शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बागमती सफाइ महाअभियान : दुई मेट्रिक टन फोहर व्यवस्थापन

शनिबार, २१ साउन २०७९, २२ : ४७
शनिबार, २१ साउन २०७९

राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयं सेवा भन्ने नाराका साथ बागमती सफाइ महाअभियानको ४८२ औँ हप्तामा गैरी गाउँ बागमती पक्की पुल नजिकै सफाइ गरिएको छ । सफाइबाट दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।

सफाइमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, नागरिक समाज सञ्जालका पदाधिकारी, अधिकार सम्पन्न बागमती समितिका कर्मचारी, वाग्मती फोहर उन्मुलन उपभोक्ता समितिका पदाधिकारी, काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकु, लायन्स क्लब  अफ सिद्धार्थ गौतम बुद्धको समूह, लियो क्लब अफ सिद्धार्थ गौतम बुद्धका समूह, स्थानीयवासी एवं वाग्मती अभियानकर्मीको सक्रियता थियो ।

सफाइसँगै बागमती नदी किनार एव नदीका किनारका बस्तीको घर घरमा गई आफ्नो घरको फोहर वर्गीकरण गरेर व्यवस्थापन गर्न अपिल गर्नुका साथै घर पसल अगाडिको फोहर व्यवस्थापन गर्नसमेत लगाइएको पनि उनले जानकारी गराए । साउने झरीका बाबजुद सफाइ अभियानकर्मी बिहान ७ बजे नै वाग्मती किनारमा पुगेका थिए ।

‘राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयं सेवा’ नाराका साथ विसं २०७० जेठ ५ गतेदेखि बागमती सफाइ महाअभियान सुरु भएको हो । त्यसयता बागमती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर चलिरहेको छ । जाडो, गर्मी, वर्षा, चाडपर्वलगायत प्रतिकूल अवस्थामा पनि सफाइ महाअभियान रोकिएको छैन । महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा बागमतीका सहायक नदी, सांस्कृतिक सम्पदास्थल, चक्रपथलगायत स्थानमा पनि सफाइ अभियान सुरु भएको छ । हाल राजधानीमा २५ भन्दा बढी स्थानमा सफाइ भइरहेको जनाइएको छ ।

यसैगरी काठमाडौँ उपत्यका बाहिरका मुख्य सहर, नदी र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ । हाल राजधानी बाहिर १०९ भन्दा बढी स्थानमा सफाइ भइरहेको छ । सफाइ महाअभियान देशव्यापी जागरण फैल्याउन सफल भएको छ । यसैगरी आज गुह्येश्वरीमाथिको बागमतीलगायत बागमतीका विभिन्न खण्ड, रुद्रमती, विष्णुमतीका तल्लो र माथिल्लो भाग, मनोहरा, चक्रपथका उत्तरी र पश्चिमी भागमा पनि सफाइ गरिएको जनाइएको छ । ललितपुरको गोदावरी खोला र भक्तपुरको हनुमन्तेमा पनि सफाइ जारी रहेको जनाइएको छ ।

नागरिकस्तरबाट स्वयंसेवी रुपमा सुरु भएको साप्ताहिक सफाइ अभियान जारी रहेपनि स्थानीय सरकारले फोहर व्यवस्थापन नगर्दा समस्या भएको स्थानीयवासीको गुनासो छ । राजधानीका विभिन्न स्थानमा अहिले पनि फोहरको थुप्रो छ । फोहर व्यवस्थापनमा स्थानीय सरकार असफल हुँदा हैजाजस्ता रोग फैलिएको छ । तीन तहका सरकार भए पनि कुनै पनि सरकारले फोहर व्यवस्थापनमा ध्यान नदिएको गुनासो अभियानकर्मीको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप