शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

किन लम्बिदैछ युक्रेन–रुस युद्ध ?

शनिबार, २१ साउन २०७९, २१ : ०७
शनिबार, २१ साउन २०७९

पूर्वी युक्रेनका युद्ध मैदानमा लडिरहेका युक्रेनी सैनिकले पश्चिमी देशहरूबाट पाएका आधुनिक हतियारहरूले रुसी बम आक्रमण रोकिदिएको बताएका छन् । तर के यो केवल एक अस्थायी विराम हो या आँधीबेहरी अघिको सन्नाटा हो ?

विगत केही सातादेखि रुसको बम बारीको सामना गरेका युक्रेनी सहर बखमतको आकाशमा धुवाँको मुस्लो देखिँदै थियो ।  बीबीसी रिपोर्टर पुग्दा दुई युक्रेनी लडाकु विमान कम उचाइमा उडिरहेका थिए । यसैबीच, ८६ वर्षीया अन्ना इवानोभा लठ्ठी टेक्दै बगैँचामा पुगिन् र भनिन्, ‘हामी कहीँ पनि सुरक्षित छैनौं । म आजकल आफ्नो मृत्युको कामना गर्छु ।’

दस मिनेटपछि, पश्चिमतर्फ सूर्यमुखीका फाँटहरुमा पाँच वा अझ धेरै विस्फोटहरू सुनिन्छन् । उत्तरमा ध्वस्त भएको स्लोभ्यान्स्क क्षेत्रदेखि पूर्वी युक्रेनको डोनबास क्षेत्रको युद्धको मोर्चासम्म वा दक्षिणमा डोनेत्स्कमा परित्याग गरिएका कृषि प्रधान गाउँहरूसम्म, रुसले सबै क्षेत्रमा बमबारी गरेको छ । अहिले पनि बमबारी चलिरहेको छ ।

तर डोनेत्स्कको बाहिरी इलाकामा गहुँको खेत नजिकैको युक्रेनी तोपखानाका कमाण्डर दिमित्रो दृढ देखिन्थे । ‘उनीहरूले पहिलेजस्तो आक्रमण गरिरहेका छैनन्,’ पार्क गरिएको ठूलो गाडीमा झुकेर दिमित्रोले भने । रुसी सेनाले प्रहार गर्ने गोलाको संख्या आधाले घटेको छ । त्योभन्दा पनि कम भएको पनि हुनसक्छ, दुई तिहाइले ।’

उनी झुकिरहेको गाडी एक स्वचालित तोप हो । फ्रान्समा बनेको यो सिजर तोपको विशाल नाल रुसतर्फ लक्षित छ । यो युक्रेनको शस्त्रागारमा दिनानुदिन बढ्दै गएको पश्चिमी हतियारहरू मध्ये एक हो । यसलाई अब दोनवासका कयौं स्थानमा सडकमा घुमिरहेको देख्न सकिन्छ ।

दिमित्री र यस भेकका अरु मानिसहरु यी हतियारहरूले रूसविरुद्धको लडाइको दिशा बदल्न सहयोग गरिरहेको विश्वास गर्छन् ।

 कान नै शुन्य बनाउने आवाजका साथ सिजरले तीन गोला फ्याक्यो । दिमित्रोका अनुसार ती गोलाहरू रुसी इन्फन्ट्रीका केही भाग र २७ किलोमिटर टाढा रहेको केही तोपखानामा प्रहार गरिएको थियो । ‘हामीहरु अहिले धेरै सटिकताका साथ रुसीहरूलाई धेरै टाढासम्म प्रहार गर्न सक्छौँ ,’ दिमित्रीले हाँस्दै भने । 

एक मिनेटभित्र तोप चालक टोलीले थप दुई गोला प्रहार गर्यो । रुसले ती तोपलाई पहिल्याएर प्रहार गर्नुअघि ती तेजका साथ अघि बढ्छन् ।  युक्रेनी इन्टरनेटमा हिजोआज यस्ता धेरै ड्रोन फुटेज र अन्य भिडियो शेयर भइरहेका छन्, जसमा रुसी क्षेत्रहरूमा श्रृङ्खलाबद्ध भयानक विस्फोटहरू देखिएका छन् । युक्रेनका जनतासँगै, सैनिकहरूले पनि ती भिडियो हेर्छन् ।  

अहिलेसम्म रुसले उसका गोला बारुद र हतियारको भण्डारणलाई युद्ध मोर्चाबाट टाढा राखेकाले सुरक्षित रहेको बताइन्थ्यो । तर ती हतियार भण्डारहरु अमेरिकी हाइमार मिसाइल प्रणाली र पोल्याण्डको क्रब होविट्जरजस्ता आधुनिक हतियारको निशानामा पर्ने गरेका छन् । 

स्लोभ्यान्स्कको रक्षार्थ खटिएका स्वयंसेवी इकाईको कमान्ड गर्ने ५२ वर्षीय युरी बेरेजाले भने शहरको पूर्वी भागमा एक घण्टाभन्दा बढी समयसम्म विस्फोटको आवाज नसुनिएकोतर्फ संकेत गर्दै ‘त्यो शान्तिलाई महसुस गर्न’ भने । 
‘पश्चिमी मुलुकबाट प्राप्त भएका हतियारले रुससँगको प्रतिस्पर्धा लगभग बराबरी भएको छ । पहिले युक्रेनको एक तोप बराबर रुससँग ५० तोपको नाल हुन्थ्यो । अहिले यो अवस्था फेरिएको छ । हाम्रो पाँचको बदला उनीहरुसँग एउटा तोप छ । यसलाई तपाईं यसलाई बराबर भन्न सक्नुहुन्छ,’ बेरेजाले भने । तर दिमित्रीजस्तै बेरेजाले रुस विरुद्ध लड्न युक्रेनलाई थप पश्चिमी हतियार चाहिने भन्न छुटाउँदैनन् । 

‘उनीहरूले हामीलाई हराउन सक्दैनन् र यो अवस्थामा हामी पनि तिनीहरूलाई हराउन सक्षम छैनौं । हामीलाई थप रक्षा उपकरणहरू चाहिन्छ । विशेष गरी बख्तरबंद गाडीहरू, ट्याङ्कहरू, उड्डयनसँग सम्बन्धित उपकरणहरूको आवश्यकता छ । यी हतियार नहुँदा धेरै मानिसहरू मारिनेछन् । रुसले यस्तै प्रकारले युद्ध सञ्चालन गरिरहेको छ । उनीहरुलाई युक्रेनी जीवनको वास्ता छैन,’ बेरेजाले भने । 

दिमित्रो पनि बेरेजाकै भाकामा भन्छन्, ‘हामीलाई पश्चिमी देशहरूले अहिले पठाएको भन्दा तीन गुणा बढी हतियारको आवश्यकता छ, त्यो पनि चाँडै ।’ रुसको बमबारी घटेको भएपनि उसका सेनाहरू बखमतको रणनीतिक रूपमा महत्वपूर्ण क्षेत्र नजिक अघि बढिरहेका छन्, जसका कारण युक्रेनी सेना थोरै सैनिक र कमजोर तालिमजस्ता विषयलाई लिएर चिन्तित छन् ।

पूर्वी युक्रेनमा पश्चिमी देशका धेरै निजी संस्थाले सैनिकहरूलाई तालिम दिइरहेका छन् । एक पूर्व बेलायती प्याराट्रूपर स्वयंसेवी युक्रेनी सैनिकहरूलाई प्रशिक्षण दिइरहेका छन् ।  अधिकाशंले केही साताको मात्रै सैन्य तालिम लिएका छन् । तिनका कमाण्डरले बेलायती प्रशिक्षकसँग पाँच दिने विशेष तालिमको व्यवस्था मिलाएका छन् । 

तालिम लिइरहेकामध्ये एक युनिटका २२ वर्षीय कमाण्डर पेशाले वकिल हुन् । उनले बीबीसीसँगको कुराकानीमा भने, ‘युद्धमैदानमा डर त लाग्छ । आखिर मैले पहिले कहिल्यै युद्ध देखेको थिइन् ।’ रब नामका एक अमेरिकी प्रशिक्षकले युद्ध मैदानमा जान लागेका अधिकांश मानिसहरूले आधारभूत प्रशिक्षण पनि नपाएकोप्रति चिन्ता व्यक्त गरे । 

हालको लागि पश्चिमी देशहरूले युक्रेन युद्धमा आफ्ना सैनिक वा सैन्य ठेकेदारहरू पठाउन प्रतिबन्ध लगाएका छन् । तर केही पश्चिमी निजी संस्थाहरूले युक्रेनी सेनालाई मद्दत गरिरहेका छन् । अमेरिकी सेनाका मरीन कर्नेल रहेका एन्डी मिलबर्न भन्छन्, ‘हामीले गर्ने सहयोग समुद्रको थोपा जस्तै हो । तर यो धेरै सानो भएपनि यसले फरक पार्छ ।’

रिटायर्ड कर्णेल मिलबर्नले उनको संगठनको अमेरिकी सरकारसँग कुनै सम्पर्क वा सम्झौता नभएको बताए । तर मिलबर्न पश्चिमी देशहरूको मनोवृत्तिलाई डरपोक भएको बताउँछन् । ‘यिनले यति धेरै सिपाही गुमाइसके कि उनीहरूसँग अब प्रशिक्षण दिने प्रशिक्षक समेत छैनन् । पश्चिमी देशले यसका लागि तुरुन्तै योजना बनाउनुपर्छ,’ मिलबर्नले भने । –बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप