बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सप्तकोसीको ३४ ढोका खोलियो, स्थापितहरु पुनः विस्थापित

शनिबार, २१ साउन २०७९, २१ : ३९
शनिबार, २१ साउन २०७९

सप्तकोसी नदीमा पानीको बहाव बढेसँगै कोसी ब्यारेजका ३४ वटा ढोका खोलिएको छ । ब्यारेजमा ५६ वटा ढोका छन् । साँझ ८ बजेको मापनअनुसार सप्तकोसीमा पानीको बहाव दुई लाख ३१ हजार तीन सय क्युसेक प्रति सेकेन्ड मापन गरिएको छ ।

पानीको बहाव बढेसँगै सप्तकोसी नदी आसपासका क्षेत्रमा स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन सूचना जारी गरेको छ । सुनसरी र सप्तरी दुवैतर्फको प्रशासनले सप्तकोसीमा बाढीको खतरा बढेकाले तटीय क्षेत्रमा नजान र सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ । सप्तकोसीमा पछिल्लो समयमा बाढीको उच्च सम्भावनाको आङ्कलन गरिएपछि सबै स्रोत, साधनका साथै सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको प्रशासनले जनाएको छ । 

शुक्रबार रातिको वर्षाले सप्तकोसीको बहाव बढेको हो । जसका कारण उदयपुरको बेलका ८ मा पर्ने डुम्रिबोटेबाट कटान प्रभावित क्षेत्रमा पानी जाने क्रम बढेको छ । चार दिनअघि डुम्रिबोटेबाट कटान भई डुबानमा परेका बस्ती थप प्रभावित भएका छन् ।

बेलकाको २, ३, ८ र ९ वडा, सुनसरीको ६ र ९ तथा सप्तरीको फत्तेपुर क्षेत्रको केही भू–भाग डुबानमा परेको हो । यसअघि पानीको सतह घटेसँगै आ–आफ्नै थातथलोमा फर्किएका सर्वसाधारणहरू पुनः विस्थापित भएका छन् । चार दिन अघि जोखिममा २० हजार भन्दा बढी सर्वसाधारण परेका थिए । पानीको बहाव बढेसँगै डुबान क्षेत्रमा विस्थापितको सङ्ख्या अझै बढ्नसक्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप