ad
x

कसरी पहिल्याउने जीवनको मार्ग ?

person explore access_timeसाउन २१, २०७९ chat_bubble_outline0

आज शनिबार । शनिबार फुर्सदको समय । शनिबार आफ्नो समय । यसो मोबाइल हेर्छु, ह्वाट्स एपमा सत्संगको जानकारी आएको छ । जाउँ जाउँ लाग्छ ।  घरका सदस्यहरुलाई भन्छु, ‘आज म जान्छु है । बरु तिमीहरु पनि जाने भए हिँड ।’ तर खै, सबै आआफ्नै काममा व्यस्त हुन्छन् । म भने  व्यस्ततालाई पनि पन्छाउँदै कपाल कोर्ने थाल्छु, लुगा लगाउन थाल्छु  । निर्धारित ३ बजेको सत्संग कार्यक्रममा पुग्छु । साथीहरुलाई हाइ हल्लो गर्दै बुद्ध हलमा गएर बस्छु ।


सत्सङ्ग कुनै घटना होइन, कुनै वस्तु होइन । सत्सङ्ग एउटा अवस्था हो, जहाँ हामी शुन्यमा पुग्छौं । श्रावकको शुन्य र वाचकको शुन्य जब एक हुन्छ, त्यहाँ सत्सङ हुन्छ । बोल्नु र सुन्नु त एक बहाना हो । जब दुइ शुन्य एकापसमा तरङित हुन्छन्, एकाकार हुन्छन्, त्यहाँ सत्सङ घटित हुन्छ । दुइ शुन्य मिलेर दुइ शुन्य कहिले पनि हुँदैन, एक नै हुन्छ । अझ भनुँ, हजार शुन्य मिले पनि एक नै शुन्य हुन्छ । शुन्यको जोड अजिब छ । यसैले त भनिन्छ, शुन्य परमात्माको रुप हो ।



मलाई स्वामी मैत्रेयजीको नजिकै बस्न मनपर्छ । उहाँका हरेक अमृत वचनहरु टाढा बस्दा म न सुन्न पनि सक्छु । यसैले म स्वामीजी भन्दा केही टाढा मात्र बस्छु । उहाँ ओशोका अनुयायी हुनुहुन्छ । ओशोले पुरुषलाई “स्वामी” र महिलालाई “मा” अर्थात् आमा भनेर सम्बोधन गर्नुहुन्थ्यो । त्यसैको अनुसरण उहाँका अनुयायीहरुले गर्दै आउनु भएको छ । संसारमा “आमा” शब्द कति प्यारो छ,  हैन र ? अनि “स्वामी” अर्थात् ‘आफ्नो स्वरुपको स्वामी आफै’ ओशोको विचार कति महान छ । शान्त भएर सोचौ त ? 

हलमा बिस्तारै मधुर स्वरमा सङ्गीत बजिरहेको हुन्छ । संगीतमा रमाउनुको मज्जा नै बेग्लै छ । म आँखा चिम्म गरेर संगीत सुनिरहन्छु, सुनिरहन्छु ।

यही संगीतको ध्वनिले हामीलाई हाम्रो स्रोततिर लैजान्छ, जसलाई नाद पनि भनिन्छ । अतः सत्संगले  हामीलाई आफ्नो  पहिचान दिएर अगाडि बढ्न मद्दत गर्छ, जहाँबाट हामी आएका छौ, यस्तो ध्वनि सुन्दा शरीर, मन र  आत्मा एउटै लयमा प्रभावित हुन पुग्छ । 

संगीतले मलाई कहाँ पुर्यायो थाहा हुन्न । म हराउँछु तर पनि नेपथ्यमा संगीत बजिरहेको हुन्छ, बजिरहेको हुन्छ । एक्कासी संगीत रोकिन्छ । म विस्तारै बन्द आँखा खोल्छु । अगाडि हेर्छु, स्वामीजी आएर बसी सक्नु भएको हुन्छ ।  उहाँको आजको प्रवचनको विषय छ, ‘जीवन नै मार्ग हो ।’

उहाँ बोल्न थाल्नु हुन्छ । म पुनः आँखा बन्द गर्छु । उहाँका शब्दहरु कानभित्र पस्न थाल्छन्, म सुनिरहन्छु, सुनिरहन्छु ।

के हो जीवन ?

जीवन के हो ? किन जीवनलाई मार्ग भनिएको हो ? जीवन के को मार्ग हो ? आदि बिषयमा उहाँ प्रष्ट्याउँदै जानु हुन्छ । हामी सुन्दै जान्छौ । उहाँकै प्रवचनका भावहरु म यहाँ पस्कने प्रयास गर्दछु ।

जीवनका धेरै परिभाषा हुन सक्छन् । आँखा चिम्लेर एकपल्ट विचार गरौं त, जीवन के हो ? हामीभित्रको हामीले हामीलाई जीवनको परिभाषा कसरी गर्छ ? सधैँ हामीले माया गर्ने यो हाम्रो शरीर मासु, छाला र रगतको पत्र नै जीवन हो त ? एक पल्ट गहिरिएर सोचौं त जीवन के हो ?

सरल रूपमा भन्नु पर्दा, जीवन एउटा ईश्वरले सृष्टि गरेको सुन्दर सिर्जना हो । जसभित्र प्राण, आत्मा र शरीरको सम्मिश्रण छ । प्राण विना आत्मा र शरीर जीवित रहन सक्दैन । यी तीनमा एक र एकमा तीन मिलेर रहेका छन् । जस्तैः प्राणले जीवन दिने काम गर्छ भने आत्माले परमेश्वरसँग सम्बन्ध राख्छ र शरीरले अनुभव गर्दछ ।

जैविक रूपमा भन्ने हो भने कुनै पनि प्राणीको जन्मदेखि मृत्युका बीचको अवधि नैं ‘जीवन’ कहलाउँछ । तर हाम्रो जन्म के हाम्रो इच्छाबाट हुन्छ ? हुँदैन, यो त प्रजनन प्रक्रियाको परिणाम हो, जो प्रकृतिको नियमअन्तर्गत हुन्छ । यसका अतिरिक्त जीवनको मुख्य अङ्ग एउटा चेतन तत्त्व छ,जो जीवनको सबै क्रियाहरूको साक्षी हुन्छ । 

अतः जीवन के हो ? भन्ने प्रश्न नै सबैभन्दा ठूलो प्रश्न हो । यो नै तत्व ज्ञानसम्म पुर्याउने प्रश्न हो । यो गन्तव्य नभएर सुन्दर मार्ग हो । कस्तो गन्तव्यमा पुग्ने हो, त्यसको लागि मार्ग आफैले पहिचान गर्नुपर्छ । यसैले जीवन गन्तव्य नभएर केवल गन्तव्यमा पुग्ने मार्ग मात्र हो ।

जीवनको मार्ग पहिल्याउनको लागि हामीले मन, विचार, धारणा तथा सोच गरी यी चार तत्वको पहिचान गर्नु आवश्यक छ ।

मन

म र न दुई अक्षरको शव्द हो मन । कति साधारण छ । म अर्थात् “म” “स्वयं”। न अर्थात् “हैन” ।  “म” मन नभए के हो त ? “म” स्थिर हुन्छ “मन” स्थिर हुँदैन, अस्थीर  हुन्छ । शाब्दिक अर्थमा मन भन्नाले “म” हैन  भन्ने बुझाउछ । हो “म” मन हैन । “म” स्थिर छु, मन अस्थिर छ । मन पल पलमा गन्त्यव्य फेरिरहन्छ । तर “म” को गन्तव्य एउटै हुन्छ ।

हामी सजिलै भन्न सक्छौ व्यक्तिको टाउकाको आकार कस्तो हुन्छ ? मुटु कस्तो हुन्छ ? तर मन कस्तो हुन्छ र शरीरको कुन भाग छ भनेर सोध्यौ भने सही उत्तर कसैवाट पनि पाउन कठिन छ ।

हामी एक्लै भए पनि वा अरुको बिच भए पनि मनमा कुराहरु खेलिरहेको हुन्छ । एक मिनेटमा व्यक्तिले ३ हजार भन्दा बढी कुराहरु सम्झन सक्छ । हाम्रो शरीर हामीसँग हुन्छ । तर मनले एकै सेकेण्डमा देशविदेश घुमेर आउँछ । कस्तो चन्चल छ हाम्रो मन । 

मन कहिले पनि वर्तमानमा बस्दैन । जहिले पनि कि भूतलाई सम्झिन्छ कि भविष्यको बारेमा सोच्न थाल्दछ । मनमा के के कुराहरु खेल्छन्, आफूलाई थाहा हुन्छ । तर अर्काको मन बुझ्न धेरै जटिल हुन्छ । अर्काको मनमा के कुराहरु खेल्दै छ भन्ने कुराहरु उसको अनुहार हेरेर अनुमान गर्ने सकिदैन । तर पनि उसको आँखा हेरेर केही अनुमानसम्म लगाउन सक्छौ । किनकि आँखाले रिस, राग, माया, घृणा, स्नेह सबै प्रकट गरिरहेको हुन्छ ।

मनको अर्थ हो– बाहिरको यात्रा । अमनको अर्थ हो– बाहिरको होइन, भित्रको यात्रा । बाहिर होइन, भित्र खोज आफूलाई । मन जबसम्म छ, तबसम्म दुःख छ । मनको इशारामा हामी धेरै नाच्यौ । मनको इशारामा हामी धेरै सुत्यौ । अब मनलाई सुत्न देऔं । हामी उठौँ । मनको पार जानु नै ध्यानको उद्देश्य हो । मनको ढोकाबाट बाहिर आउनु नै ध्यानको उपलब्धि हो ।

विचार 

हाम्रो मनमा आउने सोच, भावहरु नै विचारको उद्गम स्थल हो । प्रत्येक मानवसँग विचार नामक् एउटा अद्भुत वस्तु छ । विचारको दृढता नै जीवनको सही मार्ग हो । तर त्यो विचार साँचो र दृढ हुनुपर्छ । विचार एकपछि दोस्रो, दोस्रोपछि तेस्रो यस प्रकारले उठ्ने गर्दछन् । यसै प्रकार केही दृढ विचार नराम्रा पनि हुन्छन् । 

चोर जब चोरी गर्दछ, तब त्यो निन्दित कार्य पनि उसका विचारको नै फल हो । दृढ विचार ती हुन्, जो मन, वाणी र कर्मका साथै सात्विकता, निःस्वार्थपन तथा सत्यताले पनि युक्त हुन्छन् । यसैले उत्तम सात्विक विचार नै कल्याणकारी हुन्छन् । नराम्रा विचार दुर्बलता हो । त्यसैले दृढ शुद्ध विचारका लागि मन शुद्ध र दृढ हुनु अत्यन्त आवश्यक छ ।

विचार सबै शास्त्रहरुभन्दा ठूलो छ । तै पनि हामी सदा नराम्रा विचारहरुका फन्दामा अल्झिई पराधीनताको गीत गाउँदछौं । यसैले सदा राम्रा विचारलाई मनमा ल्याउने अभ्यास गर्नुपर्दछ, यसबाट नराम्रा विचार आफ्से आफ नष्ट हुन्छ, किनभने राम्रा विचार अविनाशी हुन्छ ।

जड वस्तुभन्दा चेतन र सूक्ष्म वस्तुमा सदैव नै अधिक बल हुन्छ । जस्तो ढुङ्गाभन्दा माटो सूक्ष्म छ र माटोमा ढुङ्गभन्दा पनि अधिक बल छ । ढुङ्गाभन्दा माटोमा जड्ता कम छ, त्यसैले ढुङ्गाको अपेक्षा माटोमा जीवनशक्ति धेरै छ । माटोभन्दा पानी अधिक सूक्ष्म छ, पातलो छ । त्यसैले त्यो भन्दा पानी ज्यादा उपयोगी र बलवान छ । पानीभन्दा बाफ सूक्ष्म छ र बाफभन्दा वायु सूक्ष्म छ, बलवान छ । वायुभन्दा आकाश अर्थात् शब्द सूक्ष्म छ र शब्दको गतिभन्दा प्रकाशको बल धेरै छ । प्रकाशको भन्दा विजुलीको बल बढी र सूक्ष्म छ । तर विजुलीभन्दा पनि विचारहरुको बल अति सुक्ष्म छ ।

विचार मस्तिष्कबाट उत्पन्न हुन्छ । मस्तिष्कमा कति प्रचण्ड शक्ति छ भने यसको वर्णन हुन सक्दैन । यद्यपि यो शान्त र स्थिर प्रतीत हुन्छ । तैपनि यस केन्द्रबाट विचार बाहिर निस्कन्छन् । यी विचारहरूको उत्पत्ति इच्छाको तीव्र र सामान्य रूपमाथि निर्भर गर्दछ ।

हाम्रो जीवनमा घट्ने सबै प्रकारका घटना हाम्रो विचार, भाव र कल्पनाका तरङ्गका परिणाम हुन् । विचारले उस्तै प्रकारका बस्तु घटना आकर्षित गर्दछन् र अन्तमा आफूले प्रक्षेपित गरिएका विचार, भाव र कल्पना आफैतिर फर्केर आउँछ । विचार बस्तु र घटनामा परिवर्तित हुन्छ । विचारले व्यक्ति घटना र स्थितिलाई परिचालन गर्दछ ।

धारणा 

धारणा बिश्वास हो, मान्यता हो, परिचय हो। जुन स्थापित भइसकेको हुन्छ, स्थापना गर्नु पर्दैन । विचार र धारणा बेग्लाबेग्लै शब्द जस्तै अर्थ पनि बेग्लै छ । विचार मस्तिष्कबाट आउँछ भने धारणा मान्यता हो, विश्वास हो ।

हाम्रो घरमा बुवाआमा, भाइबहिनी हुन्छन् । हाम्रा साथीभाइ आफन्त छन् । आमाबुवालाई सम्मान गर्नुपर्छ, भाइबहिनीलाई माया गर्नुपर्छ । यो हाम्रो धारणा हो । तर, वास्तविकतामा हामी बुवाआमालाई तिमी पनि भन्छौं, रिसाउछौ गाली गर्छौ । भाइबहिनीलाई झापड हान्छौ । हामी धारणालाई प्रेम गर्छौ तर वास्तविकतालाई प्रेम गर्दैनौ । हामी घारणालाई सम्मान गर्छौ तर वास्तविकतालाई सम्मान गर्दैनौं ।

अब कुरा अभावको । बुवाको अभाव हुनेले बुवाको धारणा सम्झेर अभाव महसुस गर्छ । आमा, भाइबहिनी, साथी नहुनेले त्यही धारणा सम्झिन्छ । अभावपछि साथमा हुनेले वास्तवमै हामी घरमा भएका बालाई सम्मान गर्छौ त ? साथीभाइलाई यी मेरा बा हुन् भनेर चिनाउन सक्छौ त ? आमाको महानताको कुरा गर्ने हामी महानता सम्झेर रोएका छौ त ? त्यसैले धारणालाई गरेको माया सम्मान वास्तविकतामा गर्न सिक्नु पर्छ ।

प्रत्येक व्यक्तिको धारणा फरक फरक हुन सक्छ । व्यक्तिको सोचाइको आधारमा, व्यक्तिको भावनाको आधारमा उसको धारणा बेग्लाबेग्लै हुन सक्छ । धारणालाई असर पार्ने तत्वहरू हुन्छन् सामाजिक, राजनैतिक, भौगोलिक, संस्कार, शिक्षादीक्षा, पारिवारिक वातावरण आदि । यी तत्वले कुनैपनि व्यक्तिको धारणा बनेको हुन्छ । धारणालाई बदल्न सकिदैन । यो किलोजस्तै मानिसको मस्तिष्कमा गडेर बसेको हुन्छ । तर पनि बदल्न नसकिने भने होइन । धारणा बदल्न ध्यानको मार्ग नै पहिल्याउनु पर्छ । विचार बदल्न सजिलो छ तर धारणा बदल्न धेरै गाह्रो हुन्छ ।

सोच 

मानव जीवनको अभिन्न भाग सोच पनि हो । सोच भनेको संज्ञानात्मक गतिविधि हो । सूचनाको प्रशोधन गर्न, समस्या समाधान गर्न, निर्णय लिन, र नयाँ विचार सिर्जना गर्न सोचको प्रयोग गरिन्छ । सोच्ने सीपको विकास  र प्रयोग गर्नका लागि अनुभवहरू बुझ्ने, जानकारी व्यवस्थित गर्ने, सम्बन्ध बनाउने, प्रश्न सोध्ने, योजना बनाउने वा के गर्ने भनेर निर्णय लिनुपर्ने हुन्छ ।

हेनरी फोर्ड भन्छन्, सोच्नु दुनियाँकै सबैभन्दा गाह्रो काम हो । शायद यसैकारण एकदमै थोरै मानिस यो काम गर्छन् । 

अल्बर्ट आइनस्टाइनले भनेका छन्, हामीले सृष्टि गरेको संसार हाम्रो सोचको प्रक्रिया हो । हाम्रो सोचाइ नबद्लेसम्म यो परिवर्तन हँुदैन । सोचबाट नै परिवर्तनको सुरूवात हुने हो ।

शुद्ध विचारले कार्यको लागि प्रेरित मात्र गर्दैन, कार्य सिद्दीतर्फ उत्पेरित गर्छ । निर्देशित गर्छ । त्यसैले, अस्तित्वको लागि सोच जरुरी छ । 

इल्नोर रुजवेल्ट भन्छन्, महान दिमागहरु विचारको छलफल गर्छन् । मध्यम दिमागहरु घटनाको छलफल गर्छन् र सानो दिमागहरु मानिसको बारेमा छलफल गर्छन् । महान दिमागहरुले नै महान विचारक जन्माउँछन् । सोच अति बलवान छ । सोचमा विविधताकै कारण मानवको सुन्दरता पनि छ । त्यसैले, अलग सोचौँ । सफल बनौँ । 

यसरी जीवन एक मार्ग हो भने मन, विचार, धारणा र सोच यसका पाइला हुन् । माथि भनिएजस्तै हामी जे सोच्छौ, जे सुन्छौ, हामीसँग जे धारणा छ, ती जीवनमा पहिल्याउने मार्ग बन्न सक्छन् । यसैले हाम्रो जीवनको अन्तिम गन्तव्य भनेको आफूले आफैंलाई नै पाउनु हो । 

मृगतृष्णा मुटुमा च्यापेर चम्किएको बालुवालाई हीरा ठानेर भेट्टाउन हामी दौडिएको दौडियै हुन्छौं । जति दौडे पनि त्यो पर चम्केको बालुवा हामी पाउन सक्दैनौ । मृगतृष्णा लिएर हाम्रो जीवन दौडिरहेको हुन्छ तर पनि हामी केही पाउँदैनौं । त्यसैले जीवनको गन्तव्य भनेको आफूले आफैंलाई पाउनु हो । यसको लागि हाम्रो मन, विचार, धारणा र सोच सकरात्मक हुनु जरुरी छ । करुणा, दया, माया, स्नेह, प्रेम यी सबै हामीभित्र हुनु जरुरी हुन्छ । त्यस्तै आशक्ति, रिस, राग, द्वेष, घृणा, अहंकार हामीबाट हटाउनु जरुरी हुन्छ । 

जीवनको मार्ग हिँडन गाह्रो छैन, तर सजिलो पनि छैन । त्यसैले साधना ध्यान गर्नु जरुरी छ । ध्यान नै त्यो यस्तो वस्तु हो, जसले हामीलाई हामी भनेर चिनाउँछ । यदि हामी संसारतिर जान्छौ भने प्रेम लिएर जाऊँ । तर यदि हामी आफूतिर फर्कन्छौं भने ध्यान गरौ, जसले शुन्यता दिन्छ, निर्विचार बनाउँछ, एक अलौकिक शान्ति दिन्छ । संसारमा बसेर पनि एकान्तको आनन्द दिन्छ । अतः जीवनको मार्ग भनेको नै आफूले आफैंलाई चिन्ने मार्ग हो ।

स्वामीजीको प्रवचनले पूर्ण बिराम लिएको आभाष हुन्छ । म झल्यास्स हुन्छु । बुद्ध हल चुपचाप छ । बिस्तारै मधुर संगीत बच्छ । प्रसाद लिएर हामी घरतिर लाग्छौ । बाटोभरी स्वामीजीको ‘आफूलाई चिन्न आफूभित्रै पस’ भन्ने वाक्य मेरो कानमा गुन्जिरन्छ, गुन्जिरन्छ ।

भक्तपुर

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।