बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

काभ्रे–२ मा गोकुल बास्कोटालाई कति सहज ?

गठबन्धनबाट उम्मेदवारीका लागि काँग्रेस र नेकपा एकीकृत समाजवादीको दाबी
मङ्गलबार, २४ साउन २०७९, १६ : २२
मङ्गलबार, २४ साउन २०७९

आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । दलहरु चुनावी रणनीति निर्माणमा जुटेका छन् भने दलका नेताहरु आ–आफ्नो क्षेत्र तय गर्दै उम्मेदवारी घोषणा गर्ने क्रममा देखिएका छन् ।

यसैक्रममा यसपटक काभ्रेको निर्वाचन क्षेत्र नम्बर–२ को चुनावी माहोल रोचक बन्ने देखिएको छ । बलियो संगठन भएको दावी गर्दै आएको नेकपा एमालेसँग पाँच दलीय गठबन्धनको भिडन्त रोचक हुने अनुमान गरिएको छ ।

काभ्रे–२ पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको निर्वाचन क्षेत्र हो । आगामी निर्वाचनमा यो क्षेत्रमा एमालेबाट उनी एकल दाबेदारका रुपमा छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्रको रुपमा रहेका बास्कोटा आगामी निर्वाचनमा सोही क्षेत्रबाट चुनाव लड्ने तयारीमा जुटेका छन् ।

एमालेले काभ्रे–२ लाई आफ्नो पकड क्षेत्रको रुपमा लिने गरेको छ । किनकि २०६४ मा माओवादी दबदबाका बीच पनि तत्कालीन काभ्रे–३ (हाल काभ्रे २)बाट एमालेका उम्मेदवारले चुनाव जितेका थिए ।

काभ्रे–२ अन्तर्गत ४ वटा पालिकाको पूर्ण क्षेत्र र २ पालिकाको केही वडा पर्दछन् । सो क्षेत्रमा काभ्रेको बेथानचोक गाउँपालिका, मण्डन देउपुर नगरपालिका, पाँचखाल नगरपालिकाको पूरा भाग तथा धुलिखेल नगरपालिकाको १, २, ३, ४, ५, ६, ७ र पनौती नगरपालिकाको १, २, ३, ११ र १२ वडा पर्दछन् ।

यस्तो छ दलहरुको प्रभाव

काभ्रे–२ लाई गठबन्धनका दुई दल र एमालेले आ–आफ्नो पकड क्षेत्रको रुपमा लिने गरेका छन् । सो क्षेत्रमा गठबन्धनबाट काँग्रेस र नेकपा एकीकृत समाजवादीले आफ्नो प्रभाव रहेको दाबी गर्दै आएको छ । यद्यपि तुलनात्मक रुपमा एमाले नै बलियो देखिन्छ ।

२०६४ को संविधानसभा निर्वाचनमा सो क्षेत्रबाट एमालेका कृष्णप्रसाद सापकोटाले चुनाव जितेका थिए भने २०७० मा अहिलेको क्षेत्र नम्बर २ कै एक हिस्सा रहेको क्षेत्र नम्बर ४ बाट एमालेका विदुर सापकोटा र २०७४ मा बास्कोटाले चुनाव जितेका थिए ।

सो क्षेत्रबाट यस अघि चुनाव जितेका कृष्णप्रसाद र विदुर हाल एकीकृत समाजवादीमा आवद्ध छन् । एकीकृत समाजवादी काभ्रेका अधिकांश नेताहरु सो क्षेत्रबाट प्रतिनिधित्व गर्छन् । त्यसैले पनि सो क्षेत्रमा एकीकृत समाजवादीको प्रभाव राम्रो भएको बताइन्छ ।

यता काँग्रेसको पनि सो क्षेत्रमा प्रभाव बढ्दो रहेको दावी गरिएको छ । २०६४ को निर्वाचनमा हार व्यहोरेको काँग्रेसले अहिलेको क्षेत्र नम्बर २ कै एक हिस्सा रहेको क्षेत्र नम्बर ३ बाट २०७० मा चुनाव जितेर ‘कम व्याक’ गरेको थियो । २०७० को निर्वाचनमा तत्कालीन काभ्रे–३ (सोही क्षेत्र)बाट काँग्रेसका कञ्चन चन्द्र बादेले चुनाव जितेका थिए । बादेले एमालेका बास्कोटालाई हराएका थिए ।

२०७४ कोे स्थानीय तहको निर्वाचनमा सो क्षेत्रको एक नगरपालिका र एक गाउँपालिकामा जितको काँग्रेसले प्रदेश र प्रतिनिधिसभातर्फको निर्वाचनमा एमाले–माओवादी केन्द्रको गठबन्धनका कारण हार व्यहोरेको थियो ।

सो क्षेत्रबाट माओवादी केन्द्रको गठबन्धनका कारण प्रतिनिधिसभामा काँग्रेसका मधु आचार्यलाई एमालेका बास्कोटाले हराएका थिए भने प्रदेशतर्फ एमालेका लक्ष्मण लम्साल र बसुन्धरा हुमागाईले जितेका थिए । प्रदेशसभातर्फ काँग्रेसका कञ्चनचन्द्र बादे र सुन्दरमणि आचार्य पराजित भएका थिए । प्रदेशसभातर्फ चुनाव जितेका लम्साल र हुमागाई दुवै हाल एकीकृत समाजवादीमा आवद्ध छन् ।

स्थानीय तह निर्वाचन २०७९ मा सो क्षेत्रका अधिकांश पालिकामा काँग्रेसले जित हात पारेको छ । काँग्रेसले गत निर्वाचनमा सो क्षेत्रको ६ पालिका मध्ये ४ वटामा प्रमुख र एकमा उपप्रमुख पदमा जित हात पारेको छ । सो क्षेत्रको एक पालिकाको उपप्रमुखमा माओवादी केन्द्रले जितेको छ ।

यी हुन् उम्मेदवार बन्ने चर्चामा रहेका नाम

आगामी निर्वाचनमा काभ्रे–२ बाट एमालेले बास्कोटालाई नै उम्मेदवार बनाउने लगभग निश्चित छ । सो क्षेत्रमा एमालेमा बास्कोटाको विकल्पमा अन्य उम्मेदवार देखिएका छैनन् ।

यता काँग्रेसबाट भने सो क्षेत्रमा मुख्य गरी संविधानसभा सदस्य बादे, शिव हुमागाई र आचार्यको चर्चा छ । बादे र आचार्य दुवै काँग्रेसको संस्थापन इतरपक्षका हुन् भने हुमागाई कृष्ण सिटौला पक्षका हुन् । काँग्रेसका पुराना संगठनकर्ता र सिटौला टिमका भएकाले पनि सो क्षेत्रमा हुमागाई उम्मेदवार बन्ने चर्चा बढ्दो छ ।

यता एकीकृत समाजवादीबाट कृष्णप्रसाद सापकोटा र विदुर सापकोटा उम्मेदवार बन्ने चर्चा चुलिएको छ । एकीकृत समाजवादीको प्रभाव कम भए पनि सो क्षेत्रमा कृष्णप्रसाद सापकोटालाई एकीकृत समाजवादीको बलियो उम्मेदवारको रुपमा हेरिएको छ ।

बास्कोटालाई कम छैन चुनौती

काभ्रे–२ बाट चुनाव लड्ने तयारी गरिरहेका एमालेका पूर्वमन्त्री बास्कोटालाई एकीकृत समाजवादीका कृष्णप्रसाद सापकोटा र काँग्रेसका शिव हुमागाई मुख्य चुनौती बन्ने देखिन्छ ।

बास्कोटाको मुख्य प्रतिस्पर्धीको रुपमा काँग्रेसका हुमागाईलाई हेरिएको छ भने सापकोटालाई वैकल्पिक पात्रको रुपमा राखिएको छ । यी दुवै नेतासँग प्रतिस्पर्धा गर्न बास्कोटालाई ठुलो चुनौती हुने जानकारहरु बताउँछन् ।

बास्कोटाका पूर्व सहकर्मीसमेत रहेका सापकोटाले माओवादी दबदबाको बीच पनि चुनाव जितेका थिए । उनी आम जनतामाझ लोकप्रिय पनि भएकाले बास्कोटामाथि चुनौती थपिने देखिन्छ ।

यता २०५६ सालको आम निर्वाचनमा एमालेका केशव बडाललाई पराजित गरेर काभ्रेमा काँग्रेसको उदय गराएका हुमागाईले जनस्तरमा समेत अमिट छाप छोड्न सफल भएका छन् । काँग्रेसको केन्द्रमा समेत बलियो पकड बनाएका उनी विद्यार्थी राजनीतिबाट मूलधारको राजनीतिमा होमिएका हुन् ।

काभ्रेमा मुख्य राजनीतिज्ञको रुपमा आफूलाई स्थापित गरेका उनले अन्य दलहरूको रणनीतिलाई सहजै बुझ्न र त्यसको प्रतिउत्तरमा काभ्रे–२ को सबै क्षेत्रहरुको अंकगणितीय हिसावकिताब समेत राख्ने गरेका छन् । उनी सो क्षेत्रमा विकासप्रेमी राजनीतिज्ञको रुपमा आफ्नो छवि बनाउन सफल देखिन्छन् । अर्कोतिर मन्त्री पदमा रहँदा बास्कोटा विभिन्न विवादमा मुछिएका कारण पनि यस पटक उनलाई आफ्नो पक्षमा जनमत पार्न निकै मेहनत गर्नुका साथै थुप्रै चुनौती झेल्नुपर्ने सो क्षेत्रका बुद्धिजीवी बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप