मंगलबार, १७ माघ २०७९
ताजा लोकप्रिय

वनस्पतिको अधिकारप्रति संवेदनशील बन्ने कि ?

शुक्रबार, २० साउन २०७९, १० : २४
शुक्रबार, २० साउन २०७९

रुपन्देहीमा कृषि व्यवसायीहरुको एक समूहले अस्ट्रिच पाल्यो । यस पन्छीको प्वाँख, छाला, बोसो, मासु तथा हाड सबै बिक्री हुने जानकारी पाएपछि उनीहरुले अस्ट्रिच पालेका थिए । राम्रै भयो तर मासु विदेश पठाउनेबारे बजार खोज्दै पश्चिमी जगत पुगेका ती व्यवसायीहरुलाई अस्ट्रिच आफू मर्दैछु भन्ने जानकारी नहुने गरी वध गरेमात्र आफूहरुले मासु स्वीकार्ने शर्त राखियो ।

सामान्यतया पशुअधिकारवादी तथा मासुसम्बन्धि विज्ञहरुले दुःख दिएर पशुपन्छीको वध गरे मासु खान योग्य नहुने तर्क राखेका छन् । आफू मारिँदैछु भन्ने जानकारी नदिई पशुपन्छीको वध गर्दा उसको शरीरमा मांसपेशीमा रहेको ग्लाइकोजिन तत्व ल्याक्टिक एसिडमा बद्लिन्छ र मासु स्वास्थ्यका लागि असल ठहरिन्छ ।

यदि पशुपन्छीलाई दुःख दिएर मारिए, मारिने जन्तुले मर्ने बेलामा पाएको दुःखका कारण उक्त ग्लाइकोजिन पचाइ दिन्छ, ल्याक्टिक एसिड उत्पादन हुँदैन र फलस्वरुप मासु आखाद्य बन्दछ । वध गर्दा पशुपन्छीलाई दुःख दिनु हुँदैन भन्ने वैज्ञानिक तर्क यही हो । बफ  मःम खान बसेका बेला काठमाडौंमा राँगा ल्याउने परिपाटी सम्झिने हो भने निल्न कठिन पर्छ । 

यो त भयो, हाम्रै स्वास्थ्यका लागि हामीले मासुका लागि पालिएका पशुपन्छीको वध उचित तरिकाले गर्नुपर्दछ भन्ने कुरा । यसबाहेक मानवअधिकार जस्तै पशुपन्छीलाई पनि उचित ढंगले बाँच्ने र मर्ने अधिकार रहन्छ । पशुपन्छीको झैं वनस्पतिको पनि अधिकार हुन्छ, भन्ने तर्क पनि सुरु भएको छ । यही अधिकार हनन् गर्नाले मान्छेको दुर्गति बढ्दै गएको बताइन्छ । खास गरी वनजंगल तथा झाडी बुट्यानमाथि मानिसले विचार नपुर्याएकै कारण विश्वमा जलवायु परिवर्तनको असर बढ्दै जाँदा संसार नै मानिसका लागि बस्न अयोग्य बन्दै गएको छ ।

मान्छेले आफू चेतनशील भएकै नाममा अन्य प्राणी तथा वनस्पतिमाथि अन्याय गर्दछ । सांस्कृतिक रुपमा पनि कतिपय पशुअधिकारको उल्लंघन गरिन्छ । राँगो दौडाउँदै कुटेर मार्ने, जिउँदो चौरीलाई चौखुर्याएर उसको रगत चुस्ने, बोका काटेर पोखरीमा फाल्ने र उसको रगत पिउने, वलि दिँदा पूरै घाँटी नछिनाई छोडिदिने आदि हाम्रो समुदायमा प्रचलित केही निर्मम परम्परा छन् । यी परम्पराको धार्मिक महत्व भएको दाबी गरिन्छ । कतिपय धर्म गुरुहरुले पनि पशुमुक्तिका नाममा वलि दिने प्रथालाई प्रश्रय दिएको पाइन्छ ।

शाकाहारी तथा भेगनहरुले पशुपन्छीको अधिकार अथवा मार्दा उनीहरुले गर्ने छटपटीलाई मध्यनजर गरी शाकाहारलाई प्रश्रय दिएका छन् । शाकाहारीले मासुमात्र नखाने कुरा गर्छन् भने भेगनहरुले पशुपन्छीका कुनै पनि उत्पादन खाँदैनन् । यतिसम्म कि उनीहरु मह पनि खानु हुँदैन भन्छन् । कतिपयले नवजात शिशुलाई आमाको दूध पनि ख्वाउनु हुँदैन भन्ने उनीहरुको तर्क छ ।

कुखुरो काट्दा छट्पटाएको र उसको विलौनाको आवाज सुन्दा मन दुख्नेहरुलाई हुर्केको सागको पात तथा डुकु पट्याक्क भाँच्दा आउने आवाजको गाम्भीर्यता महसुस हुँदैन । यही अनभिज्ञताका आधारमा हामी वनस्पतिमाथि अन्याय गर्दछौं । कतिपयले त वनस्पतिको विषय पनि कुनै चर्चा गर्नुपर्ने कुरो हो र ? भन्ने प्रश्न पनि उठाउँछन् ।

कतिपय धर्ममा खास गरी बौद्धको एक परम्परा तथा जैन धर्ममा फलफूल पनि टिप्नु हुँदैन भन्ने मान्यता पनि रहेको पाइन्छ । यस्तो परम्पराका अनुयायीहरु पाकेर रुखबाट खसेको फल, बोटबाट झरेको वनस्पतिमात्र सेवन गर्दछन् ।

अब कुरो गरौं नवस्पति अधिकारको । वनस्पति अधिकारसम्बन्धि सबैभन्दा पुरानो आलेख बेलायती उपन्यासकार स्याम्युअल बटलरले सन् १८७२ मा लेखेको उपन्यास एरेवोनमा उल्लेख छ । ती उपन्यासकारले तत्कालीन भिक्टोरियन सोसाइटीमा मान्छे, पशुपन्छी तथा वनस्पतिमाथि हुने अन्यायमाथि व्यंग्य गरेका थिए । यसैलाई आधार मानेर अमेरिकाको क्यारोलाइना विश्व विद्यालयका प्राध्यापक टम रेगनले वनस्पति अधिकारसम्बन्धि सिद्धान्तको प्रतिपादन गरे । उनकै सिद्धान्तमा आधारित रहेर धेरै पाश्चात्य विद्वानहरुले वनस्पति अधिकारमाथि छलफल गर्दै आएका छन् ।

यस्तै जर्मनीका दर्शनशास्त्री गुस्ताभ थियोडर फेस्नरले सन् १८८४ मा वनस्पतिमा पनि प्राणीमा जस्तै संवेग, प्रेम आदि महसुस गर्ने चेतना हुन्छ र वनस्पतिले पनि एकापसमा सम्वादसमेत गर्दछन् भन्ने तर्क प्रस्तुत गरेका थिए ।

यसै गरी स्वीस संघीय नैतिक समितिले गैरमानवीय अधिकार तथा जैविक प्रविधिमाथि अनुसन्धान गर्दै सन् २००९ मा वनस्पतिको पनि सम्मानपूर्वक बाँच्न पाउने अधिकार हुन्छ तर यसलाई मानिसकै जस्तो अधिकार भने आजकै दिनमा दिन कठिन पर्ने उल्लेख गरेको छ ।

नेदरल्यान्ड्समा त सन् २०१० को आमनिर्वाचनमा पार्टी फर प्लान्ट्स अथवा वनस्पति पार्टीले उम्मेदवार नै खडा गर्दै आधुनिकता तथा विकासमा नाममा जैविक विविधता तथा वातावरणमाथि आक्रमण भएको दावी पनि गरेको छ । पार्टीले वनस्पतिलाई उचित सम्मान दिनुपर्ने तर्क राखेको छ ।

स्वीस संविधानले प्राणी तथा वनस्पतिको ओसारपसार लगायतका विषयमा निश्चित मापदण्ड अपनाई उनीहरुको अधिकार रक्षा गर्नुपर्ने व्यवस्था गरेको छ भने न्युजिल्यान्डले पनि सन् २०१२ मा वनस्पति तथा सिमसार क्षेत्रलाई समेत निश्चित अधिकार प्रदान गर्नुपर्ने व्यवस्था गरेको छ ।

अक्सफोर्ड विश्वविद्यालयमा अध्यापनरत प्राध्यापक डेभिड ह्याभरम्यानले दक्षिण एसियाली मुलुकहरुमा वनस्पतिको पूजा गर्ने परम्पराको उल्लेख गर्दै हिन्दू धर्ममा वनस्पति अधिकारको व्यवस्था रहेको उल्लेख गरेका छन् । हाम्रो समाजमा व्याप्त तुलसी रोप्ने, वरपिपल रोप्ने, वरपिलको विवाह गरिदिने, चौतारो बनाएर समीका रुखहरु रोप्ने, श्रीखण्ड, रुद्राक्ष आदिका बोट रोप्ने परम्परालाई उनको अध्यापनको विषय बनाएका छन् ।

स्पेनको बास्क कन्ट्री विश्वविद्यालयका प्राध्यापक मिखाएर मार्डरले पनि वनस्पति अधिकारको उल्लेख गर्दै हाल विश्वमा हरेक पाँचमध्ये एउटा वनस्पति लोप हुँदै गएको उल्लेख गरेका छन् । उनले मान्छेकै गतिविधिका कारण जलवायुमा आएको परिवर्तनले वनस्पतिलाई समेत असर पुगेको उल्लेख गरेका छन् ।

सामान्यतया वनस्पतिको ओसारपसार गर्ने तौरतरिका, रोप्दा तथा यसको प्रुनिङ, कटिङ आदि गर्दा पनि यस विषयमा ख्याल गरिनुपर्दछ । आजकल सिमेन्टको गमलाको प्रयोग हुन थालेको छ । केही वातावरणवादीहरुले फुटेका बाल्टी तथा पानी खाइसकेका रित्ता बोत्तलमा विरुवा रोपेको देखेका छौं । सडक किनारमा रहेका बोट विरुवामाथि बटुवा तथा यातायातका साधनको ठक्कर यी सबै विरुवामाथि हुने अन्याय हुन् ।

विरुवालाई सास फेर्नका लागि हावा चाहिन्छ । माटोभित्र हावा पसेन भने विरुवा तनावमा रहन्छ । बाल्टी तथा सिमेन्टका गमलामा हावा घुस्दैन, यो सरासर अन्याय हो । अब यसो नगरौं । आउनुहोस्, हामी पनि विरुवाप्रति सकारात्मक बनौं । कमसेकम आफूले देखे भोगेका विषयमा त सुधार गर्न सकिएला नि ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

डा. बद्रीप्रकाश ओझा
डा. बद्रीप्रकाश ओझा
लेखकबाट थप