शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुवास नेम्वाङ भन्छन् – दूषित गठबन्धन भत्काउन एमाले लागेकै छ

शुक्रबार, २० साउन २०७९, ०८ : ५८
शुक्रबार, २० साउन २०७९

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले चुनाव अघि नै सत्ता गठबन्धन भत्काउने बताएका छन् । उनले मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने सरकारको निर्णयको एमालेले स्वागत गरेको पनि बताए ।

चुनावको मिति घोषणापछि प्रतिक्रिया दिँदै एमाले उपाध्यक्ष नेम्वाङले रातोपाटीसँग भने, ‘हाम्रो र तपाईंहरुको दबाबका कारण सरकारले ढिलै भए पनि चुनावको मिति घोषणा गरेको छ । तोकिएको मितिमा निष्पक्ष चुनाव हुनुपर्छ ।’

चुनाव घोषणा र निर्वाचन तयारीका विषयमा केन्द्रित रहेर उनीसँग रातोपाटीले संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, नेम्वाङसँग गरिएको कुराकानीको सम्पादित अंश –

तपाईहरुले विश्वास नै नगरेको अवस्थामा सरकारले चुनावको मिति घोषणा ग-यो, एमालेले यसलाई कसरी लिएको छ ?

हामीले त पहिलेदेखि नै चुनाव समयमा हुनुपर्छ भनिरहेका थियौँ । ढिलाई नगरी चुनावको मिति घोषणा गर, निष्पक्ष र भयरहित रुपमा चुनाव गर भनेर भनिरहेकै थियौँ । आवधिक निर्वाचनले नै सबै समस्याको समाधान पनि गर्छ ।

तपाईहरुले निर्वाचन हुँदैन कि भनेर गरेको शंका त फेल खायो नि ?

हाम्रै शंकाले त आज सरकार यो मिति घोषणा गर्न बाध्य भयो । यसमा विवाद नै छैन, तपाई–हामी सबैको दबाबले सरकार यो निर्णयमा पुग्न बाध्य भयो ।

स्वतन्त्र र निष्पक्ष निर्वाचन हुन्छ भन्नेमा एमाले विश्वस्त छ या अझै शंकाले हेरिरहेको छ ?

स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि हामी निरन्तर खबरदारी गर्छौँ ।​

तपाईंहरुको खबरदारीलाई सरकारले खासै सुनुवाइ गरेको देखिँदैन, सरकारले सुन्नेगरी केही कार्यक्रम ल्याउँदै हुनुहुन्छ ?

प्रमुख प्रतिपक्षको खबरदारीले केही काम गर्दैन भने बेग्लै कुरा भयो । हामीले त जायज आधारमा शंका गरेका हौँ ।

निर्वाचन आयोगले चुनावको मिति कहिले सिफारिस ग-यो ? अनि आजसम्म किन ढिला भयो ? यो प्रश्नको जवाफमै तपाईले हाम्रो शंकाको उत्तर पाउनुहुन्छ । त्यसकारण हामी सबैको दबाबले अन्ततः सरकार चुनाव घोषणा गर्न बाध्य भयो । यसमा एमाले खुसी पनि छ ।

निर्वाचन स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न गर्न एमालेको भूमिका के रहन्छ ?

एमालेले खबरदारी गर्छ । हामी सातै प्रदेशमा पुग्छौँ ।  हामीले निर्वाचनसम्बन्धी कार्यक्रम सबैतिर राखेका छौँ । जनतालाई सचेत गराउने काम गर्छौँ ।

५ दलीय सत्ता गठबन्धनको सामना एमालेले कसरी गर्छ ?

त्यसमा त एमाले प्रस्टै छ ।

के छ प्रस्ट ? 

यो गठबन्धन संसदीय मूल्य र मान्यता विपरीत छ । यसको सामना गर्न एमाले सक्षम छ ।

मूल्य र मान्यता विपरीत भए पनि तपाईहरुलाई हराउन त काफी हुने भयो नि ?

लोकतान्त्रिक मूल्य र मान्यता विपरीत भएकाले यसलाई एमालेले दूषित गठबन्धन भनेको हो । त्यसैले यो दूषित गठबन्धनबाट साथीभाइहरु बाहिर निस्कनुपर्छ ।

तर तपाईंहरुको गुहारमा साथ दिने त कोही पनि देखिएन ?

मानेनन् भने त के गर्ने ? मानेनन् भने हामी एक्लै लड्न तयार छौँ ।

पाँच दलीय गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गर्ने सामर्थ्य राख्छ एमालेले ?

स्थानीय तहको निर्वाचनमा हाम्रो क्षमता देखिएन ? तपाई कस्तो प्रश्न गर्नुहुन्छ ?

स्थानीय तहमा एमालेको क्षमता कमजोर भएको देखेर नै यो प्रश्न गरेको हो ?

एमालेसँग प्रतिस्पर्धा गर्न पाँच दलले गठबन्धन गर्नै पर्छ । अझै अरु दल बाँकी भए भने ती पनि जम्मा हुनुपर्छ । किनभने एमालेलाई दुईचार वटा शक्तिले मात्र प्रतिस्पर्धा गर्न सक्दैनन् ।

शक्ति जनताले मूल्याङ्कन गर्ने हो । तर तपाईहरुले बाहिर जे भने पनि गठबन्धनसँग आत्तिएको त सत्य हो । यसले त एमाले तेस्रो दल हुने देखियो नि ?

हामी एक्लै लड्न तयार छौँ । यो भनेको हाम्रो स्थानीय निर्वाचन परिणामले पुष्टि गर्दैन भन्या ? त्यसैले हामी चुनाव घोषणा भयो राम्रो भयो, सकेसम्म साथीभाइ मिलाउँछौँ । सकिएन भने एक्लै लड्छौँ ।

एमालेले चुनावी गठबन्धन गर्ने दल कुन कुन हुन् ?

त्यो पछि नै भन्छौँ । हामी त यो दूषित गठबन्धन सकेसम्म भत्काउनुपर्छ भनिरहेका छौँ ।

तर भत्काउन सक्नुभएन नि ?

लागिरहेका छौँ । सकियो भने त्यही अनुसार गरौँला, नसके त्यही अनुसार बढौँला ।

एमालेको आन्तरिक मूल्याङ्कनमा १६५ मध्ये कति जित्नुहुन्छ त ?

हामी राम्रो संख्याको सिट जित्छौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप