बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डलाई चार जिल्लाबाट आयो चुनाव लड्ने प्रस्ताव

शुक्रबार, २० साउन २०७९, १५ : २९
शुक्रबार, २० साउन २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘ ‘प्रचण्ड’ लाई पार्टीका नेताहरुले चार जिल्लाबाट चुनाव लड्न प्रस्ताव गरेका छन् । पार्टीमा कुन नेता कहाँबाट लड्ने भन्ने विषयमा छलफल चल्न थालेपछि प्रचण्डलाई पार्टीका नेताहरुले चार जिल्लाबाट चुनाव लड्न प्रस्ताव गरेका हुन । 

पार्टीका नेताहरुले प्रचण्डलाई चितवन क्षेत्र नम्बर तीन छोडेर गोरखा क्षेत्र नम्बर एक, धनुषा क्षेत्र नम्बर एक, सिन्धुली क्षेत्र नम्बर दुई र सिरहा क्षेत्र नम्बर तीनबाट चुनाव लड्न प्रस्ताव गरेका हुन् । प्रचण्डको चुनाव क्षेत्रलाई लिएर अनेक विश्लेषण हुन थालेपछि पार्टीका नेताहरुले चुनावी अंक गणितको हिसाब गरेर चार जिल्लाका नेताहरुले भेटेरै ती क्षेत्रमा चुनाव लड्न अफर गरेका हुन् ।

गोरखा क्षेत्र नम्बर १ का सांसद हरि अधिकारीले आफ्नो क्षेत्रबाट चुनाव लड्न प्रचण्डलाई प्रस्ताव गरेको बताए । ‘गोर्खाली जनता र पालिका नेतृत्व तहमा भएका साथीहरुको तर्फबाट अध्यक्षलाई गोरखा क्षेत्र नम्बर एकबाट चुनाव लड्न प्रस्ताव गरेको हुँ । उहाँले त्यस विषयमा जवाफ दिनुभएन’ अधिकारीले भने, ‘आफ्नो व्यक्तिगत इच्छा नभइ पार्टी र पालिकाका जनप्रतिनिधिको इच्छा अध्यक्ष कमरेडकहाँ पुर्याएको हुँ । अरु कुनै ठोस निर्णय भएको छैन ।’

त्यस्तै स्थायी समिति सदस्य हरिबोल गजुरेल र केन्द्रीय सदस्य राजन दाहालले समेत प्रचण्डलाई सिन्धुली क्षेत्र नम्बर २ बाट चुनाव लड्न प्रस्ताव गरेका छन् । पार्टी नेतृत्वलाई सिन्धुलीका जनताबाट अनुमोदन गराउने इच्छा प्रचण्डकहाँ राखेको दाहालले बताए । सिन्धुलीबाट चुनाव लड्ने प्रचण्डको इच्छा नभई आफूले नै चुनाव लड्न अफर गरेको उनले बताए । यदि प्रचण्ड सिन्धुली बाटै चुनाव लडेमा गजुरेल र दाहाल दुबै नेता छोड्न तयार भएका छन् ।

यस्तै स्थायी समिति सदस्य मातृका यादवले समेत आफ्नो क्षेत्रबाट चुनाव लड्न प्रचण्डलाई प्रस्ताव गरेका छन् । त्यस्तै सिरहाबाट प्रतिनिधित्व गर्ने अजयशंकर नायक, विश्वनाथ साह र महेन्द्र पासवान लगायतका माओवादीहरूले समेत प्रचण्डलाई सिरहाबाट चुनाव लड्न सुझाव दिएका हुन । दोस्रो संविधानसभा चुनावमा सिरहा क्षेत्र नम्बर ५ बाट प्रचण्ड निर्वाचित भएकाले पुनः सिरहाबाटै चुनाव लड्न उनीहरुले सुझाव दिएका हुन् ।

पार्टीका नेताहरुले प्रचण्डलाई चार जिल्लाबाट चुनाव लड्न प्रस्ताव गरेपनि उनले ठोस जवाफ दिएका छैनन् । प्रचण्डले भने चितवन क्षेत्र नम्बर तीन बाटै चुनाव लड्ने बताउने गरेका छन् । पहिलो संविधानसभा निर्वाचनमा प्रचण्ड रोल्पा र काठमाडौँबाट निर्वाचित भएका थिए । दोस्रो संविधान सभामा प्रचण्ड काठमाडौ र सिरहाबाट चुनाव लडे पनि सिरहाबाट मात्रै निर्वाचित भएका थिए । २०७४ सालको प्रतिनिधिसभा चुनावमा भने प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप