शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रुपन्देहीमा कुन निर्वाचन क्षेत्रबाट को–को छन् आकाङ्क्षी ?

मैदानमा अधिकांश पुरानै नेताहरूको चर्चा
आइतबार, २२ साउन २०७९, १४ : ०८
आइतबार, २२ साउन २०७९

सरकारले आगामी मङ्सिर ४ मा चुनावको मिति घोषणा गरेपछि निर्वाचनमा रुपन्देहीबाट सङ्घीय सांसदमा उम्मेदवार बन्नेहरूको चर्चा सुरु भएको छ । ५ संसदीय क्षेत्र रहेको रुपन्देहीमा ठुला पार्टीका केन्द्रीय सदस्यहरू धेरै छन् । त्यसैले कसले टिकट पाउँला र कसले जित्ला आआफ्नै तर्कसहित चर्चा सुरु भएको देखिन्छ । 

गत संसदीय निर्वाचनमा रुपन्देहीमा एमालेले ३ वटा क्षेत्र र नेपाली काँग्रेसले २ क्षेत्रमा जितेको थियो । केही क्षेत्रमा राप्रपा र मधेसवादी दलको पनि मत राम्रो आएको थियो । अहिले यहाँ विगतमा निर्वाचनको मैदानमा गएका नेताहरूको अधिक चर्चा छ । 

क्षेत्र नम्बर १ः छविलाल र अब्दुलकै चर्चा

रुपन्देहीको क्षेत्र नम्बर १ अहिले एमालेमा छविलाल विश्वकर्माले जितेका छन् । यहाँ अहिले पनि एमाले सचिव तथा पूर्व मन्त्री रहेका विश्वकर्मा नै उम्मेदवार बन्ने निश्चित जस्तै छ । २०७४ मा विश्वकर्माले ३४७५२ मत ल्याएर विजय भएका थिए भने नेपाली काँग्रेसबाट नेता अब्दुल रज्जाकले २६८६५ मत ल्याएका थिए ।

२०७० सालमा भने नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति रहेका अब्दुल रज्जाकले विश्वकर्मालाई पराजित गरेका थिए । यो चुनावमा पनि नेपाली काँग्रेसबाट नेता अब्दुल रज्जाक नै पार्टीको पहिलो सूचीमा रहेका छन् । 

पार्टीको हाल केन्द्रीय सदस्य समेत रहेका रज्जाकको स्वास्थ्य अवस्था कारणले पार्टीले समानुपातिकमा राखेर अन्य उम्मेदवार बनाउने सम्भावना पनि उत्तिकै रहेको काँग्रेस नेताहरू बताउँछन् । यस्तै यो क्षेत्र राप्रपा नेता दीपक बोहोराको पनि राम्रो पकड भएको क्षेत्र हो । तर बोहोरा अहिले यही क्षेत्रबाट उठ्छन् कि क्षेत्र नम्बर ३ बाट भन्ने यकिन छैन । 

यस्तै हालै भएको स्थानीय निर्वाचनमा वडाध्यक्षमा दलहरूले पाएको अवस्थाको आधारमा रुपन्देही १ मा काँग्रेस एमालेभन्दा थोरै मतले अघि छ । नेपाली काँग्रेसका वडाध्यक्षहरूले ३२९९९ मत ल्याएका छन् भने एमालेकाले ३०३९४ मत ल्याएका छन् । यस्तै राप्रपाको १४५५२ मत रहेको छ भने माओवादीको ४२०२ मत रहेको छ । 

२०६४ सालको संविधानसभा चुनावमा माओवादीले जितेको क्षेत्र हो क्षेत्र न १ । तर अहिले माओवादीको साख यहाँ निकै कमजोर रहेको छ ।

 क्षेत्र नम्बर २ः विष्णु र चन्द्रको टक्कर

रुपन्देही २ नम्बर क्षेत्रमा लुम्बिनी प्रदेशको मुकाम पनि रहेको बुटवल एरिया हो । एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलको निर्वाचन क्षेत्र हो यो । 

यहाँबाट एमालेबाट उपाध्यक्ष पौडेल उम्मेदवार बन्ने निश्चित जस्तै छ भने काँग्रेसबाट गुल्मीका नेता चन्द्र भण्डारीले चुनाव लड्ने चर्चा छ । भण्डारी आफैले भने कतै औपचारिक रूपमा यहाँ चुनावी मैदानमा जाने बारेमा बोलका छैनन् । 

यसअघि एमालेका विष्णुप्रसाद पौडेल ४४००९ ले मत ल्याउँदै नेपाली काँग्रेसका युवराज गिरीलाई पराजित गरेका थिए । गिरीले २१९४५ मत मात्र ल्याएका थिए । २०७० सालमा तत्कालीन माओवादी नेता डा बाबुराम भट्टराईलाई यही क्षेत्रमा पौडेलले हराएका थिए । 

अहिले नेपाली काँग्रेसले पुनः गिरीलाई नै उठाउँछ कि अन्य नेताहरू पनि खोजी गर्छ काँग्रेसका कार्यकर्ताबीच चर्चा छ । त्यसो त यहाँ गठबन्धन भएका नेकपा एसको तर्फबाट राजु गुरुङ उठ्ने चर्चा पनि उत्तिकै छ । 

यो क्षेत्रमा हालै सम्पन्न स्थानीय तहमा वडाअध्यक्षहरू पाएको मतमा नेपाली काँग्रेस अगाडि छ । काँग्रेसले ३४९५९ मत पाएको छ भने एमालेले ३३१८७ मत लिएको छ । यस्तै माओवादी ले ३१८८ मत पाएको छ । 

क्षेत्र नम्बर ३ : भुसाल र खाँणको चर्चा 

गत निर्वाचनमा एमाले नेता घनश्याम भुसालले जितेको यो क्षेत्रबाट अहिले पनि एमालेबाट भुसालकै चर्चा रहेको छ । 

यही क्षेत्रबाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण पनि उम्मेदवार बन्ने निश्चित जस्तै छ । खाँण २०७० पनि यहाँबाट जितेका हुन् । समानुपातिकबाट सांसद रहेका खाँण अहिले प्रत्यक्ष रूपमा यही क्षेत्रबाट चुनावी मैदानमा जाने तयारी गरेका छन् । 

यही क्षेत्रबाट राप्रपाका नेता दीपक बोहराको उम्मेदवारी पर्ने धेरै सम्भावना छ । किनकि गत निर्वाचनमा घनश्याम भुसालले ३२८६६ मत ल्याउँदा राप्रपाका दीपक बोहराले २७४२२ मत ल्याएका थिए । त्यो वेला नेपाली काँग्रेस र राप्रपाबीच तालमेल भएको थियो । हालै सम्पन्न स्थानीय तहको वडाअध्यक्षहरूको मतको आधारमा काँग्रेस ३४१५३ मत, एमालेले २९०४८ मत, राप्रपाको १३३९७ मत रहेको छ । 

क्षेत्र नम्बर ४ : प्रमोद र सर्वेन्द्र पुरानै अनुहार

रुपन्देहीको क्षेत्र ४ मा एमालेको उम्मेदवार को हुने यसबारे खासै चर्चा छैन । यहाँ नेपाली काँग्रेसबाट सांसद रहेका प्रमोद कुमार यादव र अर्को नेता आशुतोष मिश्र उम्मेदवार बन्न सक्ने कार्यकर्ताबीच चर्चा छ । 

यस्तै पटक पटक जितेर मन्त्रीसमेत भएका नेता सर्वेन्द्रनाथ शुक्ला पनि निर्वाचनको मैदानमा जाने निश्चित जस्तै छ । गत निर्वाचनमा नेपाली काँग्रेसका प्रमोद कुमार यादवसँग पराजित भएको शुक्ला अहिले लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय कार्यकारी सदस्य छन् । लोसपा रुपन्देहीका अध्यक्ष अजय बर्माले शुक्ला ४ नम्बर क्षेत्रबाट नै निर्वाचन लड्ने बताए । 

यहाँ हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाअध्यक्षहरूले पाएको मत जोड्दा शुक्लाको पार्टी अगाडि देखिन्छ । यहाँ लोसपाको १६२२६, काँग्रेसको १५६२७, यस्तै जनमत पार्टीको ७७३४, एमालेको ७६०५ मत वडाअध्यक्षहरूले पाएका छन् । 

क्षेत्र नम्बर ५ः शाह सर्वेसर्वा

रुपन्देही क्षेत्र नम्बर ५ मा नेपाली काँग्रेसका भारत कुमार शाहले लगातार जितेको क्षेत्र हो । उनलाई नेपाली काँग्रेसले अहिले पनि टिकट दिने निश्चित जस्तै रहेको छ । गत निर्वाचनमा शाहले ३३०८८ मत ल्याउँदा माओवादीका डिलराम आचार्यले २०४३८ मत ल्याएका ल्याएका थिए । त्यो बेला नेकपा माओवादी एमाले र माओवादी एकता भएको थियो । अहिले एमाले एक्लै प्रतिस्पर्धामा जाँदै छ ।

एमालेबाट राष्ट्रिय सभा सदस्य समेत रहेका खिमलाल भट्टराई अहिले मैदानमा उत्रिने चर्चा छ । यस्तै एमाले प्रदेश सभा मुख्य सचेतक भुमिश्वर ढकाल पनि सङ्घीय सांसदमा जान सक्ने सम्भावना रहेको कार्यकर्ताहरू बताउँछन् । 

यहाँ गत स्थानीय तहको निर्वाचनमा वडाअध्यक्षहरूको पाएको मतको आधारमा एमाले नै अगाडि देखिन्छ । एमालेको वडाध्यक्षहरूले २७१४५ मत पाएका छन् भने काँग्रेस २६८८८, जसपा ९३३७, जनमत पार्टी ५६५६, माओवादीको ४६२५ मत रहेको छ । 

नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले सङ्घीय सांसदको विषयमा को कहाँ उठ्ने विषयमा हालसम्म जिल्लामा कुनै छलफल नभएको बताए । उनले भने, भर्खर त मिति घोषणा भएको छ । केन्द्रबाट जसलाई टिकट दिएपनि हामीले जिताउनको लागि खट्ने हो । 

एमालेका जिल्ला अध्यक्ष तेजेन्द्र केसीले पनि को उम्मेदवार बन्ने भन्ने भन्दा पनि अव मिति घोषणा भएपछि पार्टीलाई जिताउनको लागि खटिने योजना रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप