शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लमजुङमा एक वर्षमा ६८८ उद्योग थपिए

आइतबार, २२ साउन २०७९, १८ : १२
आइतबार, २२ साउन २०७९

लमजुङमा एक वर्षमा ६८८ नयाँ उद्योग थपिएका छन् ।  घरेलु तथा साना उद्योग कार्यालय लमजुङका अनुसार २०७८ साउनदेखि २०७९ असारसम्मको अवधिमा जिल्लामा विभिन्न प्रकृतिका ६८८ नयाँ उद्योग थपिएका हुन् । 

कार्यलयमा दर्ता भएका उद्योगमध्ये सबैभन्दा धेरै ४६१ उद्योग कृषि तथा वन पैदावर सम्बन्धी छन् । कृषि तथा वन पैदावर उद्योग दर्ता मात्र १३ लाख तीन हजार ९०० सय रुपैयाँ राजस्व संकलन भएको छ । सोबाहेक १४८ सेवामुलक, ४० वटा उत्पादनमुलक र ३५ वटा पर्यटन उद्योग दर्ता भएका छन् । सेवामुलक उद्योग दर्ताबाट एक लाख ७१ हजार ५००, उत्पादनमुलक उद्योग दर्ताबाट ५४ हजार ५०० र पर्यटन उद्योग दर्ताबाट ३३ हजार रुपैयाँ राजस्व संकलन भएको घरेलु कार्यलयका प्रमुख मिताकुमारी थापाले बताइन् । 

यस्तै चारवटा निर्माण उद्योग दर्ता भएका छन् । सोबाट १० हजार ६०० राजस्व संकलन भएको छ । विभिन्न प्रकृतिका उद्योगमध्ये यसवर्ष ऊर्जामुलक, खनिज जन्य र विज्ञान तथा सुचना प्रविधिसम्बन्धी कुनै पनि उद्योग दर्ता भएका छैनन् । गत आर्थिक वर्ष उद्योग दर्ताबाट मात्र १५ लाख ७३ हजार ५०० रुपैयाँ राजश्व संकलन भएको घरेलु कार्यालयले जनाएको छ । 

घरेलु कार्यालयमा दर्ता संख्याअनुसार जिल्लामा गत वर्ष ४३२ जना महिला र २८२ पुरुष गरी कुल ७१४ जना नयाँ उद्यमी थपिएका छन् । उक्त उद्योगहरूमा एक हजार ८४ महिला र एक हजार २९७ पुरुष गरी दुई हजार ३८१  जनाले रोजगार पाएको तथा रोजगारीमा आवद्ध भएको घरेलु कार्यालयको तथ्यांकले देखाएको छ ।

विगत चार आर्थिक वर्षको उद्योग दर्ता तथ्यांकअनुसार सबैभन्दा धेरै अघिल्लो आर्थिक वर्ष ०७७/०७८ मा जिल्लामा ९७० उद्योग थपिएका थिए । आर्थिक वर्ष ०७४/०७५ मा २७६, ०७५/०७६ मा ४६८ र ०७६/०७७ मा ६६९ उद्योग दर्ता भएको घरेलु कार्यालयको तथ्यांक छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप