शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीमा रामकुमारी भर्सेस माधव नेपाल

शनिबार, २१ साउन २०७९, १७ : ००
शनिबार, २१ साउन २०७९

नेकपा एकीकृत समाजवादी पार्टीभित्रको विवाद चुलिएको छ । पार्टीमा माथिल्लो तहमा रहेका नेतृत्व नै एक अर्काको उछित्तो काढ्न थालेपछि विवाद सतहमा आएको हो । सहरी विकास मन्त्रीबाट बाहिरिनु परेपछि नेतृ रामकुमारी झाँक्री पार्टी अध्यक्ष माधव नेपालप्रति असन्तुष्ट रहेकी छिन् । उनले सार्वजनिक कार्यक्रमबाट नेता नेपालको उछित्तो काट्न थालेकी छिन् ।  

हालै एक टेलिभिजनबाट प्रसारित अन्तरवार्ताका क्रममा उनले पार्टी अध्यक्ष माधव नेपालले रौतहट जिल्लामा बिना बजेट, बिना योजनाको विकासको काम उद्घाटन गरेको भन्दै आलोचना गरेकी छिन् । झाँक्रीले मिडियाको प्रयोग गरेर आफ्नै पार्टी अध्यक्षको आलोचना गरेपछि सोही दलका नेता एवं हालका सहरी विकास मन्त्री मेटमणि चौधरीले मन्त्रालयका प्रवक्ता प्रदीप परियारलाई विज्ञप्ति निकाल्न लगाएर खण्डन गरेका छन् । उनले सो विज्ञप्ति सहित फेसबुकबाट आफूले पनि खण्डन गरेका छन् । उनले भनेका छन्–‘पूर्व प्रधानमन्त्री एवं पार्टीका श्रद्धेय अध्यक्ष कमरेड माधव कुमार नेपालले सहरी विकास मन्त्रालयले आयोजना गरेको रौतहट जिल्लाको विभिन्न आयोजनाको शिलान्यास विषयमा भ्रम फैलाउने गरी केही मिडिया मार्फत प्रसारण भएको सुन्दा अचम्मित र दुःखी तुल्याएको छ ।  मन्त्रालयले आयोजनाको शिलान्यास सबै विधि प्रक्रिया (आवश्यक बजेटको व्यवस्थापन गरेर) पुरा गरेको छ । यसमा कुनै पनि मिडियाहरू भ्रममा नपर्नको लागि सबैमा अनुरोध छ । ’

झाँक्रीको सो अभिव्यक्तिले पार्टीभित्रै हलचल मच्चिएको छ । मन्त्री चौधरीले मात्र नभई सो दल निकट समाजवादी पत्रकार सङ्गठनका उपाध्यक्ष विश्वमणि सुवेदीले नेता नेपालले शिलान्यास गरेको आयोजनाको बजेट स्वीकृति विवरण लगायतका प्रमाणित कागजातहरू फेसबुक मार्फत सार्वजनिक गरेका छन् । उनले कुरा सुनौँ–कागज हेरौँ भन्दै रामकुमारी झाँक्रीले लगाएको आरोपको भिडियो क्लिप र आयोजनाबारेको सामग्री पोस्ट गरेका छन् । 

के भनेकी थिइन् झाँक्रीले ? 

प्राइम टिभीबाट प्रसारण भएको र सञ्चारकर्मी ऋषि धमलाले लिएको अन्तरवार्तामा उनले पार्टी अध्यक्ष नेपालको आलोचना गरेकी थिइन् । उनले रौतहटमा नेता नेपालले शिलान्यास गरेको योजनामाथि प्रश्न उठाएकी थिइन् । उनले भनेकी थिइन्–‘हिजो उहाँले गौरमा गरेको शिलान्यास न बजेट छ, न कार्यक्रम छ, न स्रोत सुनिश्चितता छ, न टेण्डर आह्वान भएको छ । उहाँ दुई दुई वटा धर्मशाला र सभाहलको शिलान्यास गरेर आउनुभयो । त्यो स्रोतको सुनिश्चितता पनि छैन । बजेटमा कार्यक्रम पनि छैन । ठेक्का पनि लगाएको छैन । ठेक्का प्रक्रिया पनि सुरु भएको छैन । अर्थले सुनिश्चितता पनि दिएको छैन । कुन स्रोतबाट काम गर्ने भन्ने थाहा पनि छैन । तर उहाँले शिलान्यास गर्नुभयो । कुरो त उही भएन र भन्या ?’

तर सहरी विकास मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार सहरी विकास मन्त्रालयले गर्ने रौतहट जिल्लाको गौर बोर्डर टाउनमा सहरी पूर्वाधार निर्माण, गौर सभाहल र राम जानकी विवाह मण्डपका लागि बहुवर्षीय योजनाका रूपमा २८ करोड छुट्ट्याएको छ । आर्थिक वर्ष २०७९–०८० का लागि ७ करोड छुट्याएकोमा आर्थिक वर्ष २०८०–०८१ का लागि २१ करोड छुट्याइएको छ । यस्तै रौतहट जिल्ला गौर नगरपालिका क्षेत्र भित्रका विभिन्न सडक तथा नाला स्तरोन्नतिका लागि १२ करोड रुपैयाँ बस्ती विकास कार्यक्रम अन्तरगत राखिएको छ । 

यस्तै रौतहट जिल्ला राजदेवी नगरपालिका क्षेत्र भित्रका विभिन्न सडक तथा नाला स्तरोन्नतिका लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको विवरण सहरी विकास मन्त्रालयले सार्वजनिक गरेको छ । 

सधैँ विवादमा रामकुमारी झाँक्री

विवाद नम्बर १ : शिक्षक बमबहादुर कुँवरलाई गुण्डा लगाएर खुट्टा भाँच्छु

२०७४ सालको स्थानीय तहको निर्वाचनका बेला गुल्मी मदानेका शिक्षक बमबहादुर कुँवरलाई गुण्डा लगाएर खुट्टा भाँचिदिन्छु भनेर फोनमा गाली गरेको भिडियो भाइरल भएको थियो । उनले कुँवरलाई भोजबहादुर सरको घर अगाडी आउन आग्रह गर्दै खुट्टा भाँच्ने धम्की दिएकी थिइन् । उनले दिएको सो धम्कीको सर्वत्र विरोध भएको थियो । 

विवाद नम्बर २ : सिभिल हस्पिटलकी कर्मचारीसँग झगडा  

रामकुमारी झाँक्री हरेक वर्ष कुनै कुनै कुरामा विवादमा आउने गरेकी छिन् । बमबहादुर कुँवरलाई खुट्टा भाँच्ने धम्की दिएको ठिक एक वर्षपछि उनले नयाँ बानेश्वरस्थित सिभिल अस्पतालकी कर्मचारीसँग झगडा गरेकी थिइन् । अस्पतालमा आफूलाई छिटो सेवा नदिएको भनेर अस्पतालमै स्वास्थ्यकर्मीसँग विवाद गरेर घर फर्केकी उनले तिनै महिला स्वास्थ्यकर्मीको फोटो फेसबुकमा राखेर उनले आफूलाई झर्को फर्को गरेको, छिटो सेवा नदिएको भन्दै पोस्ट गरेकी थिइन् । त्यसपछि झाँक्री र ति स्वास्थ्यकर्मी महिलाको फेसबुकमै वार परेको थियो । उनले सांसद झाँक्रीले आफ्नो अनुमतिबिना फोटो खिचेर सामाजिक सञ्जालमा राखेर गाली बेइज्जती गरेको भनेर साइबर क्राइम गरेको बताएकी थिइन् । 

विवाद नम्बर ३ : राष्ट्रपतिलाई ‘महारानी’ को सम्बोधन गर्दै बालकोट जान सुझाव

२०७७ साल पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको विघटन गरेपछि तत्कालीन नेकपाका प्रचण्ड–माधव नेपाल पक्षले प्रतिगमन विरुद्धको आन्दोलन गरेका थिए । सो क्रममा गोरखामा भएको एक कार्यक्रममा सांसद झाँक्रीले राष्ट्रपति विद्या भण्डारीलाई महारानी भन्दै शीतल निवासबाट बालकोटमा बसाई सर्न भन्दै भाषण गरेपछि आलोचित भएकी थिइन् ।

सोही विषयलाई लिएर २०७७ साल माघ २९ गते प्रहरीले पक्राउ गरेको थियो । आउँदा दिनमा अमर्यादित अभिव्यक्ति नदिने कागज गरेर सोही दिन साँझ उनको रिहाइ भएको थियो । 

विवाद नम्बर ४ : मन्त्रीबाट हट्दा रोएको भन्दै आलोचना

नेपालको इतिहासमै मन्त्री पदबाट हट्दा रोएको भन्दै रामकुमारी झाँक्रीको आलोचना भएको थियो । मन्त्रीबाट बाहिरिँदा उनले मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमै भावुक हुँदै रोएकी थिइन् । उनको रुवाइलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताले सहानुभूति दर्साउनुको सट्टा मजाक उडाएका थिए । मन्त्रीबाट बाहिरिएपछि उनले पार्टी नेतृत्वप्रति कटाक्ष गर्दै आएकी छिन् । 

रातोपाटीसँगको एक अन्तरवार्तामा सांसद  झाँक्रीले आफू पार्टीको सचिव पदमा रहे पनि कुनै जिम्मेवारी नदिइएको बताएकी थिइन् । नेकपा एकीकृत समाजवादीले मन्त्रीमण्डलमा मन्त्रीको सेट नै परिवर्तन गरिदिएपछि सो दलका निवर्तमान मन्त्रीहरू पार्टी नेतृत्वप्रति असन्तुष्ट बनेका छन् । सो दलका अन्य पूर्वमन्त्रीहरु यतिबेला चुपचाप बस्नुका साथै पार्टीका कार्यक्रमहरूमा देखिन छाडेका छन् । यता पार्टी सचिव झाँक्रीले पार्टीभित्रको विवादलाई क्रमशः सार्वजनिक गर्दै आएकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप