बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली चिया आयातमा कडाइ गर्ने भारतको तयारी, नेपाल सरकार भने चुपचाप

मङ्गलबार, २४ साउन २०७९, १७ : ४८
मङ्गलबार, २४ साउन २०७९

भारतले नेपालमा उत्पादित चिया आयातमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । भारतको यो तयारीका बीच  नेपाल सरकार भने चुपचाप बसिरहेको छ । भारतले नेपाली चिया आयातमा कडाइ गर्ने जानकारी पाएपछि राष्ट्रिय चिया तथा विकास बोर्डले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई जानकारी गराएको थियो ।

तर, मन्त्रालयले यससम्बन्धी खासै चासो देखाएको छैन । संघले पत्र लेख्दै जानकारी दिएपछि बोर्डले मन्त्रालयलाई साउन १६ गते नै यससम्बन्धी ‘रिपोर्टिङ’ गरेको थियो । बोर्डले औपचारिकरुपमा जानकारी गराएको लामो समय बितिसक्दा पनि मन्त्रालय ‘पर्ख र हेह’को नीति अख्तियार गरेर बसिरहेको हो । 

 मन्त्रालयका उप–सचिव श्रीधर गौतमले अहिले भारतसँग यसबारे कुनै पनि पहल नभएको बताए । ‘हामीलाई भारतले चिया आयातमा कडाई गर्न लागेको जानकारी आएको छ,’ उनले भने, ‘तर, भारतीय पक्षबाट आधिकारिक केही आएको छैन ।’

नेपाली पक्षले सञ्चारमाध्यममार्फत जानकारी दिएकाले अहिलेसम्म कुनै पहल नगरेको उनको भनाइ छ । ‘हतारिएर पत्र लेख्नुभन्दा विषयवस्तुबारे थप जानकारी हासिल गरेपछि पहल गर्नुपर्छ,’ रातोपाटीसँग गौतमले भने, ‘सोहीकारण, अहिले भारतीय पक्षसँग यसबारे कुराकानी गरिएको छैन ।’

यस्तै, नेपालमा समेत संसदीय समितिले धेरै प्रकारका अध्ययन गर्ने गरेकाले भारतीय संसदीय समितिले पनि सोही प्रकारको अध्ययन गरेको हुनसक्ने मन्त्रालयको तर्क छ । संसदीय समितिले आपसमा छलफल गर्दा त्यसमाथि चासो राख्दै पत्र लेख्नुनपर्ने मन्त्रालयको भनाइ छ ।

भारतको डिपार्टमेन्ट रिलेटेड ‘पार्लियामेन्ट्री स्ट्याण्डिङ कमिटी अन कमर्स’ले १५ जुन २०२२ मा नेपालबाट आयात हुने चियासम्बन्धी प्रस्तुती गरेको थियो । उक्त कमिटीले भारतको लोकसभा र राज्य सभामा नेपाली चिया सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेको थियो ।

उक्त प्रस्तुतिमा नेपालबाट आयात हुने चियाले भारतीय चियाको गुणस्तर खस्काएको र यसको आयातमा बन्देज लगाउनुपर्ने विषय समेटिएको थियो । कमिटीले भारतको चिया ‘जिओग्राफिकल इन्डिकेसन’मा दर्ता भएको र नेपाली चिया यसमा दर्ता नभएकाले समेत भारतीय चियाको गुणस्तर खस्काएको दाबी गरेको थियो । 

यस्तै, नेपालबाट आयात हुने सस्तो चियाले भारतबाट निर्यात हुने चियाको विश्वसनीयता नै संकटमा परेको उक्त कमिटीले प्रतिवेदनमा उल्लेख गरेको छ । नेपाली चियाको आयात रोक्नका लागि ४० देखि १०० प्रतिशतसम्म भन्सार दर लगाउन सकिने समेत सुझाव पेस गरिएको थियो ।

भारतले चिया आयात गर्ने मुलुकहरूको सूचीमा नेपाल पहिलो नम्बरमा पर्छ । नेपालबाट भारततर्फ गत आर्थिक वर्षमा ३ अर्ब १५ करोड रुपैयाँ बराबरको चिया निर्यात भएको थियो ।
यसैबीच पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि चियामाथिको प्रतिबन्ध हुन नदिन लबिङ गरिरहेका छन् । मंगलबारमात्रै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गरेका छन् भने संसदमा पनि यसबारे धारणा राखिसकेका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप