शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीका विवादित गैरसांसद मन्त्रीको कार्यकाल सोमबार सकिँदै

आइतबार, २२ साउन २०७९, १६ : ५९
आइतबार, २२ साउन २०७९

०७८ माघ २३ मा माओवादीको तर्फबाट कर्णाली सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त भएका छिरिङ डम्डोल (कार्चेन) लामाको कार्यकाल सोमबार सकिँदैछ । संवैधानिक व्यवस्था अनुसार गैर सांसदबाट मन्त्री बनेकाको कार्यकाल ६ महिनापछि स्वतः रिक्त हुने उल्लेख छ । सोही अनुसार सोमबार लामाको कार्यकाल सकिन लागेको हो । 

लामामाथि मूर्ति चोरीको आरोप लागेपछि निकै विवाद समेत भयो । उनको विरुद्धमा मुद्दासमेत अदालतमा पुगेको थियो । यद्यपि माओवादी केन्द्र संसदीय दलले उनको नाम सिफारिस गरेपछि मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्री नियुक्त गरेका थिए । उनको पद रिक्त हुने भएपछि माओवादी केन्द्रबाट डोल्पाका सांसद वीरबहादुर शाही मन्त्री बन्ने चर्चा छ ।  

माओवादी केन्द्रकी प्रमुख सचेतक कृष्णा शाहका अनुसार मन्त्री लामाको ठाउँमा शाहीलाई नै पठाउने गरी दलभित्र ‘लबिङ’ भइरहेको छ । उसो त सांसद शाही अघिल्लो पटक नै मन्त्री बन्ने कुरा बाहिर आएको थियो । तर, अन्तिम समयमा कार्चेन लामालाई मन्त्री बनाइएपछि उनी रुष्ट बनेका थिए ।

वीरबहादुर शाहीसँगै कृष्णा शाहको पनि चर्चा थियो । यद्यपी जाजरकोटबाट गणेशप्रसाद सिंह जलस्रोत तथा उर्जा विकास मन्त्री बनिसकेको र डोल्पाबाट मन्त्री नभएकाले शाही नै मन्त्री बन्ने पक्का–पक्की छ । सोही अनुसार नै कृष्णालाई दलको सचेतकको जिम्मेवारी दिइएको छ । डोल्पाको निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट प्रत्यक्ष तर्फ जितेर सांसद बनेका शाही पनि आफू मन्त्री बन्नेमा ढुक्क रहेको बताउँछन् । 

माओवादीले अन्य मन्त्री फेरबदल गर्ने सम्भावना कति ? 
कर्णाली सरकारमा अहिले तीन दलीय सत्ता गठबन्धन छ । जसअनुसार माओवादीले जलस्रोत तथा उर्जा, अर्थ र उद्योग मन्त्रालय सम्हालेको छ । यस्तै एकीकृत समाजवादीले भौतिक र भूमि, व्यवस्था, कृषि मन्त्रालय तथा काँग्रेसले मुख्यमन्त्री सहित सामाजिक विकास र कानुन मन्त्रालय सम्हालेको छ । 

माओवादी केन्द्रले भने अन्य दुई मन्त्रालयमा पनि नयाँ अनुहारलाई पठाउन सक्ने देखिन्छ । विगत देखिनै माओवादीले सकेसम्म सबै सांसदहरुलाई चान्स दिने रणनीति अपनाएको बुझिएको छ । माओवादीबाट मन्त्री बनेका उद्योग मन्त्री लामाको कार्यकाल त स्वतः सकिन्छ नै जलस्रोत र ऊर्जामा पनि नयाँ अनुहारलाई पठाउने कि भन्नेबारे माओवादी संसदीय दलभित्र गृहकार्य भइरहेको स्रोतले बतायो ।  ११ जना सांसद रहेको माओवादीमा दलका नेता  महेन्द्रबहादुर शाही मुख्यमन्त्रीसहित ७ जना मन्त्री भइसकेका छन् । यस्तै पुष्पा घर्ती उपसभामुखको भूमिकामा छिन् ।

कार्चेन लामाको ठाउँमा वीरबहादुर शाही गएपछि माओवादीबाट अब कृष्णा शाह, रातो कामी मन्त्री बन्न बाँकी रहन्छन् । माओवादीका एक सांसदले रातोपाटीसँग भने, ‘दलभित्र विगत देखिनै एक किसिमको निर्णय भएकाले माओवादीका मन्त्री फेरबदल हुने सम्भावना देखिन्छ । त्यो विषयमा दलभित्र पनि बृहत रुपमा छलफल भइरहेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप