मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकहरुको ‘बेसरेट’ दोहोरो अंकमा, कर्जाको ब्याजदर महँगियो

तीन सरकारीसहित ६ बैंकको बेसरेट ‘अन्डर नाइन’
मङ्गलबार, २४ साउन २०७९, १३ : ३८
मङ्गलबार, २४ साउन २०७९

तरलता अभावको प्रत्यक्ष प्रभाव बैंकिङ ब्याजदरमा परेको छ । अघिल्लो वर्ष सरदर ७ प्रतिशत रहेको बैंकिङ आधारदर (बेसरेट) चालु आर्थिक वर्षको सुरुवातमा नै दोहोरो अंक नाघेको हो । 

कूल २६ वटा वाणिज्य बैंकहरू मध्ये आधाआधी बैंकहरुको बेसरेट १० प्रतिशत हारहारी पुगेको छ । जसमध्ये चार वटा बैंकको त १० प्रतिशत माथि नै पुगिसकेको छ । कुमारी बैंक, सिभिल बैंक, सेन्चुरी कमर्सियल बैंक र सनराइज बैंकको आधार दर १० प्रतिशत माथि पुगेको हो । यी बैंकहरुको आधार दर १०.०१ प्रतिशतदेखि १०.५७ प्रतिशतसम्म पुगेको छ । 

बैंक तथा वित्तीय संस्थाहरुले प्राप्त निक्षेपमा तिरेको ब्याज, सञ्चालन तथा व्यवस्थापन खर्च, जोखिम भार तथा अनिवार्य नगद मौज्दात (सीआरआर) समेतलाई जोडेर औसत लागतको रुपमा बेसरेट कायम गरेका हुन्छन् । सोही औषत बेसरेटमा थप २ देखि ४–५ प्रतिशतसम्म प्रिमियम थपेर बैंकहरुले कर्जाको ब्याजदर कायम गर्छन् । तर, बैंकहरुको बेसरेट नै महँगो भएपछि स्वतः कर्जाको ब्याजदरसमेत बढ्ने गर्छ । 

कुन बैंकको बेसरेट कति पुग्यो ?

हाल कायम बैंकहरुको बेसरेट हेर्दा सबैभन्दा महँगो कुमारी बैंकको देखिएको छ । बैंकले अधिकतम १०.५७ प्रतिशत बेसरेट कायम गरेको छ । यसो हुँदा बैंकले प्रदान गर्ने कर्जामा न्यूनतम २ प्रतिशत मात्र प्रिमियम थप गर्ने हो भने पनि ब्याजदर १२.५७ प्रतिशत पुग्ने देखिन्छ । तर, अहिले तरलता अभावलाई देखाएर बैंकहरुले ४–५ प्रतिशतसम्म प्रिमियम थपिरहेका छन् । यसो हुँदा बैंकको अन्तिम ब्याजदर १५.५७ प्रतिशतसम्म पुग्ने देखिन्छ ।

यस्तै, सिभिल बैंकको बेसरेट अघिल्लो वर्षको तुलनामा २.६३ प्रतिशतले बढेर १०.४६ प्रतिशत पुगेको छ । सेन्चुरी बैंकको १०.२३ प्रतिशत तथा सनराइज बैंक र मेगा बैंकको समान १०.०१ प्रतिशत बेसरेट रहेको छ ।

तीन सरकारीसहित ६ बैंकको बेसरेट ‘अन्डर नाइन’

तीन वटा सरकारी बैंकसहित ६ वटा वाणिज्य बैंकहरुको बेसरेट भने ९ प्रतिशत तल रहेको छ । बैंकहरुले कायम गरेका बेसरेट अनुसार सबैभन्दा सस्तो राष्ट्रिय वाणिज्य बैंक (आरबीबी) को बेसरेट ७.८६ प्रतिशत मात्र रहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासका लागि स्प्रेडरेट समेत ४.२९ प्रतिशत मात्र कायम गरेको बैंकले कर्जाको ब्याजदर अधिकतम १२ प्रतिशत कायम गरेको छ । 

यस्तै, ७.९९ प्रतिशत बेसरेट कायम गरेको अर्को सरकारी बैंक ‘नेपाल बैंक’ले ४.०८ प्रतिशत स्प्रेडरेट तोकेको छ । तर, कृषि विकास बैंकले भने ८.९० प्रतिशत बेसरेट र  ४.३७ प्रतिशत स्प्रेडरेट कायम गरेको छ ।

नबिल बैंकले ८.७७ प्रतिशत बेसरेटसँगै ४.२२ प्रतिशत स्प्रेडरेट कायम गरेको छ । निजी बैंकतर्फको यो सबैभन्दा सस्तो हो । यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ८.८१ प्रतिशत बेसरेट र ४.२३ प्रतिशत स्प्रेडरेट र एभरेष्ट बैंकले ८.८२ प्रतिशत बेसरेट र ४.०६ प्रतिशत स्प्रेडरेट कायम गरेका छन् । अन्य, १३ वटा बैंकहरुले ९ प्रतिशतदेखि १० प्रतिशतको बीचमा बेसरेट कायम गरेका छन् ।

वाणिज्य बैंकहरुको कायम बेसरेट र स्प्रेडरेट (तथ्याङ्क प्रतिशतमा)

स्प्रेडदरको प्रभाव

लगानी योग्य रकम अभावका बीच निक्षेपमा नै बैंकहरुले ११.०३ प्रतिशतसम्म ब्याजदर प्रदान गरिसकेको अवस्थामा उसैपनि कर्जाको ब्याजदर बढिसकेको अवस्था हो । सामान्यतः बैंकहरुले साधारण बचत खातामा नै न्यूनतम ६ प्रतिशत ब्याजदर प्रदान गरिसकेको अवस्थामा त्यसमा कर्जा–निक्षेप अन्तर (स्प्रेडदर) लाई समेत हेर्दा कर्जामा लगाइने ब्याजदर १२ प्रतिशतमाथि जाने देखिन्छ । 

नियामक राष्ट्र बैंकले कर्जा–निक्षेप अनुपात (स्प्रेडदर) ४.४ प्रतिशत माथि कटाउन नपाउने व्यवस्था गरेको छ । यद्यपि, अघिल्लो वर्ष ४ प्रतिशत मात्र स्प्रेडदर कायम गरेका बैंकहरुले अहिले सो समेत बढाएर ४.४० प्रतिशतसम्म पु¥याएका छन् । यसले पनि कर्जाको ब्याजदर बढाएको छ । 

२०७८ असारमसान्तको तुलनामा औसत १.५० प्रतिशतले बेसरेट र ०.५० प्रतिशतले स्प्रेडदर बढ्दा कर्जाको ब्याजदर ३.५ प्रतिशतले बढ्न पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप