शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

संघर्ष र सेवाकी पर्याय डाक्टर विष्णुमाया परियारले रचेको इतिहास

बुधबार, १८ साउन २०७९, १२ : ४०
बुधबार, १८ साउन २०७९

डाक्टर विष्णुमाया परियारको जस्तो अवसर र सफलता सहजै कसैलाई प्राप्त हुन सक्दैन । आम नेपालीका लागि यो एउटा गर्वको विषय हो । झन् दक्षिण एसियाली मुलुकका दलित र नेपाली दलित समुदायमा महिलाका लागि डाक्टर विष्णुमाया परियार अमेरिकी स्कुलको पाठ्यक्रममा समेटिनु अपूर्व हर्ष, खुसी र गर्वको कुरा हो । विष्णुमायाको विश्वस्तरीय सफलतालाई आम नेपालीले खुसी मनाउनुपर्छ । गर्वले चौडा छाती पारेर भन्नुपर्छ ‘अवसर पाए  नेपाली चेली पनि विश्वमा कोहीभन्दा कम छैनन्’ ।

विष्णुमाया अमेरिकाका चर्चित नागरिक अधिकारकर्मी रोजा पार्क समेत समावेश भएको पाठ्यपुस्तकमा समेटिएकी छन् । असमानता र विभेदबारे रोजालाई उद्धृत गरेर बुझाएपछि उदाहरणका रुपमा डाक्टर विष्णुमाया परियारलाई देखाइन्छ । नेपालमा जातीय विभेद र असमानताबाट उत्पन्न समस्या सम्बोधन गर्न परियारले स्थापना गर्नु भएको एड्वानमार्फत भएका कामबारे छलफल गराइन्छ । २० मिनेट विष्णुमायाका बारे पढाइनेछ ।

अछूत र सतत लक्ष्य र जातीय प्रणालीलाई संयुक्तराष्ट्र सङ्घको दिगो विकाससँग जोडेर बुझाइन्छ । विश्वको इतिहास भूगोल विषयको १२ नम्बर च्याप्टरमा वृत्तचित्र ‘अनटचेबल’ शीर्षकमा समावेश गरिएको विभिन्न भिडियो स्लाइड सोका माध्यमबाट पढाइ हुन्छ । उक्त पाठमा विभेदबारे जानकारी गराउने ८ स्लाइड राखिएको छ । यो पाठ मासाचुसेट्सका सबै सरकारी विद्यालयमा लागू गरिएको छ भने आगामी वर्षदेखि अन्यत्र पनि लागू गरिने नीति छ । यसभन्दा पहिले पनि विश्वको ध्यान खिच्ने नेपाली अछूत भनिएका महिलाका कहानी ११ सयभन्दा बढी स्कुल, कलेज र विश्वविद्यालयमा पढाइ हुनुभन्दा ठूलो उपलब्धि अरू के हुनसक्छ ?

अमेरिकी प्रकाशक संस्था म्याकग्रो हिल (सन् १८८८ स्थापना) जसको पुस्तक सशुल्क किन्ने ४३ लाखभन्दा बढी विद्यालय, विश्वविद्यालय विद्यार्थी र प्रोफेसर भएको आँकडा २०२० को सर्वेक्षणमा समेटिएको थियो । ‘दी राइटर्स माइन्डसेट’ पुस्तकमा ५२ जनाको जीवनी उल्लेख भएकोमा विष्णुमायाको कहानी पुस्तकको ६९२ पृष्ठमध्ये ५९१–५९४ बीचको चार पृष्ठमा छ, जुन आफैँमा गहन र असामान्य प्राप्ति हो । अमेरिकाको टेक्सास म्यक्लेनन कम्युनिटी कलेजमा १९८९ देखि प्राध्यापनरत ‘दी राइटर्स माइन्डसेट’ पुस्तककी लेखक डाक्टर लिसा हफ्नर हुन् ।

राष्ट्र नै गर्व बोधले जुरुक्क उठेर खुसियालीमा सरिक हुनुपर्ने हो । दलित समुदायका विभिन्न अवसर प्राप्त, नाम प्राप्त, राजनीतिमा पनि रहेका मन्त्री, संसद्, राजदूत र विभिन्न लाभको पद धारण गरिसकेका अनि विश्वका ख्याति प्राप्त विश्व विद्यालयबाट शिक्षित र दीक्षित गैरदलित र दलित समुदायको मान्छेले बनाउन नसकेको व्यक्तित्व बनेको छ विष्णुमायाको जीवनी । दलित र सीमान्तकृत महिलाको सशक्तीकरणका लागि काम गर्ने विष्णुमायाको एड्वानले सामूहिक अन्तरघुलनमार्फत दलित र गैरदलित महिला र समुदायको भेद मेट्ने काम गरेको छ ।

न्युजर्सी सिटीमा मेयरको सल्लहाकार समितिमा रहेर काम गरिसक्नुभएकी विष्णु सिटी सहरकी महिला आयोग सदस्यसमेत हुनुहुन्छ । न्युजर्सी राज्यको एसियन अमेरिकन र प्यासिफिक आइल्यान्डरकी कमिस्नर भएर काम गरिरहनुभएको छ । नेपाली छोरी विष्णुको खुसीमा नेपालका लागि तत्कालीन अमेरिकी राजदूत ¥यान्डी बेरीले उहाँसँगको फोटो सेयर गर्दै लेखेका थिए । ‘मैले २०१९ मा नेपाली सामाजिक कार्यकर्ता डाक्टर विष्णुमाया परियारलाई व्यक्तिगत रूपमा भेट्ने अवसर पाएको थिएँ । समावेशीकरण र समानताका लागि उनको कामबाट प्रेरित भएको थिएँ । उनी द राइटर्स माइन्डसेटमा चित्रित भएकी छिन्, जहाँ उनले अझ धेरैलाई प्रेरित गर्न सक्छिन्,’ विष्णुको बारेमा महामहिम राजदूतले सफलतालाई कसरी सेलिब्रेट गर्ने भन्ने संस्कार नेपालीलाई सायद सिकाउन खोजेका थिए ।

को हुन् विष्णु माया ? कस्तो थियो बाल्यकाल ?

गोरखाको ताक्लुङ्गमा आमा कनमाया र बाबु रूपबहादुर परियारका ११औँ सन्तानमध्ये छैटौँ सन्तानका रूपमा जन्मिएकी विष्णु उमेरले ५० नजिक छन् । विष्णुमायाको बाल्यकाल सुखद् थिएन तर आफ्ना सन्तान पढाउनुपर्छ भन्ने बाबुको चेत र सामाजिक अव्यवस्था विरुद्ध लड्नै पर्छ भन्ने भावनाको कारण पढ्न पर्छ, पढेपछि मात्रै केही हुन्छ भन्ने अन्तरप्रेरणाले विष्णु पढाइमा तल्लीन रहिन् । 

नाङ्गै खुट्टा हिँडेर, दिनको चार घण्टा धाएर मनकामना स्कुलमा माध्यमिक तहसम्मको अध्ययनका लागि विष्णु आइन् । तर अमर ज्योति लुइँटेल स्कुलमा नाम निस्के पनि आर्थिक अभावले त्यहाँ पढ्न जान भने सकिनन् । तर ‘तँ आँट म पु¥याउँछु’ भनेझैँ विष्णुले आफ्ना लागि सहयोग गर्ने पिसकोर भोलेन्टियर जोन बुकरमान त्यहाँ भेट्टाइन । पढाइको भोक तीव्र भएकी विष्णु स्कुलमा साथीभाइ खेल्न जाँदा पनि पढिरहेकी हुन्थिन् । गोठालो जाँदा र दाउरा घाँस मेलापात जता जाँदा पनि विष्णुको साथमा किताब छुट्दैनथ्यो । जीवनमा सहयोग र अदृश्य हातले गरिदिने यूटर्न बारे बुझ्न पनि विष्णुको जीवनी बुझ्नु आवश्यक देखिन्छ । सहयोग कति महत्त्वपूर्ण र जीवनको गोरेटो नै बदल्ने हुन्छ भन्ने विष्णुलाई थाहा छ । तसर्थ उनी सामाजिक सेवामार्फत सहयोगको हात थाप्छिन् अनि सहयोग गर्छिन् पनि । विभिन्न डोनर एजेन्सीलाई आफ्नो कार्यक्रम र सहयोगबारे सहमत गराएर सहयोग सङ्कलन गरी विष्णुले नेपालमा र अमेरिकामा बसेर सामाजिक सेवा महिला अधिकार, महिला हिंसा, लैङ्गिक हिंसा र विभेदका अनेक रूपका विरुद्ध आफूलाई क्रियाशील राखेकी छन् ।

एसएलसी उत्तीर्णपछि पिसकोर भोलेन्टियर जोन बुकरमानले उनलाई उच्च शिक्षाका लागि काठमाडाँै पढ्न छात्रवृत्ति मिलाइदिए । उनी काठमाडौँ आइन् तर उनलाई सहयोग गर्ने दाताले अरूमार्फत् दिएको रकम आफ्नो हात पार्न सकिनन् उनको पैसा कसैले पचाइदियो त्यतिबेला विष्णु हुनसम्मको आपत्मा परिन् । उनलाई काठमाडौँमा पढ्न र बाँच्न मुस्किल भयो तर केही गर्ने दृढ अठोटले काम गर्दै पढ्ने निधो गरिन् ।

उनलाई रेस्टुरेन्टमा भाँडा माझ्ने काम मिल्यो, केही समय भाँडा माझिन् । एउटा गार्मेन्टमा भात पकाउने काम पाइन् त्यो पनि गरिन् र आफ्ना लागि खर्च जोहो गर्दै पढिन् । विष्णु मायाले राजधानीको पद्म कन्या कलेजबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरिन् ।

एक दिन आफूलाई सहयोग गर्ने बुकरमानलाई अमेरिकामा फोन गरिन् र आफ्नो कुरा राखिन् । त्यसपछि अर्का अमेरिकी प्याम रसमार्फत सहयोग प्राप्त गरिन् ।  विष्णु भन्छिन, ‘उहाँलाई भेट्नु मेरो जीवनको टर्निङ प्वाइन्ट हो । उहाँ काठमाडौँमै हुनुहुन्थ्यो, जो युनिभर्सिटी अफ कलेज प्रोजेक्टको डाइरेक्टर हुनुहुन्थ्यो । उहाँले छात्रवृत्ति पनि दिनुभयो र रिसोर्स असिस्टेन्टको काम पनि दिनुभयो ।’ अमेरिकीहरू विष्णुका लागि साथी, सहयोगी, समन्वयकारी र गड फादरका रूपमा प्रकट भए । युनिभर्सिटी अफ कलेज प्रोजेक्टमा काम गर्दा विष्णुमायाका एक जना अमेरिकनसँग मित्रता भयो । उनी सोही कलेजमा अध्ययनरत थिए । उनै साथीकी आमा इभा कासेल विष्णुमायाका लागि विशेष बनेर आइन् ।

छोरालाई भेट्न आएका बेला विष्णुमायालाई निकै मन पराएकी इभाले उनलाई अध्ययनका लागि अमेरिका लाने वातावरण निर्माण गरिन् । अमेरिका प्रस्थान विष्णुको भाग्यको अर्को महत्त्वपूर्ण ढोका उघ्रिएको थियो । १९९९ मा अमेरिका आएकी डा. विष्णुमायाले एक सेमेस्टर अङ्ग्रेजी मात्र पढिन् । त्यसपछि उनलाई पाइन म्यानर कलेजले पूर्ण छात्रवृत्ति दियो ।

कलेजमा आएर पनि उनले टप गरिन् । उनी कलेजमा एक्सिलेन्ट पोलिटिकल साइन्स अवार्ड पाउन सफल बनिन् । त्यति मात्र होइन, कलेजले दिने प्रेसिडेन्ट कप अवार्डलगायत चारवटा उत्कृष्ट अवार्ड जित्ने सौभाग्य जु¥यो । उनले म्यानर कलेजबाट २००४ सोसल एन्ड पोलिटिकल सिस्टममा ब्याचलर्स डिग्री गरिन् । अध्ययनपछि विष्णुले एक वर्ष डोमेस्टिक भायलेन्स एड्भोकेटको रूपमा काम गरिन् । जहाँ उनलाई महिला हिंसासम्बन्धी धेरै अनुभव बटुल्ने र घरेलु हिंसाको बारेमा धेरै कुरा सिक्ने मौका मिल्यो ।

अमेरिकाको क्लार्क विश्व विद्यालयबाट सामाजिक परिवर्तन र अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर गरिन् र म्यानर कलेजले सन् २०१३ मा अनररी डक्टरेड (वियोन्ड द पीएचडी) ले सम्मान गर्यो ।

विष्णुले प्राप्त गरेका सम्मान र पुरस्कार

डा. विष्णुमायालाई सन् २००६ मा संयुक्त राष्ट्र सङ्घले ५ हजार डलरसहित ह्युमन राइट्स अवार्ड दिएको थियो । त्यो अवार्ड विश्वका ६ जनाले मात्र पाएका थिए । त्यस्तै उनलाई २००७ मा विश्व बैङ्कले ११ हजार डलरसहित अवार्ड दिएको थियो, त्यो विश्वका ११ जनाले मात्र पाएका थिए । सन् २००६ मा हाडवर्ड विश्वविद्यालयले ब्रिज विल्डर अवार्डबाट उनलाई सम्मान गरेको थियो । यो पनि विश्वका ६ जनाले मात्रै पाएका थिए । अमेरिकाको क्लार्क विश्वविद्यालयबाट सामाजिक परिवर्तन र अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर विष्णुमायालाई पाइन् म्यानर कलेजले सन् २०१३ मा ‘अनररी डक्टरेड’ (वियोन्ड द पिएचडी) ले सम्मान गरेको थियो । ‘ग्लोबल युथ लिडरसिप अवार्ड २०१९, त्यस्तै एक्सिलेन्ट इन पोल्टिकल साइन्सको उपाधि पनि मेरो खातामा आएको छ’, उनले भनिन्, ‘हावर्ड युनिभर्सिटीले ब्रिज बिल्डर अवार्डले विभूषित गरेको छ । अमेरिकन पूर्वरास्ट्रपतिहरूले पाउने प्रेसिडेन्ट कप अवार्डले सम्मानित छन् ।’

अमेरिकाको केन्टोकी राज्यमा २७ सेप्टेम्बर, २०१५ मा ‘विष्णुमाया परियार डे’ घोषणा गरेर सेलिब्रेट गरियो । ४० भन्दा बढी मान, सम्मान, पदक र उपाधि उनले पाएकी छन् । ‘यी सारा उपलब्धि र सम्मान मेरा व्यक्तिगत होइनन्, आम नेपालीका हुन्’, उनी भन्छिन्, ‘आम सर्वसाधारण जनताका हुन्, सीमान्तकृत दलित र पछाडि पारिएका, किनारीकृत मान्छेका लागि काम गर्दा प्राप्त हौसला र प्रेरणा हुन् । निम्न भनिएका हेय वर्गका हुन् । प्रापक निमित्त कारक मात्रै म हुँ । मेरा सबै सम्मान पुरस्कार र पदकहरू नेपालका सम्पत्ति हुन् ।’ डा. विष्णुमायालाई नेपाली कम्युनिटीका अधिकांश संस्थाले विभिन्न अवार्डबाट सम्मान गरेका छन् । उनीसँग सामाजिक न्यायका क्षेत्रमा कार्य गरेबापत महत्त्वपूर्ण र गौरवशाली अवार्डहरू प्राप्त भएका हुन् ।

नेपालदेखि अमेरिकासम्म विष्णुको आफ्नो सफलता मात्रै जोडिएको छैन । समाज सेवा र सहयोगको पर्याय पनि बनेकी छन् । उनले नेपालको इन्द्रावती गाउँपालिका र जर्सी सिटीबीच भगनी सम्बन्ध स्थापित गरेकी छन् । न्युजर्सी सिटीमा नेपाली झन्डा सदाका लागि फहराउने श्रेय पनि विष्णुको अविस्मरणीय पल हो । विष्णु नेपालीहरूको लागि प्रिय र आदरणीय त छँदैछन्, आप्रवासी अमेरिकन र आदिवासी अमेरिकनहरू बीच पनि उत्तिकै सम्मानित छन् ।

न्यु जर्सीको मेयरको सल्लहाकार भएर विष्णु अमेरिका र नेपाली माझ चिरपरिचित छन् । नेपालीप्रति विशेष अनुराग र अपनत्व अनि अभिभावकीय भूमिकामा विष्णुलाई अब्बल मान्छन् अमेरिकामा बस्ने नेपालीहरू । दलित सामुदायबाट अमेरिकासम्मको यात्रामा विष्णुको विनयी स्वभाव लगनशील कर्मशील र सङ्घर्षशील जीवनले डो¥याउँदै लगेको पङ्क्तिकारको बुझाइ छ ।  लेस पनि घमन्ड नदेखाउने विष्णु पीडक भनिएका गैरदलित समुदायप्रति पनि कुनै बदला र आक्रोश राख्दिनन् । चेतानाशून्य सामान्य नागरिकले गरेको भेद क्षमायोग्य हुन्छ तर चेतनशील र पढेलेखेका मान्छेहरूमा पनि परिवर्तन नदेख्दा भने दुःख मान्छिन् । यद्यपि प्रतिशोध विष्णुको डिक्सनरीमा छैन । क्षमाशील हृदयले बुद्धत्वको आभाष दिलाउँछ । यिनै गुणका कारण पनि विष्णु सम्मानित भएकी हुन् । विष्णु शून्यबाट उठेर आर्थिक सामाजिक र जातीय विभेदको जालो पन्छाउँदै जहाँ पुगिन्, त्यो अवसर नै अवसर प्राप्त मान्छेले पाएको उपलब्धिसँग तुलनीय छैन । मान्छे हुन्, नपाएको पीडा खपेर सकस बोकेर यो स्थानमा आइपुगेकी विष्णु अहिले विगत यसरी सम्झन्छिन् ।

विष्णुका बुबाको १३ जनाको परिवार थियो । कमाइ गर्ने बुबा र आमा मात्र । बालीघरेको कमाइ कति नै हुन्थ्यो र ? दुःखको भुमरीबाट बुबाआमाले पार लगाउनुभयो । ‘बिस्टका लुगा सिलाउँदा उब्रेका अनेकथरी टालाबाट सग्लो कपडा बनाएर बाबाले रङ्गीन कपडा सिलाइदिनुहुन्थ्यो । हामी दङ्ग परेर लाउँथ्यौँ,’ उनी भन्छिन्, ‘हामीलाई हाम्रो विवशता थाहा थियो । त्यसैले दुःख लागेर पनि मान्दैनथ्यौँ । भोक र अभावको कुरा गर्दा बाआमाको अवमूल्यन हुन्छ ।’

भोक र अभावका कुरा नगराँै । उहाँहरूले भोको राख्नुभएन । वश हामी जेनतेन दुःखसुख बाँच्यौँ तर बाआमाको पेट कहिल्यै भरिन्थ्योजस्तो लागेन । नियतिको चर्को घामपानीले भिजायो, रुझायो, सेकायो । मेरा बालाई आफ्ना छोराछोरी पढाउनुपर्छ भन्ने दिव्य ज्ञान भएकै कारण आज मेरा पाइला यहाँसम्म आइपुगेका हुन् । आफू भोकै बसेर बाले हालिदिएको दुःखको भ¥याङ चढेर म यहाँ छु । बा मेरा लागि उन्नत आदर्श हो । त्यसैले म आज जहाँ छु, जे गर्छु, त्यसका लागि भ¥याङ बनाइदिने मेरो विष्णुलाई बाबाको काँध आज पनि उत्तिकै यादगार लाग्छ । प्रेरणा, आदर्श र भगवान् ठान्छिन् बाआमा । आज बा छैनन् तर उलाई मेरा बाको काँध चढ्न पाए आज पनि सगरमाथा भन्दा अग्लो हुने थिएँ भन्छिन् ।

दलित महिला उत्थान सङ्घमार्फत समाज सेवा

सन् १९९८ मा स्थापित एड्वान विष्णुमायाको सामाजिक कार्यको एक अनुपम नमुना हो । पहिचान र अधिकार स्थापित गर्ने महिलाहरूका लागि आर्थिक, सामाजिक, राजनीतिक र चेतना अभिवृद्धि गर्ने आन्दोलन हो । मानवाधिकार, महिला, बालबालिका र दलित पिछडिएका सीमान्तकृत किनारमा पारिएका, पिँधमा रहेका वर्गको उत्थान, हक अधिकार र उन्नयन नै एड्वानको मूल धर्म हो । विभेदको रेखा मेट्न विभेदमा पारिएका र विभेद गर्नेबीच अन्तरघुलन र स्वाभाविक प्रक्रियाद्वारा समाजमा सहकार्य, सहधर्म र समायोजन गर्दै अघि जानुपर्छ । अन्यथा दलितको समुदायका लागि मात्रै भन्दा अर्को विभाजन र विभेद रहन्छ ।

तसर्थ आर्थिक रूपले विपन्न सबैलाई सहयोग सद्भाव र सहयात्री बनाउन सकियो भने समाजको बनोटअनुसारको न्याय हुन्छ । त्यसैले म विभेदी मानसिकता बोकेर अर्को विभेदको विजारोपण गर्न चाहन्न । सबैलाई सहयोग गर्नु र विशेष दलित महिला र बालबालिकाको उत्थानमा लाग्नु मेरो धर्म हो । कर्तव्य हो, विष्णु भन्नुहुन्छ ।

नौवटा जिल्लामा अहिले नेपालमा एक सय एघारवटा महिलाको समूह छ । ६० हजारभन्दा बढी महिला संलग्न भएर एड्वानका गतिविधिमार्फत सहयोग पाएका छन् । उद्यमी बनेका छन् । नेतृत्व क्षमता विकास गरेका छन् । घिरेलु हिंसा, महिला बेचबिखन, जातीय छुवाछूत, सामाजिक विकृतिविरुद्ध महिलाहरू जागृत छन् । २५ सयभन्दा बढी बालबालिकालाई स्कुल, कलेज र विश्व विद्यालय पढ्न छात्रवृत्ति सहयोग प्राप्त गरेका छन् । २०७२ को भूकम्प पीडित गोरखाका मान्छेलाई चार सय घर निर्माण गर्न सहयोग जुटाइदिने काम पनि विष्णुमायाको टिमले गरेको छ ।

पिँढी र छिँडीमा बसेर सिँढी चढेकी विष्णुमायाको योगदान सिङ्गो दलित आन्दोलनका लागि सामाजिक न्यायको क्षेत्रका लागि अमूल्य छ । विगतमा अरूको सहारा, भरथेग र आश्रयमा पढेकी परियार आज धेरैको सहारा र टेको बनेकी छन् । अछूत भनेर पानी पिउनबाट वञ्चित विष्णुमाया अहिले पानी बाँड्छिन्, शिक्षाको उज्यालो पस्किन्छिन्, चेतनाको बीज छर्छिन्, अधिकारको लडाइँ लड्छिन् । आफ्ना छोराछोरी भनेर २५०० भन्दा बढी बालबालिकालाई संरक्षणको छाता ओढाएर अभिभावक बनेकी छन् । हार्डवर्ड, क्लार्क, पाइन म्यानर, बोस्टनलगायत अमेरिकी विश्वविद्यालयमा गेस्ट लेक्चरर दिने विष्णुमायाको अनुभव, ज्ञान र क्षमता नेपाल र नेपालीले कहिले भरपूर उपयोग गर्न पाउँछन् ? सरकार विष्णुमायालाई चिन्न र चिनाउन कुनै तयारी गर्दै छ कि बेखबर छ ? विष्णुको सफलता र खुसीलाई राष्ट्रको खुसीमा परिणत गर्ने कहिले ?

विश्वका प्रतिष्ठित पाठ्यपुस्तक र पाठ्यक्रममा पढाइने विष्णुको प्रेरणादायी जीवनी नेपालमा किन नपढाउने ? उनको जीवनी राष्ट्रिय र अन्तर्राष्ट्रिय सन्दर्भमा किन अपरिहार्य छ ? बहस बौद्धिक र तार्किक कोणबाट उठ्नु जरुरी छ । मान्छेको योगदानको कदर जीवित हुँदा नै गर्ने राष्ट्रिय आदत विकास गर्न पनि विष्णुमाया बारे पढ्नु, पढाइनु खोज अनुसन्धान गरिनु आवश्यक छ । उनले पढेको स्कुल, पदम कन्या कलेज र त्रिभुवन विश्वविद्यालयले विशेष चासो राखेर खोज्नुपर्छ । अमेरिकाको चर्चित नागरिक अधिकारकर्मी रोजा पार्कसँगै विष्णुको जीवनी पढाइँदा के हाम्रो छाती गर्वले फुल्दैन ? हाम्रा सन्ततिले पनि स्कुल, कलेज र विश्वविद्यालयमा विष्णुमाया परियारलाई पढ्ने, उनको बारेमा शोध गर्ने दिन कहिले आउँछ ? साधारण व्यक्ति निर्मित असाधारण जीवन । हजारौँ वर्षदेखि पाखा पारिएको किनारमा धकेलिएको मान्छे उठेर यहाँसम्मको यात्रा तय गरेर अन्तर्राष्ट्रिय व्यक्तित्व बनाइसक्दा पनि राज्यलाई बेखबर बस्न सुहाउन्न ।

विष्णुमाया परियारको जीवनी सङ्घर्ष व्यक्तित्व र सामाजिक कामले लिएको उचाइ आम नेपालीको उचाइ आत्मसम्मान र मर्यादा हो । नवीन इतिहासको निर्मिति हो । न भूतो न भविष्यति जस्तै हो । समयमा नै  पारख गरौँ । विष्णुमाया प्राविधिक रूपमा मात्रै गैर नेपाली हुन् । उनको निष्ठा समर्पण र लगाव नेपालमा नै छ । यो पङ्क्तिकारले बधाई दिँदै यी यावत् कुराबारे जानकारी माग्दा भन्दै थिइन्, मेरो आँगनको माटो मेरो सिरानीमा हुन्छ । सधैँ त्यो माटोको चन्दन लाउँछु र आफ्नो कर्ममा जान्छु । मलाई मेरो आँगनको माटोको स्पर्शले प्रेरणा दिन्छ ।

(लेखक त्रिभुवन विश्वविद्यालयमा अनुसन्धानरत छन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जीव कार्की
सञ्जीव कार्की
लेखकबाट थप