दाङ वृहत् सिंचाई आयोजना : जहाँ किसान, त्यहाँ पानी

person explore access_timeसाउन २३, २०७९ chat_bubble_outline0

तुलसीपुर उपमहानगरपालिका–१८ का ४२ वर्षीय रामलाल चौधरीको आधा जीवन भारतमा मजदुरी गर्दैमा बित्यो । जब गाउँमा सिंचाइका लागि जलाशय र पक्की कुलो बन्यो, उनी भारतको रोजगारी छाडेर गाउँ फर्किए । वर्ष दिन खानका लागि पुग्ने धान पनि धौधौ उब्जनी हुने खेतमा उनले दुुई वर्षदेखि बर्खामा धान र हिउँदमास तरकारी खेती गर्दै आइरहेका छन् ।


पोखरी निर्माणसँगै गाउँमा पक्की कुलो बनेपछि खेतीका लागि सहज भएको उनले बताए । उनीमात्रै होइन, मुक्तिलाल सुनार पनि दङ्ग छन् । सिंचाई सुविधाका साथै हप्तैपिच्छे कुलो सफा गर्नुपर्ने समस्याबाट समेत छुटकारा मिलेको सुनार बताउँछन् ।



उनले भने, ‘जब कुलो आयो, खेतीपातीको कुरा छँदैछ । घरका लागि तिउन तरकारीसमेत किन्नु परेको छैन । धेरैले खेतिपातीबाट आम्दानी गरेका छन् ।’



पोखरीले गाउँ फर्कायो

घोराही उपमहानगरपालिका–४ शशीधर बेल्वासेले सिंचाई अभावमा खेती गर्न कठिनाइ हुँदा परिवार पाल्नकै लागि मजदुरी गर्न पोखरा जानु परेको सुनाए । ‘जब गाउँमा सिंचाइका लागि पोखरी बन्यो, आफ्नै खेतबारीमा केही गरेर बाँच्न सकिन्छ भनेर फर्कि आएँ,’ उनले भने, ‘सिंचाइका लागि पोखरी बनेपछि न खेतबारी खाली छन् । न गोजी । कहिले मौसमी खेती, कहिले बेमौसमी खेती ।’

उनले गाउँमा पोखरी र पक्की नाला नभएको भए बालबच्चाका लागि भए पनि सहर बजारका गल्ली गल्लीमा मजदुरी गर्दै जीवन बिताउनुपर्ने बाध्यता रहेको सुनाए । तर गाउँमा खेती किसानका लागि आवश्यक संरचना बनेसँगै अधिकांश मजदुर खेती किसानीमा फर्किरहेको उनको भनाइ छ ।

चार वर्षमा साढे ११ हजार हेक्टरमा सिंचाई

यी प्रतिनिधि पात्रमात्र हुुन् । वृहत् दाङ उपत्यका सिंचाई आयोजनाले हालसम्म ११ हजार ५ सय हेक्टरका किसानलाई यो खुसी दिएको छ । जिल्लाभर ५६ हजार हेक्टर कृषियोग्य जमिनमा सिंचाई सुविधा पुरयाउने लक्ष्यका साथ ०७४ वैशाख १ गतेदेखि योजना थालनी गरेको आयोजनाले चार वर्षमा साढे ११ हजार हेक्टरका किसानलाई यस्तो खुसी दिलाएको छ ।

वृहत् दाङ उपत्यका सिंचाई आयोजनाका प्रमुख राजु आचार्यले भने, ‘जहाँ किसान, त्यहाँ पानी नै आयोजनाको लक्ष्य हो ।’

सिंचाई असुविधाका कारण कृषि क्षेत्रबाट किसान पलायन हुन् नपरोस् र कृषि क्षेत्रको विकासमा टेवा पुगोस् भन्ने उद्देश्य रहेको उनको भनाइ छ । आचार्यले थपे, ‘आयोजनाले वैदेशिक रोजगारमा पुगेकाहरूलाई गाउँमा फर्काएको छ ।’

आयोजना प्रमुख आचार्यले ०७४ वैशाख १ देखि ०७८ असार मसान्तसम्ममा दाङमा ३० जलाशय, २८ वटा लिफ्ट सिंचाई, २९ वटा पानी पोखरी, ३० वटा डिप बोरिङ र २५० किलोमिटर पक्की कुलो निर्माण गरिएको जानकारी दिए ।

एक दशकमा ५६ हजार हेक्टरमा सिंचाई सुविधा पुरयाउने उद्देश्य आयोजनाका रहेको उनले बताए ।

९३ करोड ७७ लाखमा ९३ करोड १५ लाख खर्च

आर्थिक वर्ष २०७८/०७९ मा वृहत् दाङ उपत्यका सिंचाई आयोजनाका लागि संघीय सरकारले ९३ करोड ७७ लाख २९ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमध्ये आयोजनाले ९३ करोड १५ लाख रुपैयाँ खर्च गरेको छ । जुन कुल बजेटको ९९.११ प्रतिशत हो । विकास आयोजना निर्माण गर्ने कार्यालयमध्ये सबैभन्दा धेरै विकास बजेट खर्च गर्नेमा बृहत् सिंचाई आयोजना रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङले जनाएको छ ।

कार्यालयका कोष नियन्त्रक उदयराज भण्डारीले भने, ‘जसका लागि पैसा आएको उसैका लागि आयोजनाले खर्च गर्दै आइरहेको छ । उपलब्धिमूलक खर्च पनि भएको छ । प्रत्यक्ष लाभ किसानले लिएका छन् ।’ 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।