शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतीयलाई नागरिकता दिएपछि स्थानीयद्वारा जनप्रतिनिधिलाई कारबाही माग

सोमबार, १६ साउन २०७९, २३ : १३
सोमबार, १६ साउन २०७९

नक्कली अभिभावक खडा गरेर भारत दार्जिलिङ घर भएकी रजनी राईले प्रशासनबाट नागरिकता लिएपछि स्थानीयहरूले नागरिकता दिन सिफारिस गर्ने कर्मचारी र जनप्रतिनिधिलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरेका छन्  । 

रजनी राईले निजगढ नगरपालिका वडा नं १२ रामथली बस्ने श्यामराज गोले र जिरामाया गोलेलाई नक्कली बुवा आमा खडा गरेर ईलाका प्रशासन कार्यालय सिमराबाट नागरिकता लिएकी थिइन्  । वडा कार्यालयले दिएको सिफारिसका आधारमा राईले जेठ २३ गते जन्मदर्ता र त्यस लगत्तै जेठ २४ गते नागरिकताको लागि प्रक्रिया सुरु गरेकी थिइन् । 

उनले रतनपुरकै गोले परिवारलाई नक्कली अभिभावक बनाएर नागरिकताका लागि आवश्यक सम्पूर्ण कागजपत्र बनाएकी हुन् । वडा कार्यालय सिफारिसका आधारमा ईप्रका सिमराले राईलाई असार १ गते ३३–०२–७९–००५१३ नम्बरको नागरिकता जारी गरेको हो । भारतीय नागरिकले नक्कली अभिभावक खडा गरेर नागरिकता लिएको सूचना पाएपछि रतनपुरका स्थानीयहरूले आइतबार ईप्रका सिमरामा नाराबाजी गर्दै विरोध गरेका थिए । उनीहरूले नागरिकता खारेजीको माग गर्दै नक्कली नागरिकता बनाउन सिफारिस दिने कर्मचारी र वडाध्यक्षलाई कारबाहीको माग गरेका छन् ।

राईलाई जन्मदर्ता र नागरिकता बनाउन वडा सचिव शुभचन्द्र महतो र वडाध्यक्ष ज्ञानबहादुर गोलेले सिफारिस गरेका थिए । निजगढ नगरपालिका वडा नं १२ रतनपुरका स्थानीय युवक मोक्तानले  भारतीय महिलालाई नेपाली नागरिकता बनाउन सिफारिस गर्ने कर्मचारी र जनप्रतिनिधिलाई कारबाहीको लागि प्रशासनले चासो नदेखाएको कारबाहीको लागि ज्ञापनपत्र बुझाएको बताए । 

‘हामीले कानुन अनुसार कारबाही हुनुपर्छ भनेका छौ यदि भएन भने ईप्रका सिमरालाई नै विपक्षी बनाएर उच्च अदालत वीरगञ्जमा मुद्दा हाल्छौ’ मोक्तानले भने, ‘भारतीयलाई नागरिकता दिने कुरा योजनाबद्ध ढङ्गले प्रहरीको प्रष्ट मिलेमतोमा भएको देखिन्छ ।’ 

नक्कली अभिभावक खडा गरेर नागरिकता लिने भारतीय महिला रजनी राई र गोले परिवारलाई प्रहरीले खोजी सुरु गरेको छ । ईप्रका निजगढ प्रमुख सन्दीप ओलीले प्रशासनले खोजी मात्रै गर्नु भन्ने निर्देशन दिएकोले सोही आधारमा नक्कली अभिभावकको खोजी भइरहेको बताए । ‘हामीलाई पक्राउ गर्नु भन्ने आदेश आएको छैन, खोजी मात्रै गर्नु भनिएकोले बिहान बेलुका घरमा जाँदा अभिभावक भनिएका व्यक्ति फेला परेका छैनन्, जुलाई २१ तारिकदेखि उनीहरूको मोबाइल पनि बन्द छ,’ ओलीले भने । 

२०५८ साल चैत्र १५ गते जन्म भएको उल्लेख गरेर रजनीले जन्मदर्ता प्रमाणपत्र बडाबाट प्राप्त गरेकी थिइन् । तर भारतीय नागरिक रहेको प्रमाण खुल्ने मतदाता परिचयपत्र र आधार कार्डमा उनको जन्म वि.स. २०४५ चैत ११ गते उल्लेख छ । नेपाली नागरिकता प्राप्त गर्न रजनीले नक्कली अभिभावक खडा गरेको र झुठो विवरण पेश गरेको रहस्य झण्डै एक महिनापछि मात्रै खुलेको हो ।

जन्मदर्ता अघि रतनपुरस्थित अस्थायी प्रहरी चौकीमा सर्जविन मुचुल्का तयार गरिएको थियो । उक्त सर्जविन मुचुल्कामा यसअघि विविध कारण जन्मदर्ता हुन नसकेको उल्लेख गर्दै निजगढ नगरपालिका वडा नं. १२ का वडा सचिव शुभचन्द्र महतो, वडा सदस्य बुद्धिमाया विकसहित ८ जनाले हस्ताक्षर गरेका छन् । जिरामाया निवेदक रहेको सर्जविन मुचुल्कामा गाउँका स्थानीय आइते सिंह मोक्तान, सरिता सुब्बा, अकलबहादुर थिङ, गणेशबहादुर पाख्रिन र बासुलाल मोक्तानले रजनी उनकै छोरी हो भनेर प्रमाणित गर्दै हस्ताक्षर गरेको देखिन्छ ।

नागरिकता प्राप्त गर्नका लागि भरिने अनुसूची फारममा रजनीलाई अविवाहित रहेको प्रमाणित गरिएको छ । तर रजनीको भारतीय आधार कार्डमा उनको पतिको नाम छेडुप सिंगर र भारतीय मतदाता परिचय पत्रमा उनको बुवाको नाम किशोर राई उल्लेख छ ।

नक्कली विवरण भरिएको अनुसूची फारमसहित निजगढ नगरपालिका वडा नं. १२ का वडाध्यक्ष ज्ञानबहादुर गोलेले जेठ २४ गते ईलाका प्रशासन कार्यालयलाई नागरिकताका लागि सिफारिस गरेका थिए । सोही सिफारिसका आधारमा ईलाका प्रशासन कार्यालयले रजनीलाई असार १ गते नागरिकता दिएको हो ।

वडाध्यक्ष गोलेले नक्कली अभिभावक र झुटो विवरणको विषयमा आफूलाई जानकारी नभएकाले चिनजानको हिसाबले विश्वासका आधारमा सिफारिस दिएको बताएका छन् । ‘मैले सबै डकुमेन्ट दुरुस्त देखेरै हस्ताक्षर गरेको हुँ’ वडाध्यक्ष गोलेले भने ‘पछि भारतीय नागरिक हो भन्ने थाहा पाउनासाथ नागरिकता बदर सहित नियम अनुसारको कारबाहीको लागि साउन १ गते नै मेले प्रशासनमा  निवेदन दिइसकेको छु’ 

वडाध्यक्ष गोलेले दिएको निवेदनका आधारमा ईलाका प्रशासन कार्यालय सिमराले भारतीय महिलाको नागरिकता बदरको लागि प्रक्रिया सुरु गरेको छ । ईप्रका सिमराका प्रमुख मोहनप्रसाद अर्यालले स्थानीय प्रशासनले जारी गरेको नागरिकता बदरका लागि गृह मन्त्रालयमा जानकारी गराइसकेको बताए । ‘हामीसँग बदर गर्ने अधिकार हुँदैन त्यसैले गृह मन्त्रालयमार्फत प्रक्रिया अगाडी बढाउनुपर्छ, यसका लागि हामीले प्रक्रिया सुरु गरिसकेका छौ’ अर्यालले भने ।

असार १ गते नागरिकता प्राप्त गरेकी रजनीलाई हाजिर हुन  प्रशासनले पत्र काटे पनि उनी सम्पर्कविहीन भएपछि वडाध्यक्ष र अभिभावकको नाममा अर्को पत्र काटेको थियो । रजनीका नक्कली अभिभावक समेत हाल सम्पर्कमा नरहेको ईप्रका सिमराले जनाएको छ । 

दार्जिलिङबाट नागरिकता बनाउनकै लागि निजगढ आएकी उनी त्यसयता सम्पर्क बाहिर छिन् । रजनीले पासपोर्ट बनाउनका लागि नेपाली नागरिकता लिएको र पासपोर्ट बनाएर विदेश जाने तयारीमा रहेको अनुसन्धानको क्रममा खुलेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप