समाचार

कर्णाली प्रदेशमा पेट्रोलियम भण्डारण क्षमता बढाउँदै आयल निगम

कुन प्रदेशमा कति भण्डारण क्षमता ?

person explore access_timeसाउन १६, २०७९ chat_bubble_outline0
साङ्केतिक तस्बिर

नेपाल आयल निगमले कर्णाली प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउने योजना अघि बढाएको छ । कर्णाली प्रदेशमा अहिलेसम्म पेट्रोलियम पदार्थको भण्डारण गर्ने ट्याङ्की छैन । निगमले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भण्डारण सुविधासहितको डिपो बनाउने तयारी अघि बढाएको हो ।


हाल कर्णाली प्रदेशले पेट्रोलियम पदार्थको माग नेपालगञ्ज डिपोबाट पूर्ति गर्दै आइरहेको छ । निगमका प्रबन्ध निर्देशक उमेशप्रसाद थानीले कर्णाली प्रदेशमा भण्डारण क्षमता विस्तार गर्ने योजना अघि बढाएको जानकारी दिए ।



उनले सुर्खेतमा भण्डारणसहितको डिपो बनेपछि प्रदेशको दैनिक माग धान्नका लागि नेपालगञ्जमा भर पर्नुपर्नेमा अवस्था अन्त्य हुने बताए । ‘अहिले नेपालगञ्जबाट ट्याङ्करमा तेल ल्याएर त्यसैबाट बिक्री गर्नुपर्ने बाध्यता छ,’ थानीले भने, ‘अब भण्डारण बनेपछि यो समस्या हट्छ ।’



थानी हालै सुर्खेत पुगेर भण्डारण ट्याङ्कीका लागि जग्गा निरीक्षण गरेर फर्किएका छन् । उनले सुर्खेतमा २÷३ स्थानमा जग्गा हेरेको बताए ।

यस्तै, निगमको प्रादेशिक प्रमुख राजकुमार केसीले हाल प्रदेशमा मट्टितेल र हवाई इन्धनको मात्रै भण्डारण रहेको जानकारी दिए । प्रदेशमा मट्टितेलको ४५ किलोलिटर र हवाई इन्धनको ६० किलोलिटर भण्डारण क्षमता छ । तर, दैनिक १ लाख लिटर डिजेल र ३० हजार लिटर पेट्रोल खपत हुने गरेकामा यी पदार्थको भण्डारण भने छैन ।

निगमले सुर्खेतमा सामुदायिक वनको क्षेत्राधिकारमा रहेको १० बिघा जग्गा लिएर डिपो बनाउने तयारी गरेको हो । सामुदायिक वनको क्षेत्राधिकारमा रहेको उक्त जग्गा अधिग्रहण गरेर डिपो बनाएमा ४२० किलोलिटर डिजेल र २१० किलोलिटर पेट्रोल भण्डारण गर्ने क्षमता बन्छ । जसले ४ दिनसम्मको डिजेलको माग र ७ दिनसम्मको पेट्रोलको माग धान्ने केसीको भनाइ छ ।

सुर्खेतमा आफ्नै भण्डारण डिपो सञ्चालनमा आएपछि नेपालगञ्जसँग आश्रित कर्णालीको पेट्रोलियम ढुवानीसमेत सहज बन्ने बताइएको छ । यसले समग्र देशकै भण्डारण क्षमता सुधार गर्ने आयल निगमले जनाएको छ । हाल नेपालमा डिजेल ५ दिन र पेट्रोल ८ दिनलाई पुग्ने भण्डारण क्षमता छ । सुर्खेतमा डिपो बनेपछि यो स्थिति केही सुधार हुने छ ।

कर्णालीबाहेक सबै प्रदेशमा भण्डारण

हाल निगमको भण्डारण डिपो कर्णाली प्रदेशबाहेक सबै प्रदेशमा छ । निगमका प्रवक्ता विनितमणी उपाध्यायले कर्णाली प्रदेश बाहेक सबै प्रदेशमा भण्डारण ट्याङ्की रहेको जानकारी दिए । ‘कर्णाली बाहेक ६ वटै प्रदेशमा भण्डारण सुविधा छ,’ उपाध्यायले भने, ‘यो प्रदेशमा पनि बनेपछि ७ वटै प्रदेशमा भण्डारण सुविधा हुन्छ ।’

निगमका अनुसार हाल प्रदेश १ को विराटनगर, मधेस प्रदेशको अमलेखगञ्ज र जनकपुरमा, बागमतीको थानकोट र सिनामंगलमा भण्डारण सुविधा छ । यस्तै, गण्डकीको पोखरामा, लुम्बिनीको भैरहवा र नेपालगञ्ज तथा सुदूरपश्चिमको धनगढीमा भण्डारण सुविधा छ ।

पेट्रोलियम पदार्थ भण्डारणमा पछि परेको कर्णालीमा ४५ हजार किलोलिटर मट्टितेल र ६० हजार किलोलिटर हवाई इन्धन भण्डारण क्षमता छ ।

स्रोत – नेपाल आयल निगम

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।