शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

के हो फ्यान्टासी प्रिमियर लिग ?

शुक्रबार, २० साउन २०७९, २२ : ३७
शुक्रबार, २० साउन २०७९

प्रिमियर लिग फुटबलको नयाँ संस्करण सुरु हुँदैछ । फुटबल समर्थकहरूका लागि फुटबल लिग मध्येको एक हो इङ्लिस प्रिमियर लिग । यसको नयाँ सिजन २०२२÷२३ आजबाट सुरु हुँदैछ । सिजनको पहिलो खेलमा आज शुक्रबार राति १२ː४५ मा सुरु हुँदैछ । पहिलो खेलमा क्रिष्टल प्यालेस र आर्सनल क्लब प्रतिस्पर्धा गर्दैछन् ।

नयाँ सिजनको लिग कसले जित्छ भन्ने चर्चा सिजनको दुई साताको खेलले देखाउनेछ । त्यसपछि समर्थकहरुले लिगको उपाधि कसले जित्छ भन्ने आँकलन गर्न थाल्छन् । प्रिमियर लिग सिजनको मुख्य दावेदार म्यानचेस्टर सिटी, लिभरपुल चेल्सी, आर्सनल, टोटेनहम, म्यानचेस्टर युनाइटेड जस्ता ठूला क्लबहरु छन् ।

प्रिमियर लिग खेल्ने सबै क्लबहरु एक अर्कामा बलियो भएका कारण अहिले नै कुन टिमले उपाधि जित्छ भन्ने सकिने अवस्था छैन । प्रिमियर लिग सुरु हुँदै गर्दा समर्थकहरुका लागि थप रोचक बन्ने विषय हो, फ्यान्टासी प्रिमियर लिग ।

फ्यान्टासी फुटबल लिगलाई युरोपमा भित्र्याउने श्रेय इटालीका रिकार्डो एल्बिनीलाई जान्छ । उनले सन् १९९० मा यो खेल युरोपमा भित्र्याएका थिए । फुटबल समर्थकका लागि सबैभन्दा चर्चित फ्यान्टासी फुटबल लिग फ्यान्टासी प्रिमियर लिग हो । इङ्ल्यान्डमा सन् १९९३/९४ को सिजनदेखि आधिकारिक रुपमा यो लिगको सुरुवात भएको थियो ।

पहिले टेलिफोन र टेलिग्राफको माध्यमबाट खेलिने फ्यान्टासी प्रिमियर लिग व्यवस्थित रुपमा सन् २००२÷०३ देखि इन्टरनेटको माध्यमले अनलाइनमार्फत खेल्न सकिने बनाइएको थियो । सिजन २०२१÷२२ मा विश्वभरका ९१ लाख भन्दा धेरैले फ्यान्टासी प्रिमियर लिग खेलेका थिए ।

नेपालमा आधिकारिक फ्यान्टासी प्रिमियर लिग खेल्ने सक्रिय व्यक्ति भएको मुलुकमध्ये २७ औँ स्थानमा छ । हाल नेपालमा करिब ६० हजारले आधिकारिक फ्यान्टासी प्रिमियर लिग खेल्ने गरेको अनुमान छ । यो संख्या वर्षैपिच्छे बढ्दै गैरहेको छ ।

फ्यान्टासी प्रिमियर कसरी खेल्ने ?

इङ्लिस प्रिमियर लिगमा सहभागिता जनाउने खेलाडीहरुमध्ये कुन खेलमा कु खेलाडीले राम्रो प्रदर्शन गर्न सक्छन् भनेर खेल सुरु हुनुअघि गरिने पूर्व अनुमानमा आधारित खेल हो फ्यान्टासी प्रिमियर लिग । यस खेलमा सहभागिता जनाउन आफ्नो मोबाइलको प्ले स्टोरमा गई प्रिमियर लिगको आधिकारिक एपफ्यान्टासी फुटबल म्यानेजर नामक् एप डाउनलोड गरी रजिस्टर गर्न सकिन्छ ।

फ्यान्टासी प्रिमियर लिगको आधिकारिक वेवसाइट fantasy.premierleague.com मा लगइन गरेर समेत यो खेल खेल्न रजिस्टर गर्न सकिन्छ । यसका लागि कुनैपनि व्यक्तिसँग इमेल ठेगाना हुनु अनिवार्य छ । खेल खेल्न तपाईसँग सुरुमा जम्मा सय मिलियन पाउण्ड स्टर्लिङ्ग उपलब्ध हुनेछ, त्यसबाट तपाईले २ जना गोलकिपर, ५ जना डिफेन्डर, ५ जना मिडफिल्डर र ३ जना फरवार्ड गरी १५ जना खेलाडी खरिद गर्नुपर्ने हुन्छ  । तुलनात्मक रुपमा गोलकिपर एवम् डिफेन्डरभन्दा मिडफिल्डर तथा फरवार्ड महँगा हुन्छन् ।

यस सिजनको लागि गत सिजनका सर्वाधिक सफल खेलाडी मोहम्मद सलाह सबैभन्दा महँगा खेलाडी हुन् । सलाहलाई आफ्नो टिममा राख्न तपाईंले १३ मिलियन खर्चिनुपर्ने हुन्छ । योसँगै खेलाडीको प्रदर्शन र म्यानेजरहरुले गर्ने ट्रान्सफरका आधारमा हरेक गेमविकमा खेलाडीको मूल्यमा थपघट हुन सक्छ । अतː खेलाडी छनौट गर्दा सस्तोदेखि महँगो सबैलाई मिलाएर गर्नुपर्छ ।

हरेक गेमविकका लागि एकजना खेलाडी निːशुल्क ट्रान्सफर गर्न सकिन्छ । एकभन्दा बढी खेलाडी ट्रान्सफर गरेको खण्डमा हरेक खेलाडी ट्रान्सफर गरेवापत तपाईंको ४ नम्बर घट्दछ । कुनै एक गेमविकमा खेलाडी ट्रान्सफर नगरी लगत्तै अर्को गेमविकमा दुईजना खेलाडी ट्रान्सफर गर्न पनि सकिन्छ । कुनैपनि गेमविकको पहिलो खेल सुरु हुनुभन्दा डेढ घण्टा अगाडि नै खेलाडी ट्रान्सफर गरिसक्नु पर्छ ।

लिगमा नम्बर कसरी आउँछ ?

फ्यान्टासी प्रिमियर लिगमा जम्मा १५ खेलाडीमध्ये तपाईंले सुरुमा  ११ जना खेलाडी छनौट गरी प्लेइङ ११ बनाउनुपर्ने हुन्छ । तपाईंले सामान्यतया प्लेइङ ११ का खेलाडीहरुको प्रदर्शनको आधारमा नम्बर प्राप्त गर्नुहुनेछ ।

कतिपय खेलमा तपाईंले छनौट गरेका प्लेइङ ११ का खेलाडीले कुनै खेल नखेलेमा तपाईंको सब्सिच्युट खेलाडीले प्राथमिकताको आधारमा प्लेइङ ११ मा स्थान बनाउन सक्छन् । कुनैपनि खेलाडीले निम्नानुसार नम्बर प्राप्त गर्दछन् ː

१) ६० मिनेटसम्म खेलेवापत                    १ नम्बर

२२ ६० मिनेटभन्दा बढी खेलेमा                  २ नम्बर

३) गोपकिपर वा डिफेन्डरले गोल गरेमा प्रत्येक गोलका लागि  ६ नम्बर

४) मिडफिल्डरले गोल गरेमा प्रत्येक गोलका लागि        ५ नम्बर

५)   फरवार्डले गोल गरेमा प्रत्येक गोलका लागि,           ४ नम्बर

६)   हरेक असिस्टको लागि                                      ३ नम्बर

७)   क्लिनसिटको लागि मिडफिल्डरको                     १ नम्बर

८)   क्लिनसिटको लागि डिफेन्डर वा गोलकिपरको        ४ नम्बर

९)   गोलकिपरको प्रत्येक ३ सट सेभ गरेवापत               १ नम्बर

१०) गोलकिपरले पेनाल्टी गोल बचाएवापत                   ५ नम्बर

क्लिनसिटको नम्बर प्राप्त गर्न कुनैपनि खेलाडी कम्तीमा ६० मिनेट खेल खेलेको हुनुपर्दछ । यो बाहेक हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुले क्रमशː ३, २ र १ बोनस नम्बर प्राप्त गर्दछन् । प्रत्येक खेलमा तपाईंको कप्तानले प्राप्त गरेको नम्बर दोब्बर हुन्छ ।

त्यसैले, हरेक गेमविकमा कप्तान छनोट गर्ने विशेष ध्यान दिनुपर्छ । कुनै खेलमा कप्तानले खेल नखेले उपकप्तानले दोब्बर नम्बर हासिल गर्दछ । यस खेलमा नम्बर आउनेमात्र होइन, कतिपय अवस्थामा खेलाडीले नम्बर गुमाउन पुग्छन् । खेलाडीले नम्बर गुमाउने तरिका तल उल्लेख छ ।

१)   हरेक यलो कार्डका लागि                                  १ नम्बर

२)   हरेक रेड कार्डको लागि                                   ३ नम्बर

३)   हरेक पेनाल्टी  गुमाएवापत                               २ नम्बर

४)   हरेक आत्मघाती गोलका लागि                          २ नम्बर

फ्यान्टासीको असली मजा प्राइभेट लिगमा

पयान्टासी प्रिमियर लिगमा पब्लिक र प्राइभेट गरी दुई लिग हुन्छन् । पब्लिक लिगमा तपाईं यत्तिकै सामेल हुन सक्नुहुन्छ । फ्यान्टासीको असली मजा चाहीँ प्राइभेट लिगमा हुन्छ । आफ्ना नजिकका व्यक्तिहरु मिलेर खेलिने प्राइभेट लिगमा हरेक गेमविक जित्दा होस् वा हरेक गेमविकको हेड टु हेडमा साथी भाईलाई हराउँदा बेग्लै मजा आउँछ ।

अझ आजकाल त थप रमाइलोका लागि निश्चित रकम उठाइ प्राइभेट लिगका विभिन्न विजेताहरुलाई पुरस्कार दिने प्रचलनको समेत विकास हुँदै गएको छ ।

चिप्स प्रयोग गर्न नबिर्सनु है..

फ्यान्टसी प्रिमियर लिगमा एक सिजनको लागि विभिन्न चिप्सको व्यवस्था गरिएको हुन्छ । वाइल्ड कार्ड गेमविक १९ अघि एकपटक र गेमविक १९ पछि एकपटक गरी जम्मा दुई पटक प्रयोग गर्न सकिन्छ । ट्रिपल क्याप्टेन, बेन्च बुस्ट र फ्री हिट  एक सिजनमा एकपटक मात्रै प्रयोग गर्न सकिन्छ । यस्ता चिप्सहरुले तपाईंको टिमलाई थप मजबुत बनाई अझ धेरै नम्बर ल्याउन सहयोग गर्छन् । एकै गेमविकमा दुईवटा चिप्स भने प्रयोग गर्न मिल्दैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप