शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्वतन्त्रहरूलाई दलहरूले असफल नै बनाउने भए त ?

सोमबार, २३ साउन २०७९, १२ : ५४
सोमबार, २३ साउन २०७९

हालै सम्पन्न स्थानीय तहको चुनाव ५ वर्षमा हुने कर्मकाण्ड भएता पनि त्यसले केही चर्चा पायो, त्यो कारण थियो पार्टीहरुभन्दा बाहिरका केही स्वतन्त्र उम्मेदवारको जित । काँग्रेसबाट विद्रोह गरेर जनकपुर उपमहानगरपालिकामा मेयरले जिते पनि सुदूर पश्चिमको धनगढी, प्रदेश एकको धरान तथा काठमाडौंका मेयर उम्मेदवारहरुको चर्चा राष्ट्रिय रुपमा चुलियो । धेरैले उनीहरुलाई पार्टीबाट वाक्क दिक्क भएका उम्मेदवारको सशक्त विकल्प भएको मान्न थाले । उनीहरुले गरेका कामले केही न केही चर्चा अहिले पनि बटुलिरहेकै छ । तर उनीहरुको काममा विभिन्न बहानामा जुन वाधा अड्चन देखिँदैछ, त्यही स्थितिले निरन्तरता पाएमा उनीहरु पुरै असफल हुन्छन् भन्न धेरै कुर्नुपर्ने देखिदैन ।

धनगढीका स्वतन्त्र मेयर गोपाल हमालको वारेमा चर्चा गर्दा यो भन्दा पहिले पनि उनी मेयरको स्वतन्त्र उम्मेदवार रहेका थिए । र, काँग्रेसका उम्मेदवार जो दलित समुदायका व्यक्ति थिए, उनीसँग थोरै मतले हारेका थिए । यसपालि उनले करीव १२ हजार मतले उनै नृप वडलाई हराए । तर उनलाई सुरुदेखि नै काँग्रेसको अप्रत्यक्ष साथ सहयोग थियो ।

धनगढी प्रधानमन्त्री पत्नी आरजु देउवाको चुनावी क्षेत्र हो । उनले एक सार्वजनिक कार्यक्रममै गोपी हमाल आफ्नो नातेदार पनि भएको हुँदा उनले जितेमा कुनै फरक नपर्ने भनेकी थिइन् । पछि जिल्ला समन्वय समितिको चुनावमा धनगढीका मेयरको भोट निर्णायक हुने भयो । उनले जुन पार्टीलाई भोट हाल्छन्, त्यही पार्टीले जित्ने अवस्था आउँदा उनले काँग्रेसलाई साथ दिएर जिताए । पछि एमालेबाट उपमेयरमा जितेकी नन्दकला कुमारी रानाले त्यसकै रिस फेर्न बजेट पास गर्ने वैठकमा उपद्रो नै मच्चाOन् । त्यसपछि मेयरले पहिलो वर्ष नयाँ कार्यक्रम कुनै पनि नगर्ने, पुरानै कार्यक्रमहरुलाई निरन्तरता दिने भनेपछि अलि मत्थर भयो ।

हालै एपीवान टेलिभिजनमा गोपी हमालले दिएको अन्तरवार्तामा उनले पहिलो वर्ष प्रणालीमा सुधार ल्याउने र नयाँ कार्यक्रमहरु नगर्ने बताए । उनले असफल योजना कार्यान्वयन गरिरहेका प्राविधिकहरूले पाइरहेको ४५ प्रतिशत भत्ता कटौती गरेको बाहेक चर्चा पाउने कुनै उल्लेख्य कार्यक्रमको बारेमा बताएनन् । अहिले उनको कामको चर्चा राष्ट्रिय रुपमा कहीँ कतै भएको देखिदैन । यसको मतलव उनी पर्ख र हेरको स्थितिमा छन् वा काँग्रेस र एमालेको कोपभाजनमा परे, प्रष्ट छैन ।

चुनाव प्रचारमा अटोमा एक्लै हिँडेका धरानका हर्क साम्पाङ चर्चाको शिखरमा छन् । खास गरी उनले धराने जनतालाई खानेपानीको समस्यावाट मुक्त गराउन गरेको वाचा आफू निर्वाचित भएको केही महिना नबित्दै पुरा गर्दैछन् । पकुवा खोलावाट पानी ल्याएर वडा नं ११ का जनतालाई ख्वाइसके । अहिले सर्दु खोला र यसको जलाधार क्षेत्रमा धमाधम काम हुँदैछ । उनको सवैभन्दा ठूलो विशेषता भनेको नगरपालिकाको एक पैसा पनि खर्च नगरी जनश्रमदान तथा देशविदेशमा रहेका नेपालीहरुको सहयोगमार्फत् यो कार्यक्रम सञ्चालित हुनु हो ।

हर्कको स्वयम्वेवी अभियानमा हजारौंको संख्यामा धराने वृद्धवृद्धा, युवाहरु जुन रुपमा परिचालित भएको छन्, त्यो हेर्दा सुन्दा जो कोहीको मन भरिएर आउँछ । अर्थात् एउटा नायकले उसको नायकत्वमा जनतालाई कसरी डोर्याउन सक्छ भन्ने कुराको उनले अनुपम उदाहरण पेश गरेका छन् । उनको अभियानमा धरानका मात्रै नभई देशका अन्य भागबाट समेत व्यक्तिहरु गएर साथ सहयोग दिइरहेका छन् । उदाहरणको रुपमा मास्के थरका काठमाडौं विश्वविद्यालयका इन्जिनियर तथा प्राध्यापकले आफ्ना विद्यार्थी टोलीबाट लघुजलविद्युत निकाल्न गराएको कामलाई लिन सकिन्छ ।

नेपाली चलचित्र क्षेत्रका हिम्यान भनि चिनिने शिव श्रेष्ठ हर्ककै कार्यकक्षमा गएर उनलाई राष्ट्रिय नायकको संज्ञा दिए । पछिल्लो चरणमा धरानबाटै उदाएका वरिष्ठ गायक दीप श्रेष्ठ आफ्नो वृद्ध उमेरमा समेत सर्दु जलाधार क्षेत्रमा चलिरहेको वृक्षारोपण अभियानमा सामेल भए । उनको अभियानलाई हेर्दा देशले साँच्चिकै नायक पाउन लागेको हो कि जस्तो लाग्छ ।

विडम्बना हर्कको महान अभियानलाई आफूलाई स्थापित तथा यो देशको भाग्य विधाता मान्ने पार्टीहरुले पटक्कै नरुचाएको कुरा तथा एमालेको सुप्रिमो ओलीले स्वतन्त्रहरुप्रति गरेको टिप्पणी र उनीहरुलाई भँडुवाको संज्ञा दिएकोवाट प्रष्ट हुन्छ । अहिले धरानमा वराहा सहकारीले आफ्ना बचतकर्ताहरुलाई दिएको सास्तीबारे प्रकट भएको कुरा सहकारी भन्दा पनि मेयरलाई असफल बनाउनेतर्फ केन्द्रीत भएको देखिन्छ । मेयरको कार्यकक्षमा तोडफोड भएको, पूर्व उपमेयर मन्जु भण्डारीले सिधै धम्कीको भाषा प्रयोग गरी साम्प्रदायिक सद्भावसमेत विगार्ने खालको अभिव्यक्ति सामाजिक संजालमा दिएकोबाट देख्न सकिन्छ । उनको अभिव्यक्तिले धरानका राई, लिम्बूहरु जो एमालेमा आवद्ध छन्, उनीहरुले हर्क साम्पाङको विरोध नगरेमा उनीहरुलाई कारवाही गर्ने सम्मको धम्की दिएकी छन् । यसको मतलव एमाले पार्टी पंक्तिले यसमा आवद्ध कार्यकर्ताहरुलाई रैतीको रुपमा व्यवहार गर्छ भन्ने देखाउँछ ।

त्यसो त अध्यक्ष ओलीले आफ्ना कार्यकर्ताहरु विरोधीमाथि अरिंगालको रुपमा जाइ लाग्न भनेर त भनेकै हुन् । त्यस्तो अरिंगालको स्वरुपमा आएका छन् खगेन्द्र नेपाली, जसले मेयर साम्पाङको कार्यकक्षमा गरिएको तोडफोडको नेतृत्व गरे । यो सबै घटनाले उनको क्रियाकलाप वराहा सहकारीसंग मात्र सम्वद्ध थिएन, मेयरको बढ्दो लोकप्रियतालाई भाँजो हाल्नेतर्फ केन्द्रित थियो भन्ने वुझ्न गाह्रो छैन ।

काठमाडौंका मेयर बालेन साहको चर्चा नगरी यो आलेख कसरी पुरा होला र ? आफू पदमा आएपछि वालेनको सार्वजनिक शौचालयमा नागरिकको पहुँच बढाउने अभियानमा धेरै निजी क्षेत्रका होटल तथा वैंकहरुले साथ दिए । तिनले आफ्ना शौचालय सर्वसाधारणको लागि पनि खुला गरे । उनले पूर्वाधार एम्वुलेन्स खडा गरी काठमाडौंका खाल्डाखुल्डी पुर्न थाले । गुनासो सुन्ने कल सेन्टरलाई तुरुन्तै सञ्चालनमा ल्याए । सवैभन्दा विकराल फोहरको समस्यालाई सुल्झाउन आफै पटक पटक सिसडोल तथा बञ्चरे डाँडा पुगे । खास गरी तात्कालीन शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको समेत सहयोगमा फोहर उठ्न थाल्यो र जनताले केही राहतको सास फेर्न पाए ।

तर अहिले फोहोरको समस्या फेरि बल्झिएको छ । लाग्दैछ, अब यो फोहोरको राजनीतिमा बालेन असफल पो हुन्छन् कि ? । माओवादी अध्यक्ष प्रचण्डले भेटमा वालेनको जितलाई क्रान्तिको संज्ञा दिएका थिए । वालाजु ककनी सम्मको १७ किलोमिटर बाटो ठेकेदारले अलपत्र पारेको ८ वर्ष भयो । सिसडोल तथा बञ्चरे डाँडा जाने मुख्य मार्ग त्यही हो । वन्चरे डाँडा क्षेत्रसमेत निर्वाचन क्षेत्र भएका वाग्मती प्रदेशका अर्थमन्त्री शालिकराम जमकट्टेलले प्रदेशले नवनिर्वाचित जनप्रतिनिधिहरुको लागि गरेको भेलामा दिएका अभिव्यक्तिप्रति आक्रोश व्यक्त गर्दै बालेन र सुनिताले समय अगावै कार्यक्रम छोडेको कुराले निकै चर्चा पाएको थियो । त्यहीवाट उनले वन्चरे डाँडाका स्थानीयलाई उचाल्ने संकेत गरिसकेका थिए । त्यसमा नेपाली काँग्रेसलाई पनि अछुतो राख्न मिल्दैन ।

अहिले ककनीको मेयरमा नेपाली काँग्रेसबाट प्रत्यासी भएका श्रीराम ढुंगानाले बञ्चरे डाँडामा कुनै हालतमा फोहर फाल्न नदिने अभियान चलाइरहेका छन् । एक टेलिभिजन कार्यक्रममा उनले सरकार तथा महानगरले सिसडोल वासीहरुलाई पटक पटक धोका दिएको हुँदा फोहर फाल्न नदिने बताए । अहिले उनकै पार्टीका प्रधानमन्त्री छन् । पहिले काँग्रेसकै मन्त्रीहरु हुँदा किन समस्या समाधानमा पहल नगरेको ? भन्ने प्रश्नमा उनले गोलमटोल भाषामा ठूल्ठूला कुरा मात्रै गर्छन् ।

यसरी चाहे हर्क साम्पाङको मामिलामा एमालेको भूमिका प्रखर रुपमा आएको होस् चाहे काठमाडौं महानगरको विषयमा माओवादी तथा काँग्रेसको कुरा होस्, यसले स्वतन्त्रलाई काम गर्न नदिने संकेतको रुपमा जनताले बुझ्ने कि नबुझ्ने ? ३० वर्षसम्म पञ्चायतले देश र जनतालाई वपौतीको रुपमा लिए, जनताको आकांक्षामा कुठाराघात गरे । जनताकै आन्दोलनका बलले अहिले हामी संघीय लोकतान्त्रिक तथा समावेशी गणतन्त्रमा छौं । तर यो व्यवस्थालाई मूलधारका पार्टीहरुले पनि वपौतीकै रुपमा लिएर जनतालाई खाए खा नखाए घिच भन्ने अवस्थामा पुर्याएको देखिन्छ ।

विगत ३२ वर्षदेखि यस्तै कुशासनबाट अभिशप्त नागरिकले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई जिताएर पार्टीहरुलाई खबरदारी गरेको जगजाहेर छ । तर पार्टीहरुले के कुरा बुझ्नु जरुरी छ भने अन्याय, अत्याचार, कुशासन जनताले सधैँ सहेर बस्दैन, त्यसको विकल्प खोज्छ । अतः पार्टीहरुले पहिले आफूलाई पो सुधार्ने कि ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हिरा विश्वकर्मा
हिरा विश्वकर्मा
लेखकबाट थप