बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यस्ता व्यक्तिले बिर्सेर पनि खानु हुँदैन बढी आँप, फाइदाको साटो हानी हुने

शुक्रबार, २० साउन २०७९, १५ : ३५
शुक्रबार, २० साउन २०७९

धेरैजसो मानिसलाई आँप असाध्यै मिठो लाग्छ । आँप स्वादिलो हुनुका साथै स्वास्थ्यका लागि निकै फाइदाजन पनि हुन्छ । आँपमा पोटासियम, म्याग्नेसियम, कपर र फाइबर पनि पाइन्छ । तर कतिपय अवस्थामा आँप खानु हानिकारक पनि हुनसक्छ । यस्तोमा प्रश्न के उठ्छ भने आँप कहिले र कति मात्रामा खाने ? के तपाईंले जहिले पनि आँप खान सक्नुहुन्छ ? आँप खाने उत्तम समय के हो ? वा तपाईं बिहान खाली पेटमा आँप खान सक्नुहुन्छ ? आउनुहोस्, यी सबै प्रश्नको जवाफ खोजौँ ।

आँपले ऊर्जावान् बनाउँछ

डाइट इनसाइटकी संस्थापक डायटिसियन लवलिन कौरले एक वेबसाइटसँग कुराकानी गर्दै खाली पेटमा आँप खाँदा कुनै समस्या नहुने बताउँदै यसले शरीरलाई ऊर्जावान् राख्ने बताएकी छिन् । तर खाली पेटमा असाध्यै धेरै आँप भने खान नहुने उनी बताउँछिन् । उनले भनिन्, ‘खाली पेटमा आँप खानु पूर्ण रुपमा ठिक हो । हाम्रो शरीरलाई बिहानको समयमा एल्कलाइन फुड्सको आवश्यकता हुन्छ त्यसैले बिहानको समयमा अमिलो खानेुकराको साटो यस्ता खानेकुरा खानु राम्रो हुन्छ । आँप खाना खाएलगत्तै र राती सुत्नु अघि भने खानुहुँदैन । किनभने यतिबेला आँप खाँदा तपाईंको रगतमा ग्लुकोजको स्तर बढ्न सक्छ ।’

यस्ता मानिसहरुले सावधानीपूर्वक खानुपर्छ आँप

लवलिनले भनिन्, ‘मधुमेहका बिरामीले आँप खान सक्छन् तर यो खाँदा उनीहरुले थोरै सावधानी भने अपनाउनुपर्छ । आँपसँग फाइबरयुक्त खानेकुरा जस्तै नट्स, सिड्स आदिको सेवन गर्न मधुमेहका रोगीलाई सुझाव दिइन्छ ताकि ग्लाइसेमिक लोडलाई सन्तुलित बनाउन सकियोस् । साथै मधुमेहका रोगीले मौसमको सुरुवातमा बजारमा आउने आँप भने खानुहुँदैन किनभने यसमा मिसावटको सम्भावना असाध्यै धेरै हुन्छ ।’

क्लाउडनाइन ग्रुप अफ हस्पिटल्स, बेंगलुरुमा चीफ क्लिनिकल न्युट्रिशनिस्ट अभिलाषा वीले पनि बिहान खाली पेटमा आँप खानुलाई फाइदाजनक नै बताएकी छिन् । उनले भनेकी छिन्, ‘आँप धेरै मानिसहरुका लागि ब्रेकफास्टको निकै राम्रो विकल्प हुनसक्छ । तर मधुमेह र इरिटेबल बावेल सिन्ड्रोम (आइबीएस) को समस्या भएका मानिसहरु भने थोरै सतर्क रहनुपर्छ । ’

उनी थप्छिन्, ‘तपाईं बिहानको समयमा स्मुदीको रुपमा यसको सेवन गर्न सक्नुहुन्छ वा लस्सीमा यसको प्रयोग गर्न सक्नुहुन्छ । यसका साथै बेलुका मिल्कशेक र राती खाना खाएपछि डेजर्टको रुपमा पनि तपाईं आँप खान सक्नुहुन्छ तर यसका लागि तपाईंले सबैभन्दा बढी ध्यान पुर्याउनुपर्ने भनेको यसको मात्रा हो । यदि तपाईं सिमित मात्रामा आँप खानुहुन्छ भने तपाईं यसलाई कुनै पनि बेला खान सक्नुहुन्छ, यसले कुनै हानी गर्दैन ।’

मधुमेहका बिरामीले आँप खाँदा सावधानी अपनाउनुपर्छ किनभने यसले तपाईंको ब्लड सुगर बढाउने गर्छ । यसका साथै मधुमेहका बिरामीले खाना खाएपछि कुनै पनि हालतमा आँप खानुुहुँदैन किनभने यसले सुगरको स्तरलाई थप बढाउने काम गर्छ । यदि तपाईंलाई मधुमेह छ भने तपाईंले निकै कम आँप खानुपर्छ । यसबाहेक तपाईंलाई आइबीएस वा एसिडिटीको समस्या छ भने तपाईंले खाली पेटमा आँप खानबाट जोगिनुपर्छ ।

आँपको गुणस्तर निकै महत्वपूर्ण

भारतकी फङ्क्सनल न्युट्रिसनिस्ट मुग्धा प्रधानले भनिन्, ‘बिहान खाली पेटमा आँप खानु हुन्छ भनेर सोध्नुहुन्छ भने यसको जवाफ हो ‘सक्नुहुन्छ’ । तर बिहानको समयमा यसको सेवन ती मानिसहरुले मात्रै गर्न सक्छन् जसलाई गम्भीर इन्सुलिन रेजिस्टेन्स वा हाइपरग्लाइसेमिया (ब्लड सुगरको उच्च स्तर) छैन । अन्य मानिसले खाना खाएपछि आँप खान सक्छन् तर यहाँ के ध्यानमा राख्नुपर्छ भने आँप अर्गानिक होस् वा त्यसमा कुनै पनि खालको मिसावट हुनु भएन ।’

डा. मुग्धाले थपेकी छिन्, ‘केही खानेकुरा खानु अघि तपाईंले एक गिलास सादा पानी वा त्यसमा कागतीको रस मिसाएर पिउनुपर्छ । यसो गर्दा पाचन प्रणालीले आफूलाई बुस्ट गर्ने गर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप