बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यी हुन् एमालेका मुख्य तीन चुनावी एजेण्डा

शुक्रबार, २० साउन २०७९, १८ : ५३
शुक्रबार, २० साउन २०७९

नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मुख्यगरी तीन एजेण्डा अघि सार्ने भएको छ । राष्ट्रियता, संविधानको कार्यान्वयन र जनजीविकालाई पार्टीले प्रमुख चुनावी एजेण्डा बनाउने नेताहरुको भनाइ छ  । एमाले पोलिटब्युरो सदस्य आनन्द पोखरेलले राष्ट्रियताको जगेर्ना, संविधानको कार्यान्वयन र विकाससँगै जनताको सहज जनजीविकाको सवाललाई चुनावमा पार्टीले प्रमुखताका साथ उठाउने  बताए ।

‘राष्ट्रिय हितका एजेण्डा हाम्रा प्रमुख हुन्छन् । राष्ट्रहीतको पक्षमा हामीले नेपालमा जे काम गरेका छौँ ती काम केपी ओली प्रधानमन्त्री भएका बेलामा नै भएका छन् । नेपालको भूमि समेटेर चुच्चे नक्सा बनाउनेदेखि नागरिकता विधेयकमा फरक अडान राख्ने एमाले नै हो’, नेता पोखरेलले भने, ‘यो विषय हामी जनतालाई बुझाउन पनि हामी चुनावी एजेण्डा बनाउन चाहान्छौँ ।’

उनले संविधानको सही कार्यान्वयन भएमात्रै स्थायित्व हुने भएकाले त्यसको रक्षाका लागि एमाले प्रतिवद्ध र कटिबद्ध भएको कुरामा जनतालाई विश्वस्त बनाउने बताए । उनका अनुसार संविधान निर्माण गर्दा कतिपय जातीय पहिचानको कुरा गर्नेहरुलाई मन परेको छैन । हिन्दु राज्य हुनुपर्छ भन्नेहरु, राजतन्त्रको वकालत गर्नेहरु र छिमेकी देश तथा युरोपियन युनियनलगायतलाई पनि मन नपरेको अवस्थामा एमालेले संविधानको सही कार्यान्वयन भएमात्रै स्थायित्व हुनेकुरा जनतालाई बुझाउने उनको भनाइ छ ।

 पछिल्लो समय अदालत समेत संविधानको प्वाल अगाडि आएको भन्दै एमालेले त्यस्ता कुराको भण्डाफोर गर्ने उनले बताए । पोखरेलका अनुसार विकास निर्माण र जनजीविकाको सवाललाई एमालेले चुनावी एजेण्डाका रुपमा अघि सार्ने छ । ‘विकास निर्माण र जनजीविकाका सवाल महहत्वपूर्ण छन् । विकास निर्माणसँग जनजीविकाको कुरा पनि जोडिन्छ’, उनले भने, ‘दीर्घकालीन विकासबाट मात्रै मुलुक र जनताको जीवनस्तर माथि उठ्न सक्छ ।’

अघिल्लो निर्वाचन (२०७४) मा माओवादी केन्द्रसँग गठबन्धन गरेर १२१ सिटसहित सवैभन्दा ठुलो पार्टी बनेको एमालेलाई यस पटक भरपर्दो सहयात्रीको भने अभाव छ ।  ५ दलीय गठबन्धन नभत्किने लगभग निश्चित भएसँगै मंसिरको निर्वाचन एमाले भर्सेस गठबन्धन भएर प्रतिस्पर्धा हुने निश्चित छ । पार्टीभित्रको आन्तरिक किचलोका कारण पार्टी विभाजनको पीडा भोगेको एमालेले यो पटक एकल बहुमत ल्याउने दावी भने गर्न छोडेको छैन । त्यसका लागि उसले केही साना दल र क्षेत्रीय पार्टीलाई समेट्ने रणनीति कायमै राखेको छ ।

‘एमाले हारे देश हार्ने’ बताएको एमालेले सोही अनुसार आफ्ना नेता कार्यकर्ता परिचालनदेखि उम्मेदवार छनोटसम्ममा विशेष ध्यान दिने अध्यक्ष केपी ओलीको भनाइ छ ।अध्यक्ष ओलीले मंसिरको चुनावलाई सामान्य चुनावका रुपमा नलिएर महासंग्रामको संज्ञा दिदै जित्नैपर्ने गरी अघि बढ्न देशभरका आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिइसकेका छन् ।

‘हामीले चुनाव जित्नैपर्नेगरी ध्यान दिनुपर्छ र हाम्रा सम्पुर्ण कामहरु चुनाव जित्ने कुराको तयारीमा लाग्नुपर्दछ’, एमाले अध्यक्ष ओलीको भनाइ छ ।  चुनाव आउँदैछ त्यसकारण हामी जित्छौ भन्नुपर्छ भन्नेजस्तो विषयमात्र नठान्न कार्यकर्तालाई निर्देशन दिएका ओलीले अबको चुनाव लडिखेल्ने मात्र नभएको टिप्पणी गरेका छन् ।

‘हरेक उम्मेदवारले चुनाव जित्छुजित्छु भनेर हिँडछ, नत्र उ उम्मेदवार नै हुँदैन तर हामी त्यस्तो होइन, हाम्रा लागि यो चुनाव लडीखेल्ने होइन । हाम्रा लागि अवको चुनाव देशको हितको रक्षाका लागि एउटा महासंग्राम हो’, अध्यक्ष ओलीको भनाइ छ । 

अघिल्लो निर्वाचनमा ओली नेतृत्वको सरकारले भारतले गरेको नाकावन्दीको सामनालाई प्रमुखताका साथ उठाएको थियो । यसपटक पनि पार्टीले राष्ट्रियताको मुद्दा प्राथमिकतामा राखेर जनतामा गए जित सुनिश्चित रहेको अध्यक्ष ओलीको भनाइ छ ।

‘राष्ट्रियता, सुशासन, लोकतन्त्र, शान्ति  र स्थिरता, विकास, सामाजिक न्याय तथा  जनताको सामाजिक सुरक्षाको पक्षमा सहज जीवनको सुनिश्चितताका सवालमा हामी गम्भीर छौ’, ओलीले भने, ‘त्यो गम्भीरताका साथ हामी जनतामा जान्छौ, व्यापक रुपमा जान्छौ, योजनावद्ध रुपमा जान्छौ ।’ त्यसो त यसअघि बसेको केन्द्रीय कमिटी बैठकबाटै एमालेले सरकारका गलत कामको भण्डाफोर गर्दै जनतामा जाने निर्णय गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप