बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : चुनावको मिति घोषणा, आयोग तयारीमा जुट्यो

बिहीबार, १९ साउन २०७९, २२ : १३
बिहीबार, १९ साउन २०७९

आज मिति २०७९ साल साउन महिनाको १९ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

१ चुनावको मिति घोषणा

नेपाल सरकारले अगामी २०७९ मङ्सिर ४ गते प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सहरी विकास मन्त्री मेटमणि चौधरीले रातोपाटीलाई जानकारी दिए । सरकारले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको हो ।

२. आयोग तयारीमा जुट्यो

चुनावको मिति घोषणा भएसँगै निर्वाचन आयोग तयारीमा जुटेको छ । मिति घोषणापछि आयोगले स्वागत गर्दै स्वच्छ, निष्पक्ष र भयरहित ढंगले काम गर्ने बताएको छ । बिहीबार साँझ आयोगमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले १ सय ७ दिनको अवधीमा अर्जुन दृष्टि लगाएर काम गर्ने बताए ।

​३. चिनियाँ अपहरणमा संलग्न ६ जना पक्राउ

राजधानीमा चिनियाँ नागरिकको अपहरणमा एक न्यायाधीशका पीएसओको समेत संलग्नता रहेको खुलासा भएको छ । पाटन उच्च अदालतका ती न्यायाधीशका पीएसओ रहेका प्रहरी हवल्दार चिनियाँ नागरिकको अपहरणमा संलग्न रहेको खुलासा भएको हो । प्रहरी हवल्दार कर्णबहादुर गुरुङ र अर्का एक प्रहरी जवानसहित ६ जना पक्राउ परेका हुन् । गुरुङसहित पक्राउ पर्नेमा लक्ष्मण गुरुङ, रोहित मगर, विशाल मगर, विनोद केसी र शिव सुनार रहेका छन् ।

​४. फेरि शुक्रबार सेयर बजार बन्द

सेयर बजारको शुक्रबारको कारोबार फेरि बन्द हुने भएको छ । नेपाल स्टक एक्सचेञ्जका प्रबन्धक निरन्जन फुयाँलले शुक्रबारको सेयर बजार छिट्टै बन्द गरिने बताए । 

सरकारले गत जेठमा सातामा दुई दिन शनिबार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेसँगै सेयर बजार खुल्ने समय आइतबारको साटो शुक्रबार सारिएको थियो । तर, आइतवारको बिदा पुन कटौती भएसँगै अब सेयर कारोबारलाई पनि ५ दिन कायम गर्नुपर्ने फुयाँलले बताए ।

पछिल्लो २४ घण्टामा ७६० जना कोरोना संक्रमित थपिएका छन् । ५९२६ जनामा गरिएको नमूना परीक्षणमा ७६० जनामा संक्रमण पुष्टि भएको हो । सो समयावधिमा १ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ३२४ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने अहिले देशभर ५६०२ जना सक्रिय संक्रमित रहेका छन् ।

​६.भन्सार छलीमा संलग्न पक्राउ

ललितपुरको खोकना र भैँसेपाटीस्थित गोदामबाट ठूलो परिमाणमा भन्सार छलेको तयारी र कच्चा सुर्ती बरामद गरिएको छ । राजस्व अनुसन्धान विभागसँगको समन्वयमा ८ हजार तयारी सुर्ती र २० हजार कच्चा सुर्ती बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए ।

​७. प्रधानसेनापतिमाथि प्रश्न

संसदीय समितिले अमेरिकी स्टेट पार्टनसिप प्रोग्राम (एसपीपी) मा प्रधानसेनापतिले भाग लिएको विषयमा सरकारले स्पष्ट जानकारी दिनुपर्ने बताएको छ ।  बिहीवार सिंहदरबारमा बसेको राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठकमा मन्त्री, सचिव र प्रधानसेनापति उपस्थित नहुनेले झनै यसमा सशंकित बनाएको निस्कर्ष निकालेको हो ।

​८. सत्ता गठबन्धनको बैठक

सत्ता गठबन्धनको बैठक शुक्रबार विहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेपछि पाँच दलीय गठबन्धनमा बैठक बस्न लागेको हो ।

९. मूल्य घटाउन माग

पेट्रोलियम पदार्थको मूल्य समायोजनको माग राख्दै अखिल क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ । क्रान्तिकारीको  केन्द्रीय समितिले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गर्न माग गर्दै विरोध प्रदर्शन गरेको हो ।

१०. यो पनि...

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अखिल क्रान्तिकारीका विद्रोही पक्षलाई बोलाएर समानान्तर कमिटी चल्न नसक्ने बताएका छन् । उनले अखिल क्रान्तिकारीमा अध्यक्ष पंञ्चा सिंह नै आधिकारिक लाइन भएकाले आफ्नो जिम्मेवारीमा फर्किएर काम गर्न पवन कार्की पक्षलाई आग्रह गरेका हुन् । 

श्री एयरलाइन्सको विमान नेपालगञ्जमा आकस्मिक अवतरण गराइएको छ । नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९ एन–एएनएफ विमान नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गरिएको श्री एयरलाइन्स नेपालगञ्जका स्टेशन इन्चार्ज परशुराम चौधरीले जानकारी दिए ।

​भारतमा आयोजना भएको साफ यु–२० साफ च्याम्पियनसिपमा सहभागी भइ बिहीवार नेपाली युवा टोली स्वदेश फर्किएको छ । आयोजक भारतसँगै नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशले सहभागिता जनाएको प्रतियोगितामा सहभागी भएर नेपाल टोली स्वदेश फर्किएको हो ।

​थप समाचार

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप