बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

सप्तरी–२ मा उपेन्द्र यादवसँग भिड्न सीके राउतलाई कति सहज ?

चुनावी तथ्याङ्क यस्तो छ
सोमबार, २३ साउन २०७९, १७ : ०४
सोमबार, २३ साउन २०७९

जनमत पार्टी नेपालका अध्यक्ष सीके राउतले सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा चुनाव लड्ने घोषणा गरेपछि सो क्षेत्रमा ‘हेभी वेट’ भिडन्त हुने आकलन गरिएको छ । किनकि जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको चुनाव क्षेत्र पनि सोही हो ।

जसपा अध्यक्ष यादव यसपटक पनि सप्तरी–२ बाटै चुनाव लड्ने तयारीमा छन् । जनमत पार्टीका अध्यक्ष सीके राउतले सोही क्षेत्रमा उम्मेदवार बन्ने घोषणा गरेसँगै उनको उपेन्द्र यादवसँग प्रतिस्पर्धा हुने लगभग निश्चित देखिएको हो ।

आफ्नै गाउँमा समस्या

सप्तरी–२ मै सीके राउतको गाउँ छ । उनको गाउँपालिका महादेवमा स्थानीय चुनावमा जनमत पार्टीले सोचेअनुरुप सफलता पाउन सकेन । सो पालिकामा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले अध्यक्षमा चुनाव जितेको छ ।

दोस्रो स्थानमा काँग्रेस र तेस्रोमा जसपा छ । जनमत पार्टी भने चौथो स्थानमा छ । स्थानीय निर्वाचनमा जनमत पार्टीले सो पालिकामा एक हजार ३४१ मत ल्याएको थियो । महादेवा गाउँपालिकामा ६ वटा वडा छन् । त्यसमध्ये राउतको पार्टीले एउटा वडामात्र जितेको छ । जसपाले सो पालिकामा एउटा पनि वडा जितेको छैन । लोसपाले ३, काँग्रेस र माओवादी केन्द्रले १–१ वडा जितेका छन् । जनमत पार्टीबाट दुई जना वडा सदस्य निर्वाचित भएका छन् ।

स्थानीय तहको निर्वाचनलाई आधार मान्ने हो भने सो गाउँपालिकामा सबैभन्दा बलियो लोसपा देखिएको छ भने सबैभन्दा कमजोर जनमत नै देखिएको छ ।

नगरपालिकामा झन् कमजोर

सप्तरी–२ मा राजविराज नगरपालिका पनि पर्दछ । सप्तरीको सदरमुकाम समेत रहेको राजविराज नगरपालिकामा जुन दलको पकड हुन्छ, त्यही दलले चुनाव जित्छ । सप्तरी–२ का लागि राजविराज नगरपालिका जित–हारको ठूलो ‘फ्याक्टर’ हो । राजविराज नगरपालिकाले जसलाई साथ दिन्छ, उसैले जित्छ । 

स्थानीय चुनावको मतपरिणाम अनुसार राजविराज नगरपालिकामा सबभन्दा बलियो जसपा देखिएको छ । त्यहाँको मेयरमा जसपाबाट भिमराज यादव निर्वाचित भएका छन् । एउटा अनियमितता काण्डमा उनी अहिले निलम्बनमा परेका छन् ।

नगरपालिका जनमत पार्टी सातौँ स्थानमा छ । उसले मेयरमा ९२२ मत मात्र ल्याएको छ जबकि जसपाका मेयर यादवले नौहजार ६२४ मत ल्याएर जितेका छन् । नगरपालिकामा माओवादी दोस्रो, काँग्रेस तेस्रो, लोसपा चौथो, नेकपा एकीकृत समाजवादी पाँचौँ र एमाले छैटौं स्थानमा छ ।

नगरपालिकामा १६ वटा वडामध्ये जसपाले आठ वटा वडा हात पारेको छ भने राउत नेतृत्वको जनमत पार्टीले एउटा पनि वडा जितेको छैन । बरु माओवादी केन्द्रले ३, लोसपाले २ र नेकपा, राप्रपा र एमालेले १–१ वटा वडा जितेका छन् । राउत नेतृत्वको जनमत पार्टीले सो नगरपालिकामा वडा अध्यक्ष मात्र होइन, महिला सदस्य, दलित महिला सदस्य र वडा सदस्यसमेत जित्न सकेको छैन । जसपाले ६ वटा महिला सदस्य, सातवटा दलित महिला सदस्य जितेको छ ।

दुई गाउँपालिकामा पनि शून्य

राजविराज नगरपालिकामा शून्य अवस्थामा रहेको राउत नेतृत्वको जनमत पार्टी सप्तरी क्षेत्र नम्बर २ अन्तर्गत छिन्नमस्ता गाउँपालिका पनि दुरावस्थामा छ । सो गाउँपालिकामा जनमत पार्टी नवौं स्थानमा झरेको छ । गाउँपालिका अध्यक्ष लोसपाले जित्दा दोस्रो स्थानमा जसपा, तेस्रो स्थानमा माओवादी केन्द्र, चौथो स्थानमा एमाले, पाँचौं स्थानमा काँग्रेस छ । बरु सो गाउँपालिकामा भर्खर गठन भएको हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी जनमत पार्टीभन्दा अगाडि छ ।

सो गाउँपालिकामा सात वटा वडामध्ये जनमत पार्टीले एउटा वडा जितेको छ भने जसपाले पनि एउटा मात्र जितेको छ । माओवादी केन्द्रले २, एमालेले २ र नेकपा एकीकृत समाजवादीले एउटा वडा जितेका छन् ।

जनमतले महिला सदस्य, दलित सदस्य र वडा सदस्यमा एक एकजना जितेको छ । त्यहाँ जसपाले तीन वडा सदस्य जितेको छ । 

राजविराज नगरपालिका जस्तै राउत नेतृत्वको जनमत पार्टीले एउटा वडा अध्यक्ष बाहेक तिलाठी कोइलाठी गाउँपालिकामा कुनै पनि पद हात पार्न सकेन । त्यो गाउँपालिकाको अध्यक्ष काँग्रेसले जितेको छ । दोस्रो स्थानमा लोसपा, तेस्रो स्थानमा जसपा र चौथो स्थानमा जनमत पार्टी छ । त्यहाँ जनमत पार्टीले ५०४ मत ल्याएको छ भने जसपाले दुई हजार २४३ मत ल्याएको छ ।

त्यो गाउँपालिकाका आठ वटा वडामध्ये जसपाले चार वटा जितेको छ भने जनमतले एउटैमा चित्त बुझाएको छ । त्यस्तै, लोसपा, माओवादी केन्द्र र काँग्रेसले पनि १–१ वटा वडा अध्यक्ष हात पारेका छन् ।

जसपाका केन्द्रीय सदस्य विकास तिवारी (सप्तरी) ले लोकतन्त्रमा सबैले चुनाव लड्न पाउने तर चुनाव लड्दा आफ्नो जनाधारलाई ख्याल गर्नुपर्ने बताए । उनले भने, ‘सीके राउतजी सप्तरी–२ कै हुनुहुन्छ, उहाँले चुनाव लड्नु जायज पनि हो तर उहाँको जनाधार यहाँ छैन ।’

जसपाकै अर्का नेता शम्भु झाले चुनाव लड्नबाट कसैलाई बञ्चित गर्न नमिल्ने तर सप्तरी–२ मा जनमत पार्टीको अवस्था नाजुक रहेको बताए । ‘जसरी जनतालाई मतदानको अधिकार छ, त्यसरी नै चुनाव लड्ने पनि अधिकार छ तर कसैले चुनाव हार्नका लागि लड्दैन,’ उनले भने, ‘यो क्षेत्रमा जनमतको अवस्था त्यति राम्रो छैन ।’ 

सप्तरी क्षेत्र नम्बर २ मा विगतको चुनावी परिणाम र अहिलेको स्थानीय तहको चुनावी परिणामलाई केलाउँदा सबभन्दा बलियो जसपा नै रहेको उनको भनाइ छ । आसन्न चुनावमा पाँच दलीय गठबन्धनको अगाडि कसैले जसपालाई हराउँछु भन्नु आत्मरतिमात्र हुने उनले बताए ।

जसपाको जनाधार

स्थानीय तहको मत हेर्दा सो क्षेत्रमा अहिले पनि जसपाका अध्यक्ष यादव सबैभन्दा बलियो देखिएको उनले दाबी गरे । उनका अनुसार स्थानीय तहको मत परिणाम हेर्दा सो क्षेत्रमा जसपाले १४ हजार ४२६, काँग्रेसले १० हजार ८०७, लोसपाले १० हजार ४३५, माओवादी केन्द्रले नौ हजार ६३९, एमालेले पाँच हजार ९५०, जनमत पार्टीले चार हजार ५४२, नेकपा एकीकृत समाजवादी पार्टीले दुई हजार ३५१ र राप्रपा ८२० मत ल्याएका छन् ।

सप्तरी–२ मा जम्मा ३७ वटा वडा छन् । त्यसमध्ये १३ जसपा, माओवादी केन्द्रले ७, लोसपा–६, एमाले–३, जनमत–३, काँग्रेस–२, नेकपा एकीकृत समाजवादी–२ र राप्रपाले एक सिट जितेका छन् । उनले भने, ‘जसपा पाँच दलीय गठबन्धनमा छ । गठबन्धनका टिकट बाँडफाँटमा जसपाका अध्यक्ष उपेन्द्र यादवले टिकट पाउने निश्चित छ । गठबन्धनले सो क्षेत्रमा प्राप्त गरेको मतलाई आधार मान्ने हो भने ३७ हजार २२३ मत जसपालाई आउँछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप