समाधान गरिदिनुपर्छ ।  

यो पाँच वर्षमा उनले तय गर्ने यात्राले नै नेपालमा वैकल्पिक भनिन चाहने र स्वतन्त्र भन्न रुचाउनेहरूको आगामी राजनीतिक भविष्य पनि निर्धारित हुनेछ । बालेन नेपाली राजनीतिमा एउटा नौलो प्रयोग हुन् । यो प्रयोगमा उनले उम्मेदवारी दिने आँट गरे, मतदाताले मत । दलीय पञ्जाबाट बाहिर आएर मतदाताले नयाँ प्रयोगको लागि मतपत्रमा सहीछाप लगाएका हुन् । बालेनलाई नयाँ आशाको हैसियतले हेरिएकाले उनी व्यक्तिगत रूपमा सफल र अझ असफल हुन छुट छैन । उनको सफलता र असफलता व्यक्तिगत कदापि होइन । उनको सफलता र असफलताले नेपाली राजनीतिमा केही अर्थ अवश्य नै राख्छ । असफलता नै असफलताको चक्रमा देश परिक्रमा गरिरहेको बेलामा ब्रोको सफलताले निरस नेपाली राजनीति र देशभित्र र झन् बढी राजनीतिमा केही सम्भावना नदेखेका युवाहरूले नयाँ सम्भावना देख्नेछन् र पाउनेछन् । त्यसैले बालेनलाई असफल हुने सुविधा पटक्कै छैन । 

बालेनले काठमाडौँको फोहोर सँगसँगै सडकमा मागी हिँड्ने, सडकमै बस्ने बेघरहरूलाई सडकबाटै मुक्त गर्ने घोषणा गरेछन् । त्यसका लागि बालेनले सिधै बल प्रयोगको विधि अख्तियार गरेछन् । प्रहरी परिचालनमार्फत सडकमानवलाई धरपकड र डन्डा बजार्न थालेछन् । सडकमानव व्यवस्थापनको लागि बल प्रयोगको विधि गलत नै हो । थुप्रै विकल्पमार्फत सडकमानवको व्यवस्थापन गर्न सकिन्छ । बालेनले सडकमानव व्यवस्थापनमा सिधै बल प्रयोगको विधि प्रयोग गरेर सामान्य नागरिकको नजरमा पहिलो गल्ती गरेका छन् । त्यसैगरी बालेनले दोस्रो गल्ती सडकका छेउछाउमा मकै पोल्ने र सामान्य पसल गर्नेहरूलाई हटाउने उद्घोष गरेर गर्न थालेका छन् ।

पङ्क्तिकार बिहानीको हिँडाइमा जादा (मर्निङ वाक) कमलपोखरी, सिटी सेन्टरमा केही दिनअगाडि नगर प्रहरी छ्याप्छ्याप्ती थिए । भोलिपल्ट जाँदा सिटी सेन्टरको आफ्नै परिधिमा सडकका पल्लो किनारामा रहेका खाजाघरहरू धमाधम हटाउँदै थिए । यो दृश्य देखेपछि पङ्क्तिकारलाई बीस वर्षअगाडि दिल्लीमा बस्दाका केही स्मृतिहरू ताजा भएर आए । त्यतिबेला नेपालमा माओवादी युद्ध चलिरहेको थियो । धेरै युवा माओवादी र सेनापक्षका तानातानमा परेका कारणले त्यसबाट जोगिन र यता बेरोजगारीको समस्या भएकाले दिल्लीमा गएर पेसा–व्यवसाय गरेर बसेका थिए । एकजना चिनेजानेका नेपाली युवाले दिल्लीको कैलाश स्टोपछेउको बाटाको किनारमा मम, चाउमिनका खाजा पसल राखेका थिए । उनको त्यो पसल साँझ साँझ खुल्थे । मान्छेको कति भीड लाग्थ्यो भने दस पन्ध्रजनालाई हम्मेहम्मे पथ्र्यो । उनको सानो त्यो व्यवसायले आफ्ना गाउँका बीस पच्चीस जनाले त्यहाँ रोजगार पाएका थिए । त्यहाँ कमाएर आफ्नो घरमा बेलाबेलामा पैसा पठाउँथे । त्यो व्यवसायबाट राम्रो पैसा कमाएका र आफ्ना गाउँका केटाहरूलाई रोजगारी पनि दिएका थिए । पछि दिल्ली छोडेपछि थाहा पाएँ, विविध कारणमध्ये त्यहाँका प्रहरीले निकै दुःख दिएका कारणले पसल बन्द भएछ । सबैजना नेपाल फर्के । आखिरमा कोही पनि यहाँ बसेनन्, कसैलाई हाम्रो राज्यले रोजगारी दिन सकेन । राज्यले उनीहरूलाई हरियो राहदानी दियो, त्यहीँ बोकेर ती युवाहरू खाडीतिर लागे । 

बालेनले सडक छेउछाउका पसलहरूलाई लखेटेर त्यसमा आश्रितहरूलाई पुनः विदेशमा लखेट्दैछ भन्ने पङ्क्तिकारलाई अनुभूति हुँदैछ । बालेनले यो अर्को तेस्रो गल्ती गर्दैछन् । हाम्रो राज्यले दुई सय वर्षदेखि नेपाली युवाहरू विदेशमा बेचिरहेका सन्दर्भमा बालेनले पनि यसमा योगदान थप्दैछन् । 

औपचारिक अर्थतन्त्र पनि धरापमा परेको यतिबेला अनौपचारिक अर्थतन्त्र र रोजगारीका क्षेत्रलाई बालेन ब्रोले पनि तहसनहस पार्दैछ । सडकका छेउमा सानो पसल थापेर तिनले बाटोमा हिँड्नेहरूलाई खाजा पानी ख्वाएर सहयोग गरेका छन् । राज्यलाई केहीकेही आर्थिक गतिविधिबाट सहयोग पुर्‍याएका छन् । आफ्ना केटाकेटीलाई पढाएका–पालेका छन् । वित्तीय संस्थाहरू तिनैबाट निक्षेप सङ्कलन गरेर खस्कँदो ढुकुटीलाई टेवा दिँदै चलायमान बनाएका छन् । वित्तीय संस्थाहरू आर्थिक मन्दीबाट गुज्रेको नौ महिना भइसक्यो । ठूला साहुहरूले एकाएक ठूलो रकम बैङ्कबाट बाहिर लगेका कारणले अहिले वित्तीय संस्थाहरूले आर्थिक सङ्कट बेहोरिरहेका जानकारहरू बताउँछन् । हुनेखाने वर्गका छोराछोरीहरू विदेशमा पढ्न जानाले पनि डलर सञ्चितीमा ह्रास आएको टिप्पणी छ । साना पुँजीका सडक पसलेहरूले अहिलेको यस्तो आर्थिक मन्दीमा योगदान गरिरहेको परिप्रेक्ष्यमा बालेनले अचानक चाल्ने कदमले कति नकारात्मक असर गर्छ, त्यसको हेक्का राखेका छन् कि छैनन् ? 

बालेन निकै असहिष्णु रहेको नगरमा चर्चा हुन थालेको छ । हिमालय टेलिभिजनका रिपोर्टरलाई दुव्र्यवहार गरे । भर्खरै समाचारमा आएअनुसार उनले कतिपय सञ्चारगृहलाई मुद्दा हालेका छन् । त्यहीँ मिडियाको हाई हाईमा एकाएक चर्चाको शिखरमा पुगेर काठमाडौँ महानगरका प्रमुखमा निर्वाचित भए । तर बालेनको कार्यशैलीलाई लिएर कतिपय मिडियाले प्रश्न उठाएकाले गर्दा तिनीहरूमाथि मुद्दा हाल्नुले बालेन ब्रोमा सामान्य आलोचनात्मक सुझाव पचाउने र सहने चेत नरहेको असहिष्णु नेतृत्वको रूपमा नगरमा चित्रण गर्न थालेका छन् । बालेनले अर्को यम बुद्ध र्‍यापरको पहिले सालिक बनाउने उद्घोष गरेका थिए, त्यसको नागरिक स्तरमा व्यापक विरोध भएपछि अहिले उनको नाममा पार्क बनाउने भनेका छन् उनको प्रारम्भिक व्यवहारलाई हेरेर, यो त विगतका नेताजस्तै पो रहेछ भन्न थालेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप