शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पाँच लाखको कान !

मङ्गलबार, २४ साउन २०७९, ०८ : ५८
मङ्गलबार, २४ साउन २०७९

मोरङको कानेपोखरी गाउँपालिकामा रहेको ‘कानेपोखरी संरक्षण’को नाममा कानको स्तम्भ बनाएपछि उक्त तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

संघीय सरकारका तत्कालीन पर्यटन मन्त्री भानुभक्त ढकालको पहलमा कानेपोखरी संरक्षणका लागि सशर्त अनुदानमार्फत ५० लाख रकम आर्थिक वर्ष ०७७÷०७८ को अन्तिम चौमासिकमा निकासा भएको थियो ।

उक्त रकमले पोखरीको प्रवेशद्वार, शौचालय, प्रतीक्षालय, ट्र्याक ओपन, गिट्टी बिछ्याउने, कान र हरिणको प्रतिमा, ह्युमपाइप जडान लगायतको काम भएको कानेपोखरी गाउँपालिकाले जनाएको छ । यद्यपि सामाजिक सञ्जालमा भने कान बनाएको विषयमा चर्को आलोचना भइरहेको छ ।

पूर्व सचिव भीम उपाध्यायले ४१ लाखमा बनेको कानको स्तम्भ भन्दै फेसबुकमा पोष्ट गरेपछि यसको आलोचना अझै तीव्र बनेको थियो । गाउँपालिकाले भने सामाजिक सञ्जालमा आएजस्तो कान बनाउनकै लागि ४१ लाख खर्च नभएको जनाएको छ ।

गाउँपालिकाको अध्यक्ष राजमती इङ्नाम, प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरे, लेखा अधिकृत अजित भट्टराईले विवरण सार्वजनिक गर्दै कान बनाउँदा ५ लाख खर्च भएको जनाएका छन् । त्यस्तै दुईवटा हरिणको प्रतिमा बनाउन पनि ५ लाख खर्च भएको जनाइएको छ ।

‘आयोजनाको कार्यसम्पन्न प्रतिवेदन अनुसार कानको शालिकमा ५ लाख खर्च भएको देखिएको ब्यहोरा सरोकारवाला सबैको जानकारीको लागि अनुरोध छ,’ सार्वजनिक विवरणमा उल्लेख गरिएको छ ।

महालेखाले भन्यो– काम गुणस्तरीय भएन

यसैबीच महालेखा परीक्षक कार्यालयले भर्खरै सार्वजनिक गरेको प्रतिवेदनमा कानेपोखरी संरक्षणको नाममा बनाइएको संरचना एक वर्ष नपुगी भत्किन थालेको भन्दै प्रश्न उठाएको छ ।

‘कानेपोखरी गाउँपालिका सार्वजनिक खरिद नियमावली, २०७७ को नियम १०७ (१३) अनुसार निर्माण कार्यको रेखदेख तथा मर्मत सम्भारको जिम्मेवारी उपभोक्ता समितिलाई नै हस्तान्तरण गरिने तथा सोका लागि न्यूनतम ५ प्रतिशत रकम कट्टा गरी पालिकामा राख्न सकिने व्यवस्था भएकोमा स्थलगत अनुगमन गर्दा निर्माण भएको ट्रस्टको पेटी एक वर्ष पनि नपुगी भत्किएको देखियो । पालिकाले मर्मतको लागि उपभोक्ता समितिलाई जिम्मेवार बनाउनु पर्ने, मर्मत सम्भार कट्टी गरेर नियमावलीले तोकिएको अवधिसम्म राख्नुपर्ने तथा कामको गुणस्तरलाई ध्यान दिनुपर्ने देखिन्छ,’ महालेखाको प्रतिवेदनमा उल्लेख छ । 

इतिहासलाई बदनाम गरेको आरोप

यसैबीच कानेपोखरीका आदिवासी धिमाल समुदायको संस्कृतिसँग जोडिएर कानेपोखरी नाम रहेको भए पनि पुरुष मानिसको कान बनाएर उक्त संस्कृतिको खिल्ली उडाएको धिमाल समुदायले बताएका छन् ।

किम्बदन्ती अनुसार काने देवता, काने महाराज, काने गोठालो या कानको गहना दिने बुढी मानिस तथा कानको आकारको पोखरी भएकोले कानेपोखरी नाम रहन गएको हो । तर, उक्त क्षेत्रमा मानिसको कान बनाएर उक्त इतिहासलाई तोडमोड गरिएको कानेपोखरीका अगुवा  प्रकाश धिमाल बताउँछन् ।

‘मानिसको कानसँग यो पोखरीमा के सम्बन्ध छ ? कानले के सन्देश दिन्छ ? कान बनाएर पैसा किन खेर फालियो ?,’ उनी भन्छन्, ‘पोखरीको संरक्षण गर्नुपर्छ तर पैसा सक्न जथाभाबी गर्नुभएन, इतिहास मेटिने कार्य घोर भर्त्सना गर्दछौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप