शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

धनुषामा आकांक्षी उम्मेदवारको लर्को, गठबन्धनमा भागबण्डाको सकस

आफू सुरक्षित हुन निधिको यस्तो दाउ
मङ्गलबार, २४ साउन २०७९, २० : ०८
मङ्गलबार, २४ साउन २०७९

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि धनुषा जिल्लामा आकांक्षी उम्मेदवारको लर्को देखिएको छ । सत्तारुढ गठबन्धनमै एउटै सिटमा विभिन्न दलका आकांक्षी छन् । जसले गर्दा भागबण्डा मिलाउन सकस हुने देखिन्छ ।

मधेस प्रदेशको राजधानीसमेत रहेको धनुषा जिल्लालाई राजनीतिक दलहरुले विशेष महत्व दिएको देखिन्छ । यो जिल्लामा विभिन्न पार्टीका प्रभावशाली नेताहरुको चुनाव क्षेत्र छ । प्रतिनिधिसभातर्फ धनुषाको क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादवको नाम चर्चामा छ । उनी अहिले प्रतिनिधिसभा सदस्यसमेत हुन् । यस क्षेत्रमा उनीसँग पराजित भएका तत्कालीन समाजवादी पार्टी नेपालका दिपक कार्की पनि आकांक्षी छन् । जसपाबाट सुरेन्द्रकुमार मण्डल पनि उम्मेदवारका लागि आकांक्षी देखिएका छन् । त्यस्तै, नेपाली काँग्रेसबाट आनन्द ढुंगाना र नेकपा एमालेबाट रामचन्द्र मण्डल, रतनेश्वरलाल गोइतलगायत आकांक्षी छन् ।

त्यस्तै, धनुषाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा माओवादी केन्द्रबाट योगनारायण यादव ‘जीवन’, नेकपा एकीकृत समाजवादीबाट रामचन्द्र झा, नेपाली काँग्रेसबाट रामकृष्ण यादव, जसपाबाट अरुणसिंह मण्डल आकांक्षी देखिएका छन् । सत्तारुढ गठबन्धनबाट यो क्षेत्रमा कुन दलले उम्मेदवारी दिने भन्ने प्रस्ट भइसकेको छैन । यता, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट उमाशंकर अरगरियाको नाम चर्चामा छ । उनी यस क्षेत्रको प्रतिनिधिसभा सदस्य पनि हुन् । उनले रामचन्द्र झालाई पराजित गरेका थिए ।

त्यसैगरी धनुषाको क्षेत्र नम्बर ३ मा ‘हेभी वेट’ प्रतिस्पर्धा हुने आकलन गरिएको छ । यस क्षेत्रका निवासीसमेत रहेका नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले पुनः उम्मेदवारी दिने चर्चा छ । तर अघिल्लो निर्वाचनमा उनी राजेन्द्र महतोसँग पराजित भएकाले मनोवैज्ञानिक दबाबमा परेका निधिले पछिल्लो समय सत्तारुढ गठबन्धनमा लोसपा नेपाललाई सामेल गर्न दबाब बढाएका छन् । किनकि, लोसपाबाट फेरि यस क्षेत्रमा राजेन्द्र महतोले नै उम्मेदवारी दिने करिबकरिब निश्चित छ ।

लोसपालाई सत्तारुढ गठबन्धनमा भित्र्याउन सकेमा कमसे कम आफ्नो सिट सुरक्षित हुने निधिको आकलन छ । सके राजेन्द्र महतोलाई अर्को क्षेत्रमा पठाएर आफू यस क्षेत्रमा गठबन्धनबाट उम्मेदवार बन्ने, अन्यथा लोसपासमेतको समर्थनका आफ्नो लागि कुनै एउटा क्षेत्रमा सिट सुरक्षित गर्ने निधिको दाउ छ । यस क्षेत्रबाट नेकपा एमालेले पूर्वमन्त्री जुली महतोलाई उम्मेदवार बनाउन सक्ने सम्भावना छ । यस क्षेत्रबाटै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतका स्वकीय सचिव जितेन्द्र यादवले समेत जसपा नेपालबाट उम्मेदवारी दिने चर्चा छ । उनी पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापकसमेत हुन् । त्यस्तै माओवादी केन्द्रबाट रामसिंह यादवको नाम पनि चर्चामा छ ।

धनुषाको क्षेत्र नम्बर ४ मा माओवादी केन्द्रबाट रामकुमार महतो, नेपाली काँग्रेसबाट महेन्द्र यादव, जसपा नेपालबाट महाजन यादव र एमालेबाट रघुवीर महासेठको नाम आकांक्षी उम्मेदवारको रुपमा चर्चामा छ । अहिले यस क्षेत्रबाट पूर्वमन्त्री समेत रहेका महासेठ निर्वाचित छन् । उनले विगतको निर्वाचनमा काँग्रेसका सहमहामन्त्री रहेका महेन्द्र यादवलाई पराजित गरेका थिए । तर, सत्तारुढ गठबन्धन एकजुट भएको अवस्थामा यस पटक महासेठलाई कडा चुनौती मिल्ने आकलन गरिएको छ ।

नेकपा एमालेका धनुषा अध्यक्ष राजकुमार यादवले प्रतिनिधिसभा निर्वाचनका लागि अहिलेदेखि विभिन्न नेताले टिकटका लागि दावी गरे पनि पार्टीको बैठकले उम्मेदवार छनोट गर्ने जानकारी दिए । उनले पार्टीको बैठक बसेर उम्मेदवारहरूको नाम टुङ्गो लगाउने बताए । उनले निर्वाचनमा एकल जाने वा गठबन्धन गर्ने भन्नेबारे पनि छलफल भइरहेको जानकारी दिए । त्यस्तै नेकपा माओवादी केन्द्र धनुषाका अध्यक्ष दिपक यादवले माओवादीमा पनि अधिकांश नेताले व्यक्तिगतरुपमा दावी गरे पनि पार्टीले भने अहिलेसम्म उम्मेदवार छनोटको निर्णय नगरेको बताए । उनले माओवादीसहितको पाँच दलीय गठबन्धनले निर्णय गरे अनुसार नै पार्टीले उम्मेदवारको नाम टुङ्गो लगाउने स्पष्ट पारे ।

केन्द्रमा माओवादी, काँग्रेस, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाको पाँच दलीय गठबन्धन छ । यही गठबन्धनले आ–आफ्नो पार्टीभित्र उम्मेदवारी दावी विरोधको टुङ्गो लगाउने र सबै पार्टीले गठबन्धनबाट पाउने सिटको आधारमा उम्मेदवारी तय गरिने उनको भनाइ छ । स्थानीय तहको निर्वाचनमा दलहरुले आफ्नै दलभित्र आकांक्षी उम्मेदवारहरुलाई मिलाउन नसक्दा कयौंले बागी भएर उम्मेदवारी दिएका थिए । यस पटक पनि दलभित्रको गुट–उपगुटलाई मिलाउन नसके बागी उम्मेदवारीको लर्को नलाग्ला भन्न सकिँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप