शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना संक्रमित आमाले कसरी गराउने स्तनपान ?

स्तनपान गराउँदा आमा र बच्चा दुवैलाई यस्ता छन् फाइदा
बुधबार, १८ साउन २०७९, १० : २६
बुधबार, १८ साउन २०७९

काठमाडौं । सरकारले ‘स्तनपानलाई बढाउन जनचेनता अभिवृद्धि गर्न सहयोग गरौँ’ भने नाराका साथ विश्व स्तनपान सप्ताह साताव्यापी रुपमा मनाइरहेको छ । परोपकार तथा स्त्रीरोग अस्पताल, थापाथलीमा कार्यरत बालरोग विशेषज्ञ डाक्टर कल्पना उपाध्याय सुवेदीका अनुसार भनेको बच्चा जन्मेदेखि ६ महिनासम्म आमाको दूध पियाउनुलाई पूर्ण स्तनपान भनिन्छ ।

शिशु जन्मिएपछि आमाले पूर्ण स्तनपान गराउनु पर्ने उनको भनाइ छ । जन्मिएदेखि ६ महिनाको अवधिमा बच्चालाई स्तनपानमात्र गराउन उनको सुझाव छ । यो अवधिमा बच्चालाई पानीसमेत आवश्यक पर्दैन । स्तनपान नै शिशुका लागि महत्वपूर्ण आहार रहेको उनले बताइन् ।

स्तनपान गराउँदा शिशुलाई हुने फाइदा

शिशु जन्मेपछि सुरुमा आउने आमाको बिगौती दूधमा शिशुलाई चाहिने सम्पूर्ण पौष्टिक आहार पाइन्छ । प्रोटिन कार्वोहाइड्रेड, फ्याटका अतिरिक्त बिगौती दूधमा रोगसँग लड्न सक्ने रोगप्रतिरोधात्मक तत्वसमेत हुने उनले बताइन् ।

निमोनिया, झाडापखाला, कुपोषण लगायतका रोगहरुबाट बचाउन बिगौती दूधको भूमिका रहने उनले प्रस्ट पारित् । पूर्ण स्तनपान गरेको शिशु अन्य शिशुको तुलनामा तीक्ष्ण हुने समेत उनले बताइन् । पूर्ण स्तनपान अर्थात् ६ महिनाको अवधिमा शिशु र आमाबीचको सम्बन्ध पनि प्रगाढ हुने भएकाले मानसिक रुपमा आमाका तनावहरु पनि निकै कम हुने उनको भनाइ छ ।

स्तनपान गराउँदा आमालाई हुने फाइदा

डा. सुवेदीका अनुसार स्तनपान गराउँदा आमालाई पनि धेरै फाइदा हुन्छ । जस्तै जन्मिने बित्तिकै स्तनपान गराउँदा जन्म पश्चात हुने रक्तस्रावहरु कम हुन्छ । पूर्ण स्तनपान गराउँदा आमालाई परिवार नियोजनको साधनको समेत काम गर्ने उनले बताइन् । स्तनपान गराउँदा शिशु जन्मेदेखि अर्को ६ महिनासम्म अर्को गर्भ रहने सम्भावना कम हुने उनको भनाइ छ ।

पूर्ण स्तनपान गराउँदा आर्थिक रुपमा पनि फाइदा हुने उनको भनाइ छ । परिवारले एक पैसा खर्च नगरी शिशुलाई आमाको दूधका रुपमा स्वस्थ आहार प्राप्त गर्ने उनले बताइन् ।

शिशुलाई उसले चाहेअनुसार पटकपटक स्तनपान गराउनुपर्ने उनले प्रस्ट पारिन् । तैपनि शिशुलाई २ देखि ३ घण्टाका बीचमा स्तनपान गराउनु उचित हुने उनले बताइन् । शिशु सुतेको छ भने ४ घण्टासम्म स्तनपान नगराए पनि हुने तर कुनै अरु कारणले शिशु धेरै नै सुतिरहेको छ भने उसको शरीरमा ग्लुकोजको मात्रा कमी हुन नदिन पनि ३ घण्टाको अन्तरालमा स्तनपान गराउन उनको सुझाव छ । हरेक २४ घण्टामा ८ देखि १२ पटकसम्म स्तनपान गराउँदा राम्रो हुने उनले बताइन् ।

स्तनपान गराउने महिलाले शिशुलाई आफ्नो दूधमात्र खुवाउने तर आफूले सबै किसिमको आहार सन्तुलित बनाएर खानुपर्ने उनले जानकारी दिइन् । जस्तै, गेडागुडी, चामल, मकै, गहुँ, माछामासु, हरियो सागपात खानुपर्ने उनले बताइन् । शाकाहारी भएमा गेडागुुडीमा जोड दिन उनको सुझाव छ । यस्ता खानेकुरा खाएर आवश्यकता अनुसार आराम गरेको खण्डमा बच्चालाई प्रशस्त दूध आउने उनको भनाइ छ ।

सुत्केरी आमालाई कोभिड–१९ संक्रमण भए कसरी स्तनपान गराउने ?

सुत्केरी आमामा कोरोना भाइरस संक्रमण भए पनि शिशुलाई स्तनपान गराउन सक्ने उनले बताइन् ।

उनका अनुसार स्तनपान गराउनु अगाडि कोभिड पोजेटिभ आमाले सुरक्षाका उपाय अपनाउनुपर्छ । जस्तै शिशुलाई छुनुभन्दा अगाडि राम्रोसँग हात धुने, मास्कको प्रयोग गर्ने, वरिपरिको वातावरण सफा राख्ने र शिशुलाई आफूसँग राखेर दूध खुवाउँदा कोभिड नसर्ने उनले बताइन् । शिशुलाई दूधबाट कोभिड नसर्ने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप