बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

‘नयाँ प्रयोग’मा उद्यत बाबुरामलाई आफ्नाले नै दिएनन् साथ

नेपाल समाजवादी पार्टीभित्र पनि थुप्रै नेता ‘पर्ख र हेर’ को अवस्थामा
मङ्गलबार, २४ साउन २०७९, १९ : १७
मङ्गलबार, २४ साउन २०७९

२४ साउन, २०७२ मा डा.बाबुराम भट्टराईले माओवादी पार्टी ‘रातो स्टिकर’ (बस्न आयोग्य) भएको घर भन्दै त्यहाँबाट अलग भएका थिए । २०७३ मा नयाँ शक्ति पार्टी बनाएका उनले २०७४ मा तत्कालीन संघीय समाजवादी फोरम नेपालसँग पार्टी एकीकरण गरे ।

‘एउटा पसल थापिहालौँ, थोत्रो माल बेचिहालौँ’ भनेर पार्टी एकीकरण गरिएको होइन भनेका बाबुरामले २०७९ असारमा सोही पार्टीलाई ‘क्षेत्रीयतावादी’ आरोप लगाउँदै आफूलाई त्यसबाट अलग तुल्याए । अहिले उनले नेपाल समाजवादी पार्टी गठन गरेका छन् । तर सुरुदेखि उनलाई साथ दिँदै आएका नेताहरू नेपाल समाजवादी पार्टी गठन गर्दासम्म उनको साथ छाडेर एकपछि अर्को गर्दै हिँडिरहेका छन् ।

नेपाल समाजवादी पार्टी गठन गर्ने बेला प्रशान्त सिंह, मदन राईले उनको साथ छाडेका छन् । बाबुरामलाई आदर्श मान्ने प्रशान्त सिंह र मदन राईमात्र होइन, सुरुदेखि बाबुरामलाई साथ दिएका डम्बर खतिवडा पनि असन्तुष्ट देखिन्छन् । उनी नेपाल समाजवादी पार्टीको कार्यसमितिमा बसेका छैनन् । उनी बाबुराम भट्टराईको राजनीतिक कार्यशैलीबाट असन्तुष्ट भएर करिब अलगजस्तै भएर बसेका छन् ।

​त्यस्तै, माओवादीमै हुँदादेखि नै बाबुरामलाई साथ दिँदै आएका प्रभु साह, महेन्द्र पासवान, वामदेव क्षेत्रीलगायतका थुप्रै नेताले बाबुरामको साथ छाडिसकेका छन् । नयाँ शक्ति बनाउन उनलाई साथ दिएका मुमाराम खनाल एक वर्ष नबित्दै सो पार्टी छाडेर हिँडेका थिए । वाम बुद्धिजीवीको रूपमा चिनिएका मुमाराम खनालले पनि बाबुराम भट्टराईलाई आफ्नो आदर्श मान्ने गर्थे । उनले नयाँ शक्ति छाड्ने बेला भनेका थिए, ‘हामीले १७९ वटा दलहरूको बीचमा एउटा थपेर १८० औँ बनाउन खोजेका होइनौँ । तर, नयाँ शक्ति पार्टीको विकास क्रमले एउटा नयाँ थपिएर १८० औँ बन्नु बाहेक अर्को सम्भावना देखिएन ।’

माओवादी केन्द्रमै हुँदा बाबुराम पक्षीय नेताको रूपमा चिनिएका देवेन्द्र पौडेल नयाँ शक्ति गठन भएको एक वर्षपछि सो पार्टी छाडेर हिँडेका थिए । उनका साथमा अन्य १६ जना नेताले पनि त्यतिबेला सो पार्टी छाडेका थिए । पौडेल तत्कालीन नयाँ शक्तिका संगठन विभाग प्रमुख थिए ।

त्यतिबेला पौडेलले पुनर्गठित वृहत् ध्रुवीकरण केन्द्रीय संयोजन समिति गठन गरेका थिए । उनले माओवादीबाट नयाँ शक्तिमा गएका नेताहरूलाई समेट्ने प्रयास गरेका थिए । फलस्वरूप त्यतिबेला नै २०६ जना तत्कालीन नयाँ शक्तिका संघीय परिषद् सदस्यले सो पार्टी छाडेर नेता पौडेललाई साथ दिएका थिए । उनीहरू सबैजना पुनः माओवादीमै फर्केका थिए ।

पौडेलले त्यतिबेला बाबुरामले पार्टीमा लिएको लाइन सही नरहेको प्रतिक्रिया दिएका थिए । उनले भनेका थिए, ‘मात्र समृद्धिको कुरा गरेर वा पाँच ‘स’ को कुरा गरेर मात्र हुँदैन । कसको लागि समृद्धि, कस्तो समृद्धि ? त्यो स्पष्ट हुनुपर्‍यो । हामीले नयाँ शक्ति भनेर पार्टी त बनायौँ तर, अहिले हाम्रो पहिचान के हो भन्ने अलमल छ । हामी कता हराएको जस्तो भएका छौँ ।’

नयाँ शक्ति बनेको एक वर्षपछि सो पार्टीका सहसंयोजक महेश कोर्मचाले पनि पार्टी छाडे । उनी सो पार्टी छाडेर तत्कालै विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरममा प्रवेश गरेका थिए । उनले पनि त्यतिबेला नयाँ शक्ति एउटा पार्टी होइन, एनजीओ जस्तो भएको आरोप लगाएका थिए ।

अर्थ विज्ञको रूपमा पूर्व अर्थसचिव रामेश्वर खनाल पनि बाबुरामका साथमा नयाँ शक्ति निर्माणमा जुटेका थिए । तर उनी पनि धेरै समय त्यहाँ टिक्न सकेनन् । उनले त्यतिबेला नयाँ शक्ति पार्टी छाड्ने बेला आफ्नो ट्वीटरमा लेखेका थिए, ‘म कुनै पार्टीमा छैन, राजनीति मेरो क्षमताको विषय रहेनछ ।’

त्यसलगतै तत्कालीन नयाँ शक्ति पार्टीमा सुरक्षा तथा अनुसन्धान विभाग प्रमुखसमेत रहेका पूर्व डीआईजी गणेश राईले पनि पार्टी छोडेर हिँडेका थिए । अधिवक्ता समेत रहेका खिमलाल देवकोटा तत्कालीन नयाँ शक्ति पार्टीका प्रवक्ता थिए । उनी पनि एक वर्षपछि नयाँ शक्ति छाडेर माओवादी केन्द्रमा फर्केका थिए ।

नयाँ शक्ति बनेको एक वर्षपछि सो पार्टीका सहसंयोजक महेश कोर्मचाले पनि पार्टी छाडे । उनी सो पार्टी छाडेर तत्कालै विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरममा प्रवेश गरेका थिए । उनले पनि त्यतिबेला नयाँ शक्ति एउटा पार्टी होइन, एनजीओ जस्तो भएको आरोप लगाएका थिए ।

त्यतिबेला नै तत्कालीन नयाँ शक्तिका विद्यार्थी संगठनका संयोजक ओमकुमार पौडेलसहित थुप्रै विद्यार्थी नेता पार्टी छाडेर माओवादी केन्द्रमा प्रवेश गरेका थिए । यसरी नयाँ शक्ति छाड्नेको बाढी आएपछि बाबुराम भट्टराईले आफ्नो साख जोगाउनका लागि उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम नेपालसँग एकीकरण गरेका थिए । त्यो एकीकरणमा पनि निकै झमेला भएको थियो ।

२०७४ वैशाख ८ मा पार्टी एकताका लागि बाबुराम, उपेन्द्र यादव, अशोक राईसहित तीन सदस्यीय एकता संयोजन समिति बनाइएको थियो । त्यो समितिले दुई वर्षसम्म प्रयास गर्‍यो तर एकता सफल भइरहेको थिएन । २०७६ वैशाख २३ गते बल्ल दुई पार्टीबीच एकीकरणको घोषणा भएको थियो ।

अहिले गठन भएको नेपाल समाजवादी पार्टीभित्र पनि थुप्रै नेता ‘पर्ख र हेर’ को अवस्थामा छन् । नेपाल समाजवादी पार्टीमा मधेसबाट महिन्द्रराय यादवले साथ दिएका छन् । तर बाबुराम भट्टराईका कारण सो पार्टीप्रति मधेसीहरूको आकर्षण देखिएको छैन । महिन्द्र राय यादव निकट एक नेताले भने, ‘बाबुराम भट्टराईलाई मधेसमा अध्यक्षको रूपमा स्वीकार गर्न गाह्रो छ ।’ 

बाबुरामले गठन गरेको नेपाल समाजवादी पार्टीमा आफ्नो फरक मत राख्दै आएका डम्बर खतिवडाले बाबुरामको नयाँ प्रयोगलाई विरोध गरेका छन् । उनले आफ्नो ट्वीटरमा लेखेका छन्, ‘कुनै नयाँ आविष्कार गर्न प्रयोग, परीक्षण गरिन्छ । स्थापित ज्ञान उपयोग गर्न प्रयोग हैन, सिक्ने भावना चाहिन्छ । जस्तो–भात पकाउन प्रयोग गर्ने नाममा कहिले डढाउन, कहिले गिलो, चाम्रो वा काँचो पारी हेर्न जरुरी हुँदैन । भात पकाउन सिके भै गो–मान्छे प्रयोगशालाका केमिकल्स हैनन् परीक्षण गर्न ।’

डम्बर खतिवडाले अहिले नै बाबुराम भट्टराईको साथ आफूले नछाडेको तर अहिले जुन मोडालिटीमा पार्टी गठन गरेको छ, त्यही मोडालिटीमा पार्टी सञ्चालन भयो भने त्यो पार्टीमा आफू नबस्ने प्रस्ट पारे ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले उनलाई चुनावसम्म बस्न भनेका छन् । खतिवडाले भने, ‘चुनावसम्म हेर्छु, पार्टीमा केही परिवर्तन आएन भने छाडेर हिँड्छु ।’

उनले नयाँ शक्ति जस्तो पार्टी बनाउन चाहेको पनि प्रस्ट पारे । ‘नयाँ शक्तिको मोडालिटीमा पार्टी बन्यो भने म बस्छु नत्र त्यहाँ बस्दिनँ,’ उनले भने, ‘पटक पटक एउटै विषयमा प्रयोग गर्ने पक्षमा म छैन ।’ खतिवडा नेपाल समाजवादी पार्टीको कार्यसमितिमा बस्न मानेका छैनन् ।

बाबुरामले नेपाल समाजवादी पार्टी घोषणा गर्दै यो पनि नयाँ प्रयोग नै हो भनेका थिए । माओवादीदेखि विभिन्न राजनीतिक प्रयोग गर्दै आएका बाबुरामले नयाँ शक्ति गठन, उपेन्द्र यादवसँग पार्टी एकता, समाजवादीबाट जसपा गठन, जसपा छाडेर नेपाल समाजवादी पार्टी गठन जस्ता सबै घटनाक्रमलाई एउटा नयाँ प्रयोगकै रूपमा अगाडि बढाएको बताउने गरेका छन् ।

अहिले गठन भएको नेपाल समाजवादी पार्टीभित्र पनि थुप्रै नेता ‘पर्ख र हेर’ को अवस्थामा छन् । नेपाल समाजवादी पार्टीमा मधेसबाट महिन्द्रराय यादवले साथ दिएका छन् । तर बाबुराम भट्टराईका कारण सो पार्टीप्रति मधेसीहरूको आकर्षण देखिएको छैन । महिन्द्र राय यादव निकट एक नेताले भने, ‘बाबुराम भट्टराईलाई मधेसमा अध्यक्षको रूपमा स्वीकार गर्न गाह्रो छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप