बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

क्याथे प्यासिफिक एयरवेजले हङकङ–काठमाडौँ उडान भर्ने

शनिबार, २१ साउन २०७९, २० : १५
शनिबार, २१ साउन २०७९

हङकङको ध्वजाबाहक वायुसेवा कम्पनी क्याथे प्यासिफिक एयरवेजले आगामी असोज दोस्रो सातादेखि हङकङ–काठमाडौँ–हङकङ उडान भर्ने भएको छ । एयरवेजले असोज १५ (अक्टोबर १ तारिख) देखि सातामा एउटा उडान भर्ने गरी नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिएको हो । 

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार क्याथे एयरवेजले उडानका लागि सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको र मात्रै स्लट मिलाउन बाँकी रहेको छ । एयरवेजले दिउँसोको समयमा स्लट मागेको छ । प्राधिकरणले रातिको समयमा स्लट व्यवस्थापन गर्न सकिने भएकाले अझै उडानको टुङ्गो लागि नसकेको प्रवक्ता निरौलाले बताए । उनले भने, “क्योथे प्यासिफिक एयरवेजले अक्टोबर १ देखि नियमित उडान गर्ने भनेको हो तर, स्लट मिलिसकेको छैन । एयरवेजले दिउँसो १२ देखि १ बजेपछिको समय मागेको छ, हामी (प्राधिकरण) ले राति ८ बजेपछिको समय दिने भनेका छौँ, एयरवेजले सहमति जनाइसकेको छैन ।”

क्याथे प्यासिफिक एयरवेजले साताको हरेक शनिबार हङकङ–काठमाडौँ–हङकङ एउटा उडान भर्नेछ । क्याथे प्यासिफिक हङकङको ड्र्यागन एयरलाइन्स अन्तगर्ततकै एयरलाइन्स हो । कोभिड–१९ महामारीपूर्व ड्र्यागन एयरलाइन्सले हङकङ–काठमाडौँ गन्तव्यमा नियमति उडान भर्दै आएको थियो ।

हङकङको अन्तर्राष्ट्रिय क्षेत्रीय एयरलाइन्स क्याथे प्यासिफिक ड्र्यागन एयरलाइन्स लिमिटेड अन्तर्गत कै विमान कम्पनी हो । क्याथे प्यासिफिक एयरवेज लिमिटेड हङकङको ध्वजाबाहक हो । यसको मुख्य कार्यालय र मुख्य केन्द्र हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा छ ।

अहिले काठमाडौं–हङकङ गन्तव्यमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले उडान गरिरहेको छ  । नेपालीको बाहुल्यता रहेको हङकङ महत्वपूर्ण हवाई गन्तव्य मानिन्छ । काठमाडौँबाट हङकङ हुँदै अमेरिका, क्यानडा, युरोप, अस्ट्रेलिया, जापानलगायत गन्तव्यमा पुग्न उक्त उडानबाट सहज हुनेछ ।

हाल क्याथेले हङकङ–काठमाडौँमा चार्टर्ड उडान भर्दै आएको छ । क्याथेले एयरबस ‘३३०–३००’ सिरिजको विमानले उडान भर्ने जनाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो पटक गत असार १७ गते थाइल्याण्डको थाई स्माइल एयरवेज र सआर २२ देखि श्रीलङ्कन एयरलाइन्सले उडान भर्दै आएका छन् ।

अन्तर्राष्ट्रिय उडानमा २७ एयरलाइन्स
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर दुई नेपालीसहित हाल २६ एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । यीमध्ये नेपालसहित २१ देशका २४ एयरलाइन्सले सम्बन्धित मुलुकमा सिधा हवाई उडान भर्दै आएका छन् । 

आगामी असोज १५ देखि क्याथे प्यासफिकले पनि सिधा उडान भर्ने भएपछि अन्तर्राष्ट्रिय उडान भर्ने एयरलाइन्सको सङ्ख्या २७ पुग्नेछ । त्रिभुवन विमानस्थलमा कोभिड–१९ महामारी पूर्व नेपालका तीनसहित ३० देशका एयरलाइन्सले उडान भर्दै आएका थिए । कोभिडपछि अन्तर्राष्ट्रियतर्फ अहिले दैनिक सरदर ७० उडान भइरहेको छ ।

यो विमानस्थलमा आन्तरिकतर्फ हाल ११ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायकले उडान सञ्चालन गर्दै आएका छन् । नेपालले हालसम्म ४० मुलुकसँग हवाई सेवा सम्झौता गरिसकेको छ । पछिल्लो पटक नेपालले सन् २०१९ मा अष्ट्रेलियासँग हवाई सेवा सम्झौता गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप