बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

हावा खुस्किरहने साइकलले छात्राहरुलाई उल्टै पीडा !

शुक्रबार, २० साउन २०७९, १६ : ४५
शुक्रबार, २० साउन २०७९

मधेस प्रदेशका छात्राहरुलाई शिक्षामा प्रेरित गर्ने र सक्षम बनाउने अभियानमा साथ दिन भन्दै वितरण गरिएको साइकलले उनीहरुलाई खुसी बनाउन नसकेको पाइएको छ । ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानमा कमसल साइकल वितरण गरेर छात्राहरुलाई खुसी बनाउनुको साटो उल्टै पीडा दिने काम भएको हो ।

मधेश प्रदेशमा बाँडिएको १७ हजार २३८ थानमध्ये १६ हजार ३८ थान साइकल कमसल गुणस्तरको भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निष्कर्ष छ । अख्तियारले गरेको छानबिन र अनुसन्धानमा पञ्चाबबाट अम्बिका ब्राण्डको साइकल ल्याउने भनेपनि स्थानीयस्तरमै निर्माण गरिएको न्युन गुणस्तरको साइकल उपलब्ध गराई तत्कालीन प्रदेश सचिव, सीडीई, सहायक लेखापाल, सप्लायर्सले राज्यलाई १० करोड ३३ लाख रुपैयाँ हानी पुर्याएको अख्तियारको अभियोगमा उल्लेख छ ।

साइकलको गुणस्तर तथा समस्याका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेशका आठवटै जिल्लाका केही विद्यालयका प्रधानाध्यापक तथा छात्रासँग बयान लिएको छ । बयानमा सबैले साइकलको गुणस्तर न्युन रहेको र पटकपटक समस्या आएको बताएका छन् ।

विशेष अदालतमा दायर गरिएको अभियोगपत्रमा साइकल प्राप्त गरेका छात्राहरुको बयान पनि समावेश गरिएको छ । अख्तियारले लिएका छात्रा र विद्यालयका प्रधानाध्यापकहरूको बयान यस्तो छः

१. श्री नेपाल रेल्वे माध्यमिक विद्यालय वीरगन्ज पर्सामा अध्ययनरत छात्रा भूमिका कुमारीको बयान 

–     मैले मिति २०७८ श्रावण महिनामा श्री नेपाल रेल्वे माध्यमिक विद्यालयबाट एक थान साइकल प्राप्त गरेको थिएँ । मैले प्राप्त गरेको साइकलमा कुनै पनि कम्पनीको नाम लेखिएको छैन, त्यसकारण ब्राण्डको बारेमा मलाई जानकारी भएन । मैले साइकल प्राप्त गर्दा साइकलको नटहरु लुज थियो, मर्मत गर्नु परेको थियो । अगाडिको टायरमा दिनदिनै हावा भरे पनि हावा लिक भइरहन्छ, ट्युब राम्रो छैन । मर्मत गरेको खर्च आफैँ घरबाट व्यहोर्नु परेको छ, मर्मत गराउँदा साइकलको वारेन्टी सुविधा केही पाएको छैन ।

२. बाराको कलैया उपमहानगरपालिका वडा नं. ३ भवानीपुर स्थित श्री जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक लाल बाबु प्रसाद जयसवालको बयान

–     हालसम्म एक पटक जम्मा ३८ थान साइकल तत्कालीन समयमा कक्षा आठमा अध्ययनरत छात्राहरुलाई वितरण गरिएको थियो । सबै ३८ थान साइकल वीरगञ्जस्थित नेशनल ट्रेडिङको गोदामबाट आफ्नै खर्चमा ढुवानी गरी विद्यालयसम्म ल्याइएको थियो । सम्पूर्ण साइकल पिङ्क कलरको लेडिजको साइकल हुन् तर साइकलमा कुन ब्राण्ड, कम्पनीको हो ? भन्ने स्टिकर नभएको कारण ब्राण्डको बारेमा जनाकारी छैन । ह्यान्डलमा मेड इन इन्डिया मात्र लेखिएको छ । प्राप्त भई वितरण गरिएका साइकल हेर्दा एकै प्रकारका देखिन्थे । सुरुमा साइकल प्राप्त हुँदा राम्रोसँग फिटिङ्ग गरिएको थिएन । वारेन्टी सुविधा प्राप्त गरेको छैन, वितरण गरिएका साइकलको भरपाई राखिएको छ । साइकल प्राप्त गर्ने छात्राहरूले साइकल कम गुणस्तरको भएको र पटक–पटक मर्मत गराउनु पर्ने गुनासो गरिरहेका हुन्छन् ।

३. श्री जनता माध्यमिक विद्यालय कलैया बारामा अध्ययनरत छात्रा स्नेहा ठाकुरको बयान

–  ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत प्राप्त लेडिज साइकल मैले २०७८ असार ३ गते श्री जनता माध्यमिक विद्यालयबाट भरपाई गरी एक थान प्राप्त गरेको हो । साइकलमा कुनैपनि कम्पनीको नाम लेखिएको छैन, त्यसकारण ब्राण्डको बारेमा जानकारी भएन । हाल साइकलको अवस्था राम्रो छैन । साइकल प्राप्त गरेपछि ४–५ पटक मर्मत गरिसकेको छु, वारेन्टी सुविधा प्राप्त गरेको छैन । साइकलको बास्केट, ब्रेक चुडेको, टुटेको छ, पटक–पटक हावा भर्दा पनि टायर पञ्चर भइरहन्छ । साइकलमा विद्यालय जाँदा सधैँ बिग्रेर दुःख हुने भएकोले हाल साइकल नचलाइ हिँडेर जाने गरेको छु ।

४. श्री जनता माध्यमिक विद्यालय कलैया बारामा अध्ययनरत छात्रा आशा कुमारी गुप्ताको बयान 

–     ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत प्राप्त लेडिज साइकल मैले २०७८ असार ३ गते श्री जनता माध्यमिक विद्यालयबाट भरपाई गरी एक थान प्राप्त गरेको हो, साइकलमा कुनैपनि कम्पनीको नाम उल्लेख नभएकोले साइकलको ब्राण्डको बारेमा जानकारी भएन । साइकल प्राप्त गरेपश्चात ५–६ पटक मर्मत गरिसकेको छु, साइकलको चेन चुडिएको, अगाडिको बास्केट भाँचिएको छ । ब्रेक राम्रो छैन, पटक–पटक टायरमा हावा भर्दापनि टायर पञ्चर भइरहन्छ ।

५. श्री जनता माध्यमिक विद्यालय कलैया बारामा अध्ययनरत छात्राहरु अन्जली कुमारी पटेल र सोनिया कुमारी गुप्ता समेतले गरेको कागज

–     ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत प्राप्त लेडिज साइकल मिति २०७८ असार ३ गते श्री जनता माध्यमिक विद्यालयबाट भरपाई गरी एक–एक थान प्राप्त गरेको, साइकलमा कुनैपनि कम्पनीको नाम उल्लेख नभएकोले साइकलको ब्राण्डको बारेमा जानकारी भएन । साइकल प्राप्त गरेपछि पटक–पटक मर्मत गरिसकेको छौँ, साइकलको टायरमा पटक–पटक हावा भर्दापनि टायर पन्चर भै रहन्छ भन्ने समेत एकै मिलानको बयान ।

६.सर्लाहीको हरिवन नगरपालिका वडा नं. ८ स्थित श्री महादेव जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक जय शंकर सिंहको बयान

–     प्रदेश सरकारको ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत मिति २०७८ साल असार महिनामा जम्मा १०४ थान लेडिज साइकल प्राप्त भएको थियो । कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई ९९ थान लेडिज साइकल विद्यालय व्यवस्थापन समिति समेतको उपस्थितिमा भरपाई कागजमा सहीछाप गरी छात्राहरुलाई साइकल वितरण गरिएको थियो । साइकल प्राप्त गरी वितरण गरिएका ९९ थान लेडिज साइकल एकनासका थिए, साइकलमा ब्राण्ड उल्लेख थिएन, हामीलाई बुझाउँदा कुन ब्राण्डको हो भनी जानकारी गराईएको थिएन । विद्यार्थीहरुले पटक–पटक साइकलमा समस्या आइरहने, बिग्रिरहने, कम गुणस्तरीय रहेको भनी गुनासो गरी रहन्छन् ।

७. छात्राहरु एलिसा ठाकुर, भवानी बि.क, दीपा रौनियारले गरेको बयान

–     २०७८ साल असार महिनामा एक–एक थान साइकल प्राप्त गरेको हो, हाल साइकल चल्ने अवस्थामा छैन, पटक–पटक मर्मत गराउँदा समेत बिग्रिरहने हुँदा बनाउन छाडेकोले बेचालु अवस्थामा छ । प्राप्त गरेको रातो लेडिज साइकल कुन ब्राण्डको हो थाहा छैन । साइकलको ह्यान्डलमा मेड ईन इन्डिया लेखिएको छ । वारेन्टीको सुविधाबारे कुनै जानकारी छैन।

८. धनुषाको मिथिला नगरपालिका वडा नं. ६ ढल्केबर स्थित श्री महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक राम कुमार महतोको बयान

– विद्यालयले हालसम्म एक पटक जम्मा ७३ थान लेडिज साइकल प्राप्त गरी छात्राहरुलाई वितरण गरी सकेको छ । वितरण गरिएका साइकल मध्ये २ थान रातो रङको थियो भने बाँकी ७१ थान गुलाबी रंगको रहेको थियो । साइकलको ह्यान्डलमा मेड ईन इन्डिया लेखिएको छ । अन्य स्थानमा पर्मानेन्ट ट्याग, स्टिकर नभएको कारण कुन कम्पनीको हो भन्नेबारे एकिन साथ भन्न सक्दिन । साइकल प्राप्त गर्ने छात्राहरुले सो साइकल प्रयोग गरिरहेका छन्, तर बास्केट अत्यन्त कमजोर रहेको र भाँचिने, कुच्चिने जस्ता समस्या रहेको विद्यार्थीको प्रतिक्रिया प्राप्त भएको छ ।

९. श्री महेन्द्र माध्यमिक विद्यालय, ढल्केबर धनुषामा अध्ययनरत छात्राहरु सुरुची यादव, कल्पना यादव, अमृता कुमारी सिंह समेतको बयान

‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत मिति २०७८ असार ३१ गते श्री महेन्द्र माध्यमिक विद्यालय धनुषाबाट निःशुल्क भरपाई कागजमा सहीछाप गरी एक–एक थान लेडिज साइकल प्राप्त गरेको हौँ । साइकलको ब्राण्ड, कम्पनी बारेमा जानकारी भएन । साइकलमा मेड ईन इन्डिया मात्र लेखिएको छ । साइकलको वारेन्टी सुविधा कहीँ कतैबाट प्राप्त भएको छैन । टायरबाट हावा लिक भई रहन्छ, टायरको क्वालिटी राम्रो छैन भन्ने समेतको एकै मिलानको बयान ।

१०. सिरहाको धनगढीमाई नगरपालिका वडा नं. १२, विष्णुपुरकट्टी स्थित तुलसीराम सत्यभामा डोटेल उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक बलराम भक्त श्रेष्ठको बयान

हालसम्म एक पटक जम्मा ४३ थान लेडिज साइकल विद्यालयले प्राप्त गरी कक्षा ८ मा अध्ययन गर्ने छात्राहरुलाई वितरण गरिसकिएको छ । प्राप्त भएका सबै साइकलहरु गुलाबी रङका लेडिज साइकल थिए, तर के–कुन ब्राण्डका हुन् भन्ने थाहा छैन, किनभने साइकलको ह्यान्डलमा मेड ईन इन्डिया लेखिएको छ, तर अन्य स्थानमा कुनै प्रकारको ब्राण्ड खुल्ने स्टिकर, टयाग टाँस गरिएको छैन । प्राप्त भएका ४३ थान साइकल वितरण गरिसकिएको छ । साइकल प्राप्त गर्ने छात्राहरुले पटक–पटक मर्मत गरिरहनु पर्ने, बिग्रिरहने जस्ता गुनासो गर्ने गरेका छन्, वारेन्टी सुविधा बारे कुनै जानकारी गराइएको छैन ।

११. तुलसीराम सत्यभामा डोटेल उच्च माध्यमिक विद्यालय, विष्णुपुरकट्टी सिरहामा अध्ययनरत छात्राहरु मनिका कुमारी पासवान, निगिता श्रेष्ठ, रन्जिता कुमारी साह समेतको गरेको बयान 

‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत मिति २०७८ साउन १० गते तुलसीराम सत्यभामा डोटेल उच्च माध्यमिक विद्यालयबाट निःशुल्क भरपाई कागजमा सहीछाप गरी एक–एक थान लेडिज साइकल प्राप्त गरेका हौँ । साइकलको ब्राण्ड, कम्पनीको बारेमा जानकारी भएन, साइकलमा मेड ईन इण्डिया मात्र लेखिएको छ । साइकलको वारेन्टी सुविधा प्राप्त गरेको छैन, साइकल पटक–पटक मर्मत गर्दै चलाउँदै आए तापनि हाल साइकल चलाउने अवस्थामा छैन, बिग्रेको छ भन्ने समेतको एकै मिलानको कागज ।

१२. सुरुङ्गा नगरपालिका वडा नं. ५ स्थित मसिलाल जनता माध्यमिक (प्राविधिक) विद्यालयका प्रधानाध्यापक हंश नारायण मेहताको बयान

–     हालसम्म एक पटक जम्मा ६४ थान लेडिज गुलाबी रङको साइकल प्राप्त गरी वितरण गरिएको, प्राप्त भएका मध्ये ५८ थान साइकल वितरण गरी बाँकी साइकल विद्यालयमा नै सुरक्षित साथ राखिएको छ । छात्राहरुको लागि प्राप्त भएको उक्त साइकलहरू मिति २०७८ साउन २४ गते भरपाई गराई वितरण गरिएको हो । जनकपुर स्थित रहेको जनकपुर चुरोट कारखानाको गोदामबाट ल्याइएको, साइकल प्राप्त गर्ने छात्राहरुसँग रुपैया ५०० प्रतिछात्रा रकम संकलन गरी ढुवानी गरिएको हो । प्राप्त भएका सबै साइकल एकै खालका एकै नाशका देखिन्थे, तर साइकलको ह्याण्डलमा मेड ईन इन्डिया लेखिए बाहेक साइकलको अन्य स्थानमा ब्राण्ड खुल्ने कुनै प्रकारका स्टिकर, टयाग वा अन्य लोगो नभएको कारण कुन ब्राण्डका साइकलहरु हुन् भन्ने एकिन साथ भन्न सक्दिन । पटक–पटक बिग्रिरहने, मर्मत गराइरहनु पर्ने कम गुणस्तरको रहेको भन्ने छात्राहरुबाट प्रतिक्रिया प्राप्त हुने गरेको भन्ने समेतको व्यहोरा उल्लेख गरेको ।

१३. श्री मसिलाल जनता माध्यमिक (प्राविधिक) विद्यालय कुशाहा, सप्तरीमा अध्ययनरत छात्राहरु समिना खातुन, सकिना खातुन, लक्ष्मी कुमारी मण्डल समेतले गरेको कागज

–     हामीले मिति २०७८ साउन २४ गते मसिलाल जनता माविबाट निःशुल्क भरपाई कागजमा सहिछाप गरी एक–एक थान लेडिज साइकल प्राप्त गरेको हौँ । साइकल कुन ब्राण्ड कम्पनी हो ? जानकारी नभएको, साइकलको हेण्डलमा मेड ईन इन्डिया लेखिएको छ । वारेन्टी सुविधा प्राप्त गरेको छैन । साइकल बिग्रिएर ३–४ पटक बनाई सकेको छौँ ।

यसरी मधेस प्रदेशले विद्यालय आउने–जाने प्रयोजनका लागि छात्राहरुलाई निःशुल्क साइकल वितरण गर्दा उक्त साइकलमा भ्रष्टाचार भएको पाइएको हो । साइकल वितरणका लागि सम्झौता गर्दा ६ हजार ४४१ रुपैयाँमा भारतको पञ्जाबमा उत्पादन गर्ने अम्बिका ब्राण्डको लेडिज साइकल वितरण गर्ने भनेपनि पछि कमसल गुणस्तरको करिब ४ हजारमै पाइने साइकल वितरण गरिएको थियो ।  सोही साइकल खरिद र वितरण प्रक्रियामा भ्रष्टाचार भएको भन्दै अख्तियारले बुधबार उक्त भ्रष्टाचारमा संलग्न ६ जना व्यक्ति र सप्लायर्सविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप