मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

४ वर्षदेखि निरन्तर घाटामा हेटौँडा सिमेन्ट उद्योग

४ वर्षमा ६५ करोड ५० लाख रुपैयाँ नोक्सान
शुक्रबार, २० साउन २०७९, १४ : १६
शुक्रबार, २० साउन २०७९

हेटौँडा सिमेन्ट उद्योगले विगत ४ वर्षदेखि निरन्तर घाटा व्यहोर्दै आएको छ । सरकारी स्वामित्वको उक्त उद्योगले आर्थिक वर्ष २०७५/०७६ देखि निरन्तर घाटा व्यहोर्दै आएको हो । उद्योगले गत ४ आर्थिक वर्षमा ६५ करोड रुपैयाँ भन्दा बढी घाटा व्यहोरेको हो । निरन्तर घाटामा चल्दा उद्योग धराशायी बन्दै गएको छ । उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेका अनुसार कर्मचारी, उपकरण, प्रविधि, बजार अभाव, मूल्य समायोजन लगायतको समस्याका कारण उद्योग पूर्ण क्षमतामा चल्न नसकेको हो । उनले अन्य निजी उद्योगसँगको प्रतिस्पर्धात्मक बजारका कारण पनि समस्या हुँदा उद्योगको बिक्रीमा गिरावट आएको बताए  ।

उद्योग २०३३ असोज १३ गते एसियाली विकास बैंक र नेपाल सरकारको संयुक्त लगानीमा स्थापना गरिएको हो । दैनिक ७५० मेट्रिकटन सिमेन्ट उत्पादन क्षमता रहेको सो उद्योग विगत १० वर्षयता पूर्ण क्षमतामा चल्न सकेको छैन ।

४ वर्षमा ६५ करोड ५० लाख रुपैयाँ घाटा
उद्योगले आर्थिक वर्ष २०७५/०७६ देखि २०७८/०७९ सम्म ६५ करोड ४७ लाख १६ हजार ७८२ रुपैयाँ नोक्सान बेहोरेको छ । उद्योगको तथ्याङ्कका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा १ लाख ९ हजार मेट्रिकटन उत्पादन गरेको सिमेन्ट उद्योगले १ लाख ६ हजार मेट्रिकटन बिक्री गरेको थियो । जसबाट उद्योगले नाफा आर्जन गरेको थियो । सो आर्थिक वर्षमा १६ करोड ३६ लाख नाफा कमाएको थियो ।

त्यसयता भने उद्योगले नोक्सान मात्र बेहोर्न बाध्य भएको छ । उद्योगले आर्थिक वर्ष २०७५/०७६ मा एक लाख नौ हजार मेट्रिकटन उत्पादन गरेर १ लाख ४ टन बिक्री गरिएको जनाएको छ । उद्योगले सो वर्षमा १ करोड ५ लाख रुपैयाँ घाटा बेहोरेको थियो ।

२०७६/७७ मा ८१ हजार नौ सय मेट्रिकटन उत्पादन र ७२ हजार सात सय बिक्री गरेको गर्दा २३ करोड ८२ लाख रुपैयाँ घाटा बेहोरेको थियो । २०७७/०७८ मा ८९ हजार दुई सय मेट्रिकटन उत्पादन र ९२ हजार ६ सय मेट्रिकटन बिक्री भएको थियो । तर, सो वर्ष उद्योगले १७ करोड ४ लाख रुपैयाँ घाटा व्यहोरेको छ ।

गत आर्थिक वर्षमा २०७८/०७९ मा ८५ हजार दुई सय मेट्रिकटन उत्पादन र ८० हजार ६ सय मेट्रिकटन सिमेन्ट बिक्री बाट १ अर्ब २२ करोड आम्दानी गरेपनि २३ करोड ५५ लाख रुपैयाँ घाटा व्यहोरेको छ । सो वर्ष उद्योगले १ अर्ब ३९ करोड रुपैयाँ खर्च गरेको तथ्याङ्क छ ।

कर्मचारी र प्रविधि अभाव भोग्दै उद्योग
उद्योगका महाप्रबन्धक पाण्डेका अनुसार उद्योगमा स्वीकृत दरबन्दीको आधा भन्दा बढी कर्मचारी अभाव रहेकाले उद्योग संचालनमा समस्या भइरहेको छ । उद्योगको सांगठनिक संरचना अनुसार स्वीकृत स्थायी दरबन्दी ६ सय ५५ जना रहेको भएपनि हाल उद्योगमा २ सय २४ जना मात्रै कार्यरत रहेको उनले बताए ।

उनका अनुसार उद्योगमा ४ सय ३१ जनाको स्थायी दरबन्दी खाली रहेको छ । जसका कारण उद्योगको दैनिक कार्य–सञ्चालनमा समस्या भोग्नु परेको छ । जनशक्ति अभावले कर्मचारीलाई ओभरटाइममा लगाउनु परेको उनले बताए । उद्योगबाट ओभरटाइमको रकम समयमा नै भुक्तानी नहुँदा कर्मचारीको कार्यगत मनोबलमा ह्रास देखिएको उनको भनाइ छ ।

उनले उद्योगको प्रविधि पनि पुरानो भएकाले उत्पादनमा समस्या व्यहोर्नु परेको बताए । उद्योगको जडित उपकरण, मेसिनरी औजार पुरानो प्रविधि भएकाले निरन्तर उत्पादन हुन नसकेको उनको भनाइ छ । मेसिनरी संयन्त्रको मर्मत–सम्भारमा बढी श्रम समय र जनशक्ति खर्चिनु पर्ने अवस्था रहेको उनले बताए । जसका कारण उद्योगले घाटा व्यहोर्नु परेको उनको भनाइ छ ।

स्थानीय औद्योगिक बजारको अभावका कारण मेसिन उपकरणको मर्मत, प्रतिस्थापनमा बढी समय लाग्ने, उत्पादन अवरुद्ध भएकाले उत्पादन लागत बढी भएका उनको भनाइ छ । उनका अनुसार उत्पादन लागत बढ्दा पनि बजार मूल्य समायोजन गर्न नसक्दा थप समस्या भोग्नु परेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप