शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले अध्यक्ष ओलीको विश्लेषण : काँग्रेस बन्चरो, माओवादी र एकीकृत समाजवादी त्यसको बिँड

शनिबार, २१ साउन २०७९, १८ : ३०
शनिबार, २१ साउन २०७९

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसलाई बन्चरो, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई त्यसको बिँडको रुपमा ब्याख्या गरेका छन् । शनिवार कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उनले बिँड बिनाको बन्चरोले रुख ढाल्न नसक्ने र एमाले रुपी रुख ढाल्न प्रचण्ड र माधव नेपालले बिँडको भूमिका खेलेको बताए । 

दुई तिहाईको कम्युनिष्ट सरकार तिनै बिँडले ढालेको भन्दै प्रचण्ड र माधव नेपालको पछि लाग्ने कार्यकर्तालाई कम्युनिष्ट पार्टी सिध्याउने बिँडको भूमिकामा नलाग्न सम्झाउने अभियान थाल्न आग्रह गरे । अध्यक्ष ओलीले रुख बन्चरोको कथा समेत सुनाएका छन् । 

एमाले अध्यक्ष ओलीको भनाई जस्ताको तस्तै : 

संसदीय निर्वाचन र प्रदेशसभाका लागि हुने निर्वाचन मंसिर ४ गते हुँदै गरेको निर्वाचनमा भाग लिन लागिरहेका छौँ । पञ्चायत कालको शासनले काँग्रेसलाई दमन गरेको थियो । काँग्रेस शासनमा आएपछि उसले दमन गर्न सुरु गरेको छ । अहिले हामी काँग्रेसको चर्को दमनभित्र परेका छौँ, उसलाई दमन गर्न सजिलो भएको छ । 

हिजोपनि मैले एक ठाउँमा भनेको थिए । बन्चरो लिएर एकजनाले रुख ढाल्न थालेछन् । वरिपरिका रुखहरू बराबरी आँसु खसालेर रुन लागेछन् । अरु रुखहरूले सोधे किन यसरी आँसु खसाएर रुन थालेको ? आखिर ढल्नु त छँदैछ । अब ८ अर्बपछि केही बीचमा भएन भने, बीचमा भयो भने त ध्वस्त भइहाल्छ, केही नभई यसै शान्त ढंगले चल्ने हो भने ८ अर्ब वर्षपछि यो पृथ्वी समाप्त हुन्छ । अब ८ अर्ब वर्षमात्र बाँकी छ । यो पृथ्वी वैंशमा छ अहिले । कुनै दुर्घटना भए बैंशमा पनि जान सक्छ । भएन भने पनि ८ अर्ब वर्षपछि त खत्तम हुन्छ ।

त्यो भन्दा छ– सात अर्ब बर्ष अगाडि नै मानवजाति समाप्त भइसकेको हुन्छ । यो सौर्य मण्डल नै समाप्त हुन्छ भने कसैले काटेर ढाल्न लाग्यो भनेर किन पिल–पिल आँशु खसाएको भनेर वरिपरिका रुखले सोधे । अनि देख्नेहरुले भने फलामको बञ्चराले रुखहरू काट्यो ठूलो कुरा हैन । तर हामीलाई काट्ने बञ्चराको बिँड चाहिँ हामी जस्तै काठैको छ त्यो चाँही दुःखको कुरा हो भन्यो । अहिलेको राजनीति त्यस्तै छ । 

काँग्रेसका बिँड चाहिँ कस्ता छन् हेर्नुहोस त ? एमाले ढाल्ने, एमाले काट्ने, एमाले सिध्याउने बिँडका नाम चाँही कस्ता कस्ता छन् ? त्यही भनेर रुख बर बर आँशु खसाल्दो रहेछ । ढल्नुपर्यो, जानुपर्यो भन्ने पीर हैन, बञ्चराले मात्र रुख ढाल्नै सक्दैन तर बिँड नभई । घोट्दा पनि हुँदैन केही गर्दा पनि हुँदैन बिँड नभई । अहिले बिँडको कारणले बञ्चरो चम्केको छ । काँग्रेसलाई हामीले जम्मा २३ सिटमा पुर्याइदिएका थियौं २३ सिटमा । 

काँग्रेसले हामीलाई ढाल्ने त कुनै छोडौं हेर्न नसक्ने स्थितिमा पुर्याइदिएका थियौँ । यिनै बिँड हुन् जसले कम्युनिष्ट पार्टी फुटाएर, अदालत गएर, कम्युनिष्ट सरकार ढालीपाँउ, दक्षिणपन्थी सरकार ढालीपाँउ, त्यसका लागि परमादेश जारी गरिपाऊँ भन्ने यिनै बिँड हुन् । त्यो अवस्थामा हामी छौँ ।  चुनाव आउँदैछ यो नेता के के गठबन्धन गर्दैछन् छोडिदिँउ तर माओवादी पछाडि लागेका कार्यकर्ता र माधव नेपाल पछाडि लागेका कार्यकर्तालाई भन्नु पर्दछ काँग्रेसका बिँड भएर कम्युनिष्ट सिध्याउने कि कम्युनिष्ट पार्टीलाई जोगाउने भनेर सम्झाउनुपर्दछ र फर्काउनुपर्दछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप