बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

विवेकशील साझाको अध्यक्षमा तीन जनाको दाबी, रवीन्द्र मिश्रको बाटो कता ?

आइतबार, १५ साउन २०७९, १७ : ५८
आइतबार, १५ साउन २०७९

विवेकशील साझाको नेतृत्वका लागि तीन जना दौडमा देखिएका छन् । स्थानीय निर्वाचनमा पार्टीको लज्जास्पद हारपछि रवीन्द्र मिश्रले अध्यक्षबाट राजीनामा दिएसँगै सो पार्टी नेतृत्वविहीन छ । मिश्रको विकल्पका रुपमा विवेकशील साझाका सचिवालय सदस्य प्रकाशचन्द्र परियार, केन्द्रीय सदस्य भीमप्रसाद अधिकारी, पार्टी संयोजकबाट कारबाहीमा परेका मिलन पाण्डेले दाबी प्रस्तुत गरेका हुन् । सहमतिमा नेतृत्व चयनका लागि अध्यक्षका दाबेदार परियार, अधिकारी र पाण्डेबीच पटक छलफल हुँदै आएपनि सहमति भने हुन सकेको छैन । 

विवेकशील साझाका संस्थापक सदस्य समेत रहेका परियार पार्टीको सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुखको जिम्मेवारीमा छन् । पछिल्लो समय मिश्रको काम कारबाहीप्रति असन्तुष्टि जनाउँदै निर्वाचन आयोगसम्म पुग्ने समूहको नेतृत्व  विवेकशील साझाका जेष्ठ सदस्य अधिकारीले गरेका थिए ।

यस्तै पाण्डे विवेकशील नेपाल दल र साझाबीच एकीकरण हुँदा विवेकशील साझाको संयोजकको बनेका थिए ।  गत पुस ६ गते मिश्रले पाण्डेलाई संयोजकको जिम्मेवारीबाट हटाएका थिए । मिश्रले अध्यक्षबाट राजीनामा दिँदा पाण्डेमाथिको कारबाही स्वतः फिर्ताको घोषणा गरेका थिए ।

तर केन्द्रीय समिति बैठकले औपचारिक रूपमा पाण्डेमाथि भएको कारबाही फिर्ता लिइसकेको छैन । यद्यपि परियार, अधिकारी र पाण्डे खुलेर अध्यक्षको तयारीमा जुटेको विवेकशील साझाका एक नेताले रातोपाटीलाई बताए । 

एक नेता अनुसार आकांक्षीहरुबीच पटक पटक छलफल भइसकेका छन् । सो क्रममा उनीहरुबीच नेतृत्वका साथै सैद्धान्तिक र वैचारिक विषयमाथि छलफल केन्द्रित छ । ‘महाधिवेशनको मोडालिटी कस्तो हुने र आम निर्वाचन अगाडि महाधिवेशन गर्ने कि पछि टुंगो लागेको छैन,’ ती नेताले भने. 'नेतृत्वलगायत अन्य विषयमापनि कुराकानी भइरहेको छ तर ठोस सहमति हुन सकेको छैन ।'

यस्तै वैचारिक लाइनबारे केन्द्रीय समितिबाट निर्णय गरेर अगाडि जाने वा महाधिवेशनबाट निर्क्योल गर्ने भन्नेबारे तीन समूहबीच सहमति भइसकेको छैन । ‘विचार भन्दा माथि देश’ सम्बन्धी दस्तावेजप्रति असहमति जनाउँदा कारबाही भोगेकाहरु अब  मिलेरै जान राजी भइसकेका छन्। मिश्रले पनि कारबाही परेकाहरुलाई एकताबद्ध गरेर जान विज्ञप्तिमार्फत आग्रह गरेका थिए । तर अध्यक्षबाट राजीनामा दिएपछि मिश्र विवेकशील साझा पार्टीप्रति उदासीन देखिएको नेताहरूको गुनासो छ ।

अध्यक्षबाट राजीनामा दिएपछि मिश्रले एउटा इमेल लेख्नु बाहेक कुनै समन्वयकारी भूमिका नखेलेको नेताहरु बताउँछन् । ‘केन्द्रीय समितिमा कोरम पुर्याउन समस्या भयो । एउटा अध्यक्ष मण्डल बनाएर बैठक आह्वान गर्न सकिन्छ कि भनेर एक पटक उहाँले इमेल लेख्नुभयो । त्यसपछि पार्टीमा उहाँको कुनै पहल रहेन,’ एक नेताले भने ।

पछिल्लो समय विवेकशील साझा र दरबार पार्टीभित्र एकता भएपछि थपिएका ५४ जना केन्द्रीय सदस्यका कारण बैठकमा कोरम पुर्याउन समस्या देखिएको छ । मिश्र समूह दुई भागमा विभाजन भएको छ भने पाण्डे समूहले समानन्तर अभ्यास गरेको एक वर्ष हुन लाग्यो । उनीहरु सबैलाई जोडेर बैठक राख्न समस्या भएको बुझिइएको छ ।

यता विवेकशील साझामा नयाँ नेतृत्व ल्याएर बलियो बनाउने भन्दा पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश हुने विषयमा मिश्र केन्द्रित भएको देखिन्छ । उनी राप्रपाका नेताहरुसँग निरन्तर संवादमा रहेको विवेकशील साझाका एक नेताले बताए । सङ्घीयता खारेजी, हिन्दु राष्ट्र स्थापना र संवैधानिक राजसंस्थाको पक्षमा मिश्र खुलेर लागेका छन् । राप्रपाले उठाएका सबै एजेण्डाको पक्षमा उभिएपछि मिश्र अब विवेकशील साझामा नरहने पार्टीका नेताहरुको बुझाइ छ ।

एक नेताले भने, ‘हामी सबैले नेतृत्वमा आउनुस् भन्दा पनि उहाँ नेतृत्वमा आउने मुडमा हुनुहुन्न । नयाँ नेतृत्व चयनका लागि वातावरण बनाउन पनि उहाँले खोज्नु भएको देखिँदैन । बरु उहाँले राप्रपामा जाने बाटो बनाउन आफूलाई प्रस्ट्याउँदै लगेको देखिन्छ । अफिसियलमार्फत मुलुकमा राजसंस्था चाहिन्छ पनि भन्नु भयो ।’ यसले मिश्रलाई पार्टीमा पूर्ण अल्पमतमा पुर्‍याएको छ ।

विवेकशील साझामा अहिले नेतृत्वको दौडमा देखिएका परियार र अधिकारीले आफूहरु लोकतान्त्रिक गणतन्त्रवादी भएको बताउँछन् । तर पाण्डे समूहले विगतमा विचार भन्दा माथि देश स्वीकार गर्नेहरु गणतन्त्रवादी हुन नसक्ने बताउँदै आएको छ । परियार र अधिकारीसँग अध्यक्षका लागि दाबी राख्नै नैतिकता नभएको पाण्डे समूहको ठहर छ । यता पाण्डेले समूहले विवेकशील साझाबारे निर्वाचन आयोग र सर्वोच्च अदालतमा दर्ता गराएको मुद्दा पनि किनारा लागेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप