ad
x
सरोकार

वर्षौँदेखि ढलको पानी खोलामा

प्रशोधन केन्द्र बन्न नसक्दा समस्या

person explore access_timeसाउन २१, २०७९ chat_bubble_outline0

काठमाडौँ उपत्यकामा एक हजार २६४ किलोमिटर लामो ढल प्रणाली छ । ती मध्ये काठमाडौँ जिल्लामा ९५१ किलोमिटर, ललितपुरमा १९२ किलोमिटर र भक्तपुरमा १२१ किलोमिटर ढल प्रणाली छ । 


उपत्यकाका तीनै जिल्लाबाट निस्किने घरभित्रको फोहोर पानी, शौचालयबाट निस्किने फोहोर, आकाशबाट झर्दा आउने पानी सबै त्यही ढल मार्फत जान्छ । वर्षा लागेसँगै ढल बिग्रिने समस्या बढ्दै जान्छ । ढल जाम हुँदा जताततै फुटेर दूषित पानी बाहिर सडकैभर हुन्छ । तर, त्यसको मर्मत सम्भार गर्न महिनौँ लाग्छ । 



काठमाडौँ उपत्यकामा ढल निर्माण तथा व्यवस्थापन गर्ने एउटा मात्र निकाय छैन । त्यसका लागि खानेपानी तथा ढल व्यवस्थापन विभाग, उपत्यकाका महानगर तथा नगरपालिका, स्थानीय उपभोक्ता समितिहरू, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (डीआईडी) लगायतका निकाय लागि परेका छन् । तर, उपलब्धि भने शून्य जस्तै छ । 

हरेक वर्ष मर्मत सम्भारका लागि भन्दै सरकारले अर्बौँको बजेट विनियोजित गरेको हुन्छ । तर, ढल जाम पर्ने, फुट्ने समस्या पनि वर्षेनी बढ्दो क्रममा छ । नेपाल सरकारका पूर्व सिनियर डिभिजनल इन्जिनियर प्रेमकृष्ण श्रेष्ठ ढलका समस्या चार तरिकाले केलाउँछन् । 

पहिलो भनेको ढल बनाउँदा आवश्यक प्लानिङ अनुसार बनेनन् । विगतमा कुनै प्लानिङबिना नै ढल निर्माण गरिएकाले अहिले समस्या आइरहेको उनको भनाई छ । काठमाडौंमा यस्ता ठाउँ पनि छन्, जहाँ राणाकालीन ढल प्रणाली यथावत् छन् । विशेष गरी ठमेल, असन, इन्द्रचोक, पाटन, लगायत क्षेत्रमा अझै पनि राणाकालीन ढल प्रणाली छन् । ती क्षेत्रमा निकै साना पाइप बिछ्याएको थियो । ती क्षेत्रमा ढल जाम हुने समस्या पटक पटक आउने गरेको छ ।  

इन्जिनियर श्रेष्ठ ढल धेरै निकायले बनाउने र समन्वयन नै नहुने बताउँछन् । ‘ढल बनाउने र मर्मत गर्ने निकायबीच अलि अलि समन्वय छ । तर, आवश्यकता जति समन्वय हुँदैन । जसले गर्दा पनि समस्या भयो ।’ उनले भने । 

उनले केलाएको अर्को समस्या भनेको ढलहरू कम्बाईन सिस्टमबाट बन्नु हो । ढल दुई प्रकारले बनाइन्छन् । एउटा सेप्रेट र अर्को कम्बाईन । काठमाडौँमा कम्बाईन प्रकारका ढल बनेको र बेला बेला जाम हुने, बिग्रिने समस्या देखिने गरेको उनको भनाई छ । 

सेप्रेट भनेको आकाशबाट परेको पानीलाई छुट्टै पठाउने, घरबाट निक्लिएको फोहोरलाई छुट्टै पठाउने । शौचालयबाट निस्किएको फोहोरलाई छुट्टै पठाउने । त्यस्तो प्रकारको ढल प्रणालीलाई सेप्रेट सिस्टम भनिन्छ । 

त्यस्तो नगरी दुवैलाई एउटै ठाउँमा राखेर पठाउनुलाई कम्बाईन सिस्टम भनिन्छ । ‘गर्नुपर्ने सेप्रेट सिस्टम हो तर, हामीकहाँ कम्बाईन सिस्टम बढी छ । त्यो सिस्टम हुनाले हाम्रा ढलको साइज नपुगेर, पानी बढी आउने समस्या हुन्छ । विशेष गरी बर्खामा थेग्न नसकेर बाहिर आउँछ ।’ श्रेष्ठले भने । 

उनले देखेको अर्को समस्या भनेको निर्माण सम्बन्धी कार्य हो । ‘काठमाडौँ बन्दै गरेको सहर हो । पेरिस, अमेरिका जस्तो सहर होइन । हामीकहाँ त निर्माण कार्य चल्दैछ, धेरै कच्ची सडक बाटाहरू छन्,’ इन्जिनियर श्रेष्ठले भने, ‘त्यहाँबाट आएको माटो, बालुवा ढलमा जाने र ढल जाम हुन्छ । एक मिटरको ढल हाले पनि कालान्तरमा त्यसको साइज फेरिन्छ । त्यसले गर्दा पनि ढलहरूको क्यापासिटी नपुगेको जस्तो देखिन्छ ।’ 

यसरी माटो र बालुवा, ढुङ्गा गिट्टीले गर्दा ढल जाम हुने समस्या देखिएको उनको भनाई छ । एकातिर जाम हुँदा अर्कोतिरबाट पानी बाहिर आउने गरेको उनी बताउँछन् । 

अर्को कुरा आम उपभोक्ताका कारण पनि ढल जाम हुने समस्या रहेको उनको ठहर छ । ढलमा के पठाउने भन्ने कुरा निश्चित भएको तर आम उपभोक्ताले जे पनि पठाउने गरेको उनको भनाई छ । 

‘ढलभित्र जे पठाए पनि आफूले नदेखे भयो भन्ने हामीलाई लाग्छ । हामीले बनाएको ढल बर्खाको पानी बगोस्, घरको चर्पीबाट आएको दिसापिसाब बगोस् भन्ने हो तर, जे पनि ढलमै भेटिन्छ,’ उनले भने, ‘ढल सफा गर्दा ढलभित्रबाट हेलमेट, कपडा, जुत्ता, डसना, सिरक जस्ता सामान पनि भेटिएका छन् । ढलमा जे पनि भेटिने गरेको छ । त्यो भएपछि ढल जान हुने समस्या छ ।’  

यो समस्याको समाधान भनेको वर्षमा कम्तीमा पनि दुई पटक सफा गर्नुपर्ने उनको धारणा छ । 

‘ढललाई कम्तीमा पनि बर्खाअघि एक पटक र बर्खापछि एक पटक सफा गर्नुपर्छ । त्यस्तो गर्न सकियो भने धेरै समस्या घट्थ्यो । त्यो हामीले गर्न सकेका छैनौँ । बनाउने धेरै संस्था छन्, सफा गर्ने थोरै भए ।’ उनले भने ।  

यो जिम्मा नगरपालिको जस्तो छ । तर, यसको आधिकारी अधिकार भने कसैलाई दिइएको छैन । 

अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिले हरेक वर्ष टेण्डर आह्वान नै गरेर ढल सफा गर्छ । तर, उसले आफ्नो अधिकार क्षेत्र परेका ढलको मात्र सफा गर्ने गरेको छ । 

काठमाडौंको उपत्यकामा रहेको ढल प्रणालीको नक्सा ।

घरभित्रको फोहोर कसरी पुग्छ ढलमा ?  

घरभित्रबाट निस्किने फोहोरलाई स–साना ढल मार्फत मूल ढलसम्म पठाइन्छ । तर, घरको शौचालयबाट निस्किने दिशा पिसाब पनि त्यही ढल मार्फत पठाइन्छ । वर्षामा आउने पानी पनि त्यही ढलबाट निस्किन्छ । जसले गर्दा जामको समस्या बढी हुन्छ । 

घर घरबाट निस्किएको ढल मूल ढल हुँदै खोला निकाससम्म बनाइएको इन्टरसेप्टेड ढलसम्म पठाइन्छ । जुन हाइवे जस्तो हुन्छ । शाखा सडक हुँदै मेन हाइवे जस्तै ढलको पुन साना ढल हुँदै मूल ढल र अन्तिममा प्रशोधन केन्द्रसम्म पठाइने मुख्य ढल प्रणाली हुने गरेको उनको भनाई छ । 

अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिले इन्टरसेप्टेड ढल बनाउने र सफा गर्ने गरेको छ ।   

ढलको फोहोर सिधै खोलामा 

उपत्यकाका घरभित्रको मलमूत्रदेखि फोहोरसहितको ढल सिधै खोलामा पठाइन्छ । खोलामा पानीको सट्टा ढल नै बग्छ । त्यही अनुसार संरचना बनाएर घरभित्रको मलमूत्र सिधै खोलामा पठाइन्छ । 

यो समस्या अहिलेको मात्र होइन । वर्षौँदेखि यो समस्या देखिएको हो । घरभित्रबाट आएको फोहोर ढलमार्फत प्रशोधन गरेर मात्र खोलामा पठाउनुपर्छ । तर, अहिले प्रशोधन केन्द्रको अभावमा ढल नै खोलामा मिसाइन्छ । 

इन्जिनियर श्रेष्ठ यसलाई सानोमा खोला किनारमा लुकेर दिशा गर्नु र अहिले घरभित्र शौचालयमा दिशा गर्नु उस्तै भएको बताउँछन् । ‘पहिला सिधै खोलामा जान्थ्यो । अहिले घरभित्रबाट ढल हुँदै त्यही खोलामा आइरहेको छ ।’ उनले भने । 

सरकारले ढलको फोहोर प्रशोधन गरेर मात्रै खोलामा पठाउनको लागि विभिन्न ठाउँमा ढल प्रशोधन केन्द्र निर्माण गरिरहेको छ । 

अहिले गुह्येश्वरी रहेको प्रशोधन केन्द्रमा मात्र चालु अवस्थामा छ । जहाँ दैनिक ३ करोड ३४ लाख लिटर ढलको फोहोर पानी प्रशोधन हुन्छ । र त्यहाँबाट बागमतीमा प्रशोधन गरेर पानी पठाइन्छ । 

ती बाहेक धोबीघाटमा प्रतिदिन ३ करोड ७० लाख लिटर फोहोर पानी प्रशोधन गर्ने क्षमताको प्रशोधन केन्द्र निर्माणाधीन अवस्था छ । 

त्यस्तै बालकुमारी, गोकर्ण, सल्लाघारी, हनुमानघाट, थापाथलीको टुकुचा खोला किनार लगायत १२ वटा स्थानमा फोहोर पानी प्रशोधन केन्द्र निर्माणाधीन अवस्थामा छन् । 

धोबीघाटमा निर्माणाधीन अवस्थामा रहेको आयोजना त गत वर्ष नै निर्माण सम्पन्न भइसक्नुपर्थ्यो । 

लामो समयदेखि निर्माणाधीन अवस्थामा रहेका प्रशोधन केन्द्र समयमै सम्पन्न नहुँदा ढल खोलामै मिसाउनुपर्ने बाध्यता रहेको उनको भनाई छ । 

सरकार, एसियाली विकास बैंक र ओपेक कोषको आर्थिक सहयोगमा सन् २०१७ देखि निर्माण थालिएको थियो । तर, निर्माण कम्पनीको लापरबाहीले अझै पनि काम सकिएको छैन । 

पहिलो चरणमा काठमाडौँको धोबीघाटमा प्रतिदिन ३ करोड ७० लाख लिटर क्षमताका २ वटा केन्द्र, ललितपुरको बालकुमारीस्थित कोड्कुमा १ करोड ७५ लाख लिटर र भक्तपुरको सल्लाघारीमा १ करोड २२ लाख लिटर क्षमताको फोहोर पानी प्रशोधन केन्द्रको निर्माण सुरु गरिएको थियो । करिब ४ अर्ब रुपैयाँको लागतमा ‘साफ्बम’ नामक चिनियाँ कम्पनीसँग सम्झौता गरिएको थियो । 

धोबीघाट फोहोर पानी प्रशोधन केन्द्रको काम भने डिसेम्बर भित्र सक्ने लक्ष्य लिइएको मेलम्ची खानेपानी उप–आयोजना–२ आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) ले जनाएको छ । 

आयोजना उपनिर्देशक चन्द्रकुमार श्रेष्ठले कोरोना महामारीका कारण ठेकेदार कम्पनीले काम गर्न नसकेको जानकारी आफूहरूलाई दिएको बताए ।     

उपत्यकाका ढल प्रणालीमा ५१४२८ मेन होल कभर छन् । ती मध्ये ३९ हजार खोल्न सकिने खालका रहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले जनाएको छ । 

केयूकेएलका प्रवक्ता प्रकाश कुमार राई ढलको व्यवस्थापन र मर्मत सम्भारमा धेरै निकायको जिम्मेवारी रहेको बताउँछन् । धेरै निकायले हेर्दा समस्या भइरहेको उनको भनाई छ । 

‘ढलहरूको समस्या एउटै निकायबाट विस्तार भएको हुँदैन । विस्तार हुँदा कतिको टेक्निकल एक्सपर्टिजको प्रयोग भयो भन्ने कुरा मुख्य हुन्छ । ढल भनेको लेबलले चल्ने कुरा हो । लेबल मिलेन भने नचल्ने कुरा हुन्छ ।’ उनले भने । 

घरभित्रको फोहोर पानी र वर्षाको पानी निकास गर्नको लागि छुट्टा छुट्टै ढलको व्यवस्था गर्नतिर सरकार सोचिरहेको उनको भनाई छ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।