बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘अपहरण’ कथा सङ्ग्रह लोकार्पण

सोमबार, २३ साउन २०७९, १७ : ४३
सोमबार, २३ साउन २०७९

कथाकार भरतकुमार श्रेष्ठ ‘विवश’को अपहरण कथा सङ्ग्रहको सोमबार लोकार्पण गरिएको छ । काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा दायित्व वाङ्‍मय प्रतिष्ठानले एक कार्यक्रमको आयोजना गरी प्रमुख अतिथि आख्यान पुरुष डा. ध्रुवचन्द्र गौतम, दायित्व वाङ्‍मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, ज्ञानु अधिकारी, रामप्रसाद ज्ञवाली, डा. सुरेन्द्र केसी, सर्जककी माता मिसरी श्रेष्ठले सो कृतिको संयुक्त रूपमा विमोचन गरेका हुन् । 

कार्यक्रममा बोल्दै समालोचक ज्ञानु अधिकारीले यसमा सङ्कलित सबै कथाहरू घटना प्रधान रहेको बताइन् । उनले भनिन्, “यसका सबै कथाहरू अर्गानिक छन् । कतिपय कथामा राजनीतिक विकृति र विसङ्गतिको सचित्र वर्णन गरिएका  छन् ।” मान्छेका सोचहरू कसरी विकृत हुन्छन् भन्ने कुरा यसमा राम्रोसँग वर्णन गरिएको बताइन् । साथै पात्रको भाषागत भिन्नता भिन्न हुनुपर्नेमा एकै प्रकारको रहेको उनको भनाइ थियो ।  

कार्यक्रममा बोल्दै वरिष्ठ साहित्यकार रामप्रसाद ज्ञवालीले गुरुप्रसाद मैनालीकै परम्परा धारमा कथाहरू लेखिएको बताए । उनले भने, “यसमा यथार्थ घटनामा आधारित कथाहरू छन् र हरेक कथा आदर्शोन्मुख यथार्थवादतर्फ झुकेका छन्, जुन धाराको सुरुवात गुरुप्रसाद मैनालीले गरेका थिए ।” कथामा लेखकको ज्ञानको अभिव्यक्ति बढी भएर पाठकलाई बोझ हुन सक्ने हुनाले पात्रगत अभिव्यक्तिमा नै केन्द्रित हुन उनले लेखकलाई सुझाव दिए । 

यसैगरी कार्यक्रमका प्रमुख अतिथि आख्यान पुरुष ध्रुवचन्द्र गौतमले हरेक कथा उपन्यास जस्ता भए पनि कथाका आयाममा समेटिएका बताए । उनले भने “१२ वटा कथामा १२ वटै विभेदहरूको चित्रण भेटिन्छ । यो समाज चित्रणको गतिलो उदाहरण हो ।” यद्यपि अपहरण कथा सङ्ग्रहको शीर्षकको अर्थ कुनै कथा पढ्दा पनि नपाइने उनले बताए । कुनै पनि कृतिको सार झोलाको उजिन्डोले झैँ कृतिलाई बोक्न सक्ने शीर्षक हुनुपर्नेमा उनको जोड थियो ।  

सर्जक श्रेष्ठले आफ्ना जीवनका भोगाइहरू यस कथामा आएकाले यसमा यथार्थवादी पात्रहरू रहेको बताए । उनले यस पुस्तकको बिक्रीबाट उठेको २० प्रतिशत रकम समाज सेवा खर्च गर्ने पनि बताए ।  सो कार्यक्रममा अमर न्यौपाने, राधेश्याम लेकाली, जया छाङ्छा, मन्दिरा मुधुश्रीलगायत थुप्रै वरिष्ठ साहित्यकारहरूको उपस्थिति थियो ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप