शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली चियाको आयात रोक्न ४० देखि शतप्रतिशत भन्सार लगाउने भारतको तयारी

सोमबार, १६ साउन २०७९, १७ : २०
सोमबार, १६ साउन २०७९

नेपालबाट आयात हुने अर्बौँ रुपैयाँको चिया आयात रोक्ने उपायको खोजीमा भारत सरकार लागेको छ । नेपालबाट आयात भइरहेको चिया गुणस्तरहीन रहेको आरोप लगाउँदै भारत सरकारले त्यसलाई नियन्त्रण गर्न कानुन नै बनाएर आयात रोक्ने तयारीमा लागेको हो ।

नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेश मित्तलले भारत सरकार नेपालबाट निर्यात हुने चिया रोक्ने तयारीसहित कानुन निर्माणमा जुटेको बताए । उनले रातोपाटीसँग कुरा गर्दै भने, ‘नेपालबाट आयात हुने चिया गुणस्तरहीन र न्यून मूल्य रहेकाले रोक्नुपर्ने उनीहरूको तर्क छ ।’

भारतीय चिया उत्पादकहरूको पहलसँगै यसअघि पनि पटक–पटक दुख दिँदै आएको भारत सरकारले अब भने पूर्णरूपमै चियाको आयात रोक्ने योजना बनाएको हो । यसका लागि भन्सार दर बढाएर र नबढाई कसरी रोक्न सकिन्छ भनेर भारतीय नियामक निकाय तयारीमा जुटेका छन् ।

‘नेपालबाट आयातित चिया सस्तो र गुणस्तरहीन रहेको उनीहरूको आरोप छ,’ अध्यक्ष मित्तलले भने, ‘गुणस्तरहीन रहेकाले आफ्नो देशको चियाले समेत अन्तर्राष्ट्रिय बजारमा विश्वास गुमाएको उनीहरूको निष्कर्ष छ ।’ यही निष्कर्षसहित चिया आयातमा बन्देज लगाउने तयारी गरेको मित्तलले जनाए ।

खासगरी, भारतको ‘डिपार्टमेन्ट रिलेटेड पार्लियामेन्ट्री स्ट्याण्डिङ कमिटी अन कमर्स’ले १५ जुन २०२२ मा भारतको लोकसभा र राज्य सभामा नेपाली चिया सम्बन्धी प्रतिवेदन नै पेस गरेको छ । जसमा नेपालको चिया ‘जिओग्राफिकल इन्डिकेसन’ (जीआई)मा दर्ता भएको र नेपाली चिया दर्ता नरहेको समेत बताइएको थियो । यसरी जीआईमा समेत दर्ता नभएको चिया मिसाएर भारतीय चिया निर्यात गर्दा समग्र देशको गुणस्तर नै खस्किएको उनीहरूको दाबी छ ।

यही कारण देखाउँदै भारतले नेपालको चियालाई पूर्णरूपमा बन्देज लगाउने तयारी थालेको हो । यसका लागि नेपालबाट आयात हुने चियामा ४० देखि १०० प्रतिशतसम्म भन्सार दर लगाउनेसम्मको तयारी भारतीय पक्षको छ । यस्तै, कर नबढाई नेपाली चियाको आयात रोक्नेसम्मको छलफल समेत भइरहेको व्यवसायीहरूको भनाइ छ ।

१५ जुनमा दुवै सभामा प्रस्तुत गरिएको प्रतिवेदनमा ‘विशेषगरी नेपालबाट निर्यात हुने चियाको आयात रोक्नुपर्छ ।’ खासगरी, भारतमा नेपालबाट सबैभन्दा धेरै चिया आयात हुन्छ । यसपछि दोस्रोमा केन्याबाट सबैभन्दा धेरै चिया आयात हुने गरेको छ । यस्तै, भियतनाम, श्रीलङ्का र इरानबाट समेत चिया आयात हुने गरेको छ । तर, भारतमा यी सबै मुलुकको तुलनामा नेपालबाट धेरै चिया आयात हुन्छ । सोही कारण, नेपालको चिया आयात रोक्ने योजना भारतले बनाएको अध्यक्ष मित्तलको भनाइ छ । 

यस्तै, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका प्रवक्ता डा. दीपक खनालले भारतले नेपालबाट आयात हुने चिया रोक्ने तयारी गरिरहेको जानकारी पाएको जानकारी दिए । यो जानकारी पाउनसाथ बोर्डले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई जानकारी गराइसकेको छ । भारतले गरिरहेको पछिल्लो तयारीका बारेमा उद्योग मन्त्री दीलेन्द्रप्रसाद बडूलाई जानकारी गराइसकेको डा. खनालले बताए ।

भारत – नेपाली चियाको सबैभन्दा ठूलो बजार

नेपालबाट गत आर्थिक वर्ष २०७८÷७९ मा ३ अर्ब १५ करोड ७६ लाख रुपैयाँको चिया निर्यात भएको छ । यस्तै, सोही अवधिमा २७ करोड रुपैयाँ बराबरको ‘ग्रीन टी’ निर्यात भएको छ । र, यो निर्यात वर्षेनी बढ्दो स्थितिमा रहेको भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कले देखाउँछ ।

यसमध्ये, भारतमा मात्रै नेपालबाट २ अर्ब ९८ करोड ८८ लाख रुपैयाँको चिया निर्यात हुन्छ । यो नेपालको कूल निर्यातभन्दा जम्मा १६ करोड ८८ लाख रुपैयाँ मात्रै कम हो । अर्थात् नेपालबाट भारत बाहेकको बजारमा जम्मा १६ करोड ८८ लाख रुपैयाँको मात्रै चिया निर्यात हुन्छ । नेपालबाट हुने ‘ग्रीन टी’को निर्यात भारतमा हुँदैन ।

संघका अध्यक्ष मित्तलका अनुसार नेपालबाट जाने सीटीसी चियाको ९० प्रतिशत हिस्सा भारतीय बजारले ओगट्छ । भारतबाहेकको बजारमा जम्मा १० प्रतिशत मात्रै सीटीसी चिया निर्यात हुन्छ । यस्तै, नेपालबाट निर्यात हुने अर्थोडक्स चियाको हिस्सा भारतीय बजारले ४५ प्रतिशतसम्म ओगट्ने संघले जनाएको छ । यस हिसाबले कुल चिया निर्यातमा भारतीय बजारको हिस्सा ६५ प्रतिशतसम्म रहेको बताइएको छ ।

अहिलेकै स्थितिमा भारत सरकारले नेपालबाट आयात हुने चियामा प्रतिबन्ध लगाएमा चिया खेती र यसको उत्पादनमा लगाइएको अर्बौँ रुपैयाँको लगानी डुब्ने जोखिम देखिन्छ । यस्तै, यस क्षेत्रमा आबद्ध हजारौँको रोजगारी गुम्ने र भुक्तानी नै गर्न नसक्ने स्थितिमा पुग्ने संघको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप