शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

वडाध्यक्ष गुप्ताको दादागिरीले कर्मचारीलाई काम गर्ने वातावरण भएन : नगरप्रमुख

बिहीबार, १९ साउन २०७९, ०९ : २९
बिहीबार, १९ साउन २०७९

जीतपुरसिमरा उपमहानगरपालिका एमाले वडाध्यक्षले सेवाग्राही र कर्मचारीलाई कार्यालयमा थुनेर मुल गेटमा ताला लगाएपछि कार्यालयमा बसेर काम गर्ने वातावरण नभएको भन्दै नगरप्रमुख राजन पौडेलले गुनासो गरेका छन् । 

उपमहानगरको वडा नं ७ का वडाध्यक्ष सुनिल गुप्ताले बुधवार कार्यालय समयमा सेवाग्राही र कर्मचारीलाई भित्र थुनेर उपमहानगरको मुल गेटमा ताला लगाएका थिए । कार्यालयमा प्रमुख, उपप्रमुख र प्रशासकिय अधिकृत नभेटिएको भन्दै वडा अध्यक्ष गुप्ताले कर्मचारी र सेवाग्राहीलाई भित्र थुनेर मुलगेटमा ताला लगाएका थिए ।

वडाध्यक्ष गुप्ताले यसअघि पनि उपमहानगरको मुलगेटमा फोहर ल्याएर थुपार्ने कार्यपालिका बैठकमा धम्कीपूर्ण शैलीमा प्रमुख, उपप्रमुख र कर्मचारीलाई हेप्ने गरेको नगरप्रमुख पौडेलले जनाएका छन् । ‘उनलाई आफू कसरी विशेष हुँ भनेर देखिनु र भाइरल हुनु छ, नगर प्रमुख,लगायत कर्मचारी उनले भनेअनुसार चल्नुपर्छ भन्ने,  सुरुदेखि नै धम्कीपूर्ण शैलीमा प्रस्तुत हुने, दादागिरी देखाउने उनकाे शैली नै हो’ नगरप्रमुख पौडेलले भने ‘म निफ्रा बैंकका कर्मचारीहरुको टोलीसँग पालिकाका विभिन्न क्षेत्रमा पूर्वाधारमा लगानी गर्न सकिने सम्भावित स्थानहरु घुम्दै थियौं, कार्यालयमा वडा अध्यक्ष गुप्ताकै नेतृत्वमा तालाबन्दी भयो, कर्मचारीलाई भित्रै थुनिए भनेर मलाई खबर आयो’

गुप्ताले सेवाग्राही र कर्मचारीलाई कार्यालयमा थुनेर मुल गेटमा तालाबन्दी गरेको भन्दै नगरप्रमुख पौडेलले कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय पत्र समेत पठाएका थिए । ‘स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ग को उपदफा १ को (ग) बमोजिम कार्यालयको सार्वजनिक सेवा प्रवाह अवरुद्ध हुनेगरी वडा नं ७ का वडा अध्यक्ष सुनिल कुमार गुप्ताले विना कारण, पूर्व जानकारी नदिई नगर कार्यपालिकाको कार्यालयको मूल गेटमा २०७९ साउन १८ गते दिउँसो २ः३० बजे तालाबन्दी गरी कर्मचारीहरुलाई कार्यालयमा थुनेर कार्य सञ्चालनमा बाधा पुर्‍याएकोले निजलाई कानुन बमोजिम कारबाहीका लागि अनुरोध छ’ नगरप्रमुख पौडेलले स्थानिय प्रशासनलाई लेखेको पत्रमा उल्लेख गरिएको छ । ‘कारबाहीमा जानु नै पर्ने स्थिति भयो भनेर पत्र तयार गरेका हौं, पछि ताला खुलेपछि पठाएनौँ’ पौडेलले भने । 

वडा अध्यक्ष गुप्ताको अभद्र व्यवहारका कारण नगरपालिकामा बसेर काम गर्न सक्ने वातावरण समेत नै नभएको पौडेलले गुनासो गरेका छन् । पौडेल गठबन्धनको तर्फबाट निर्वाचित नगरप्रमुख हुन् भने वडा अध्यक्ष गुप्ता एमालेबाट । 

एमाले  वडाध्यक्ष  गुप्ताको कार्यशैलीको विषयमा एमालेबाट निर्वाचित उपप्रमुख भोला अधिकारीको समेत भित्री समर्थन रहेको कर्मचारीहरुले नै आरोप लगाएका छन् । यता, उपमहानगर वडा नं ७ का वडाध्यक्ष सुनिल गुप्ताले कार्यालयमा कर्मचारी, हाकिम नभएकोले तालाबन्दी गर्नुपरेको बताएका छन् । ‘नगर मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख कार्यालयमा बसेर सेवा नदिएका कारण कार्यालयमा तालाबन्दी गर्नुपरेको हो’ वडाध्यक्ष गुप्ताले भने  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप