मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मुक्त कमैयाको माग– नयाँ लालपुर्जा चाहियो

शुक्रबार, २० साउन २०७९, १० : ३७
शुक्रबार, २० साउन २०७९

कैलालीको कैलारी गाउँपालिका–७ विपतपुरका मुक्त कमैयाले नयाँ लालपुर्जा माग गर्दै भूमिसुधार र मालपोत कार्यालयमा मागपत्र पेस गरेका छन् । बस्तीमा आगलागी हुँदा लाजपुर्जा जलेको तर अहिलेसम्म नयाँ लालपुर्जा नपाएको उनीहरुको भनाइ छ ।

उनीहरुले २०६३ फागुन २१ गते ६५ घरधुरीलाई प्राप्त जग्गाको लालपुर्जा हाल साविक गरी नयाँ लालपुर्जा दिनुपर्ने भन्दै मागपत्र पेस गरेका हुन् । ६५ घरधुरीलाई उपलब्ध गराइएको जग्गाधनी प्रमाणपत्र अनुसारको ब्लुप्रिन्ट, फाईल नक्सा उपलब्ध गराउनु पर्ने, पुनःस्थापना प्रक्रियाको क्रममा १३ घरधुरीलाई मुक्तकमैया परिचय पत्र उपलब्ध गराउनु पर्ने माग पनि आफूहरुले उठाएको मुक्त कमैया बस्तीका दाउराम चौधरीले रातोपाटीलाई जानकारी दिए ।

१३ घरधुरीलाई परिचय पत्र दिन बाँकी रहेको र हालसाविक भएको लालपुर्जा उपलब्ध नगराई कागजमा लेखेको चुट्कामात्र उपलब्ध गराएको उनको भनाइ छ । मालपोत कार्यालयका नासु लक्ष्मण जोशीले १३ घरधुरीलाई कागजमा लेखेको चुटकाको विषयमा भूमि आयोगले हेर्ने गर्छ भने ५२ घरधुरीलाई दिएको लालपुर्जाको हकमा मालपोत कार्यालयले हेर्ने बताए ।

‘लालपुर्जा जलेकोलाई श्रेस्ता हेरेर नयाँ लालपुर्जा बनाउने व्यवस्था हुन्छ, यसमा कुनै अप्ठ्यारो हुन्न,’ उनले भने, ‘नक्सा नै छैन भने नापी कार्यालयलाई जानकारी गराउनु पर्छ ।’ नापी कार्यालय कैलालीले नक्साको विषयमा डकुमेन्ट हेरेर आयोगलाई जानकारी गराउने र आयोगबाट सिफारिस आए नक्सापास हुने जनाएको छ ।

घर नहुँदा वर्षामा समस्या

कैलारी गाउँपालिका–७, बिपतपुरका मुक्तकमैया घर बिहीन भएका छन् । बस्तीमा वैशाख ११ गते आगलागी हुँदा ७१ घरमध्ये २७ घर जलेर नष्ट भएको छ भने ३४ घरमा आंशिक क्षति भएको छ । घरबिहीन भएका उनीहरुलाई वर्षामा निकै समस्या हुने गरेको छ ।

मुख्यमन्त्री त्रिलोचन भट्टले तत्काल ५० हजार राहत र वर्षायामपछि घर निर्माण गरिदिने आश्वासन दिए पनि आश्वासनमै सीमित हुँदा आफूहरुको बिचल्ली भइरहेको स्थानीयवासी बताउँछन् । ‘रेड्क्रस सोसाइटी धनगढीले दिएको टेन्टमा बसेका छौँ, पानी पर्दा चुहिन्छ, घाम लाग्दा गर्मी हुन्छ,’ मुक्तकमैया शिविरकी ३६ वर्षीय देवी चौधरीले भनिन् ।

पानी पर्दा ओत लाग्ने ठाउँ नभएको दुखेसो पोख्दै उनले खानका लागि अनाज र लगाउनका लागि कपडाको समेत अभाव रहेको बताइन् । सरकारले २०६४ सालमा आफूहरुलाई यस क्षेत्रमा प्रति परिवार पाँच कठ्ठाका दरले जमिन दिएर बसालेको ५१ वर्षीया गुरैया देवी चौधरीले बताइन् । दुःख गरेर कमाएको केही सम्पत्तिसमेत आगलागीमा जलेर नष्ट भएको उनले बताइन् ।

स्थानीयवासी दिलबहादुर चौधरीले घर जलेर नष्ट भएको ४ महिना पुग्दा पनि प्रदेश सरकारबाट सहयोग नपाएको बताए ।

तर मुख्यमन्त्री त्रिलोचन भट्टले प्रमुख जिल्ला अधिकारीका कारण मुक्त कमैया परिवारलाई राहत उपलब्ध गराउन नसकेको बताए । ‘हामी सहयोग दिन तयार थियौँ, पैसा छुट्याएका पनि छौँ तर प्रमुख जिल्ला अधिकारीले कानुन बाझिन्छ, दोहोरो राहत बाँडिनु हुँदैन भन्दा सहयोग दिन नसकेको हो,’ उनले भने ।

चालु आर्थिक वर्षको बजेटमा त्यस क्षेत्रका मुक्त कमैयालाई सहयोगका निमित्त ९० लाख रुपैयाँ व्यवस्था गरिएको उनको भनाइ छ । घर पूर्ण क्षति भएका परिवारका लागि घर निर्माण सुरु गर्ने उनले बताए । पीडित परिवारका लागि आय आर्जनमा टेवा पु¥याउन १५ लाख बजेट समेत छुट्याएको उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप