शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गुठीको एउटै जग्गामा कयौंको दावी

सोमबार, २३ साउन २०७९, १७ : ३६
सोमबार, २३ साउन २०७९

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ स्थित गुठीको जग्गामा कयौं व्यक्तिले दाबी गरेका छन् । १० कठ्ठा क्षेत्रफलको सो जग्गा आफ्नो नाममा पार्न कयौंले विभिन्न जालझेल गर्न थालेको स्थानीयवासी बताउँछन् ।

भित्रभित्रै नामसारीको प्रक्रियामा रहेको गुठीको जग्गा शंकास्पद देखिएपछि नापी कार्यालय धनुषाले सम्बन्धित २ वटा कार्यालयलाई पत्र काटेर सो जग्गाको विवरण माग गरेको छ । नापी कार्यालय धनुषाले गत साउन ४ मा भूमि सुधार तथा मालपोत कार्यालय धनुषा र जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ को कार्यालयलाई पत्र काटेको थियो ।

नापी कार्यालयले मालपोत कार्यालयलाई काटेको पत्रमा जनकपुरधाम उपमहानगरपालिका वडा ८ मा पर्ने कित्ता नं. २७४ को ३ कठ्ठा १९ धुर र कित्ता नं. २७५ को ६ कठ्ठा २ धुर जग्गाको सक्कल टिप्पणी निर्णयको सक्कल फाइल, कित्ताको श्रेस्ता उतार पठाउन भनिएको नापी कार्यालय धनुषाका निमित्त प्रमुख बिन्देश्वर यादवले जानकारी दिए ।

उनले त्यस्तै वडा कार्यालयलाई पनि सो जग्गा कसको भोग चलनमा रहेको भन्ने स्पष्ट विवरण पठाइदिन भनिएको बताए । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ स्थित गुठीको १० कठ्ठा जग्गामा अहिले सम्म ६ जनाभन्दा बढी व्यक्तिले दावी गरेको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष दिनेश सिंहले जानकारी दिए ।

उनले धेरै जनाको भोगचलनको दाबी परेपछि उक्त जग्गा वास्तवमा कसको हो भन्ने बुझ्न आफूहरु पनि लागि परेको बताए । गुठीको जग्गा हो भन्ने प्रमाणित भएमा वडा कार्यालयले कुनै पनि हालतमा सो जग्गालाई व्यक्तिको नाममा हुन नदिने उनले स्पष्ट पारे । यसका लागि गुठी संस्थान, जिल्ला प्रशासन कार्यालय धनुषा र सम्बन्धित व्यक्तिहरुलाई एकैसाथ बसाएर वास्तविकता पत्ता लगाउने वडाध्यक्ष सिंहले बताए ।

उनले भने, ‘६ जनाभन्दा बढी व्यक्तिले अहिलेसम्म दाबी गरिसकेका छन्, अझै केही व्यक्तिको हकदावी पर्न सक्ने सम्भावना छ, सबैको कागजात आएपछि मात्रै मुचुल्का उठाएर नापी कार्यालय धनुषाको पत्रको जवाफ पठाउने छौँ ।’

सो जग्गामा नेपाल संस्कृत विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा रहेको जनक हजारी विद्यापीठ, रौतहटको गौर नगरपालिका वडा नम्बर २ का सीताशरण दास, महोत्तरीको बलवा नगरपालिका पड़ौलका नवलकिशोर यादव र जनकपुरधामका एक संचार उद्यमी लगायतका व्यक्तिले हकदावी गरेको घुमाउरो पारामा उनले बताए ।

जनक हजारी विद्यापीठ क्याम्पसका प्रमुख श्यामकिशोर गोइतले २०५० साल जेठ २ मा  गुठी संस्थानको केन्द्रीय कार्यालयले कित्ता नम्बर २७४ को ३ कठा १९ धुर क्याम्पस रहुञ्जेलसम्मका लागि दिएकाले सो जग्गामा क्याम्पस बाहेक कसैको पनि हकदावी नपुग्ने दाबी गरे । यस अघि पनि यस क्याम्पसको जग्गालाई लिएर विवाद हुँदा गुठी संस्थानले पटक पटक पत्र काटेर आफूहरुलाई नै भोगचलनका लागि दिएको जानकारी गराई सकेको उनले बताए ।  

गुठी संस्थानको केन्द्रीय कार्यालयले २०५० साल जेठ ४ गते जनक हजारी विद्यापीठ क्याम्पसलाई ९ बिघाभन्दा बढी जग्गा भोग चलनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको बैठकबाट निर्णय गरेर दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप